‘भोलि मेरो सुटिङ छ । हेर्न जान्छेस् ?’ भुवन थापा (चन्द) दिदीले सोध्नुभयो । उहाँ नेपाली फिल्मको पहिलो नायिका । पहिलेदेखि नै मेरो चिनजान थियो । हामी सानै उमेरदेखि नाटक, नाचगानमा एकसाथ काम गरिरहेका थियौं ।
२०१४ सालदेखि म रंगमञ्चमा प्रवेश गरें । २०२१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट तालिम लिइरहेकी थिएँ । तालिम सकेर राष्ट्रिय नाचघरमा छिरें । त्यहाँ भुवन दिदीको कार्यक्रम थियो ।
उहाँ ‘आमा’ फिल्मको तयारीमा हुनुहुँदोरहेछ । फिल्मको मुख्य नायिका हुनुहुन्थ्यो उहाँ । सुटिङ चोभारमा हुने । मैले उमंगमय भावमा भनें, ‘किन नजाने, जान्छु नि !’
फिल्मका नायक थिए, शिवशंकर दाइ । उहाँ नेपाली चलचित्रको पहिलो नायक । संगीतको पनि हुनुहुन्थ्यो । त्यसबेला चोभारमा उहाँहरूको गीतको सुटिङ हुने तय भएको रहेछ ।
म त उहिल्यैदेखि निकै चञ्चले स्वभावकी । सबैसँग बोल्ने, नडराउने, हक्की । सुटिङ हेर्न गएँ । ढुंगामा बसेकी थिएँ । हावा चलिरहेको थियो । म आफ्नै धुनमा मग्न थिएँ । हातमा भुवन दिदीको रातो कोट बोकेकी थिएँ ।
‘ओ छोकरा इधर आओ’ निर्देशक हीरासिंह खत्रीले मलाई संकेत गर्दै बोलाए । शुरूमा त म अलमलमा परें, कसलाई बोलाएको होला भनेर ।
‘मलाई हो’, मैले सोधें ।
‘हो’, उहाँले भन्नुभयो ।
म उहाँको नजिक पुगें । सोध्नुभयो, ‘छोकरा तुम फिल्म मे काम करोगी ?’
म पनि के कम । उहाँको प्रश्न भुइँमा खस्न नपाउँदै भनिदिएँ, ‘देगा तो करेगा ।’
‘एउटा थेगो आउँछ तिमीलाई ?’ उहाँले भन्नुभयो ।
मेरो नातेदार मामाहरू हुनुहुन्थ्यो धादिङमा । उहाँहरूले मलाई ‘ए रातै नेपाली भान्जी आइन्, नाच नाच’ भन्नुहुन्थ्यो ।
हठात् त्यही सम्भिmएँ । अनि भनिहालें, ‘ए रातै’ ।
मैले त फिल्म खेल्नेबारे सोचेकी थिइनँ । त्यहाँ फिल्म खेल्न भनेर पनि गएको होइन । तर, अनायासै आएको यस्तो मौकालाई मैले गुमाउन चाहिनँ । उत्तम नेपाली दाइको अपोजिटमा मैले सानो अभिनय गरें ।
खासमा म हँसाउन जान्ने पनि होइन । तर, त्यहाँ अनायासै जुन चरित्र गर्न पुगें, त्यसैले मलाई जीवनभर स्थापित गर्यो । त्यसबेला मसँगै खेलेका उत्तम दाइ भर्खरै बित्नुभयो ।
म नाटकमा त गम्भीर भूमिका गरिरहेकी थिएँ । फिल्ममा चाहिं हँसाउने भूमिका पाएँ । दर्शकले मलाई हँसाउने पात्रको रूपमै रुचाए ।
त्यसपछि ‘हिजो आज भोलि’ भन्ने फिल्ममा एउटा चरित्र निर्वाह गरें । त्यसमा मेरो नाम थियो, च्यान्टी ।
गोपालराज मैनालीसँगको भेट
मैले चलचित्रमा धेरैजसो हास्य अभिनेत्रीकै भूमिका गरें । र, मसँग गोपालराज मैनालीको जोडी खूब जम्यो ।
उहाँसँग मेरो भेट २०२८ सालमा भएको हो, पोखरामा । त्यसबेला प्रकाश थापा ‘मनको बाँध’ चलचित्र बनाउँदै हुनुहुन्थ्यो । त्यही चलचित्रमा काम गर्न हामी दुवै पोखरा पुगेका थियौं । हाम्रो पहिलो देख-भेट त्यहीं भयो ।
उक्त चलचित्रमा मेरो र गोपालराज मैनालीको जोडी तय भएको थियो ।
तर, उहाँ बिरामी भएपछि कुलदीप शेरचन दाइ र भैरवबहादुर थापा बुवासँग अभिनय गरें । उहाँहरू बाउ-छोराको भूमिकामा हुनुहुन्थ्यो ।
बाउछोरासँग प्रेम गर्ने, पछि अरूसँग विवाह गरेर जाने कथाको भूमिका निर्वाह गरेकी छु । सो चलचित्रमा मेरो नाम ‘डाँडाघरे साइँली’ थियो ।
चङ्खे र नक्कली
पछि प्रकाश थापाले चलचित्र ‘सिन्दुर’ बनाउनुभयो । त्यसमा हास्य कलाकारका रूपमा गोपालराज दाइ र मलाई जोडी बनाउनुभयो । चलचित्रमा गोपाल दाइको नाम थियो, ‘चङ्खे’ अनि मेरो चाहिं ‘नक्कली’ ।
सो चलचित्रलाई दर्शकले एकदमै रुचाउनुभयो । त्यसपछि त हाम्रो जोडी राम्ररी जम्यो । दुवैलाई एकसाथ फिल्ममा अफर आउन थाल्यो । जहाँ गोपालराज मैनाली, त्यहाँ बसुन्धरा भुसाल । हामीले ‘जीवनरेखा’, ‘कन्यादान’ जस्ता थुप्रै चलचित्रमा एकसाथ काम गर्यौं । ती चलचित्र एकदमै रुचाइए ।
यद्यपि दर्शकमाझ ‘चङ्खे’ र ‘नक्कली’ पात्र नै बढी चर्चित रहृयो, धेरै पछिसम्म ।
चलचित्रमा मैले जुरेली, गौंथली लगायत थुप्रै पात्रको भूमिकामा पनि अभिनय गरें । तर, पछिसम्म पनि ‘नक्कली’ नै भनेर चिनिएँ ।
मान्छेहरू झुक्किए
कतै कार्यक्रममा जाँदा ‘ए नक्कली दिदी चङ्खे खै ?’ भन्नुहुन्थ्यो । गोपाल दाइलाई पनि एक्लै किन आएको भन्ने प्रश्न गर्नुहुन्थ्यो रे ! कतिपय दर्शकहरू हामीलाई श्रीमान्-श्रीमती समेत सम्झनुहुँदोरहेछ ।
एकपटक श्रीमान्सँग न्यूरोडको गुँदपाक पसलमा जाँदा एकजनाले भने ‘आबुई ! चङ्खे त चलचित्रमा देखिएको भन्दा अर्कै रहेछ ।’
मेरा छोराहरूले पनि भन्थे, ‘त्यो चङ्खे मामासँग चलचित्र नखेल्नु ।’
श्रीमान्सँग बिहेमा जाँदा भन्थे, श्रीमान् खोइ त ? मैले सम्झाउनुपर्थ्यो, ‘उहाँ त मेरो चलचित्रको पार्टनर हो ।’ अनि बल्ल उनीहरूले सरी भन्थे ।
उहाँकै कारण नाटक नगर्ने कसम खाएँ
गोपालराज दाइ र मैले केही टेलिफिल्ममा पनि सँगै काम गर्यौं । चलचित्र र टेलिफिल्ममा हाम्रो जोडी निकै रुचाइयो । तर, स्टेज नाटकहरूमा भने हामीले एकपटक मात्र काम गर्यौं ।
राष्ट्रिय नाचघरमा परिवार नियोजनबारे एक नाटकमा ‘सुब्बा’ र ‘सुब्बिनी’को भूमिकामा अभिनय थियो, त्यो ।
उहाँ डाइलग नै बोल्न नदिने । चलचित्रमा पो कट् भनेर म बोल्न पाएँ । तर, नाटकमा पर्दा खोलेपछि मेरो पालो भन्ने पनि भएन । त्यसपछि रंगमञ्चमा उहाँसँग काम गर्दिनँ भनेर कसम खाएँ । पछि बेलायतबाट पनि ‘चङ्खे’ र ‘नक्कली’ भनेर स्टेजका लागि निम्तो आएको थियो, तर सँगै गएनौं ।
जब चङ्खे हराए
उहाँ बिरामी भएपछि मेरो पेशालाई पनि बाधा परेको थियो । चलचित्र ‘अधिकार’मा मेरो र गोपालराज दाइको भूमिका तय भएको थियो । तर, उहाँ बिरामी परेपछि राजाराम पौडेल आउनुभयो । यद्यपि राजाराम पौडेलसँग पनि मेरो अभिनयलाई दर्शकले रुचाउनुभयो । त्यसपछि राजारामसँगै केही चलचित्रमा हास्य जोडीका रूपमा अभिनय गरें । उहाँसँगका ‘गुरुचेला’, ‘सीता’लगायत चलचित्र रुचाइए । पछि किरण केसीसँग पनि जोडी भएर खेलें ।
सबैसँगको अभिनय रुचाए पनि गोपालराज दाइसँगको केमेष्ट्रीलाई दर्शकले निकै रुचाएका थिए । मेरो चलचित्र क्षेत्रको सुपरहिट पात्र उहाँ हुनुहुन्थ्यो । उहाँ हृदय सफा भएको, सबैलाई मान्ने मान्छे हुनुहुन्थ्यो । उहाँको निधन भएपछि हास्य विधाकै एउटा बलियो खम्बा ढलेको महसूस गरें । गोपालराज दाइ मेरो कलाकारिता क्षेत्रको एक अविस्मरणीय पात्र हुनुहुन्छ ।
हास्य अभिनेत्रीमा चिनिंदा खुशी
शुरूआतमा कलाकारितामा परिवारबाट साथ पाउन गाह्रो थियो । सिस्नुपानी समेत खानुपथ्र्यो । कहिलेकाहीं नाचेर आउँदा रात पथ्र्यो, घरमा ढोका खोल्दिनुहुँदैनथ्यो । समाजमा पनि छिमेकीले कुरा काट्थे । तर, म कहिल्यै डग्मगाइनँ । हास्य कलाकारको भूमिका निर्वाह गर्दा धेरैले ‘जोक्कर्नी’ भन्थे । कतिले ‘बिग्रिएकी केटी’ भन्थे । विवाहपछि भने कलाकारितामा धेरै सहज भयो ।
त्यो समयदेखि अहिलेसम्म कलाकारितामा सक्रिय छु । सुटिङ हेर्न गएकी म नेपाली चलचित्रको पहिलो हास्य अभिनेत्रीका रूपमा परिचित हुन पाउँदा निकै खुशी छु ।
कलाकार भइसकेपछि हरेक भूमिका निर्वाह गर्नुपर्छ जस्तो लाग्छ । म कहिले हँसाउँछु, कहिले रुवाउँछु, कहिले रिस उठाउँछु । अहिलेसम्म कलाकारितामा टिक्नुको कारण पनि सोही हो जस्तो लाग्छ, हरेक भूमिका निर्वाह गर्नू ।
तर, मेरो हास्य भूमिकालाई दर्शकले निकै रुचाउनुभयो । त्यो समय फरक थियो । अहिले हास्य कलाकारहरूको स्टाटस कति माथि छ । हास्य कलाकारले फिल्म बनाए पनि हिट भएको छ । हास्य टेलिसिरियलहरू उत्तिकै छन् । हास्य कलाकार भाइबहिनीहरू उत्तिकै हुनुहुन्छ ।
प्रस्तुति : सुशील नेपाल
from Online Khabar https://ift.tt/3sFIK5W
No comments:
Post a Comment