हिउँदको घाम त्यसै पनि न्यानो । कात्तिकदेखि फागुनसम्म धुम्म चिसोले कठयांग्रिने उच्च पहाडमा त हिउँदे घाम मीठो हुने नै भो । हिउँदका बेला तराईमा पनि हुस्सु र शीतलहरले थर्थरी कमाउँछ । तर, यही हिउँदमा इलाम अन्तुडाँडाको घाम चाहिं हजारौं आगन्तुकका लागि न्यानो हुन्छ । र, अन्तुले यो बेला घाम बेचेरै व्यवसाय चलाउँछ ।
बिहान उज्यालो हुनुअघि नै अन्तुडाँडामा तँछाडमछाड गरी घाम हेर्नेको लर्काे लागिसकेको हुन्छ । शनिबार वा बिदाको दिन त अझ थामिनसक्नुको भीड । बिहान पनि सबैरै नपुगे भ्यूटावर अघि नै भरिइसक्छ । घाम झुल्किने बेलासम्म भ्यूटावर मात्र होइन, वरिपरि समेत खुट्टो हाल्ने ठाउँ पाइँदैन । घाम झुल्किनुअघि, झुल्किंदा र त्यसपछिका दृश्यमा क्यामेराको एपरेचर, सर्टर स्पिड, आईएसओ र डेप्थ अफ् फिल्ड मिलाउनेको ताँतीले बताउँछ-अन्तु लर्तरो छैन, यहाँबाट देखिने दृश्य अन्यत्र सुलभ छैन ।
प्रायः बिदाको अघिल्लो रात अन्तुमा बास बस्नुपर्यो भने दुई दिनअघि नै होमस्टे/होटल बुक गराउनुपर्छ । नत्र कोठा पाइँदैन । ग्रामीण पर्यटनको सिको गरिरहेको अन्तु यतिबेला पनि खचाखच पर्यटकले भरिभराउ छ । दिनहुँ सयौं आगन्तुक अन्तु आइरहेका छन् । यहाँका होमस्टे र होटललाई पाहुना धान्न भ्याईनभ्याई छ । स्थानीय होमस्टे व्यवसायी रुद्र घिमिरे भन्छन्, ‘वर्षेनि होटल र होमस्टे थपिएका थपियै छन् तर पनि मुख्य सिजनमा पर्यटक अटाउन हम्मे पर्छ ।’
अन्तुमा देशकै विभिन्न जिल्ला र भारत पश्चिम बंगालका पर्यटकको ओइरो लाग्छ । उनीहरू यहाँ आउँछन्, दुई-चार रात बिताउँछन् र जान्छन् । तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको भीड लाग्छ ।
अन्तुडाँडाबाट सूर्याेदय, सूर्यास्त, उत्तरतर्फका हिमाल र तराईका फाँट हेर्न पर्यटक आउँछन् । त्यति मात्र होइन, यहाँको सुन्दर चियाबारी, चियाबारी बीचमा सजाइएको पोखरी चित्ताकर्षक छ । वरिपरि पाहुनाको स्वागतका लागि बनाइएका कटेज र होमस्टेको सौन्दर्य पनि उस्तै ।
आहा ! अन्तु, झट्ट हेर्दा पनि कसलाई नपुगौं लाग्ला र !
अन्तुपोखरीमा डुंगा सयर, लोपोन्मुख लाप्चा जातिको सांस्कृतिक संग्रहालय, कृषिले सुधारिएको जीवनशैली अन्तुका थप आकर्षण हुन् । होमस्टेमा पाइने स्थानीय स्वाद र स्थानीय कला-संस्कृतिको प्रस्तुतिले अन्तुतिर पर्यटक लोभ्याउँछन् । यहाँ आएका पर्यटक प्रायः होमस्टेमै बस्न रुचाउँछन् । यसरी बसेका पाहुनाले इच्छाअनुसार ढिंडो, कोदो, फापरको रोटी, अर्गानिक अर्थाेडक्स चिया, लोकल कुखुराको मासु, लोकल चामलको भात, गुन्द्रुक, भुटेको मकै, तोङ्बा र स्थानीय उत्पादनको रक्सी समेत खान पाउँछन् ।
विशेषगरी असोज र चैत शुरु हुनेबित्तिकै अन्तुडाँडामा पर्यटकीय सिजन शुरु हुन्छ । बाह्रै महीना चिसो मौसम रहने अन्तु कोणधारी धूपी, सल्ला, झुम्का-झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिंगारिएको छ । अन्तुडाँडाबाट झापा, कन्याम, भारतको दार्जीलिङ, मिरिक, सिलिगुडी लगायतका बजार वरिपरि देखिन्छन् । तराईका गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु अझ आरामदायी छ ।
मेची राजमार्गको फिक्कलबाट करीब १४ किलोमिटर पक्की सडक भएरै अन्तु पुगिन्छ । आˆनै सवारी नभए फिक्कलदेखि अन्तुसम्म जाने सार्वजनिक सवारी साधन पाइन्छन् । छिपिटारबाट अन्तुसम्म पुर्याउने सवारी साधन पनि त्यहीं पाइन्छन् ।
सूर्याेदय नगरपालिकाले यहाँका पूर्वाधारमा लगानी गर्दैछ । धर्तीमा बिहानको उज्यालो छरिन नपाउँदै घामको आकर्षक झुल्कोमा लोभिने पाहुना अब साँझमा चाहिं हरियो चियाबारी बीचको अन्तुपोखरीतिर पल्किंदैछन् । पोखरी वरिपरि सोलार बत्ती, पक्की सडक, ठाउँ-ठाउँमा आकर्षक सिंढी । अब राति समेत पोखरी वरपर घुम्न निकै सजिलो भएको छ । चियाबारीले घेरिएको अन्तुपोखरी आफैंमा सुन्दर देखिए पनि गोधूलि साँझमा चारैतर्फका रंगीन बत्तीले अझ आकर्षक भएको छ ।
यहाँका ७६ होमस्टे र ३३ भन्दा बढी होटल/कटेजमा प्रायः पाहुना टुटेका छैनन् । अन्तुडाँडा सामुदायिक होमस्टेमा ६३ र अन्तुपोखरी सामुदायिक होमस्टेमा १३ होमस्टे आबद्ध छन् । लकडाउन शुरु हुने बेला मात्रै पनि यो क्षेत्रमा २० होमस्टेे र दर्जनभन्दा बढी नयाँ होटल थपिएका थिए ।
‘एउटै होमस्टेमा पर्यटकीय सिजनमा महीनामै ६० देखि साढे ३ हजार जनासम्म पर्यटक आउने गरेका छन्’ व्यवसायी घिमिरे भन्छन्, ‘होमस्टे व्यवसायीले महीनामा ६० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउँछन् ।’
कोभिड-१९ ले करीब ७ महीना बन्द भएका होटल-होमस्टे अब ‘फुल फेज’मा चल्न थालेको व्यवसायीले बताएका छन् । ‘बाँचुञ्जेलमा एकपटक अन्तु नआए जीवन नै अपूर्ण हुनेरहेछ’ चितवनबाट आएका ४८ वर्षे रविन गुरुङले ठट्टा गर्दै भने, ‘घाम बेचेरै पनि यहाँ गरिखाइने रहेछ ।’
from Online Khabar https://ift.tt/3DCvIuL
No comments:
Post a Comment