किन किन आज पटक्कै निद्रा परेको छैन । छट्पटिन्छु घरी यता, घरी उता । कोल्टे फेर्छु । निद्रा आँखाको आकाशबाट दूर क्षितिजमा कतै हराएजस्तो छ । बेलाबेलामा यस्तो त भई नै रहन्छ मलाई ।
शायद आज कफीको डोज धेरै भएको छ । चिनी विनाको तीतो कफी खाने आदत जो छ । त्यो पनि डबल डोजमा । यही कालो कफी पिउने बानीले मेरो निद्राको आयु त्यसैत्यसै घटाइरहेको छ प्रतिदिन । त्यसो त निदाउनुमा भन्दा जाग्नुमा बढी आनन्द लाग्छ मलाई ।
एक्कासी चुरोट तलतल लागेजस्तो हुन्छ । विस्तराबाट उठ्छु । छामछुम गर्दै बत्ती बाल्छु । त्यसो त औंलाहरूलाई आदत लागिसकेको छ बत्तीको स्वीच ठम्याउन । बट्टाबाट एक खिली चुरोट निकाल्छु । लाइटरले सल्काउँछु । अनि बिस्तारै ओठको बीचमा च्याप्छु । उकुसमुकुस भएजस्तो लाग्छ । झ्याल खोल्छु नजिकै अडेसिन्छु र पर्दा खोल्दै मस्तसँग तान्न थाल्छु । धूवैधूवाँले छिनमै कुइरीमण्डल बनाउँछ कोठा । धूवाँमा रमाउने आदत जो लागेको छ । औधी मनपर्छ मलाई धूवाँ उडाउन ।
त्यसो त चुरोटको होस् या अरू कुनै धूवाँ । धूवाँमा हराउन मन लाग्छ । जिन्दगी पनि त एउटा धूवाँ नै हो आखिर । एक दिन फुस्स उड्छ अनि सकिन्छ धूवाँ बनेर ।
किन किन कविता कोर्न मन लाग्यो । एक टुक्रा कोरी पनि हालें ।
यो एक्लो नि:शब्द रात
यो निस्पट्ट शून्यता
यी ताराहरूको मादक प्रेम
दिलमा तरङ्ग ल्याउने
तिम्रा रूमानी यादहरू
यो चुरोटको मृत्युमा उत्सव मनाइरहेको
धूवाँको रङ्गमङ्गाइ
अनि तिम्रो र मेरो अलौकिक प्रेमको
अधुरो प्रेमकथा ।
****
फेसबुकमा पोस्ट्याउँछु । समयको पर्वाह लाग्दैन मलाई । बेपर्वाह मान्छे जो परें । खासमा आफ्नै खुशीमा हिंड्ने मान्छे म, आफैंमा आफैं रमाउन मनपराउँछु । बिन्दास बाँच्न मनपर्छ मलाई । निर्वाध रूपमा जिउनुको बेग्लै मजा हुन्छ । शायद मजस्तै गरी बाँच्नेलाई थाहा होला ।
मध्यरात कटेर पनि अर्को नयाँ बिहानीको एक बज्न लागिसकेको हुन्छ । सारा दुनियाँ मस्तसँग निद्रामा लुट्पुटिंदै, सपनाको दुनियाँमा आ-आफ्नो उडान भर्दै होलान् । म भने आमाले सानो छँदा सुनाएका भूतप्रेतका दन्त्यकथाको पात्र जस्तै भूत बनेर जाग्राम बसेको हुन्छु ।
पूरा रात बित्नै लागिसक्यो । यसरी आफ्नै तरिकाले जिउनुको पनि बेग्लै मजा हुन्छ लाइफमा ।
कविता फेसबुकमा पोस्ट्याएको पनि केही समय बितिसकेको हुन्छ । लाइक आउँछ्न् फाट्टफुट्ट । यो मध्यरातमा बसेर लाइक र कमेन्ट गर्ने मजस्तो पागल शायद अरू को नै पो भूत बनेर जागेको होला र यतिबेला । हाँसो उठ्छ मनमनै आफैंलाई देखेर । मुस्कुराउँछु ।
सोची नसक्दै फ्याट्टै पहिलो कमेन्ट आइहाल्छ । ‘मन छुने लेख्नुभयो’ अनि लभ रियाक्ट पनि । लभको रियाक्टको प्रतिक्रियामा गरें मैले पनि रिप्लाईमा । कहिल्यै रिप्लाई गर्न जरूरी नठान्ने मैले आज भने धन्यवाद लेखें पहिलोचोटि । खोइ किन हो आज आफ्नै औंलाहरू आफैं अनुमति विना नै कुद्दै थिए अक्षरको दौडमा । अरोमा नाम गरेकी अजनवी युवतीबाट शायद पहिलो पटक नै आएको थियो यो कमेन्ट । किन किन उसको प्रोफाइल चेक गर्न मन लाग्यो ।
प्रोफाइलमा क्लिक गरें । सुन्दर मुहार, मन्द मुस्कान, छोडिएको कपालमा निकै सुन्दर देखिने प्रोफाइल पिक्चर रहेछ । एकएक स्क्रोल गर्दै हेर्न थालें सबै तस्वीरहरू । मध्यरातमा यसरी मजस्तै जागा बसेर कमेन्ट गर्ने आखिर को हो ऊ । फोटो खिच्न मन पराउने देखियो सबै तस्वीरहरू हेर्दा । फरक-फरक पोजमा, फरक-फरक ठाउँ र परिवेशमा थुप्रै फोटोहरू खिचेकी रहिछ । साह्रै राम्री लाग्यो लगभग एकाध घन्टा लगाएर सबैजसो फोटो हेरें । जब सबै हेरेर सकियो निद्रा त हराएकै थियो । झन् अनौठो छट्पटी भो । मन कौतूहल भो । बेचैनी छुट्यो कस्तो-कस्तो ।
उसको बारे झन् धेरै जान्ने उत्सुकता जाग्यो । बोल्न मन लाग्यो एकाएक । यति राति यो समय के हुँदैछ मलाई म ठम्याउन सकिनँ । मनलाई कति सम्झाउन खोज्छु तर दिमागको चल्दैन केही । भाषा बुझ्दैन दिलले दिमागको आजभोलि ।
बोल्न भन्न मन लाग्यो एकपटक । जे सुकै सोचोस्, जे सुकै बुझोस् । हेलो लेखिहालें, छिनमै रिप्लाई आयो हजुर भन्ने । हजुरभन्दा मन भित्रैसम्म छोयो । मलाई केटीहरूले हजुर भनेको साह्रै मीठो लाग्छ ।
कति मीठो लेख्नु हुन्छ हजुर । म आफ्नै काल्पनिक दुनियाँमा हराउँदै गर्दा उताबाट म्यासेज आइसक्छ । धन्यवाद भनें । म हजुरको ठूलो फ्यान हो भन्ने म्यासेज आयो । खुशी लाग्यो धन्यवाद भनें ।
– ‘म हजुरका कविता सधैं र सबै जसो पढ्ने गर्छु तर हजुरले चिन्नुहुन्न मलाई !’
– ‘ए हो र ? माफ गर्नुहोला आजदेखि चिनें नि त’ भनें अनि हाँसेको एमोजी सेन्ड गरें ।
फुर्सद नै फुर्सद थियो जीवनमा । दिनभरि सुत्नु र साँझ परेपछि एकान्तमा डुल्नुबाहेक केही काम थिएन । ‘भोलि नै भेटौं न त तपाईंलाई फुर्सद छ भने । तपाईंलाई पायक पर्ने ठाउँमा’, म्यासेज पठाएँ ।
हुन्छ भन्ने रिप्लाइ आयो तुरून्तै । मलाई किन किन उसलाई अहिल्यै भेटिहालौं जस्तो भएको थियो । योभन्दा अगाडि पनि त धेरै पाठकहरूसँग भेटेको थिएँ तर यति धेरै कौतूहल र बेचैनी कहिल्यै भएको थिएन ।
****
उज्यालो भयो । घामले पृथ्वीलाई स्पर्श गर्यो । बिहान नौ बजेको समय दिएको थिएँ । घर नजिकको रेस्टुराँमा भेट्न आग्रह गरेको थिएँ । छिटोछिटो तयार भएँ । तयार त के हुनुथियो र, हातमुख धोएँ, लुगा घुसारें अनि मोबाइल समातेर बाटो लागें ।
सिमसिम पानी पर्न शुरु भयो । बर्खामासको मौसमको केही ठेगान हुन्न । कति बेला आकाश रून शुरु गर्छ । म क्याफे पुगें तर उनी भने अझै आइपुगेकी थिइनन् । फोन गर्न आँट पनि आएन । नम्बर त थियो हिजै आदानप्रदान गरेको, तर फोन गर्न सकिनँ ।
मलाई तीतोभित्रको मीठोपन मन पर्छ धेरै । अक्सर डार्क कलरहरूमा रमाउँछु । यत्तिकैमा चुरोट लिएर आयो हँसिलो मुहार बोकेको वेटर स्ट्रेसहित । मुस्कानसहित टक्र्याएर गयो । चिसो मौसममा तातो कफी र चुरोटको न्यानो धूवाँले मनमुटु न्यानो बनायो ।
कुरें आधा घन्टा । हस्याङफस्याङ गर्दै आइपुगी मेरो अगाडि । म झस्कें । डराएँ कि लजाएँ अहँ थाहा छैन । तर ऊ मभन्दा झन् धेरै लजाएकी जस्तो लाग्यो । मुस्कान छोड्दै, दुवै हात जोडेर नमस्ते गरी । हात जोडेरै फर्काएँ मैले पनि । सेतो कुर्तामा सेतो गुलाफजस्ती देखिन्थी । आधा सलले छाती छोपेकी आधा सलले आधा टाउको छोपेकी । आधा भिजेकी नजिकै गमलामा भिजेको सेतो गुलाफ जस्तै देखिन्थी ।
कुनै नयाँ उपन्यासकी अद्भुत पात्र जस्ती लाग्यो मलाई । संसारको उत्कृष्ट नशालु पदार्थभन्दा मादक दिने खालका नशालु थिए उसका नजर । समुद्रको गहिराइभन्दा गहिरा लाग्ने आँखाहरू ।
उसको आवाज सुन्न उत्सुक थिए मेरा कानहरू । यति शालीन, यति सुन्दर मान्छेको अवाज कस्तो होला ? तर अहँ केही बोलेकी छैन ऊ ।
‘केही त बोलन’, आफैं बोल्न आग्रह गरें । अहँ केही बोल्दिनँ अझै । खाली मुस्कुराउँछे मात्र । मलाई भने यो मौनताले सताइरहेको छ । वेटरलाई बोलाएँ उसको लागि एउटा मिल्क कफी अर्डर गरें ।
‘अरू केही लिन्छौ तिमी ?’, अझै केही बोल्दिनँ ।
इशाराले त्यति भए पुग्छ भनी । टाउको र हात हल्लाई मात्र । म अचम्म परें, झस्कें । कतै यो बोल्न नसक्ने त होइन ? मन त्यसैत्यसै डरायो, अत्ताल्लियो । शरीर थरथर काँपेजस्तो भयो ।
‘धत् ! म पनि केके सोच्छु । धेरै कल्पनामा डुब्ने भएर होला यति धेरै सोचेको ।’
‘तिमी किन केही बोल्दिनौ ?’, साहस बटुलेर सोधें ।
ऊ मुसुक्क मुस्कुराई मात्र । मोबाइलको नोटमा केही लेखेजस्तो गरी । झुकेका नजरले मलाई हेर्दै मोबाइल देखाई- ‘म आँखाले मात्र बोल्न सक्छु ।’
पढी नसक्दै आकाशबाट खसेजस्तो भएँ । जे हुन्न भन्ने सोचें त्यही भएर छाड्यो । आँखामा अँध्यारो छायो ।
‘अरोमा…’
अति मीठो छ तिम्रो नाम भनें । इशारा र भावमै धन्यवाद भनी । यसको अर्थ के हो थाहा छ तिमीलाई भनेर सोधें । नजिकै गमलामा मुस्कुराइरहेको गुलाफको फूल देखाउँदै टेबलमा पानीको थोपाले ‘सुगन्ध’ लेखी । आहा कति सुन्दर, कति मीठो ! जस्तो सुन्दरता उस्तै सुगन्धित अर्थ ।
किताबमा साइन गरेर दिएँ । ‘प्रिय पाठक अरोमालाई सप्रेम भेट’ लेखेर । मुस्कुराउँदै धन्यवाद भनी । कफी पियौं दुवैले ।
तीतो कफीको अन्तिम घुट्कीसँगै पिएँ उसको वास्तविक जीवनको तीतो सत्य । आखिर ऊ पनि त तीतो कफी जस्तै मीठो दाग छोडेर हिंडी आफ्नै मौन संसारको मौन बाटो भएर ।
म भने चुरोटको चिहानबाट उसको चित्राकृति बनाउँदै आफ्नै काल्पनिक दुनियाँतिर लागें ।
from Online Khabar https://ift.tt/2TKwp3v
No comments:
Post a Comment