Friday, July 23, 2021

होला त भदौमा कांग्रेस महाधिवेशन ?

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार काम भएको भए यति बेला क्रियाशील सदस्यताको सूची प्रत्येक वडामा पुगिसकेको हुन्थ्यो । गाउँगाउँमा महाधिवेशनको चहलपहल शुरु भइसक्थ्यो । १२ साउनमा वडा अधिवेशनको मिति तोकिएकाले केन्द्रीय नेताहरु पनि अहिले आआफ्नो गृहजिल्लामा पुगिसक्थे । तर स्थानीय अधिवशेन शुरु हुन तीन दिन मात्रै बाँकी हुँदा कांग्रेसको क्रियाशील सदस्यताको काम टुंगिएको छैन ।

महाधिवेशनको कार्यतालिका अनुसार २० असारभित्र क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताको अन्तिम सूची सभापतिलाई बुझाइसक्नुपर्ने हो । ३० असारभित्र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने कार्यतालिकामा उल्लेख छ । तर समितिले सभापतिलाई अझै क्रियाशील सदस्यता सूची बुझाइसकेको छैन ।

कार्यतालिका अनुसार काम नहुँदा महाधिवेशन प्रभावित हुने निश्चित छ । महाधिवेशनलाई लिएर कांग्रेस नेता कार्यकर्तामा अनिश्चिता र अन्यौलता बढ्दै गएका बेला कांग्रेसले कुनै निर्णय गरिसकेको छैन ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनको अन्तिम मिति नसर्ने गरी स्थानीय अधिवेशनको कार्यतालिका फेरबदल हुन सक्ने बताए । ‘केन्द्रीय महाधिवेशन भदौ १६-१९ गते नै गर्ने गरी अरु अधिवेशनको मिति केहि पर धकेलिनसक्छ,’ उनले भने, क्रियाशील सदस्यताकै काम नसकिएकाले कार्यतालिका प्रभावित भइसकेको छ ।’

४ असारमा बसेको केन्द्रीय समिति बैठकले अन्तिम पटकका लागि भन्दै महाधिवेशन कार्यतालिका परिमार्जन गरेको थियो । कार्यतालिका अनुसार वडा अधिवेश १२ साउन, पालिका अधिवेशन १६ साउन, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६-१९ भदौमा काठमाडौंमा गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।

पटकपटक कार्यतालिका संशोधन गर्दै आएको कांग्रेसका लागि भदौ तेस्रो सातासम्म महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कानूनी बाध्यता छ । पार्टी विधान अनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । २०७६ फागुनमै कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसक्नुपर्ने हो तर विधानले दिएको एक वर्षको सुविधा प्रयोग गर्दे २०७७ फागुन ७-१० गतेसम्म महाधिवेशनको समय तोकिएको थियो तर कोरोना महामारीसँगै पार्टीको सांगठानिक समायोजनको काम पनि बाँकी रहेकाले कांग्रेसले कानूनी सहारा लिँदै महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । भदौमा महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकतामाथि प्रश्न उठ्ने जोखिम छ । त्यसैले पनि कांग्रेसलाई भदौमा महाधिवेशन गर्नैपर्ने दबाब छ ।

‘यो समयमा महाधिवेशन गर्नैपर्ने बाध्यता छ हामीलाई । हाम्रो देशको संविधान र पार्टीको विधानले पनि अब हामीलाई महाधिवेशन पर धकेल्ने छुट छैन,’ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘तोकिएको मितिभन्दा महाधिवेशन पर सर्‍यो भने पार्टीको वैधानिक अस्तित्व खतरामा पर्छ । हामी कुनै पनि हालतमा पार्टीको वैधानिक संकट आउन दिंदैनौं ।’

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा दलको सङ्घीय तहमा रहने केन्द्रीय समिति तथा प्रदेश तहमा रहने प्रदेश समितिमा प्रत्येक पदाधिकारीको निर्वाचन दलको विधानमा व्यवस्था भए बमोजिम प्रत्येक पाँच वर्षमा कम्तिमा एक पटक गर्नुपर्ने व्यवस्था छ । ऐनमा भनिएको छ, ‘विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा त्यस्ता पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसक्ने भएमा विधानमा व्यवस्था भए बमोजिम आयोगलाई जानकारी गराएर त्यस्तो अवधि पूरा भएको मितिले ६ महीनाभित्र त्यस्ता पदाधिकारीको निर्वाचन गर्नुपर्नेछ ।’

माधिवेशन गर्नुपर्ने पाँच वर्षको समय गुजारेको कांग्रेस अहिले थप छ महीना अवधिको पनि अन्तिमतिर छ । कतिपय नेताहरुले भदौमा महाधिवेशन हुन नसक्ने अवस्था आए पार्टीको बैधानिकता कसरी जोगाउने भनेर विकल्पबारे छलफल गरेको सुनिन्छ । तर कांग्रेस वरिष्ठ नेता पौडेलले भने तोकिएकै अन्य विकल्पमाथि छलफल हुनै नसक्ने दावी गर्छन् । ‘महाधिवेशन समयमा हुँदैन भनेर विकल्पका जुन कुरा आइरहेका छन् ती सबै काल्पनिक र अड्कलबाजी मात्रै हुन् । जहाँसम्म भदौ १६ देखि १९ गतेसम्मको महाधिवेशनको मिति छ, त्यो अनिवार्य र अपरिहार्य छ,’ उनले प्रष्ट पारे ।

सभापति देउवानिकट एक नेताका अनुसार अब बस्ने पदाधिकारी बैठकले केन्द्रीय महाधिवेनको मिति यथावत् राख्दै अन्य अधिवेशनको कार्यतालिका फेरबदल गर्ने बताए । ‘वडा अधिवेशन कम्तिमा दश दिन पर धकेलिन्छ होला, त्यही अनुसार पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा, जिल्ला र प्रदेशको मिति परिमार्जन हुन्छ,’ ती नेताले भने, ‘तर केन्द्रीय महाधिवेशन भने तोकिएकै समयमा हुन्छ ।’ यसबारे सम्भवतः कांग्रेस पदाधिकारीले शनिबार निर्णय गर्नेछन् ।

कांग्रेसमा क्रियाशीलको किचलो

कांग्रेसमा महाधिवेशनका लागि प्रारम्भिक मतदाता हुन् क्रियाशील सदस्य । क्रियाशील सदस्यता नटुंगिएसम्म महाधिवेशनका काम अगाडि बढ्दैन । कांग्रेसमा १४ औं महाधिवेशनमा क्रियाशील सदस्य आठ लाख ५० हजार पुगेका छन् । विभिन्न ३० देशमा रहेका जनसम्पर्क समितिबाट क्रियाशील सदस्यताको सूची आइसकेको छैन । क्रियाशील सदस्यता छानविन समितिका अनुसार जनसम्पर्क समितिबाट करिव पचास हजार क्रियाशील थप हुनेछन् ।

कांग्रेसमा महाधिवेशन नजिकिएसँगै प्रत्येक पटक क्रियाशील सदस्यतालाई लिएर विवाद हुने गरेको छ । क्रियाशील सदस्यले वडा कमिटी र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् । क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने भएकाले नेताहरुको चासो क्रियाशील सदस्यतामा बढि देखिन्छ ।

रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ । समिति प्रवक्ता प्रदीप पौडेलले शुक्रबार क्रियाशील सदस्यको अन्तिम सूची सभापतिलाई बुझाउने तयारी रहेको बताए । ‘हामीले आफ्नो काम सम्पन्न गरेका छौं । सम्भवत् शुक्रबार सभापतिलाई भेटेर प्रतिवेदन बुझाउँछौं,’ उनले अनलाइनखबरसँग भने । समितिले ७५ जिल्लाको काम सम्पन्न गरेको छ भने बारा र सप्तरीको सदस्यता विवाद यथावत् छ ।

समितिले क्रियाशील सदस्यताको प्रतिवेदन सभापतिलाई बुझाउने तयारी गरिरहेका बेला पार्टी कार्यालयमा धर्ना र अनसन गर्नेको संख्या बढ्दै गएको छ । बारा, धनुषा र सर्लाहीका नेता कार्यकर्ता सानेपामा धर्नामा छन् । प्रदेश दुईमा समायोजनका नाममा वितरण गरिएको क्रियाशील सदस्यतालाई लिएर बढि विवाद देखिएको छ । सबैभन्दा बढि विवादित जिल्लामा बारा, सप्तरी, सिन्धुपाल्चोक र रसुवा रहेका छन् । यी चार जिल्लामा नयाँ र समायोजनलाई स्थगन गरेर १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट महाधिवेशन गर्न समितिले सिफारिस गरेको हो ।

‘डिजिटल भोटिङ’ तयार

कानूनी रुपमा भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यतामा रहेको कांग्रेसमा भौतिक रुपमा महाधिवेशन गर्न सम्भव नभए ‘डिजिटल भोटिङ’ प्रविधि तयारी अवस्थामा राखिएको छ । कांग्रेसको सूचना, प्रविधि तथा सञ्चार विभागले डिजिटल भोटिङमार्फत् महाधिवेशन गर्न मिल्ने गरी तयारी गरेको हो ।

विभाग संयोजक एवं कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको बताए । कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको जनाएको छ । कांग्रेस प्रवक्ता शर्माले केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि प्रविधिको विकास गरिएको बताए । कांग्रेसले यसपटक निर्वाचनक्षेत्र र जिल्लाबाटै क्रियाशील सदस्यताको इन्ट्री वेवसाइटमै गर्ने व्यवस्था गरेको हो ।



from Online Khabar https://ift.tt/3rxw7JZ

No comments:

Post a Comment