बाध्यतावश आफ्नो जन्मभूमि र थातथलो छोडेर अर्कैको देशमा अनागरिक भएर बस्न कसलाई मन हुन्छ र ! तर सुन्दर भविष्यको आशामा आफ्नो थातथलो छोड्न विवश छन् मान्छेहरू । युद्ध, अत्याचार, भोकमरी र महामारी लगायतका अनेकन आन्तरिक र बाह्य कारणले मान्छे नचाहँदै नचाहँदै आफ्नो देश छोड्न विवश हुन्छ ।
त्यसरी देश छाड्नेहरूसँग पनि त स्वाभिमान हुन्छ । इज्जत, मान र प्रतिष्ठा हुन्छ । नैतिकता र विशाल हृदय हुन्छ । त्यसलाई देख्ने नदेख्ने अर्कै कुरा हो । महसुस गर्ने नगर्ने अर्को कुरा हो । आफ्नै गाउँमा आश्रय लिन आइपुगेका यी तिब्बती शरणार्थीलाई देखेर, तिनीहरूको पीडाले मर्माहत बनेका साहित्यकार मालिका केशरीले त्यही पीडालाई सुन्दर ढङ्गले आख्यानीकरण गरेका छन् । र, नेपाली साहित्यले एउटा सुन्दर औपन्यासिक कृति प्राप्त गरेको छ- दुङाल ।
एकपटक जँचाउन जाँदा डाक्टरलाई भनेको थिएँ, मलाई यहाँ पनि दुख्छ, यहाँ पनि दुख्छ । डाक्टरले हाँसेर भनेका थिए, दुख्नु भनेको जिउँदो हुनुको प्रमाण हो । हो त, मान्छेलाई कतै न कतै दुख्छ । शारीरिक रूपमा दुख्छ, मानसिक रूपमा दुख्छ । दुःख हुँदैमा मान्छेले प्रेम गर्दैन र ? गर्छ, जरुर गर्छ । संसारमा पीडा नहुने मान्छे को छ र ? कसैलाई धनको, कसैलाई मनको, कसैलाई आत्माको, कसैलाई शरीरको ।
यही पीडाकै बीचमा त मान्छेले आफूलाई खारिरहेको छ, निखारिरहेको छ र तिखारिरहेको छ । यही पीडाकै बीचमा मान्छेले कसैलाई हृदयतः प्रेम गर्छ । त्यसैलाई मलजल गर्छ । त्यही प्रेमले खुसी हुन्छ, कि पुनः त्यही प्रेमले दुःखी बन्छ ।
दुङ्गालकी मुख्यपात्र अर्थात् कार्चुङ । तिब्बतबाट भागेर ज्यान जोगाउनैका लागि आफ्ना अभिभावकसँगै भौतारिँदै तनहुँस्थित क्याम्पमा आइपुगेकी । कुनै लोककथाका पात्रहरूजस्तो अकस्मात् एउटा परिवेशबाट विल्कुल फरक परिवेशमा । धनदौलत, जग्गाजमिन, गाउँमात्रै नभएर देशै गुमाउँदा कार्चुङहरूले सँगसँगै आत्मसम्मान, आत्मनिर्णय, स्वाभिमान, ईज्जत र प्रतिष्ठा पनि गुमाएका छन् ।
तर उनीहरूले जीवन गुमाएका छैनन् । जीवनमा सपना गुमाएका छैनन् । आस्था र प्रेम गुमाएका छैनन् । शरणार्थी भए पनि नभए पनि किशोरवयमा प्रेमाकर्षण सबैलाई हुन्छ । त्यही किशोरावस्थामा नेपाली युवकसँग मानसिक प्रेममा परेकी कार्चुङको मनोदशालाई उपन्यासमा चित्रण गरिएको छ । लेखकले आफूलाई महिलापात्रको रूपमा उभ्याएर म पात्रमार्फत् उपन्यासको कथा अगाडि बढाएका छन् ।
उपन्यासको प्रमुख पात्र कार्चुङले उपन्यासकै अर्को सहायक पात्र विश्वदीपलाई सम्बोधन गरेर आफ्नो जीवनको कथावाचन गरेकी छन् । त्यसैले उपन्यास पढ्दै जाँदा पाठकलाई आफू श्रोता भएर कसैको कथा सुनिरहेको अनुभव हुन्छ । प्रमुख र सहायक पात्रको चयनमा निकै ‘चुजी’ देखिएका लेखकले उपन्यासमा आन्तरिक द्वन्द्वलाई मजबुत बनाउन निकै मेहनत गरेका छन् ।
तिब्बतबाट जीवनको खोजीमा कठिन हिमालय पर्वत पार गरेर नेपाल आएका कार्चुङ लगायत शरणार्थीहरूका लागि नेपाली परिवेश, यहाँको जनताको रहनसहन, जीवनशैली, खानपान, संस्कृति, भाषा, लवाइखवाइ लगायत यावत् कुरा एक किसिमले अनौठो हुने नै भयो । जन्मिएको र हुर्किएको भन्दा भिन्नै वातावरणमा समायोजन हुन पनि अप्ठ्यारो हुने भयो ।
त्यसमाथि शरणार्थीलाई स्थानीय समुदाय र सरकारले हेर्ने नजर, गर्ने व्यवहार फरक हुने भयो । तिब्बतमा सबाल्टर्न भएर शरणार्थीका रूपमा नेपाल आएका उनीहरू यहाँ पनि सबाल्टर्नकै रूपमा बाँच्न विवश भएको कुरालाई उपन्यासमा निकै हृदयविदारक ढङ्गमा प्रस्तुत गरिएको छ ।
संसारभरि सदियौँदेखि नै सम्भ्रान्तहरूका लागि दुःखी गरिबहरूको प्रेम, आँसु, स्वाभिमान र शरीरको पनि कुनै महत्त्व देखिँदैन । जहाँको सभ्यता पढे पनि, इतिहासका पाना पल्टाए पनि यस्ता विषयमा पात्र फेरिएलान्, प्रवृत्ति फेरिँदैनन् ।
आधुनिक समयमा पनि तिब्बती शरणार्थीहरूमा यही दुःखद नियति पुनरावृत्ति भइरहेको छ । यो गम्भीर विषय उपन्यासमा जीवन्त बनेर आएको छ ।
सोझासाझा तिब्बती शरणार्थीहरूसँग प्रेम गर्ने, विवाह गर्ने र निश्चित समयपछि घरको न घाटको बनाएर छोडिदिने बानीव्यहोरालाई पनि उपन्यासमा चित्रण गरिएको छ । यो धरती कसैको पेवा होइन, यहाँ सबैले बाँच्न पाउनुपर्छ । यो आवाजलाई उपन्यासमा शक्तिशाली ढंगले उठाइएको छ ।
मान्छेको नैसर्गिक अधिकारलाई नेपाली समाज र प्रशासन कसैले पनि कि बुझेका छैनन् कि बुझेर पनि बुझ पचाइरहेका छन् ? यस्तै यथार्थवोध गराउन उपन्यासले प्रयास गरेको छ ।
चिनियाँ सेनाहरूको दमनपछि रातारात आफ्नो थातथलो छोडेर शरणार्थी भएर विदेसिनु पर्दा कसको मन प्रसन्न होला र ? माटोसँग भावना मात्र होइन, पहिचान पनि जोडिएको हुन्छ । आफ्नो पितापुर्खादेखिको धनसम्पत्तिलाई क्षणभरमै छाडेर अन्जान ठाउँमा आफ्ना बालबच्चा च्यापेर हिँड्दा सन्तानको भविष्यको कल्पनाले कुन बाउआमाको मन नरोला ? चिनियाँ सेनाले तिब्बत अतिक्रमणका बेला गरेको नृशंस दमनलाई दुङ्गालमा डोल्मा पात्रको माध्यमबाट छर्लंग पारिएको छ ।
दुङ्गाल उपन्यासले तिब्बती शरणार्थीका पीर र व्यथालाई उनीहरूकै मुखारविन्दबाट प्रस्तुत गरेको छ । सिधा र ठाडा राजनीतिक प्रश्न उठाएको छैन । ती सबाल्टर्नहरूले बाँच्नका लागि गरेको कठिन सङ्घर्षलाई थोरै भए पनि उपन्यासमा प्रकाश पारिएको छ ।
उपन्यासले एउटा अर्को महत्त्वपूर्ण विषयतर्फ पनि सङ्केत गरेको छ, त्यो हो- शरणार्थीका नाममा हुने गरेको अन्तर्राष्ट्रिय राजनीति । दलाई लामाको जन्मोत्सवको नजिक नजिकतिर शरणार्थीको क्याम्पमा हुने गरेको विदेशीहरूको आगमन र क्रियाकलापको प्रसङ्ग पनि यहाँ उठाइएको छ ।
बौद्ध दर्शन उपन्यासमा आउने नै भयो । तर कतिपय ठाउँमा पात्रहरूले बोल्ने भाषा अलि परिष्कृत हुँदा केही असहज त लाग्छ नै । तर यो उपन्यास कोठामा बसेर कोरा कल्पना गरेर लेख्न सम्भव छैन । यसका लागि लेखकले गरेको खोज, अध्ययन र अनुसन्धानले किताब पूर्णतातर्फ गएको आभास हुन्छ ।
दुङ्गाल तिब्बती भाषाको शब्द हो । यसको शब्दार्थ हुन्छ, पीडा । यिनै तिब्बती शरणार्थीहरूको पीडाको कथालाई उपन्यासमार्फत् बजारमा ल्याएका छन् मालिका केशरीले । यसअघि पुनरुत्थान र सुवर्णलता कृति बजारमा ल्याइसकेका मालिकाको यो तेस्रो औपन्यासिक कृति हो ।
उपन्यास लेख्नु वास्तवमै सहज छैन । अझ आफ्नो भन्दा भिन्न धर्म, संस्कृति र भूगोलको कथालाई आख्यानीकरण गर्दै त्यसलाई सरल, सहज र जीवन्त बनाउनु पनि निकै दुःसाध्य कर्म हो ।
र, त्यही दुःसाध्य काम निकै सफलतापूर्वक सम्पन्न गरेर दुङ्गालका लेखक मालिका केशरीले आफूलाई अब्बल साबित गरेका छन् ।
विधा : उपन्यास
मूल्य : ४ सय ८४ रुपैयाँ
प्रकाशक : साङ्ग्रिला बुक्स
from Online Khabar https://ift.tt/3wJnCxH
No comments:
Post a Comment