Tuesday, August 3, 2021

नेपाली साहित्यमा रोयल्टी : कतिले मृत्युपछि पनि पाइरहे, कति जीवित छँदै ठगिए

२० साउन, काठमाडौं । नेपालमा पुस्तक प्रकाशन सुरु भएको एक सय वर्षको अवधिमा केही यस्ता लेखक छन् जसको निधन भएको ५० वर्ष पछिसम्म पुस्तकबाट रोयल्टी आर्जन भइरहेको छ ।

‘प्रतिलिपि अधिकार ऐन २०५९’ अनुसार लेखकको जीवनभर र मृत्यु भएपछि ५० वर्षसम्म उसको प्रतिलिपि अधिकार सुरक्षित रहन्छ । त्यसपछि जुनसुकै व्यक्तिले उक्त पुस्तक प्रकाशन गरी बिक्री-वितरण गर्न पाउँछ । पचास वर्षअघि छाप्दा भने लेखकको परिवारबाट अनुमति लिनुपर्ने र निश्चित रोयल्टी बुझाउनुपर्ने हुन्छ ।

नेपाली साहित्यमा सर्वाधिक बिक्री रेकर्ड बनाएको ‘मुनामदन’ तथा अन्य पुस्तकका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्यु भएको ५० वर्षसम्म उनको परिवारले रोयल्टी पाइरहे ।

देवकोटाका छोरा पद्म देवकोटाका अनुसार, अन्तिमपटक २०६६ मा महाकविको नामको रोयल्टी लिइएको थियो । ‘देवकोटा शतवाषिर्की’को अवसरमा साझा प्रकाशनबाट उनले पिताका एक दर्जन पुस्तकको रोयल्टी बुझेका थिए । त्यसयता भने साझा प्रकाशनले पनि सम्पर्क नगरेको पद्म बताउँछन् ।

अनलाइनखबरसँग कुरा गर्दै पद्मले भने, ‘साझा प्रकाशन अस्तव्यस्त छ । यस्तो बेला कहाँ गएर कोसँग रोयल्टी लिने भन्ने अन्योल छ ।’

२०५० मा निधन भएकी चर्चित लेखिका पारिजातका पुस्तकहरूको पनि रोयल्टी आइरहेको छ । उक्त रकम ‘पारिजात स्मृति केन्द्र’ले लिने गरेको छ । निजी प्रकाशन गृह फिनिक्स बुक्सले एकै भोल्युम (एकै सेटमा सबै पुस्तक) प्रकाशित गरेर केन्द्रलाई रोयल्टी दिने गरेको छ ।

स्मृति केन्द्रका अध्यक्ष स्नेह साय्मिका अनुसार २०७५ मा एकमुष्ट रकम लिइएको थियो । साय्मि भन्छन्, ‘प्रकाशकसँग पहिलो वर्ष रकम लिएदेखि थप कुरा भएको छैन । अब कसरी अघि बढ्ने सल्लाह गर्दैछौं ।’

फिनिक्स बुक्सले नै आख्यानकार धनुषचन्द्र गौतम (धच गोतामे) का पाँच पुस्तक प्रकाशित गरेको छ । उक्त पुस्तकको रोयल्टी धनुषका छोरा सुशीलचन्द्र गौतमले लिने गरेका छन् ।

पारिजात, बिपी, भिमबहादुर पाँडेकको पुस्तक सेटमा ।

यस्तै २०६९ मा निधन भएका लेखक गोविन्द वर्तमानका परिवारका सदस्यले पनि वाषिर्क रूपमा रोयल्टी पाइरहेका छन् । वर्तमानका छोरा अग्रिम अधिकारी फिनिक्स बुक्स र फाइनपि्रन्ट दुवैले रोयल्टी दिइरहेको बताउँछन् ।

‘सम्झौताअनुसार बुबाको पुस्तकको रोयल्टी पाइरहेका छौं । जसले सानोतिनो घरखर्च पनि टारेको छ’, अग्रिमले भने ।

विख्यात आख्यानकार रमेश विकल धेरै पुस्तक प्रकाशन गर्ने लेखकमा पर्छन् । विकलका उपन्यास, कथा, बालसाहित्य गरी करीब ६० पुस्तक प्रकाशित छन् । विकलका छोरा साहित्यकार विजय चालिसेका अनुसार २०७२ मा अन्तिमपटक उनले साझा प्रकाशनबाट रोयल्टी बुझेका थिए ।

यद्यपि पाठ्यक्रममा परेका रचनाको पारिश्रमिक ती पाठ्यक्रम छाप्ने निजी प्रकाशन गृहले नदिएको चालिसे बताउँछन् । नियम अनुसार जुनसुकै पाठ्यक्रममा समावेश गरिए पनि लेखकलाई वाषिर्क रुपमा गरेर रोयल्टी दिनुपर्ने हुन्छ । विकलका कथाहरू विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा राखिएका छन् ।

‘बुबाका किताब धेरैजसो साझाले छापेको छ’ चालिसे भन्छन्, ‘अहिले निजी प्रकाशनले पनि अनुमति लिएर छापिरहेका छन् । केहीले रोयल्टी दिए, केहीले दिन्छौं भनेर टारेका छन् ।’

विश्वेश्वरप्रसाद कोइरालाका पुस्तकको रोयल्टी ‘जननायक बीपी कोइराला मेमोरियल ट्रष्ट’मा जाने गर्दछ । ‘लिपि बुक्स’ले कोइरालाका सबै साहित्यिक कृति पुनः प्रकाशन गरेको छ ।

देवकोटा, पारिजात, विश्वेश्वरदेखि धनुषचन्द्र, मदनमणि, गोविन्द वर्तमानसम्मका स्रष्टाका कृतिले लेखकको मृत्युपछि पनि कमाइ गरिरहेछन् भने समाजमा अहिले रोयल्टी नपाएको गुनासो गर्ने लेखकको संख्या पनि उत्तिकै छ

मृत्युपछि पनि परिवारका सदस्यले रोयल्टी पाउने अन्य लेखकहरूमा आख्यानकार डायमनशमशेर, विजय मल्ल, गोविन्द मल्ल, लेखनाथ पौड्याल, गुरुप्रसाद मैनाली, मदनमणि दीक्षित, जनकलाल शर्मा, मनुजबाबु मिश्र, राजेश्वर देवकोटा, देवान राई, भूपि शेरचन, बाबुराम आचार्य पर्छन् ।

जो रोयल्टीबाटै बाँचिरहेका छन्

अघिल्लो साता लेखक नीलम कार्की निहारिकाले अनलाइनखबरको अन्तर्वार्तामा आफ्ना कृतिहरूको वाषिर्क कमाइ नेपालको शाखा अधिकृतसरह रहेको बताएकी थिइन् । यता कुमार नगरकोटीले २ हजार २१ रुपैयाँ पर्ने ‘कल्पग्रन्थ’ ३७ सय प्रति बुकिङ भई ७५ लाख रुपैयाँ बैंक खातामा जम्मा भएको दाबी गरेका छन् ।

अघिल्लो महिना विवेकशील साझा पार्टीका नेता एवं लेखक रवीन्द्र मिश्रले पनि नयाँ पुस्तकबाट सुरुमा दश लाख र दोस्रोपटक २ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको जानकारी सामाजिक सञ्जालबाट दिएका थिए ।

केही निजी प्रकाशन गृहहरूले वाषिर्क वा एकमुष्ट रूपमा लेखकलाई मोटो रोयल्टी रकम दिने गरेको पाइन्छ । फाइनपि्रन्ट, बुकहिल, नेपालय, फिनिक्स, किताब पब्लिसर्स, रत्न पुस्तक जस्ता प्रकाशकसँग सम्पर्क गर्दा उनीहरूले केही लेखकलाई नियमित रोयल्टी दिने गरेको पाइयो ।

कुमार नगरकोटी, बुद्धिसागर, नारायण वाग्ले, सुविन भट्टराई, नीलम कार्की निहारिका, कृष्ण धरावासी, नयनराज पाण्डे, नारायण ढकाल, खगेन्द्र संग्रौला, रवीन्द्र मिश्रलगायत लेखकहरूले मासिक तलब जसरी नै रोयल्टी लिने गरेका छन् ।

रोयल्टीबापत आउने रकमले जीविकाको निम्ति सामान्य घरखर्च चल्ने गरेको बताउँछन् लेखक नयनराज पाण्डे । मासिक हिसाब गर्दा सरकारी अधिकृतसरहको रकम प्राप्त हुने उनी बताउँछन् ।

‘मेरो पुस्तक संख्या आधा दर्जनभन्दा बढी छ’ तीन दशकदेखि लेखनमा सक्रिय पाण्डे भन्छन्, ‘यसैले पुराना पुस्तक र ताजा प्रकाशित पुस्तकको रोयल्टी लिंदा सामान्य घरखर्च चलाउन पुग्छ ।’

यद्यपि यो सबै लेखकमा लागू हुने नभई बेस्टसेलर बनेका तथा एक दर्जन हाराहारी पुस्तक प्रकाशन भएका लेखकको हकमा मात्र लागू हुने पाण्डे संकेत गर्छन् ।

यसबाहेक चलचित्र, राजनीति, बैंक, न्याय-सेवा जस्ता क्षेत्रका चर्चित अनुहारले लेखेका पुस्तकको रोयल्टी रकम लाखौं रुपैयाँ आउँछ । हरिवंश आचार्य, रुक्माङ्गद कटवाल, मदनकृष्ण श्रेष्ठ, मनिषा कोइराला, सुशीला कार्की, कर्ण शाक्य लगायतले पहिलो संस्करणबाटै दश लाखभन्दा बढी रोयल्टी लिएको तथ्याङ्क छ ।
जो रोयल्टी पाउने संघर्षमा छन्

रोयल्टी नपाएको एवं ठगिएको कुरा उठाउने लेखकहरूको संख्या पनि नेपालमा उत्तिकै छ । युवा लेखक कृष्ण आचार्यले रोयल्टी नपाउने लेखकहरू जति एक भई प्रकाशकलाई मुद्दा हाल्ने चेतावनी यसै साता सामाजिक सञ्जालमार्फत दिएका थिए । आफ्नो लागि भन्दा पनि रोयल्टी नपाउने सबै लेखकको आवाज उठाएको बताउने आचार्यले धेरै युवा लेखकलाई निजी प्रकाशन गृहले ठग्ने गरेको सुनाउँछन् ।

‘नयाँ लेखकलाई विभिन्न बहानामा प्रकाशकले शोषण गर्छन्’ आचार्य भन्छन्, ‘हजारप्रति पुस्तक बिक्री भइसक्दा पनि रोयल्टी नदिएकाहरू पनि छन् ।

२०७७ का मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले २०७७ मंसिरमा पोखरामा आयोजित ‘नेपाल लिटरेचर फेस्टिभल’मा ‘किताब बिक्रीको पैसाले एक छाक भात पनि नखाएको’ बताएका थिए ।

यसबारे बुझ्दा लेखक बानियाँले बागबजारको शिखा बुक्सबाट चारवटा पुस्तक प्रकाशन भएको र मदन पुरस्कारप्राप्त कृति महारानीको लागि केही रकम लिएको बताए ।
‘हिसाब-किताब गरेर त पैसा लिएको छैन तर प्रकाशकले बेलाबेला पठाइरहेका छन्’ बानियाँले भने, ‘चारवटा पुस्तक भएकाले रोयल्टी त धेरै भइसकेको हुनुपर्छ तर कुरा गरेको छैन ।’

बागबजारका दुई प्रकाशन गृहबाट भिन्दाभिन्दै उपन्यास प्रकाशन गरेका प्रकाश तिवारी पनि उल्टै पैसा भुक्तान गरेर पुस्तक छाप्नुपरेको पीडा सुनाउँछन् । तिवारी भन्छन्, ‘सुरुमा किताब सम्पादन गर्न भनेर पैसा मागे । पुस्तक एक संस्करण बिक्री भइसक्दा पनि रोयल्टी एकपटक दिएका छैनन् ।’

यसबाहेक निजी प्रकाशन गृहहरू बुलबुल, विवेक सृजनशील, सांगि्रला बुक्स, मञ्जरीलगायतले लेखकलाई रोयल्टी नदिएको कुरा उठेका छन् ।

यता सरकारी प्रकाशन गृहबाट पाउनुपर्ने रोयल्टीका लागि केही लेखकहरू लामो समयदेखि संघर्ष गरिरहेका छन् । सरकारी स्वामित्व भएको साझा प्रकाशनले २०७२ पछि अधिकांशलाई रोयल्टी नदिंदा लेखकहरू मारमा परेका छन् ।

साझा प्रकाशनका वरिष्ठ अधिकृत होम भट्टराईका अनुसार साझा प्रकाशन धरासायी भएकाले लेखकलाई रोयल्टी दिने काम बन्द गरिएको छ ।

‘जुन दिनदेखि सरकारले साझालाई पाठ्यपुस्तक बिक्री-वितरणको काम गर्न दिइएन त्यो दिनदेखि संस्था टाट पल्टेको छ’ भट्टराई भन्छन्, ‘साझाले साहित्यिक पुस्तक बेचेर मात्र रोयल्टी दिन नसक्ने भएकाले यस्तो अवस्था सृजना भएको हो ।’

यद्यपि २०७७ सालमा रोयल्टी लिनेहरूमा दयाराम श्रेष्ठ, बालकृष्ण अधिकारी, अमर गिरी, कृष्णहरि बराल, नेत्र एटम पर्छन् ।

उनीहरूलाई मात्र के कारणले रोयल्टी दिइयो भन्ने कुरा आफूलाई जानकारी नभएको साझाका अध्यक्ष विजय सुब्बा बताउँछन् । सुब्बाका अनुसार संस्था टाट पल्टेकाले कसैलाई पनि रोयल्टी दिन सक्ने अवस्था छैन ।

साझा प्रशासनको लेखा शाखा जहाँबाट लेखकले रोयल्टी लिने परम्परा छ ।

साझा प्रकाशनमा आधा दर्जन बढी पुस्तक प्रकाशित भएका साहित्यकारहरू विगत ६ वर्षदेखि रोयल्टी नपाएको बताउँछन् । दिनेश अधिकारी, गोविन्द गिरी प्रेरणा, लीलबहादुर क्षेत्री (असम) लगायत साहित्यकारले साझाले दिँदै आएको रोयल्टी केही वर्षदेखि बन्द गरेको कुरा बताएका छन् ।

यस्तै निधन भइसकेका साहित्यकारहरू भैरवनाथ रिमाल कदम, हरिभक्त कटुवाल -असम) जस्ता साहित्यकारको परिवार पनि पुस्तकको रोयल्टी पाएका छैनन् । कटुवालकी छोरीले २०७६ मा एक युट्युब कार्यक्रममा रत्न पुस्तक भण्डकार काठमाडौंबाट रोयल्टी नपाएको बताएकी थिइन् ।

अध्यक्ष विजय सुब्बा भन्छन्  : साझा चुर्लुम्मै डुबेको छ

‘मेरै पार्टी नेकपाको सरकार हुँदा पनि मैले साझा बचाउन सहयोग पाइनँ । साझा डुबेको कुरा मैले तत्कालीन प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री, अर्थमन्त्री सबैलाई जानकारी गराएँ तर उहाँहरूले चासो देखाउनुभएन ।

म भन्दा अघि अध्यक्ष भएका डोलेन्द्रप्रसाद शर्मा र उनीअघिका अध्यक्ष ममता झाले साझा प्रकाशनको जग्गासमेत बैंकमा राखेर पैसा झिके । जेजति सम्पत्ति थियो सबै उनीहरूले आफ्नो हितमा प्रयोग गरे । यो कुरा दुनियाँदारदेखि साझाका अंशियार सबै साहित्यकारलाई थाहा छ ।

तर साझा प्रकाशनका अंशियार बनेका साहित्यकारहरूले उनीहरू विरुद्ध आवाज उठाएनन् । म त्यतिबेला सञ्चालक समिति सदस्यको हैसियतमा उनीहरूको अनिमियताबारे प्रश्न उठाएँ । संघर्ष गरेँ तर म विरुद्ध डोलिन्द्रले मान्छे खटाए । अहिले न प्रहरीले वास्ता गर्छ न अख्तियारले, न अदालतले ? म एउटाले कहाँ गएर लड्ने ।

तर यसो भनेर म हात बाँधेर बस्न पाउँदिनँ । २०७७ माघदेखि म अध्यक्ष बनेको हुँ । अहिले सम्पूर्ण रुपले साझा ऋणमा छ । जम्मा ७७ जना कर्मचारी छन् जसलाई पोहोरको असारदेखि तलब खुवाउन सकेको छैन । म आएपछि पछिल्ला दश वर्षको लेखा परिक्षण गर्न थालिएको छ । प्रत्येक सम्पत्तिको विवरण राख्न थालिएको छ । यस्तो विकराल अवस्थामा रोयल्टी दिने कुरा सोच्नसम्म सकिँदैन । कहाँबाट पैसा ल्याएर कसलाई रोयल्टी दिने अन्योल छ ।’



from Online Khabar https://ift.tt/3lHhCT1

No comments:

Post a Comment