Tuesday, June 29, 2021

एमाले दसौं महाधिवेशन आयोजक समितिको बैठक बस्दै, नेपाल पक्ष नजाने

१६ असार, काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

माधव नेपाल पक्षका नेताहरुले भने सो बैठकमा सहभागी नहुने बताएका छन् ।

मंगलबार केपी शर्मा ओली पक्षको स्थायी कमिटीको बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र बिहीबार माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यद्यपि सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका थिए ।

पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुको असहमतिका बाबजुद माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरुलाई जिम्मेवारी दिएका थिए ।

माधव नेपाल पक्षले भने पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र त्यही केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्नुपर्ने अडान राख्दै आएको छ ।



from Online Khabar https://ift.tt/3hhB9W1

No comments:

Post a Comment