Thursday, August 26, 2021

एउटै कार्यालयमा महिनामा २७ ठगीका उजुरी : कतै आइफोन, कतै डलरको लोभमा लाखौं स्वाहा

११ भदौ, काठमाडौं । सोलुखुम्बुकी २८ वर्षीया अनिता (नाम परिवर्तन) लाई असार अन्तिम साता एप्पल कम्पनीमा काम गर्छु भन्दै चुम ली नामक व्यक्तिले फ्रेण्ड रिक्वेस्ट पठाए । झट्ट हेर्दा विदेशी नागरिक जस्तै देखिने चुम लिले अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्छु भनेर फोटो पठाएपछि उनले सहजै विश्वास गरिन् ।

सामान्य कुराकानी भएको केही समयमै उनले ‘भ्वाइस कल’ गर्न भन्दै ह्वाटस् एप नम्बर मागे । विदेशी नागरिक भनेपछि नम्बर दिन उनले पनि समय लगाइनन् । त्यसपछि ९२९ ४५४६६४१ नम्बरबाट उनलाई निरन्तर म्यासेज र अडियो रेकर्ड आउन थाल्यो । विस्तारै उनले कोरिया घर बताउने ती व्यक्तिलाई विश्वास गर्न थालिन् ।

गत २ असारमा अनितालाई चुम लीले नेपाल भेट्न आउने बताए । त्योभन्दा अगाडि लगेज आउने बताए, जसलाई रिसिभ गर्न विमास्थलमा ७० हजार रुपैयाँ तिर्नुपर्ने बताए । ‘पैसा पठाउनु भनेपछि अचम्म लाग्यो र प्रहरी कहाँ उजुरी दिएँ,’ अनिता भन्छिन् ।

हाल घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले छानविन गरिरहेको छ ।

कार्यालयले अहिले बाग्लुङकी १९ वर्षीया युवती ठगिएको अर्को घटनाको पनि अनुसन्धान गरिरहेको छ । फेसबुकमा सस्तोमा आईफोन-७ पाउने विज्ञापन देखेपछि १ साउनमा उनले अर्डर गरेकी थिइन् ।

सुरुवातमा इ-सेवाबाट २० हजार रुपैयाँ पठाउन उनलाई भनियो, फेरि १० हजार मागियो । तर अझै पैसा माग्ने क्रम नरोकिएपछि उनी प्रहरीको शरणमा पुगिन् ।

नक्कली जहाजको क्याप्टेनको भर पर्दा…

कार्यालयले अनुसन्धान गरिरहेको एउटा अनुसन्धानमा जहाजको क्याप्टेन बताउने व्यक्तिले एक युवतीलाई ठगेका छन् । युके घर बताउने डेडिड नामक व्यक्तिले ४४७४५९८.. नम्बरबाट ह्वाट्स एप म्यासेज गर्दै एक युवतीलाई जुत्ता पठाइदिन्छु भने । उनले झोलामा सुनको चुरा र ४० लाख डरल पनि हुने बताए ।

सामान पठाएको चार दिनपछि उनले आफैं भ्वाइस म्यासेज पठाएर विमानस्थलमा सामान ल्याएको भनेका छन् । तर त्यो प्राप्त गर्न एक बैंकको खातामा तीन लाख रुपैयाँ पठाउनुपर्ने भनेका छन् । रकम डुबेपछि बल्ल पीडित प्रहरीकहाँ पुगेकी छन् ।

दाङका २३ वर्षीय आशिष खड्कालाई अपराध अनुसन्धान कार्यालयले मात्र दुई पटक पक्राउ गरिसक्यो । काठमाडौं प्रहरी परिसर, टेकुले थप तीन पटक समातिसक्यो । तर अझै उनले ठगी धन्दा रोकेका छैनन् ।

अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार उनले विभिन्न पसलमा गएर मोबाइल हात मारेर इ-सेवामा नयाँ ई-मेल थपेर रकम चोरी गर्ने गरेका थिए । २१ फागुन २०७७ को घटनामा चाहिँ उनले जिमेलमा सेभ भएको पासवर्ड नै पत्ता लगाएर ठगी गरेका छन् ।

कारिन्दा समातिन्छन्, मुख्य आरोपी खुलेआम

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार पछिल्ला समय अनलाइनबाट हुने ठगीका उजुरी बढेका छन् । तर अधिकांश घटनामा कारिन्दा मात्रै समातिने गरेका छन् ।

‘विदेशमा बस्ने व्यक्तिले ह्वाट्स एपबाट कल गरेर ठगी गरेको हुन्छ, त्यस सम्बन्धी सूचना पाउनै गाह्रो हुन्छ’ कोइरालाले अनलाइनखबरसँग भने, ‘त्यही कारण मुख्य व्यक्तिलाई समात्न गाह्रो छ ।’ मुख्य आरोपी नसमातिँदा जति नै एजेन्ट पक्राउ परेपनि अनलाइनबाट हुने ठगीका घटना रोकिन सकेका छैनन् ।

आर्थिक वर्ष २०७७/०७८ मा कार्यालयबाट चलेको मुद्दाका १० वटा घटनामा १९ जना पक्राउ परेका छन् । तर तीमध्ये कुनै पनि मुख्य आरोपी होइनन् । सबैलाई नाइजेरिया, भारतलगायतका मुलुकमा बस्ने योजनाकारले प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

कार्यालयले १३ पुस २०७७ मा गरेको एउटा अनुसन्धान हेरौं, फेसबुक फेभर विलफ्रेण्डण्ड नामकको आईडीबाट दिपक, कशोर र सन्तोष श्रेष्ठलाई फ्रेण्ड रिक्वेस्ट आउँछ । नेदरल्याण्डमा बस्छु भन्ने ती व्यक्तिले नेपाल घुम्न आउन चाहेको बताउँछन् । साथै, नेपाल आउँदा आईफोन, सुनका गहना र डलर दिने प्रलोभन देखाउँछन् । त्यही प्रलोभनमा एक जनालाई ३ वटा आईफोन पठाइदिन्छु भनेर पटकपटक गरी ३ लाख १५ हजार रुपैयाँ हात पारेका छन् ।

अरु दुई जनाबाट २ लाख १० हजार र २ लाख रुपैयाँमा लिएका छन् । घटनामा प्रहरीले सुन्धाराबाट सन्तोष श्रेष्ठ र आशाखा श्रेष्ठलाई पक्राउ त गरेको छ । तर उनीहरु पैसा निकाल्न र पठाउन प्रयोग भएका मोहोरा मात्र भएको अनुसन्धानबाट खुलेको छ ।
अपराध महाशाखाले १५ पुस २०७७ मा रुपन्देहीको मर्चवारी-४ का २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँका ४५ वर्षीय अनन्तकुमार उपाध्यायलाई पक्राउ गर्‍यो । उनीहरुमाथि सामाजिक सञ्जाल ह्वाट्स एप, फेसबुक, इन्स्टाग्राम लगायत प्रयोग गरेर ठगी गरेकेा अभियोग थियो । पीडितहरुलाई ह्वाट्स एपमा क्योङ पल र बेक्ररा एलिजा ग्यारी नामक व्यक्तिले निरन्तर कुराकानी गरेर जुत्ता, घडी, मोबाइल तथा डलर पठाइदिने आश्वसन दिएका छन् ।

त्यही प्रलोभनमा दुई जना पीडितले २ लाख ९७ हजार र ६९ हजार ६ सय बुझाएका छन् । प्रकरणमा संलग्न नेपाली नगारिक समातिए भने उनीहरुलाई प्रयोग गर्ने विदेशी नागरिकबारे प्रहरी बेखबर छ ।

अपराध महाशाखाले १८ माघ २०७७ मा काठमाडौं प्रहरी परिसर, टेकुलाई एउटा अनुसन्धान प्रतिवेदन बुझाएको छ, जसमा तनहुँको शुक्लागण्डकी-६ की सन्दीपा परियार प्रतिवादी छिन् । उनीमाथि सामाजिक सञ्जाल फेसबुकमा इम्युनेल जोर्ज नामक आईडीबाट विभिन्न व्यक्तिलाई साथी बनाएर ठगी गरेको अभियोग छ ।

विभिन्न सुनका गहना, ब्याग र डलरसहितको पार्सल पठाउने भनेर ठगी गरेको अभियोग उनीमाथि छ । तर घटनामा संलग्न मुख्य आरोपी उनी होइनन् । विदेशबाट बस्ने नागरिकले कुराकानी गरेर पैसा निकाल्ने प्रयोजनका लागि मात्रै उनलाई प्रयोग गरेको खुलेको छ ।

‘धेरै जसो नागरिक अहिले थोरै पैसाको प्रलोभनमा फसिरहेका छन्, बाहिरबाट सञ्चालितलाई कानूनी दायरामा ल्याउन पनि समस्या छ’ कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङ पनि भन्छन् ।

फेरियो अपराधको प्रवृत्ति

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्लो समय अपराधको प्रवृत्ति पनि फेरिएको छ ।

पहिले अपराधमा संगठित र व्यवसायिक गिरोहको संलग्नतामा जघन्य प्रकृतिका अपराध धेरै हुने गरेकोमा अहिले सामाजिक सञ्जाल प्रयोग गरेर सामाजिक अपराध भइरहेका छन् । त्यसमा पनि ठगीका घटना सबैभन्दा धेरै प्रहरीकहाँ आउने गरेका छन् ।

कुँवरका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ६७२, ०७६/७७ मा ६६८ र ०७७/०७८ मा ३०७ वटा ठगी सम्बन्धी मुद्दा देशभर दर्ता भएका छन् । संगठित र जघन्य प्रकृतिका अपराधमा संलग्नविरुद्ध प्रहरी आक्रामक बन्नु र इन्टनेटको सहज पहुँचले सामाजिक सञ्जाल जोडिएका ठगीको घटना बढेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंह बताउँछन् ।
‘अहिले सामाजिक सञ्जाल नजोडिएका अपराधका घटना विरलै भेटिन्छन्’ उनी भन्छन्, ‘त्यसमाथि ठगीमा त अधिकांशमा जोडिएकै हुन्छ ।’

फेसबुक, ट्वीटर नेपालमा दर्ता नहुँदा समस्या

कार्यालयका एक अधिकृतका अनुसार ठगी र साइबर अपराधको अनुसन्धानमा सामाजिक सञ्ज्ाालका कम्पनीहरु नेपालमा दर्ता नहुँदा पनि समस्या हुने गरेका छन् ।

‘अहिले हरेक विषय सामाजिक सञ्जालमा जोडिन्छन्, फेसबुक, ट्वीटर लगायतको प्रयोगबाट अपराध भइरहेको छ’ केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबी) का पूर्वप्रमुख हेमन्त मल्ल ठकुरी भन्छन्, ‘तर सामाजिक सञ्जालसँग जोडिएका विषयको सूचना प्राप्त गर्न निकै कठिन छ ।’

अधिकारीहरुका अनुसारका अनुसार अहिले पनि प्रहरी फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतकालाई इ-मेल लेखेर सहयोग गर्न आग्रह त गर्ने गरेको छ । तर कमैबाट जवाफ आउने गरेको छ ।

‘कतिपयमा अदालतको आदेश समेत मागिन्छ, मुद्दा प्रक्रियामा नगइ अनुसन्धान गर्नु पर्ने विषयमा त निकै झमेला छ’ कार्यालयका एक प्रहरी निरीक्षकले भने, ‘नेपालमा सामाजिक सञ्जालका कार्यालय नभएसम्म गाह्रो छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले फेसबुक, ट्वीटर, भाइबर लगायतलाई नेपालमा दर्ता गर्नुपर्ने व्यवस्थासहित विधेयकसमेत ल्याएको थियो । तर त्यो विधयेक संसदमै अड्किरहेको छ ।



from Online Khabar https://ift.tt/2Y2FwOU

No comments:

Post a Comment