२३ असार, म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।
मङ्गला गाउँपालिका-५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । घरभित्र सुतिरहेका मालिका-६ का खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिका-६ का वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।
बजिनको शव भेटिएको र बिना बेपत्ता भएको वडाध्यक्ष सुवेदीले बताए । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरु बेपत्ताको खोजीका साथै जोखिममा रहेका घरको व्यवस्थापनमा परिचालन भएका छन् ।
खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२÷११ केभी क्षमताको सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमीन जोखिममा परेको छ ।
इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले घटनास्थल पुगेर क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी र जोखिममा परेका घरधुरी व्यवस्थापनमा जुटेको बताए ।
from Online Khabar https://ift.tt/2VfXnk3
No comments:
Post a Comment