Friday, June 11, 2021

गोर्खाली पाराले खेल्यौं : प्रशिक्षक अलमुताइरी

२८ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत नेपाल शुक्रबार अष्ट्रेलियासंग ३-० ले पराजित भयो ।

नेपालले दोस्रो हाफ पूरा १० खेलाडीमा समेटिएर खेलेको थियो । पहिलो हाफमा नेपालले दुई गोल बेहोरेको थियो भने दोस्रो हाफमा एक खेलाडी कम हुँदा नेपालले एक गोल मात्र बेहोर्‍यो । प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडीहरुले गोर्खाली शैलीमा खेलेको बताए । उनले १० वा ११ खेलाडी जति भएपनि खेलाडीको प्रदर्शनबाट सन्तुष्ट देखिए ।

‘नेपालीहरु विश्वमा गोर्खाली भनेर चिनिन्छन् । आज हाम्रो खेलाडीले गोर्खाली जसरी नै खेल्यौँ । १० खेलाडी होस् या ११, हामीले हरेक समय भिडेर खेल्यौं ।’ उनले भने । अलमुताइरीले मैदान उत्रेका सबै खेलाडीले मिहिनेत गरेर खेलेको बताए । उनले यस्तो खालको मानसिकता विकास हुनुपर्ने पनि बताए ।

फिफा वरीयतामा ४१ औ स्थानमा रहेर अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१औं स्थानमा छ । एसिया कप जितिसकेको अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध नेपाली खेलाडीले गरेको मिहिनेतको अलमुताइरीले प्रशंसा गरे । ‘पहिलो हाफको सुरुमै गोल खायौँ र दोस्रो हाफमा १० खेलाडीमा समेटियौँ । तर खेलाडीले मिहिनेत गरेर खेले । म यसमा खुशी छु ।’

उनले केही काउन्टर अट्याकको प्रयास गरेपनि सफल हुन नसकेको बताए । यस्तै मिडफिल्डमा जम्ने मानसिकताका साथ खेलेको र मिहिनेत गरेको बताए । अलमुताइरीले कुवेत टुरमा सबै खेलाडीले अनुभव बटुल्ने अवसर पाएको पनि बताए । नेपालले समूह बीको बाँङ्की ३ खेल खेल्दा अष्ट्रेलिया र जोर्डनसंऊ समान ३-० को हार बेहोर्‍यो भने चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो ।

कुवेत जानुअघि इराकसंगको मैत्रीपूर्ण खेलमा नेपाल मनिस डाँगी र गौतम श्रेष्ठले डेब्यु गरेका थिए । अष्ट्रेलिया विरुद्ध आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले इन्जुरी टाइममा मैदान प्रवेश गर्दै डेब्यु गरे । पहिलो पटक नेपाली टिममा परेका ६ मध्ये गोलकिपर विशाल सुनारले मात्र डेब्यु गर्न पाएनन् । यस्तै यसअघि नै राष्ट्रिय टिममा परेपनि अहिले टिममा रहेका अर्का गोलकिपर दिप कार्कीले पनि डेब्यु गर्न बाँकी छ ।



from Online Khabar https://ift.tt/3geaJ8f

No comments:

Post a Comment