तानसेनको मिसन अस्पताल पूरै पश्चिमाञ्चलभरि मात्र नभइकन भारतको गोरखपुरसम्म प्रसिद्ध थियो । सो अस्पताल २०११ सालदेखि सञ्चालनमा आएको हो र पाल्पा, गुल्मी, केही हदसम्म अर्घाखाँची तथा स्याङ्जाका बासिन्दाका लागि यो ‘लाइफ लाइन’ थियो । अहिले पनि यसको साख धेरै घटेको छैन ।
सो क्षेत्रका बिरामीहरू त्यहाँ उपचार नहुने भएपछि मात्र अन्यत्र जान्छन् । यो अस्पतालसँग तानसेनवासीहरूको सुखदुःखको साइनो छ । किनभने त्यहाँका बासिन्दाहरूले स्तरीय उपचार तथा सेवा त पाउँथे नै सयौंको संख्यामा रोजगारी पनि । क्रिश्चियन मिशनरीहरू त्यहाँका हर्ताकर्ता हुने भएकाले दलितहरूलाई कुनै पनि क्षेत्रमा विभेद हुने कुरा भएन भने रोजगारी पनि उनीहरूको क्षमता र योग्यता अनुरूप पाउँथे ।
त्यो अस्पताल धेरै अर्थमा आत्मनिर्भर थियो किनभने त्यहाँ फलाम तथा अन्य सामान बनाउने वर्कसप पनि थियो जसमा पेशागत दलितहरूले काम गर्थे । अस्पतालको कपडाहरू धुने काममा तानसेनका गन्धर्व समुदायका महिलाहरू हुन्थे । अर्को अर्थमा सो अस्पताल तानसेन तथा वरपरका वासीहरूको लागि एउटा जीवनशैली थियो ।
त्यहाँ कार्यरत डाक्टर तथा नर्सहरू संसारभरका क्रिश्चियन मुलुकहरूबाट आउँथे । जस्तोसुकै विशेषज्ञ भएतापनि उनीहरूको जीवनशैली अत्यन्त साधारण हुन्थ्यो । सुन्नमा आए अनुसार त्यहाँ उनीहरू विल्कुलै सेवाभावका कारणले आउँथे र कतिपय सिस्टरहरूले त आफ्नो पूरै जीवन त्यहाँ विताएका पनि देखिन्थे ।
अहिले त्यहाँको सेवाभाव र समर्पण हेर्दा लाग्छ कुनै ठूलो आश्रममा त्यहाँका भक्तजनहरूले पूरै सेवाभावका साथ मानव कल्याणको काम गरिरहेका छन् । भारतीयहरूलाई अंग्रेजहरूले लामो समय शासन गरेका हुनाले उनीहरूप्रति विशेष खालको सम्मान देखिन्थ्यो ।
गोरखपुर क्षेत्रबाट ठूलो संख्याका बिरामी आउनुको कारण पश्चिमा देशका गोरेसा’बहरूले राम्रो उपचार दिन्छन् भन्ने थियो । सन् ६०/७० को दशकमा गोरखपुर क्षेत्रमा पनि त्यति राम्रो उपचार पाइँदैनथ्यो, जति तानसेनको मिसन अस्पतालमा उपलब्ध थियो ।
हामीलाई मिसन अस्पतालले दिने उपचार बाहेक क्रिसमसको पनि सधैं पर्खाइ हुन्थ्यो । त्यतिबेला मनोरञ्जनका अत्यन्त सीमित साधन थिए । टेलिभिजन हुने कुरा भएन, श्यामश्वेत रंगमा देखाइने सानो पर्दाको त्यो पनि रिलिज भएको ३/४ वर्षपछि देखाइने हिन्दी फिल्महरू हेर्न पाइन्थ्यो ।
अतः तानसेनको जुनसुकै ठाउँमा आयोजना हुने नाटक, डकुमेन्ट्री हाम्रा लागि आकर्षणको विषय हुन्थ्यो । क्रिसमसको बेलामा प्रायः सधैं मिसन अस्पतालको ओपीडी कक्षको सानो हललाई थिएटरमा बदलिन्थ्यो । त्यहाँ काम गर्ने कर्मचारीहरूमध्ये धेरै नेपाली र केही विदेशीहरूले समेत आफ्नो अभिनय कला देखाउँथे ।
अर्थात् मदर म्यारीबाट कसरी येशूको जन्म भयो । उनले कसरी गोठालाहरूलाई आफ्नो शिष्य बनाए र आफ्नो धर्मलाई स्थापित गराउँदै लगे भन्ने कथावस्तु नाटकमा हुन्थ्यो । त्यतिबेला हाम्रा लागि त्यो कुनै धार्मिक विषय थिएन, थियो त केवल एउटा मनोरञ्जनको विषय मात्रै ।
डिसेम्बर २५ भन्दा एक वा दुई दिन अगाडि त्यस्तो नाटक देखाइन्थ्यो भने २५ का दिन अरू के के हुन्थ्यो हामीलाई थाहा हुने कुरा भएन । तर, क्रिसमसको दिनको राति १२ बजेपछि आफूलाई क्रिश्चियन धर्ममा समाहित गरेका नेपाली तथा केही विदेशीहरू समेत सम्मिलित २०/२५ जनाको टोली हातमा मैनबत्ती बालेर तानसेनका सडकहरूमा भजन गाउँदै हिंड्थे ।
मध्यरातमा त्यसरी बत्ती बालेर हिंड्ने भएको हुँदा तानसेनवासीका लागि त्यो अर्को रमाइलो क्षण हुन्थ्यो । त्यतिवेला नेपालमा पञ्चायती व्यवस्था अन्तर्गत राजतन्त्रात्मक हिन्दु राज्य थियो तर ती सबै क्रिश्चियन गतिविधि नेपाली समाजको सामाजिक सद्भावको प्रतीक थियो । बरु अहिले हामी धर्मनिरपेक्ष गणतान्त्रिक नेपालमा हुँदा त्यस्ता गतिविधि स्वीकार्य हुन्थ्यो वा हुँदैनथ्यो भन्न नसकिने अवस्था छ ।
म आफ्नो अध्ययनको सिलसिलामा ६ महिना क्यानाडा र एक वर्ष आयरल्याण्डमा बस्ने मौका मिल्यो । अब त्यहाँको क्रिसमसको बारेमा अलिकति चर्चा गर्न चाहन्छु । क्यानाडा आप्रवासीहरूको देश भएको हुँदा त्यहाँ संसारका सबै देशका तथा सबै धर्म मान्ने मान्छेहरू भए तापनि मूल आप्रवासीहरू भनेको युरोपियनहरू हुन् ।
उनीहरूमध्ये धेरैजसो क्याथोलिक क्रिश्चियन धर्मका अनुयायीहरू छन् । अतः क्रिसमस उनीहरूको मुख्य र महत्वपूर्ण चाड हुने भइहाल्यो । अक्टोबर महिनादेखि हिउँ पर्न सुरु भएर डिसेम्बर २५ सम्म आइपुग्दा सो हिउँ आइसरेनमा परिणत हुन्छ । आइस रेन भनेको पानीको एकदमै विकराल रूप हो ।
किनभने हिउँ मात्रै पर्दा त्यसले जनजीवनमा त्यति धेरै असर नपार्ने रहेछ तर आइसरेन पर्नुको मतलब मान्छे र अरू जनावर तथा वनस्पतिलाई समेत त्यो काल हुने रहेछ । पानी र हिउँ सँगसँगै जस्तो पर्ने भएको हुँदा परेको पानी जमीनमा आउने वित्तिकै त्यो वरफमा परिणत हुने रहेछ र त्यो वरफमा मान्छे हिंड्नु त परको कुरा गाडीहरू समेत चिप्लिएर धेरै संख्यामा दुर्घटनाहरू हुने रहेछ ।
आइसरेनलाई पन्छाएर सडकमा गाडी चल्न योग्य बनाउन त्यहाँको सरकारले ठूलो धनराशि खर्च गर्नुपर्ने रहेछ, त्यसका लागि विशेष प्रकारका गाडी र नून छर्किनुपर्ने कारणले । यस्तो अवस्थामा येशूका परम भक्तहरू सडकमा निस्किएर भजन गाउँदै हिंड्ने कुरा भएन । तर पनि मौसमले साथ दिएको अवस्थामा मैले माथि तानसेनको सडकमा हुने भजन जस्तै छिटफुट रूपमा भजन गाउँदै सडकमा हिंड्ने गरिन्छ भन्ने सुनें ।
क्रिसमसको समयमा मैले क्यानाडामा विताएको समयलाई मध्यनजर गर्दा करीब एक महिनाअघिदेखि नै रेडियो टेलिभिजनमा देखाइने सबै विज्ञापनलाई क्रिसमसमय बनाइँदो रहेछ र ती सबै विज्ञापनहरूले क्रिसमसका भावनात्मक पक्षहरूलाई जोडेर आम मान्छेलाई उनीहरूका सामान किनौं किनौं बनाउने रहेछ ।
महिना दिनअघिदेखि नै त्यहाँका सञ्चारमाध्यमहरू क्रिसमसमय भएको देख्दा क्रिसमसको वास्तविक दिन कस्तो भव्य होला भन्ने कौतूहल जगाइरहेको हुन्थ्यो । अतः २५ डिसेम्बरको दिनलाई मैले अत्यन्त उत्साहपूर्वक पर्खिरहेको हुन्थें । क्रिसमस आएको भन्ने देखाउन सबै क्रिश्चियन परिवारले आफ्नो गच्छे अनुसारको क्रिसमस ट्री राखेका हुन्थे र धुपी सल्लाको प्रजाति त्यसका लागि ठूलो संख्यामा काटिन्थे ।
क्यानडामा जंगल प्रशस्तै भएको हुँदा त्यस्ता क्रिसमस ट्रीको व्यापारमा ठूलो हिस्सा भएको पनि थाहा पाएँ । क्रिसमस ट्रीलाई विभिन्न तरिकाले सजाएर झिलिमिली बनाउनुको अतिरिक्त त्यहाँ उपहारहरूको थुप्रो हुनेरहेछ । क्रिसमसको विशेषता भनेको त्यहाँ गच्छे अनुसार परिवारका सदस्य तथा साथीभाइलाई सबैले सबैलाई उपहार दिने रहेछन् ।
अतः क्रिसमस एउटा धार्मिक चाडभन्दा पनि वस्तु व्यापारको सबैभन्दा ठूलो माध्यम भएको मैले पाएँ । परिवारमा तीन पुस्ता छन् र हजुरबा हजुरआमा, बाबुआमा तथा छोराछोरी छन् भने नकमाउने छोरा छोरी बाहेक सबैले सबैलाई उपहार दिने ६ जनाको परिवारले एकअर्कालाई उपहार दिंदा कम्तीमा पनि २४ वटा उपहारको त्यहाँ आदानप्रदान हुने रहेछ ।
यसरी ६ जनाको परिवारले चार गुणा धेरै वस्तुहरू किन्दा कति गुणनमा सामग्रीको किनबेच हुँदो होला त्यो अनुमान भन्दा बाहिरको कुरा देखिन्छ । मैले सो दिन खानपिन पनि विशेष हुन्छ होला भन्ने सोचेको थिएँ तर त्यस्तो केही पनि देखिनँ ।
क्यानाडाको क्रिसमसको खाना संस्कृति र अन्य पक्षलाई हेर्दा म निराश भएँ । भारतमा लक्ष्मीपूजाको दिनमा हृयाप्पी दिवाली भनेर मिठाई आदानप्रदान गरे जस्तै त्यहाँ पनि मेरी क्रिसमस भन्दै उपहार साटासाट गर्ने बाहेक अरू विशेष केही थिएन । त्यो हेरिकन हाम्रो यहाँको दशैं-तिहार कति हो कति भव्य र सुसंस्कृत लाग्यो ।
आयरल्याण्डमा बस्दा मलाई दुइटा महत्वपूर्ण चाड अवलोकन गर्ने अवसर मिल्यो । पहिलो थियो, सेन्ट प्याटि्रक डे जसलाई क्याथोलिक आयरल्याण्डले राष्ट्रिय पर्वको रूपमा मनाउने रहेछ । विगत एक हजार वर्षदेखि मार्च १७ तारिखका दिन आयरल्याण्डमा यसलाई विशेष पर्वका रूपमा मनाइन्छ ।
यो विशेष पर्वमा हरेक शहरहरूमा त्यहाँका सुरक्षा निकायको ब्याण्डबाजा सहित झाँकीहरू निकाल्ने र रातिको समयमा डब्लिन नदीको छेउमा भव्य आतिसबाजी गर्ने, जुन आतिसबाजी पूरै आयरल्याण्डका लागि विशेष आकर्षणको विषय थियो ।
क्रिसमसको चाड सेन्ट प्याट्रिक डेको तुलनामा अत्यन्त फिका थियो । मैले क्यानाडामा गरेको अनुभव भन्दा पनि अझ फितलो । क्याथोलिक देश भएको हुँदा हाम्रो काठमाडौंमा गल्ली गल्लीमा मन्दिरहरू भए जस्तै हरेक २/३ सय मिटरको दूरीमा ठूल्ठूला चर्चहरू थिए ।
अन्य समयमा त ती चर्चहरू यसै पनि खाली-खाली देखिन्थे भने क्रिसमसको समयमा अलि भरिभराउ हुन्छन् कि भन्ने मेरो अपेक्षा थियो । तर, त्यहाँ पनि मुश्किलले ३०/४० जना भेला भएका त्यसमा पनि वृद्धवृद्धाहरू मात्रै, अर्थात् त्यहाँको धार्मिक गतिविधिमा युवाहरूको लगभग शून्य आकर्षण थियो ।
एक पटक क्रिसमसको केही दिनअघि मेरो पढाइको सुपरभाइजरको घरमा आयोजना गरिएको एउटा पार्टीमा गएको थिएँ । त्यहाँ आउन-जान नै लगभग ४० युरो खर्च भएको थियो । त्यहाँ करीब २ घण्टा बिताउँदा केही पेट भरी तथा विविध परिकारहरू खाने आशा गरेको थिएँ । तर केही फाट्टफुट्ट स्न्याक्सहरू दिइयो, मुख्य खाना पर्खिंदा पर्खिंदै अन्य मित्रहरूले फर्किने संकेत गरे । म छाँगाबाट खसे जस्तो भएँ र आफ्नो डेरामा फर्केपछि पुनः नेपाली तरीकाको दाल-भात पकाएर खाएँ ।
त्यहाँ पनि एक महिना अगाडिदेखि नै सञ्चारमाध्यममा आउने विभिन्न विज्ञापनले क्रिसमसमय बनाएकै थिए । वास्तविक जनस्तरको क्रिसमस भने सोचे अनुसारका देखिएन तर व्यापार र व्यापारीका लागि भने पश्चिमा देशहरूका लागि यो समय स्वर्गै हुने रहेछ ।
from Online Khabar https://ift.tt/ZyDYR9W
No comments:
Post a Comment