Friday, November 26, 2021

एमालेमा सर्वसम्मतको प्रयास, दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

१० मंसिर, चितवन । सर्वसम्मत नेतृत्व चयनको प्रयासमा नेकपा एमालेले पदाधिकारी संख्या थप गरेको छ । साथै विधान महाधिवेशनमार्फत खारेज गरिएको पोलिटब्युरो फर्काइएको छ भने केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ ।

असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा अध्यक्षसहित १५ पदाधिकारी रहने व्यवस्था थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव थिए । पोलिटव्यूरो खारेज गरेर ४५ सदस्यीय स्थायी कमिटी र २२५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो ।

तर दुई महिनामै फेरि विधान संशोधन गर्नुपर्‍यो । अध्यक्षसहितत पदाधिकारी सहमतिबाटै चयन गर्न प्रयास भएपनि आकांक्षीहरु धेरै भए । पदाधिकारीका लागि आफू निकट नेताहरु नै दुई समूहमा बाँडिएपछि अध्यक्ष ओली विधान संशोधन गर्नुपर्ने दबावमा परे ।

नारायणी नदी किनारमा दशौं महाधिवेशनको उद्घाटन समारोह सकिएपछि सौराहमा बसेको वर्तमान केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले विधान संशोधनको नयाँ प्रस्ताव ल्याए ।

उनले दुई उपाध्यक्ष र दुई उपमहासचिव थपेर पदाधिकारी संख्या १९ पुर्‍याउने प्रस्ताव राखे । ४५ सदस्यीय स्थायी कमिटी कायमै राख्ने, ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने र २२५ सदस्यीय केन्द्रीय कमिटीलाई ३०१ बनाउने प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ ।

अब एमालेमा १९ पदाधिकारी रहनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव छन् । ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।

केन्द्रीय कमिटीको नयाँ निर्णयले पार्टीमा सहमतिको वातावरण बनाउन मदत गर्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।



from Online Khabar https://ift.tt/3p3w6fP

No comments:

Post a Comment