Friday, December 8, 2023

‘नेपाल सगरमाथा र मःमको मात्र देश होइन’

काठमाडौं । तपाईं ललित कलामा रुचि राख्नुहुन्छ भने स्नेहा श्रेष्ठ तन्नेरी पुस्ताको अग्लो नाम हो । विश्व मञ्चमा ‘इम्याजिन’ नामले चिनिने उनका मुरल अमेरिकी सहरका अग्ला भित्तामा पोतिएका छन् । हावर्ड युनिभर्सिटीमा मास्टर्सकी विद्यार्थी स्नेहाको चित्रकलालाई अमेरिकाको सबैभन्दा ठूलोमध्येको संग्रहालय ‘म्युजियम अफ फाइन आर्ट्स म्यासाचुसेट्स’को स्थायी संग्रहमा राखिएको छ । फेब्रुअरीमा उक्त संग्रहालयले ‘होम ४१६’ नाम दिइएको स्नेहाको चित्रलाई म्युजियममा राखेको छ ।

सडकमा ‘इम्याजिन’ नामबाट चिनिने उनले अलस्टन, क्याम्ब्रिज, लिन, डोरचेस्टर, वर्सेस्टर र त्यसभन्दा बाहिरका सहरका भवनलाई संस्कृत र नेपाली अक्षरले जीवन्त तुल्याएकी छन् । उनको लेखनले मातृभूमिको वर्णमाला र संस्कृतिलाई अमेरिकाको भित्ता र पर्खालमा चित्रण गरेको छ ।

यी अन्तर्राष्ट्रिय नेपाली कलाकारको सिग्नेचर भित्तेचित्र कम्बोडिया, इस्तानबुल र काठमाडौंमा पाउन सकिन्छ । उनका कलाहरु उनीउस्तै जीवन्त र निजत्व बोकेका छन् । यसैसाता अमेरिकाबाट काठमाडौं आइपुगेकी स्नेहाले कलाका यी विविध आयाममा रहेर अनलाइनखबरसँग संवाद गरेकी छन् ।

नेपाली वर्णमालालाई किन आफ्नो कलामा पोत्नुहुन्छ ?

म स्कुल पढ्दा अंग्रेजी भाषालाई धेरै जोड दिइएको थियो । नेपाली एउटा क्लास मात्र थियो । क्लासमा लेख्ने र पढ्ने कुरा नेपाली मात्र हुन्थ्यो, अरु सबै कुरा इङ्लिसमा हुन्थ्यो । यसो हुँदा मलाई कुनैबेला नेपाली पढ्नै मन नलाग्नेजस्तै भएको थियो । म आफ्नै भाषासँग अलग भएकी थिएँ । अमेरिकामा बस्दा घरको पनि याद आउँछ । यही बेला मैले पहिचानबारे सोच्न थालेँ ।

नेपाली हुनु भनेको के हो त ? नेपाल भनेको यस्तो विविधताले भरिएको देश हो । यहाँ डेढ सयभन्दा बढी भाषा बोलिन्छन् । यस्तो विविधता बोकेको देशलाई म एक्लैले कसरी प्रतिनिधित्व गर्ने त ? सोच्दा लाग्यो, नेपाली लेखन नेपाली पहिचान हो, यसलाई कसैले अस्वीकार गर्न सक्दैन ।

धेरैले सोच्छन्, नेपाल भनेको माउण्ट एभरेस्ट र मःम हो । त्यो त सतही कुरा भयो नि, नेपालमा अझै धेरै अन्वेषण गर्न सकिने कुरा छन् । बोस्टनमा बस्न थालेपछि मैले ग्राफिटी (भित्तेचित्र)बारे सोच्न थालें ।

ग्राफिटी भनेको न्युयोर्कबाट उत्पत्ति भएको कला हो । मैले यसमा निजत्व खोज्न थालें । किनभने म यसमा पहिचान अभिव्यक्त गर्न पाउँछु ।

अर्को कुरा संसारमा चिनियाँ, जापानी र अरेबिक कोलिग्राफी छ जसलाई सुन्दर ढंगले लेखिएको हुन्छ । मैले सोचें– हामीले हाम्रो संस्कृतिमा किन अक्षरलाई महत्व दिंदैनौ ? किनभने शताब्दीदेखि नै हाम्रो मन्दिरमा सुन्दर कला पोतिएका छन् । तर युवापुस्तामा किन रुपान्तरण भइरहेको छैन ? लेख्ने संस्कृतिलाई हामी किन प्राथमिकता दिंदैनौ ?

मैले अनुसन्धान गर्न थालें । मैले नेपाली पुर्खाले लेख्नुभएको सत्रौं शताब्दीको हस्तलिखित पत्र हेरें । यति सुन्दर ढंगले लेखिएको छ कि अहिले सोच्दा पनि आङ सिरिंग हुन्छ । अक्षरलाई प्रयोग गरेर मैले नेपाली पहिचानको विगत, वर्तमान र भविष्यलाई सेयर गर्न सक्छु । भविष्यको पुस्तामा पश्चिमा प्रभाव मात्र नहोस्, आफ्नो संस्कृतिप्रति पनि गर्व होस् भन्ने देख्न चाहन्छु ।

अमेरिकी सहरका गगनचुम्बी भवनमा तपाईंले भित्तेचित्र पोत्नुभएको छ । सात तलाको भवनमा तपाईंले पोतेको मुरलको चर्चा ठूला मिडियामा पनि छ । यसबारे बताइदिनुस् न ।

भवनमा पोत्ने भनेको ‘पब्लिक आर्ट’ हो । त्यो आर्ट निःशुल्क हुन्छ । अनुभव हुने कुरा हो । यसलाई सबैभन्दा लोकतान्त्रिक कला भन्छौं हामीले । सहरलाई नै बदल्ने शक्ति छ ‘पब्लिक आर्ट’को ।

एमआईटी (म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी)मा मैले सात तलाको भवनको भित्तामा पेन्ट गर्ने अवसर पाउँदा मैले उत्तरदायित्व सम्झिएँ । मैले त्यो दायित्व लिएँ । नेपाली अक्षरलाई अन्तर्राष्ट्रिय रुपमा विश्वसनीय ढंगले चिनाउन सकिन्छ भनेर मैले त्यसरी सुरु गर्छु । यो कुराले मलाई काम गर्न निर्देशित गर्छ ।

यस्तो ठूलो प्रोजेक्ट आउँदा ममात्र होइन सहरको पनि संलग्नता हुन्छ । एमआईटीमा मुरल चित्र पोतेपछि सहरको मेयरले मलाई प्रशंसा पत्र पठाउनुभयो ।

ठूलो बिल्डिङ पाएपछि के लेख्ने र कस्तो खालको म्यासेज दिने भन्ने कुरा सोच्छु मैले । अर्को कुरा, मैले धेरै कुरा नेपालीमा लेख्छु, अंग्रेजीमा होइन । किनभन्दा हाम्रो संस्कृतिलाई किन तोडमरोड गर्ने ? मैले त ‘ए’ भन्दा पहिला ‘क’ लेख्न सिक्या हो नि । यस्तो कुरा सोचेर डिजाइन गर्छु । प्रत्येक भित्ताहरु अलग हुन्छन् । यो कुरा सहरमा पनि निर्भर गर्छ ।

म्यासाच्युसेट्सको संग्रहालयमा तपाईंको कलालाई स्थायी रुपमै राखिएको छ । नेपाली कलाकारको लागि यसको अर्थ के हुन सक्छ ?

मलाई यो विजयभन्दा पनि सुरुवात जस्तो लाग्छ । किनभने यस्तो गर्ने म पहिलो नेपाली आर्टिस्ट होइन । पहिलो नेपाली महिला कलाकार पनि होइन । यो सुरुवात मात्र हो । आशा गर्छु, नेपालमा पनि प्रतिभाशाली ‘कन्टेम्पोररी’ कलाकार छन् भन्ने पुष्टि हुन्छ ।

साथै, यी मानिससँग भन्नका लागि महत्वपूर्ण कुरा छ भन्ने कुराले चिनोस् भन्ने लाग्छ । व्यक्तिगत रुपमा मेरा लागि यो ठूलो कदम हो, तर आफ्नो संस्कृति र देशलाई चिनाउन हामी लडिरहनुपर्छ । तन्नेरी नेपाली त्यहाँ गएर मेरो चित्रकला हेर्न सक्नुहुन्छ । अहिले त्यहाँ नेपाली कन्टेम्पोररी आर्टको पदचाप छैन । मैले आफ्नो बाटो आफैँ बनाउनुपरेको छ । आशा गर्छु, भविष्यका कलाकारलाई सजिलो होस् भन्ने लाग्छ ।

तपाईंलाई कलामा कुन कुरालाई आदर्श मान्नुहुन्छ ?

म आफ्नो संस्कृतिलाई आदर्श मान्छु । मैले संस्कृतिका रङलाई धेरै प्रयोग गर्छु । सुन्तला र नीलो रङ सबैभन्दा चिनिएको ‘आइकोनिक कलर’ हो । त्यो सुन्तला रङ सयपत्री फूलबाट आउँछ । सयपत्री देख्दा पनि पारिवारिक सिजनको याद आउँछ ।

घरबाट बाहिर धेरै समय बस्दा यी कुरा दिमागमा धेरै बस्ने रहेछ । घर भनेको भौतिक कुरा मात्र होइन । भावना हो, पारिवारिक समय हो । सुन्तला रङ देख्दा मलाई घरको याद आउँछ । त्यसैले मैले सुन्तला रङलाई धेरै प्रयोग गरेको छु ।

नीलो भनेको आकाशको रङ हो । जुनसुकै देशमा गएपनि आकाश नीलो हुन्छ । विशुद्ध नेपाली कुरा र युनिभर्सल कुरालाई मैले प्रयोग गरेको हुँ । अरु पेन्टिङ चाहिँ मेरो आमाको पहिरनको रङमा आधारित छ । आमाको सारी र गेटअपमा निर्भर छ । नेपालमा धेरै समय नबिताएका हुनाले घरबाट फोटो फेसबुकमा आउँछ । हामीले देख्ने भनेको फोटोमार्फत हो । यी कुराहरु मेरा आदर्श हुन् ।

आप्रवासी जीवन भोगाइलाई कलामार्फत कसरी चित्रित गर्नुभएको छ ?

मेरा धेरै सिर्जना दुःखबाट प्रभावित छन् । अमेरिकामा जति बसे पनि घर भनेको घर हो । बाबाआमा जहाँ हुनुहुन्छ, त्यो घर हो । त्यो कुराले गर्दा पनि मेरो पेन्टिङ उहाँहरुबाट प्रभावित छन् । मलाई संस्कृति बुझाउने आमाबुवा हो । मैले आफ्नो कथा यसरी पनि साझा गरेकी छु ।

फेब्रुअरी पहिलो साता म्यासाचुसेट्समा मेरो एकल चित्रकला प्रदर्शनी हुँदैछ । त्यसको मुख्य विशेषता भनेको मेरो सेलिब्रेसन सिरिज हो । यसमा मैले प्रत्येक पेन्टिङमा केही शब्द लेख्नुको सट्टा इमिग्रेसन नम्बर लेखेकी छु । मैले अमेरिका जाने यात्रामा जति फर्म भरें, ती सबै फर्मको नाम पेन्ट गरेकी छु । जस्तै एउटा फर्मको नाम ‘१०९९ ए’ छ । अरुका लागि यसको अर्थ नहोला । तर, मेरा लागि यो संख्या सबथोक हो । यो सबै कुरा प्रतिविम्बित गरेर नै मैले कलाकार्य गरिरहेकी छु ।

नेपाली कलालाई संसारभर फैलाउन हामीले अझै कहाँनेर काम गर्नुपर्ने देख्नुहुन्छ ?

एउटा त तत्कालीन परिवर्तन र अर्को, दीर्घकालीन रुपमा प्रणालीगत परिवर्तन ल्याउन काम गर्नुपर्छ । कलाकारलाई बेकामको मान्छेको रुपमा हेर्नुभएन । सुरुमा त्यो मनस्थिति चेन्ज गर्नुपर्छ । भविष्यमा पनि लगानी गर्नुपर्छ ।

तत्कालीन रुपमा स्थानीय कला र कलाकारलाई मद्दत गर्न सकिन्छ । यहाँ युवा कलाकार कसले के गर्नुभएको छ ? बुझ्नुपर्‍यो । काठमाडौं आउँदा केयूमा पनि कलाका विद्यार्थीलाई भेटेर टिप्स दिइरहेकी हुन्छु ।

अमेरिकामा आर्ट नबनाएको बेला हावर्ड युनिभर्सिटीमा काम गर्छु । हार्वर्ड साउथ एसियन इन्स्टिच्युटमा हामीहरुले एउटा कार्यक्रम सुरु गरेका छौं, जसमा दक्षिण एसियाली कलाकारलाई आठ साताको लागि अनुसन्धानको मौका दिने । यो कार्यक्रम डिजाइन गर्न मैले सहयोग गरेको छु ।

स्थानीय संस्था र उद्यमीले कलाकारलाई मद्दत गर्नुपर्छ । कलाकारलाई सहयोग गर्नु भनेको समुदाय र मुलुकलाई लगानी गर्नु हो । नेपाली स्थानीय कलाकारलाई जागरुक तुल्याउनुपर्छ जस्तो लाग्छ । प्रत्येक समय नेपाल आउँदा नेपाली कलाकारलाई भेटेकी हुन्छु । उहाँहरुमा उत्सुकता चाहिं देखिन्छ ।

२०१२-२०१३ मा मैले पेन्ट गर्दा त्यति थिएन । त्यतिबेला पेन्ट गर्दा पनि भीड झुम्मिने हुन्थ्यो । अहिले काठमाडौंमा धेरै मुरल पेन्टिङ देखिन्छ । किनभने मान्छे के भैराखेको छ भन्ने कुरामा सचेत छन् ।

म आर्टिस्टलाई के मात्र सुझाव दिन्छु भने आफूले के बारेमा आर्ट गर्ने हो रिसर्च गर्नुहोला । इन्टरनेटमा अरु आर्टिस्टलाई मात्र नहेर्नु, आफ्नो मौलिक विचार पनि ल्याउनु । भविष्यमा मैले यहाँ पनि आर्ट देखाउने सोचेकी छु । नेपालमा पनि आर्टमा धेरै सहभागी हुन मन छ । किनभने, विचार सेयर गर्दा विशेष महसुस गर्छु । एकले अर्कोलाई हेल्प गरेर अघि बढ्ने प्लान छ ।

कलाले लोकतन्त्र प्रवर्द्धन र शान्ति स्थापनामा कस्तो सन्देश दिन सक्छ ?

कलाले निजी अभिव्यक्ति दिन सघाउँछ । पब्लिक आर्ट भनेको कलाको लोकतान्त्रिक रुप हो । युवापुस्ताले आर्टमार्फत नै विचार अभिव्यक्त गर्न सक्छन् । उनीहरुलाई प्रेरणा दिइरहनुपर्छ । समग्रमा म मेरो कामप्रति खुसी छु ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर (अन्य तस्वीर : स्नेहा श्रेष्ठबाट)



from Online Khabar https://ift.tt/ROS6JEm

No comments:

Post a Comment