२७ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आठ महीनायता भैरहवामा छन् । त्यसैले पनि उनी काठमाडौंका मिडियामा हिजोआज देखा पर्दैनन् । उनलाई पनि आफू मिडियाबाट टाढिएको हो कि भन्ने परेको छ ।
अनलाइनखबरकर्मी कमलदेव भट्टराईसँगको कुराकानीमा उनले भने, ‘असोजदेखि भैरहवा आएको । बीचमा राष्ट्रिय सम्मेलन थियो, चैतमा काठमाडौं गएँ । यहाँ अरू त केही होइन, मिडियाबाट अलि टाढिने क्या, काठमाडौंमा हुँदा मिडियाका साथीहरू कोठामा आइरहन्थे ।’
कुराकानीको शुरूआत अहिलेको राष्ट्रिय राजनीतिबाट नै गरियो । कुराकानीको क्रममा केसीले भने, ‘प्रतिगामीहरूले प्रतिनिधिसभा भंगलाई समर्थन गरेका छन्, नत्र त सामान्य प्रजातान्त्रिक र संवैधानिक शासन मान्ने कसले यो कदमलाई समर्थन गर्छ !’
प्रस्तुत छ केसीसँगको कुराकानी:
प्रतिनिधिसभा विघटनलाई कसरी लिनुभएको छ ?
यो त असंवैधानिक र अप्रजातान्त्रिक कदम हो । यो अपराध नै हो । संसद हत्तनपत्त बन्द गर्ने अनि अध्यादेशबाट ऐन कानून ल्याउने काम भयो ।
लामो समय कम्युनिष्ट आन्दोलनमा विताएका प्रधानमन्त्री केपी शर्मा ओलीले किन यस्तो कदम लिए होलान् त ?
यो एउटा प्रवृत्ति हो । उनले नेपालको इतिहासमा महाकाली सन्धि पारित गरेकै हुन् । गणतन्त्र ल्याउने बेलामा त उनी हामीसँगै थिए । तर ओलीको भूमिका चाहिं राम्रो थिएन । पछिल्लो पटक संविधान जारी गर्ने अवस्थामा ओलीले जुन उडान लिए, त्यसबाट हामी पनि झुक्कियौं, नेपाली जनता पनि झुक्किए ।
चिन्नै नसक्ने जन्तु त संसारमा मानिस न हो । महाकाली सन्धि पास गर्ने समयमा उनले कत्रा–कत्रा कुरा गरेका हुन्, त्यो कुरा अहिले सबैको कानमा गुन्जिरहेको छ । आज तपाईंलाई स्पष्ट रूपमा भनौं, २०६२/६३ को जनआन्दोलनताका हामीले चित्रलेखा यादवलाई सभामुख मानेर रत्नपार्कको सडकमा संसद चलाउँदा त्यहाँ मैले यो आन्दोलनमा पनि हिंड्ने, उता राजदरबारतिर ‘प्रभु म यतै छु, यता हिंड्न परेको हुनाले हिंडेको छु’ भन्ने मान्छे पनि हामीसँग छन् भनेको थिएँ ।
मैले सभामा यो कुरा भनिहालें, सभा सकिएपछि ओलीजीले आएर च्याप्प हात समात्नुभयो । ओलीले ‘म तपाईं सँगैसँगै छु, मलाई भनेको होइन तपाईंले’ भने । मैले ‘के तिम्रो नाम लिएर भनेको छु र यस्ता मान्छे पनि छन् भनेको हुँ’ भनें । त्यतिबेला सुवास नेम्वाङ र म वल्लो–पल्लो घरमा डेरा गरेर बस्ने गर्दथ्यौं । सुवासले रत्नपार्कमा ल मैले घर जाने ट्याक्सी बन्दोबस्त गरेको छु, त्यसैमा जाउँ भन्नुभयो । मलाई आश्चर्य लाग्यो, हामी सँगसँगै हिंडे पनि उहाँले कहिल्यै पनि त्यसो गर्नुहुँदैनथ्यो । के कारणले ट्याक्सीमा जाउँ भन्नुभयो भन्ने लाग्यो ।
उहाँले बन्दोबस्त गरेको ट्याक्सीमा चढ्ने बित्तिकै ‘ओलीलाई आज सक्दो दनक दिनुभो केसीजी’ भन्नुभयो । त्यो कुरा उनीहरूको मनमा पनि थियो । ओली गणतन्त्रको पक्षमा छैनन् भनेर उनीहरूले भन्न सकेका थिएनन् । मन चाहिं दरबारतिर, यता गणतन्त्रको जुलुसमा मिसिएन भने पछाडि परिन्छ भनेर हामीसँग । यसकारण मैले नाम नलिइकन भनेको नै ओलीजीलाई थियो । संसारमा मानिसले के गर्छ भन्ने बुझ्न नै कठिन हुन्छ ।
उनले पार्टी एकता गरे, शक्तिशाली पार्टी निर्माण गरे तर अहिले उनकै चाहनामा त्यो पार्टी फुटेको हो त ?
उनकै चाहना हो नि ! उनी इमानदार भए त संसद विघटन गर्ने बेलामा पार्टीभित्र छलफल गर्नुपर्ने हो । म पनि ६० वर्षदेखि पार्टी संचालन गरेको व्यक्ति हुँ । संसद विघटन जस्तो महत्वपूर्ण विषयमा त पार्टीले मान्छ कि मान्दैन भनेर सोध्नुपर्छ । पार्टीलाई बाइपास नै गर्न पाइँदैन ।
ओलीजीको तमासा देखियो । आफू नजित्ने अवस्था भए पार्टीको बैठकमा नै नजाने, पार्टीभित्र लोभीपापीलाई पद दिने । वामदेवलाई समेत प्रधानमन्त्री बनाउँछु भनेका हुन् । संविधान च्यात्ने काम गरे । नेपाली जनताले त्यत्रो महत्वपूर्ण पदमा पुर्याएको राष्ट्रपति पनि खेलौना बनिन् । यो सबै सुनियोजित नै हो
कतिपयले त बाहिरी शक्तिले उक्साएको पनि भनेका छन्, होला ?
यो त २००७ सालदेखि नै हो । इतिहास हेर्नुस् त । त्रिभुवनको निजी सचिव को थिए, विदेशीले बीपीको सचिवमा कसलाई राखेका थिए ! अनि यहाँ पंचायत ढल्नै लाग्यो, उताबाट आएर राजा वीरेन्द्रलाई जनमतसंग्रह गर्न भने । त्यसपछि लाखौं पारिका मान्छेलाई मतदाता नामावलीमा राखे । पछि आएर, कृष्णप्रसाद भटराईले त्यसलाई सदर गर्नुभयो । दुनियाँ हेर्नु न । सबै नेताको भूमिका हामीले देखिरहेका छौं ।
त्यसो हुनाले बाहिरका मान्छेको भूमिका गौण हो, मुख्य कुरा आफ्नो पदको लागि यहींका मान्छे लागे । जंगबहादुरको त्यो महत्वाकांक्षा नभएको भए कोतपर्व हुने थिएन । त्यसपछि ब्रिटिशले राणाहरूलाई कसरी खेलाए, २००७ सालपछि मातृका, बीपी लगायतका नेतालाई कसरी खेलाए ! ५० को दशकमा एमाले र माओवादीभित्र भारत कसरी खेल्यो सबै स्पष्ट छ नि !
हामीले कारबाही गरेको २४ घन्टा नबित्दै थापाको सांसद पद सर्वाेच्चले पुनर्स्थापना गरिदियो । अदालतमा ओलीजीको कत्रो सेटिङ रहेछ देखियो ।
भारतले खेल्नचाहिं हामीसँग पनि खोजेको हो । आफू विरुद्धमा जानेहरूलाई उनीहरू फुटेका आँखाले रुचाउँदैनन् । मूल कुरा उनीहरूले नेपालमा रहेका शासक र पार्टीहरूको कमजोरीबाट फाइदा उठाएका हुन् । उनीहरू संविधान रोक्न आए तर नेपालका नेताहरूले मानेनन् ।
रोगले जहिले पनि कमजोर व्यक्तिमाथि आक्रमण गर्छ । स्वस्थ मान्छेलाई रोगले छुन सक्दैन । त्यसैले २००७ सालअघिको, राजाको शासन, कांग्रेसको शासन हेर्नुस् । त्यसकारण हाम्रा कमि–कमजोरीमा उनीहरू खेल्ने र फाइदा उठाउने हो । हामी एकढिक्का भएको दिन उनीहरू पराजित भएका छन् ।
भारतले संविधान रोक्न त सकेन । त्यसैगरी युरोपियनले नेपाललाई जातीय प्रदेश बनाउन सकेनन् तर भारतले प्रदेश त बनाइछाड्यो । जतिवेला हाम्रो महत्वाकांक्षा, निजी स्वार्थलाई अगाडि राखेर हामी बिक्री हुन्छौं, उनीहरूले खेल्छन् ।
कम्युनिष्ट पार्टीमा भारतले बढी खेल्ने गरेको हो ?
होइन, सबै पार्टीमा खेलेका छन् नि ! आफैंले हामी कम्युनिष्ट होइन भन्दाभन्दै पनि हामी तिनलाई कम्युनिष्ट भन्दिन्छौं । मनमोहन अधिकारीले अमेरिकी पत्रकारहरूलाई अन्तर्वार्ता दिंदै ‘कम्युनिष्ट हाम्रो ट्रेडमार्क हो, नेपाली जनता वामपन्थीको पक्षमा छन् त्यसैले थोत्रो कोट भए पनि जाडोमा काम लाग्छ भनेर कम्युनिष्ट नाम राखेको हो’ भनेका थिए ।
मनमोहन अधिकारीले सत्य कुरा गर्नुभएको हो । मदन भण्डारीले बहुदलीय जनवाद भनेर माक्र्सवादलाई संशोधन गरेपछि कैयौं विदेशी खुशी भए । संसदीय व्यवस्थामा त ठूला व्यापारी, माफियाहरूले पैसा ओछ्याएर आउने न हो । संगठन र सिद्धान्तको आधारमा त एकदमै कम मान्छे मात्र जितेर आउँछन् ।
केपी ओलीले संविधान निर्माणताका मधेशवादी दलहरूको एजेण्डा मानेनन्, तर अहिले सहमत भए, त्यस पछाडिको कारण के होला ?
आफ्नो पार्टी ध्वस्त पारेपछि, आफ्नो संविधान ध्वस्त पारेपछि ओली भारतको शरण परेका हुन् । रअ प्रमुख आएर योजना बनाएपछि उनी सोही योजना अनुसार अगाडि बढेका हुन् । भारतीयहरूको योजना नै त्यही थियो । अहिले ओलीले आफ्नो रक्षा महन्थ ठाकुर र राजेन्द्र महतोलाई सामेल गरेर गरे । भारतीयहरूको एजेण्डा कार्यान्वयन गरेपछि उनले आफूलाई सुरक्षित देखे ।
आफ्नो पार्टी मार्फत जनताको काम गरेर होइन कि यो बीचमा अरूको सहयोग लिने काम भयो । यो एक प्रकारले पतन नै हो । मेरै हेर्नुस् न, उमेरको कारणले पार्टीको नेतृत्व गर्न सक्ने अवस्था छैन, तर देशभरिबाट आएका साथीहरूले ‘तँ नेतृत्वबाट भाग्न पाउँदैनस्’ भनेपछि फेरि जिम्मेवारी लिएको हुँ ।
बाहिर विरोधीहरूले पद नछोडेको भनेका छन् तर वास्तवमा त्यो होइन । सबैभन्दा महत्वपूर्ण कुरा पार्टीको नेताले पार्टीको निर्णय र निर्देशनलाई कार्यान्वयन गर्नुपर्छ । तर ओलीले यो सबै छले र अल्पमतमा पर्ने भएपछि पार्टीको बैठकमा नै गएनन् ।
गण्डकी प्रदेशमा देखिएको पार्टी विवादलाई मिलाउन के गृहकार्य भइरहेको छ ?
हामी २०५१ सालदेखि संसदीय प्रणालीमा आएका हौं । त्यसबेलादेखि अहिलेसम्म हामी निरन्तर संसदमा छौं । धेरै साथी सांसद हुनुभयो । केहीले पार्टी छोडेर जानुभयो । तर पार्टीमा रहेसम्म उहाँहरूले पार्टीको निर्देशनलाई शिरोपर गर्नुभएको छ ।
मन्त्री र अन्य धेरै लोभलालचहरू आए होलान्, पद र पैसाका अफर आए होलान् । अहिलेसम्म सबैले पार्टीको निर्देशन माने । कृष्ण थापाले पृथ्वीसुब्बा गुरुङलाई हटाउने सवालमा मेरो विमति छ तर मैले पार्टीको निर्देशनलाई मान्छु भनी पटक–पटक भनेका हुन् । तरिका नै त्यही हो, पार्टीको निर्देशन मान्नुपर्छ ।
केपी ओलीजीसँग मेरो जति व्यक्तिगत सम्पर्क र सम्बन्ध छ, हाम्रो पार्टीका अरू सांसदको छैन । थापा आफैंले ओलीको पुस ५ गतेको कदम प्रतिगामी हो र हटाउनुपर्छ भनेर वक्तव्यहरूमा आयो । पछि उनले पार्टीको ह्वीप र निर्णय पालन गरेनन् र मुख्यमन्त्रीलाई हटाउने प्रस्तावमा सही गर्न मानेनन् ।
दलीय व्यवस्थामा पार्टीको ह्वीप नमानेपछि त पार्टीले कार्बाही गर्छ । यो संसदीय व्यवस्थाको सिद्धान्त हो । हामीले कारबाही गरेको २४ घन्टा नबित्दै थापाको सांसद पद सर्वाेच्चले पुनर्स्थापना गरिदियो । अदालतमा ओलीजीको कत्रो सेटिङ रहेछ देखियो । दलले आफ्नो सांसदलाई नियन्त्रण गर्न नसक्ने भएपछि दलीय व्यवस्था कसरी चल्छ ?
जसपाले पार्टीले निर्णय नमानेका कारण सरिता गिरीलाई तुरुन्त पार्टीबाट निष्कासन गरेको हो । ओलीलाई पार्टीका बहुमत केन्द्रीय सदस्यले हटाइसकेपछि पनि उनी अहिले पार्टीको अध्यक्ष भन्दै हिंडेका छन् । त्यसकारण उनी आफैं अवैधानिक छन् । अदालत सेटिङमा गयो ।
तपाईं अदालतमा साँठगाँठ देख्नुहुन्छ ?
एकदमै देखियो नि ! अदालतमा हजारौं मुद्दा होलान् तर हाम्रा सांसदको हकमा २४ घन्टामा फैसला आयो । पार्टीको ह्वीप नमानेको सांसदलाई यति छिट्टै पुनस्र्थापना गर्ने भनेको त सीधै सेटिङ हो नि ! त्यसभन्दा पहिला सर्वाेच्चले नेकपा एमाले र माओवादी छुट्टाछुट्टै दल बनाउनुपर्छ भनेर फैसला दियो ।
from Online Khabar https://ift.tt/3vaqPUA
No comments:
Post a Comment