Wednesday, January 31, 2024

५ वर्षपछि प्रहरीले फेरि खोल्दैछ ‘हाइप्रोफाइल मर्डर’ को फाइल

१८ माघ, काठमाडौं । थापाथलीमा भएको पूर्वराजदूत केशवराज झा हत्याको फाइल प्रहरीले पाँच वर्षपछि फेरि खोलेको छ ।

हत्या आरोपमा पक्राउ गरिएका भान्छे सानुकान्छा तामाङलाई जिल्ला अदालत, काठमाडौं र उच्च अदालत पाटनले सफाइ दिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले यो प्रकरणको अनुसन्धान फेरि थालेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीले प्रहरीले पुरानो फाइल अध्ययन गरिरहेको अनलाइनखबरसँग बताए । उनले भने, ‘अदालतबाट आरोपीले सफाइ पाएपछि फेरि पुरानो फाइलको अध्ययन थालेका छौं ।’

थापाथलीस्थित घरमा ४ भदौ २०७५ मा झा आफ्नो कोठामा मृत अवस्थामा फेला परेका थिए । त्यसबेला प्रहरीले भान्छे सानुकान्छा र दुई जना मालीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । तर, प्रमाण फेला नपरेको भन्दै तिनै जना धरौटीमा छुटेका थिए ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले एक वर्षपछि फेरि सानुकान्छालाई पक्राउ गरेको थियो । झाकी छोरी राजश्रीले सानुकान्छाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई ३१ साउन २०७६ मा पक्राउ गरेर फेरि अनुसन्धान गरेको थियो ।

त्यसबेला प्रहरीले गरेको अनुसन्धानको रायसहितको प्रतिवेदनका आधारमा झालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तर, जिल्ला अदालत काठमाडौंले २३ चैत २०७७ मा सानुकान्छालाई हत्यामा संलग्न रहेको भन्न सकिने प्रमाणको अभाव रहेको ठहर गर्दै सफाइ दियो । जिल्लाको यो आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत, पाटनमा पुनरावेदन निवेदन गएको थियो ।

उच्चले पनि जिल्लाकै आदेश सदर गरेको छ । जिल्ला अदालत, काठमाडौंले व्यक्ति हत्या जस्तो गम्भीर फौजदारी कसूरमा ‘शंका र अनुमान’का भरमा तामाङलाई दोषी ठहर गर्न फौजदारी न्यायको सिद्धान्तबाट मिल्ने नदेखिएको भनेको छ ।

झाको घर आसपासको सीसी क्यामरा फुटेजको विश्लेषण गर्दा नयाँ व्यक्तिहरु नदेखिएको समेत प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ । पोलिग्राफ जाँचमा समेत सानुकान्छाले झुट बोलेको देखिएको थियो

‘कर्तव्य गर्ने व्यक्तिको पहिचान एक वर्षसम्म हुन नसकेको र यी प्रतिवादीबाहेक अन्य व्यक्ति मृतकको घरमा प्रवेश गर्न सक्ने अवस्था नै नरहेको भन्ने आधारमा शंका र अनुमान गरी ज्यान जस्तो गम्भीर फौजदारी कसूरमा दोषी ठहर गर्नु फौजदारी न्यायको मान्य सिद्धान्त समेतबाट मिल्ने देखिएन’, न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले भनेको छ ।

घटनालगत्तै पक्राउ परेका बेला प्रहरीले उनलाई अभद्र व्यवहारको कसूरमा मुद्दा चलाएको थियो । त्यसबेला पोलिग्राफ, नार्को जाँच, सीसी टीभी फुटेज संकलन, छरछिमेकसँग बुझ्ने काम लगायत गर्दा समेत तामाङको घटनामा प्रत्यक्ष संलग्नता भेट्न नसकेका कारण उनी छुटेको प्रहरीको भनाइ छ ।

एक वर्षपछि मृतककी श्रीमती ज्ञानुले घरको चाबी सानुकान्छासँग मात्र भएको, उनीबाहेक अरु घरमा प्रवेश गर्दा कुकुर भुक्नुपर्ने, मृतकलाई मार्न प्रयोग गरिएको चक्कु पनि उनले नै प्रयोग गर्ने गरेको लगायतका अनुमान व्यक्त गर्दै दिएको जाहेरीका आधारमा मात्र अभियोग दाबी पेश भएको देखिएको भनिएको छ ।

त्यसमाथि आरोपी तामाङले सुरुदेखि नै अनुसन्धान अधिकृतसँग बयान गर्दा अभियोग इन्कार गरेको र घटनास्थलबाट संकलित भौतिक सबुत प्रमाणबाट पनि झा हत्यामा तामाङको प्रत्यक्ष संलग्नता नदेखिएको भनिएको छ । ‘हत्यालगत्तै मौकाको कागज गर्दा तामाङमाथि शंका गरेको देखिन्न’, अदालतले भनेको छ ।

परिस्थितिजन्य प्रमाणको मात्र भर पर्दा चुक

४ भदौ २०७५ मा झाको घरमा श्रीमान् केशवराज र उनकी श्रीमती ज्ञानु मात्र थिए । घर प्रवेश गर्ने गेटको छेऊमा टायलले छाएको सानुकान्छा बस्ने घर थियो ।

ज्ञानुले प्रहरीसमक्ष बताएअनुसार, केशव सुत्ने कोठामा जान मिल्ने भान्सातिरको बाटोबारे उनी राम्रोसँग जानकार थिए भने मूल ढोकाको चाबी समेत उनीसँग थियो ।

त्यो दिन बिहान श्रीमानको चालचुल नभएपछि ज्ञानुले सानुकान्छालाई बोलाउन भनेको प्रहरी प्रतिवेदनमा उल्लिखित बयानमा छ । तर, सानुकान्छा एक्लै जान मान्दैनन् र उनलाई पनि लिएर झाको कोठामा जाँदा सिरानीले छोपेको अवस्थामा केशव झाको शव भेटिएको थियो ।

लगत्तै अनुसन्धानका लागि खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले यो हत्यामा रिसइबी, पारिवारिक खटपटदेखि अन्तर्राष्ट्रिय गिरोहको संलग्नता लगायतका कोणबाट अनुसन्धान अघि बढाएको थियो ।

तर, कुनैमा बलियो आधार भेटिएन । छोरा किरणराज दुई दिनअघि मात्रै आयरल्याण्ड गएका थिए । श्रीमती ज्ञानु बिरामी अवस्थामा थिइन्, त्यसबेला उनको तौल जम्मा ४० किलो थियो ।

‘त्यो उमेरको व्यक्तिले केही गर्न सम्भव हुने अवस्था नै थिएन’, अनुसन्धानमा संलग्न एक अधिकृत भने, ‘त्यो समयमा घरमा अन्यको प्रवेश भएको पनि देखिन्न ।’

झाको घर ।

४ भदौ २०७५ मा राति नै झाको हत्या भएपनि कसैले चाल पाएका थिएनन् । कोठामा झासँगै कुकुर रहे पनि त्यसले समेत कुनै संकेत दिएको थिएन । त्यसबाट घरभित्रकै व्यक्ति संलग्न भएका कारण कुकुर नभुकेको हुनसक्ने आशंका गरिएको थियो ।

घटनाबारे थाहा पाएपछि प्रहरीको सिन अफ क्राइम ‘सोको अफिसर’को टोली कोठामा पुग्दा कुकुर खाटमुनि बसिरहेको थियो ।

‘प्रहरी टोली गएपछि कुकुर एकदमै भुकेको थियो, त्यसपछि सानुकान्छालाई नै त्यहाँ लगेर कुकर बाँध्न लगाएका थियौं’, त्यसबेला अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘त्यतिबेला कुकरले खाने बिस्कुट त्यो कोठाभरि छरिएको थियो ।’

मृतक केशवराज झाका छोरी राजश्रीले प्रहरीसमक्ष गरेको बयान कागज अनुसार, घटनास्थलमा फेला परेको ‘क्याट फुड’ पनि केहीअघि सानुकान्छालाई नै राख्न दिइएको थियो । ‘त्यो कहाँ थियो भन्ने उनीबाहेक अरुलाई थाहा थिएन’, उनले भनेकी छन्, ‘बुबाको मुख छोपिएको तकिया पनि सानुकान्छाले नै पोको पारेर स्टोर रुममा राखेका थिए ।’

घटनास्थलमा प्रहरीको केनाइन महाशाखाबाट लगिएको तालिम प्राप्त कुकुरका ह्याण्डलर कुमार थापाले अदालतमा गरेको बकपत्र अनुसार, हत्यामा प्रयोग भएको चक्कुको गन्ध सुँघाएर कुकुरलाई छाड्दा कुकुर माथिल्लो तलाको छतमा गएर बसेको थियो ।

‘त्यहाँबाट आरोपी आँपको बोट प्रयोग गरेर भाग्नसक्ने संकेत गरेकाले त्यसमुनि लगेर फेरि चक्कु सुँघाएका थियौं’, उनले भनेका छन्, ‘त्यसपछि गन्ध सुँघेर परिचालन गर्दा घरभित्रकै कम्पाउण्डमा रहेको केराको घारीमा रहेको एकजोर कालो पञ्जामा संकेत गरेको थियो ।’ त्यसपछि कुकुर सानुकान्छाको कोठासम्म पुगेको उनले बयान दिएका थिए ।

अनुसन्धान अधिकृतहरुका अनुसार, त्यसबेला कुकुरले पर्याप्त संकेत गरेपनि थप प्रमाण फेला नपर्दा सानुकान्छालाई त्यत्तिकै छाडिएको थियो । तर, एकवर्षपछि प्रहरीले फेरि झा पत्नीको जाहेरी लिएर परिस्थितिजन्य प्रमाणका आधारमा पनौती–१०, खोपासीबाट सानुकान्छालाई पक्राउ गरेर ल्याएको थियो ।

घटना भएका बेला झाको घर आसपासको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको विश्लेषण गर्दा नयाँ व्यक्तिहरु नदेखिएको समेत प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ । पोलिग्राफ जाँचमा समेत सानुकान्छाले झुट बोलेको देखिएको थियो ।

छोरी राजश्री झाले कोठा सफा गर्दा पछि एकजोर फरकफरक साइजको पन्जा फेला पारेकी थिइन् । ‘त्यसबारे प्रहरीलाई खबर गर्दा उक्त पन्जा र केराघारीमा पाइएको पन्जा करिब मिल्दोजुल्दो देखिएको थियो’, उनले भनेकी छन् ।

प्रहरीले यो घटनामा तामाङविरुद्ध यो घटनामा प्रत्यक्ष प्रमाण जुटाउन सकेको देखिन्न ।

‘घटनाभित्रका व्यक्ति संलग्न भएको घटनामा फिंगर प्रिन्टले पनि काम गर्दैन, किनभने जताजतै सम्बन्धितको फिंगर प्रिन्ट भेटिनसक्छ । अर्को कुरा बाहिरतिरको सीसी टीभी क्यामेराले पनि काम गर्ने अवस्था छैन । लोकेसन र कल डिटेल रेकर्ड (सीडीआर) ले पनि काम गर्ने विषय भएन’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘घरभित्रकै मान्छे संलग्न भएको घटनामा प्रमाण फेला पार्न मुस्किल नै पर्छ ।’

प्रहरी भन्छ – उनीबाहेकमा अनुसन्धान नै जाँदैन

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, सानुकान्छा केशवराज झाले दिने तलबबाट असन्तुष्ट थिए । उनको तलब बल्लतल्ल बढेर १६ हजार रुपैयाँ पुगेको थियो भने ५० हजार रुपैयाँ ऋण लिएका थिए ।

‘त्यो पनि कहिले दिन्छस् भनेर वाक्कदिक्क पारेको भनेका छन्’, एक अधिकृतले भने, ‘तलब पनि बढाइदिनुपर्‍यो भनेर उनले धेरै पटकदेखि भनिरहेका रहेछन् ।’

सानुकान्छाले पनि प्रहरीसँग बयान दिंदै झाले आफूलाई भूकम्पका कारण घर भत्किएपछि ५० हजार रुपैयाँ सापटी लिएको भनेका छन् ।

‘पछि महिना महिनामा कटाउनु भनी दिएका हुन्, मैले त्यो रकम फिर्ता गरेको छैन’, उनले भनेका थिए । मृतक झाले आफ्नो डायरीमा पनि त्यसको विवरण लेखेका थिए ।

प्रहरीका अनुसार, नार्को जाँचमा पनि उनले झुट बोलेको खुलेको थियो । बयानका क्रममा पनि उनले कहिल्यै बलियो गरी प्रतिवाद नगरेको अधिकृतहरु बताउँछन् ।

पुर्पक्षका लागि थुनामा गइसकेका बेलासमेत एक प्रहरी अधिकृत उनलाई भेट्न केन्द्रीय कारागार, सुन्धारा पुगेका थिए । त्यसबेला समेत उनले ‘मैले मारेको होइन, तर तपाईंहरु सबैले भन्नुहुन्छ भने ठीकै छ’ भनेको ती अधिकृत बताउँछन् ।

‘उनले कहिल्यै स्ट्रङ डिफेन्ड गरेनन्, सफ्ट इन्कारी मात्र गरे’, उनी भन्छन्, ‘यसमा उनीबाहेक अरु किन संलग्न छैनन् भन्ने विषयमा लामै सूची बन्छ, अनुसन्धान अरु कोणतिर पनि अघि बढ्दैन ।’ यद्यपि, परिस्थितिजन्य प्रमाणबाहेक अरु आधार नभेटिँदा अदालतमा कसूर स्थापित हुन नसकेको त्यसबेला अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी भने परिस्थितिजन्य प्रमाणको आधारमा मात्र पनि अभियोग अदालतमा स्थापित भएको थुप्रै उदाहरण रहेको बताउँछन् ।

‘त्यो घटना अनुसार फरकफरक छ, यो केशमा के भएको हो भन्ने मैले अध्ययन गरेको छैन’, उनी भन्छन्, ‘तर, यसमा जिल्ला र उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतसम्म जानसक्ने बाटो रहन्छ ।’



from Online Khabar https://ift.tt/uTQwpF1

‘छोरी कहिले निको हुन्छ ?’ अनुत्तरित जवाफ कुरिरहेकी एउटी आमा

वीर अस्पताल बाहिर भित्तामा अडेसिएर टुक्रुक्क बसेकी थिइन्, सर्केनी कामी । रुकुमपूर्वको विकट गाउँबाट जसोतसो उनी काठमाडौं आइपुगेकी हुन् । यसअघि उनले आफ्नो आँगनभन्दा टाढाको संसार देखेकै थिइनन् । भोको पेटका लागि जुध्दा जुध्दै आँखाको रौस पनि निथ्रिसकेको थियो ।

गरिबी र अभावले नै घरबाट बाहिर निस्कन दिएन । अभावमै बैँस सकियो । श्रीमान् बिते । छोराछोरी लाखापाखा लागे । उनको उमेर ढल्कियो ।

बुढ्यौलीमा घर छाड्ने रहर थिएन, जाँगर थिएन, खर्च पनि थिएन । तर, बाध्यता आइलाग्यो ।

बाध्यता के भने, कलकलाउँदो उमेरकी कान्छी छोरी जुना बिक अनायास मुर्छा पर्न थालिन् । होसको कुरा गर्न छाडिन् । जथाभावी कोतर्न थालिन् । आँखा देख्नै छाडिन् । हलचल गर्न नसक्ने भइन् । अन्ततः उनलाई घरमै राख्न गाह्रो भयो । छोरीलाई ल्याएर उनी काठमाडौं आइन्, नाइटबस चढेर ।

तर, कहिल्यै गाउँ नछाडेकी, सावाँ-अक्षर नचिनेकी, पुग्दो खर्च नभएकी सर्केनी कामीलाई दूरदराजको गाउँदेखि काठमाडौंसम्मको यात्रा तय गर्न त्यती सजिलो थिएन । त्यसको छुटै महाभारत छ । त्योभन्दा ठूलो महाभारत छ बिरामी छोरीका लागि उनले झेलेको कष्टहरु ।

विवाह गरेर गइसकेकी कान्छी छोरी बिरामी पर्न थालेपछि ज्वाइँले खबर पठाए, ‘छोरीलाई लिन आउनु । म स्यहारसुसार गर्न सक्दिनँ ।’

‘१५ वर्षको उमेरमा छोरीलाई ३५ वर्षको केटोले भगाएर लग्यो’ सर्केनी कामीले सुनाए, ‘तर, बिरामी पर्न थालेपछि पाल्न सक्दिन भन्दै माइत पठाइदिए ।’

आमाको मन हो, ‘दुःखसुख छोरीलाई पाल्छु’ भनी आफैंसँग राख्न थालिन् । यसै त अभाव र दुःख । त्यसमाथि थपिए, बिरामी छोरी । एउटी बुढी आमाले कसरी पालनपोषण गर्ने ? कसरी रेखदेख गर्ने ? कसरी औषधि उपचार गर्ने ?

तीन भाइ छोरा श्रम गर्न भारततिर । बाँकी छोरीहरु विवाह गरेर आ–आफ्नै घरमा । एक्लो ज्यान जसोतसो पालेकै थिइन् । आय–आम्दानीको दिगो स्रोत त थिएन । आफ्नै अन्न उब्जनीले आधा वर्ष खान नपुग्ने । दुःखजिलो ढिंडो–खोले खाएर दिन गुजार्दै थिइन् । यस्तो अवस्थामा बिरामी छोरीलाई घरमा ल्याएर हेरचाह गर्नुपर्ने भयो ।

छोरी हालत धेरै बिग्रिसकेको थियो । छिनछिनमै मुर्छा पर्ने । किन यस्तो हुन्छ ? आमालाई थाहा पत्तो हुने भएन । देवी देवता लागेको होला भनी झारफुक गर्न थाले । तर, समस्या अरु चर्किदै गयो ।

दिनमा १०–२० चोटी बेहोस हुन थालिन् । छिमेकीले अनुमान गरे, ‘छारे रोग लागेछ ।’ सर्केनीले गाउँ चाहर्दै जडीबुटी खुवाउन थालिन् । दुई वर्ष बित्यो, तैपनि निको भएन ।

जति जति समय लम्बिदै गयो, जुना बिकको समस्या जटिल हुँदै गयो । उनी आफु नजिक आउने मान्छेलाई चिर्थोन थालिन् । मान्छेहरुले लख काटे, ‘अब उनको दिमाग बिग्रियो । बहुलाउन लागेजस्तो छ ।’

केही समय बित्न नपाउँदै उनले आँखा पनि देख्न छाडिन् ।

‘म आफैं पनि राम्ररी हिंडडुल गर्न नसक्ने, खुट्टा दुख्छ’ सर्केनी सुनाउँछिन्, ‘त्यसमाथि छोरी थला परेपछि आफैले भित्र–बाहिर लानुपर्ने, खुवाउनुपर्ने, खानेकुरा ल्याउनुपर्ने । धेरै दुःख भो ।’

झारफुकले भएन, जडिबुटीले भएन । छोरीको बिजोग भयो । ऐया र अत्था गर्दै बसेको सुनेर कहिलेसम्म बस्ने ? सर्केनीले ऋणपान गरिन् । छोरीलाई अस्पतालसम्म पुर्‍याउने जोरजाम गरिन् । तर, अस्पताल नजिक भए पो ?

गाडी कुद्ने बाटो भेट्नै एक दिन हिंड्नुपर्ने । केही मान्छे खोजे र छोरीलाई स्टेचरमा बोक्न लगाए । त्यसबापत उनीहरुले १० हजार रुपैयाँ मागे ।

छोरीलाई स्टेचरमा बोकाइयो । सर्केनी पछि–पछि लागिन् । तर, आधा बाटो पुगेपछि ति मान्छेहरुले बिरामीलाई स्टेचरमै छाडेर आफ्नो घर फर्के । सर्केनीले बटुवाहरुलाई गुहार मागिन् । बटुवाहरुले नै बिरामीलाई स्टेचरमा राखेर दाङको लमहीसम्म पुर्‍याइदिए । स्थानीय अस्पतालमा जाँच गराइन् । त्यहाँ उपचार नहुने भन्दै चिकित्सकले काठमाडौं लैजान सुझाए ।

जेठी छोरीलाई साथ लिएर सर्केनी नाइट बसमा चढिन् । लामो र पट्यारलाग्दो यात्रापछि बिरामी छोरीलाई काठमाडौं ल्याइन् । कसैले सुझाए, ‘आँखा नदेख्ने रहेछ, तिलगंगा अस्पताल लानुपर्छ ।’ उनीहरुले बिरामीलाई तिलगंगा पुर्‍याए , ट्याक्सीमा राखेर । बिरामीको सामान्य जाँचपछि चिकित्सकले भने, ‘यो आँखाको मात्र समस्या होइन, स्नायुको समस्या हुनसक्छ । यहाँ उपचार हुँदैन ।’ उनीहरुले बिरामीलाई सुन्धाराकै एक अस्पतालमा पुर्‍याए । त्यहाँको उपचार खर्चिलो हुने भएपछि उनीहरु घुम्दैफिर्दै वीर अस्पताल पुगे ।

वीर अस्पतालमा परीक्षण गरेपछि थाहा भयो, जुनाको मस्तिष्कमा ठूलो ट्युमर छ । मस्तिष्कको धेरै हिस्सा त्यसले ओगटेको छ । त्यही कारण उनी मुर्छा पर्ने, बेहोस जस्तै हुने, आँखा नदेख्ने अवस्थामा पुगिन् । यो निकै जटिल किसिमको ट्युमर थियो र चिकित्सकको लागि चुनौती पनि ।

अस्पताल पुर्‍याएको भोलिपल्ट नै प्रा.डा. राजीव झा, डा. समीर अर्याललगायत समूहले जुनाको शल्यक्रिया गरिदिए । छोरीको शल्यक्रिया भयो । तर, सर्केनीलाई थाहा छैन, ‘छोरी कहिले निको हुन्छे ? कहिले घर फर्कन पाइन्छ ? उपचार खर्च कति तिर्नुपर्छ ? त्यतिका पैसा कहाँबाट जुटाउने ? अस्पताल बस्दा के खाने, कसरी खाने ?’

अशिक्षित नहुँदो हो, गरिबी नहुँदो हो, अभाव नहुँदो हो, असुविधा नहुँदो हो त २० वर्षीय जुनाले यो अवस्था झेल्नुपर्ने थिएन । तर, विकट गाउँमा जन्मिनु, अशिक्षित पृष्टभूमिमा हुर्कनु, गरिब हुनु नै उनको लागि अभिशाप बन्यो । उनको उपचारमा संलग्न चिकित्सक भनिरहेका छन्, ‘उनको ज्यान त जसोतसो बचायौं तर आँखाको दृष्टि सायदै फर्किएला । यदि रोग छिप्पिन नपाउँदै उपचार गर्न पाएको भए सबै कुरा ठीकठाक एवं सामान्य हुन्थ्यो ।’

जुनालाई सानै उमेरमा रोग सुरु भइसकेको थियो । आमा सर्केनी कामीका अनुसार उनी सानो छँदा पनि लगलग काम्ने गर्थिन्, बेलाबखत । त्यसबेला उनीहरुले देवी देवता लागेको ठाने । धामीझांक्री लगाए । रोग बढ्दै गयो । उनीहरुले ‘छारेरोग लागेको’ अनुमान गरेर जडिबुटी खुवाए । यसरी वर्षौ वर्ष जुनालाई घरमै राखियो । घरमै राख्नु रहर थिएन । अभाव, अशिक्षा र असुविधा थियो ।

बिरामी भएपछि श्रीमानले समेत अलपत्र छाडेकी जुना यतिबेला आफ्नी बुढी आमाको साहारामा छिन् । सर्केनी कामीको भागमा दुःखको चाङ लागेको छ ।

उनलाई एकदमै नाजुक अवस्थामा शल्यक्रिया गरियो : प्रा.डा. राजीव झा

बिरामी यहाँ ल्याउँदा एकदमै नाजुक अवस्थामा थियो । २० वर्षकी एउटी युवती, जसको मस्तिष्कको आधा जसो भागमा ट्युमर छ । त्यो पनि सामान्य ट्युमर होइन । शल्यक्रिया गरेर ट्युमर निकाल्दा पनि धेरै चुनौती थियो । बिरामीको ज्यानै जान सक्थ्यो वा पक्षघात हुन सक्थ्यो ।

यद्यपि डा. समीरसहित हाम्रो टोलीले तत्कालै उनको शल्यक्रिया गरेर मस्तिष्कमा भएको सबै ट्युमर निकाल्यौं । ट्युमर असामान्य हो कि भनेर वायोस्पी गर्न पठाइएको छ । उनको ज्यान त बचायौं तर आँखाको दृष्टि फर्कन सक्ने संभावना ज्यादै न्युन छ । दिमाग केही असन्तुलन भएपनि बिस्तारै ठीक हुनेछ । भर्खरै मात्र उनी बोल्ने र खाने भइसकेकी छिन् ।

यदि ट्युमर सामान्य आएमा त उनी पूर्णत निको हुनेछिन् । यदि खराब खालको आएमा थेरापी गर्नुपर्ने हुनसक्छ ।

यदि समयमै रोग पहिचान भएको भए, उपचार गरेको भए यस्तो जटिलता आउने नै थिएन । अस्पतालको सहज पहुँच नहुनु, उपचार गर्ने पैसा नहुनु र सचेतना नहुनुले आज यो जटिलता आएको हो । यद्यपि हामीले उनको शल्यक्रियालगायत खर्चमा सकेसम्म छुट गर्नका लागि पहल गरिरहेका छौं ।

तस्विर : विकास श्रेष्ठ



from Online Khabar https://ift.tt/7ZeqytK

६ महिनामा ३९ हजारलाई मापसे कारबाही, चार करोड राजश्व सङ्कलन   

१८ माघ, काठमाडौं । नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ चालक पनि कारबाहीमा परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले मापसेविरुद्धको कारबाहीबाट चार करोड राजश्व सङ्कलन भएको जानकारी दिए ।

यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे जाँचलाई प्राथमिकता दिँदै आइएको उनले बताए ।

लामो दूरीको यात्राका क्रममा मापसे गरी सवारी साधन चलाउने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाएको छ । सिसिटिभीको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो रहेको प्रहरीको निष्कर्ष छ । त्यस्तो प्रवृत्तिलाई निरूत्साहित गर्दै मापसे र लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी कार्यान्वयन गर्दै आएको छ ।

‘दुर्घटनाबाट आफ्नो र यात्रुको ज्यान बचाउनका लागि प्रत्येक चालकले सही अवस्थामा सवारी साधन चलाउनुपर्छ । यो कुरालाई स्थानीयस्तरमा सबै नागरिकले बुझ्न र पालना गर्न आवश्यक छ’, प्रहरीका केन्द्रीय प्रवक्ता ढकालले भने ।

चालु आर्थिक वर्षको छ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा १८ हजार ६२७, कोशी प्रदेशमा दुई हजार ५२४, मधेशमा दुई हजार २१, बागमतीमा एक हजार ९८, गण्डकीमा आठ हजार ९२३, लुम्बिनीमा दुई हजार ७७३, कर्णालीमा एक हजार २६४ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४२ जना कारबाहीमा परेका उनले जानकारी दिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाका धेरै ठाउँमा सवारी साधन जाँच गर्ने, लापसे सेवनमा मुद्दा चलाउने गरेकाले पछिल्लो समयमा चालक सजग र सचेत हुन थालेका बताए ।

उनका अनुसार उक्त कारबाही अभियानमा काठमाडौं उपत्यकामा एक करोड ८६ लाख २७ हजार, कोशी प्रदेशमा २५ लाख ३९ हजार पाँच सय, मधेशमा २० लाख ४२ हजार पाँच सय, बागमतीमा ११ लाख १७ हजार, गण्डकीमा ९५ लाख ६८ हजार, लुम्बिनीमा २७ लाख ७३ हजार, कर्णालीमा १२ लाख ६० हजार र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार राजश्व सङ्कलन भएको छ ।

सो अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौं उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८, गण्डकीमा ८८, लुम्बिनीमा २० र सुदूरपश्चिम प्रदेशमा २५ जना कारबाहीमा परेका छन् ।



from Online Khabar https://ift.tt/7MwBgt2

आहारारा पोखरा गोल्डकप : फाइनल प्रवेशका लागि आज आर्मी र चर्चब्वाइज भिड्दै

१८ माघ, पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ ।

आजको खेल जित्ने टिमले शनिबार हुने २३औं आहारारा पोखरा गोल्डकपको उपाधि भिडन्तमा सामेल हुनेछ । यसअघि नै जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब फाइनल प्रवेश गरिसकेको छ ।

आहारारामा त्रिभुवन आर्मी र चर्च ब्वाइज पहिलो पटक भिड्न लागेका हुन् । अघिल्लो संस्करणदेखि सहभागी हुन लागेको चर्चब्वाइज पहिलो संस्करणमै सेमिफाइनलसम्म पुगेको थियो । तर, सेमिफाइनलमा अमेरिकन टिम बीवाईएससीसँग १–० ले पराजित हुँदा उपाधि नजिक पुगेर पनि बाहिरिनुपर्‍यो ।

चर्चब्वाइज बाइ पाउँदै सीधै क्वार्टरफाइनल प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा आहाराराकै सर्वाधिक सफल टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएको हो ।

आहाराराको पुरानो र अनुभवी त्रिभुवन आर्मी क्लब हालसम्म उपाधिविहीन छ । पटकपटक फाइनल पुगेर पनि हार व्यहोर्दा हालसम्म उपाधि जित्न सकेको छैन । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ सहभागिता हो ।

पहिलो पटक ०६० सालमा भाग लिएको आर्मी सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता ४ पटक फाइनल पुगिसकेको छ । तर, उपाधि जित्न सकेको छैन ।

आर्मी पहिलो पटक २०६५ मा फाइनल पुगेको थियो । त्यतिबेला नेपाल पुलिससँग ५–० ले पराजित भयो । ०६६ मा पनि फाइनल पुगेको आर्मीलाई पुलिसले नै १–० ले पराजित गर्‍यो ।

०७२ सालको फाइनलमा भने आर्मीलाई मनाङ मर्स्याङ्दीले १–० ले हरायो । ०७५ मा भने आर्मीले ट्राइब्रेकरमा थ्रीस्टारसँग ५–२ ले हार बेहोरेको थियो ।

आर्मीले भरत खवासको कप्तानीमा खेलाडीहरु मैदान उतारेको छ । आर्मीको टिममा राष्ट्रिय टिमबाट खेलेको जिलेप्सीजंग कार्की, दिनेश हेन्जङ, विमल पाण्डे, विकेश कुथुलगायत छन् ।

चर्चब्वाइजको कप्तानी अनन्त तामाङले सम्हालिरहेका छन् । टिममा राष्ट्रिय टिमबाटै खेलिसकेका कमल श्रेष्ठ, नेपाल सुपर लिग (एनएसल)मा उत्कृष्ट प्रदर्शन गरेका रोहन कार्की, सन्तोष खत्री, सञ्जित राई, राजीव लोप्चन, कृपाकान्त चौधरी, समीर तामाङलगायत खेलाडी छन् ।



from Online Khabar https://ift.tt/yREfsIt

Tuesday, January 30, 2024

ठमेलको होटल भियनाबाट १३ लाख ६२ हजारसहित ११ जना पक्राउ

१७ माघ, काठमाडौं । नेपाल प्रहरीले १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट उक्त नगदसहित ११ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौं जोरपाटीका ५४ वर्षीय अरुण घिमिरे, काभ्रेपलाञ्चोकका ४४ वर्षीय हरिबोल खनाल र २८ वर्षीय किशोर अधिकारी, चितवनका ४१ वर्षीय दीपक गुरुङ, नुवाकोटका ४४ वर्षीय कृष्णबहादुर राई, २८ वर्षीय शङ्कर शाही र ३० वर्षीय राजु पन्त, रुपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, रोल्पाका ३६ वर्षीय लिला डाँगी, बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दिया र गोरखाका ३५ वर्षीय अर्जुन गुरुङलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले ज्याठास्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।



from Online Khabar https://ift.tt/7GpDo8s

Monday, January 29, 2024

आहारारा पोखरा गोल्डकप : आज चर्च ब्वाइज र नेपाल पुलिस भिड्दै

१६ माघ, पोखरा  पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा आज अन्तिम क्वार्टरफाइनल खेल चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीच हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

नेपाल पुलिसले जारी संस्करणको प्रिक्वार्टरफाइनलमा अर्को विभागीय टिम एपीएफलाई पराजित गर्दै अन्तिम ८ मा आइपुगेको हो भने चर्च ब्वाइज बाइ पाउँदै सीधै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।

आहारारामा चर्च ब्वाइज र नेपाल पुलिसको यो दोस्रो भेट हो । पोहोरको संस्करणमा पनि क्वार्टरफाइनलमै नेपाल पुलिस र चर्च ब्वाइज भिडेका थिए ।

अघिल्लो संस्करणदेखि आहारारा पोखरा गोल्डकपमा डेब्यु गरेको चर्चब्वाइजले आफ्नो पहिलो सहभागितामै नेपाल पुलिसको सामना गरेको थियो । जसमा आफ्नो डेब्यु खेलमै चर्चब्वाइजले सर्वाधिक (६ पटक) विजेता नेपाल पुलिसलाई २-१ ले स्तब्ध पारेको थियो ।

विभागीय टिम नेपाल पुलिस क्लब आहारारा पोखराको अनुभवी टिम पनि हो । पुलिसले ६ पटक आहारारा पोखरा गोल्डकपको उपाधि जित्दा ५ पटक उपविजेता बनेको छ ।

नेपाल पुलिसले आहारारा गोल्डकपको पहिलो संस्करण ‘क्याराभान कप’ बाटै विजयी सुरुआत गरेको थियो । त्यसयता पुलिसले ६ पटक आहारारा गोल्डकपको उपाधि चुम्दै सर्वाधिक विजेताको दौडमा छ ।

विभागीय टोली नेपाल पुलिसले ०५८, ०५९, ०६४, ०६५, ०६६ र ०७४ उपाधि चुमेको थियो । आहारारामा लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्ने टिम पनि नेपाल पुलिस नै हो ।

आजको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा हुनेछ । यसअघि थ्रीस्टार, जावलाखेल युथ क्लब र त्रिभुवन आमी सेमिफाइनल पुगिसकेका छन् । आजको विजेता टोलीले माघ १८ गते फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।



from Online Khabar https://ift.tt/zvOMp73

आज शहीद दिवस : शान्तिवाटिकाबाट प्रभातफेरी, लैनचौरमा श्रद्धाञ्जलीसभा

१६ माघ, काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ ।

इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जलीसभा आयोजना हुने गरेको छ ।

आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ । सो सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ ।

सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ । यद्यपि २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले २०८० सालमै गरिसकेको छ ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।

मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।

शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ ।



from Online Khabar https://ift.tt/cWboDZV

Sunday, January 28, 2024

सर, गुरू र गुरूजी

‘मलाई ‘गुरू’ नभन्नुस् न, ‘सर’ भन्ने गर्नुस् । मलाई ‘सर’ भनेको नै मन पर्छ,’ उहाँ सोझै हामीसित भन्ने गर्नुहुन्थ्यो ।

उहाँ शिक्षण–पेसामा हुनुहुन्थ्यो र नेपाली विषय पढाउनुहुन्थ्यो । शरीर पातलो थियो । शिरमा ढाका टोपी सधै शोभायमान हुन्थ्यो । पावरदार चश्मा विशिष्ट पहिचान थियो । प्रायः देब्रे हातमा भाषा वा साहित्यसम्बन्धी केही पुस्तक हुन्थे । र, अक्सर दाहिने हातमा धुवाँ निस्कँदै गरिरहेको चुरोट ! अनौठो मान्न सकिने उहाँको त्यही विशेषता थियो– उहाँ नेपाली विषयको शिक्षक आफूलाई गुरू भनेको मन पराउनु हुन्नथ्यो !

‘किन त्यस्तो होला ?’ हाम्रो सहज जिज्ञासा हुने नै भयो ।

उहाँ, हीरामणि शर्मा पौडेल, म क्याम्पस पढ्ने ताका नेपाली विषय पढाउने उपप्राध्यापक हुनुहुन्थ्यो । उहाँ पहिले लामो समयसम्म त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा हुनुहुन्थ्यो । त्यहीं बस्दा उहाँले बोटे र कुमाल भाषाहरूसम्बन्धी दुईवटा अनुसन्धानमूलक पुस्तक पनि प्रकाशित गराइसक्नुभएको थियो ।  पछि उहाँ राजधानीमै कीर्तिपुर सरुवा हुनुभएको थियो । अध्यापन उहाँको जीवन–वृत्ति थियो, र समालोचना एवं भाषिक अनुसन्धानमूलक लेखन उहाँका प्रिय रूचि थिए । उहाँमा त्यही एउटा लत विकसित भएको थियो– निरन्तर चुरोटको धुवाँ उडाइरहनु पर्ने । अनि एक दिन त्यही लतले उहाँलाई असमयमै कालको गास बनायो, उहाँ क्यान्सर रोगले थला परेर लाइलाज अवस्थामा पुग्नुभयो र –त्यति शीघ्र इच्छा नहुँदानहुँदै पनि– यो संसार छाड्न विवश हुनुभयो । हरे ! विधिको यो लेखा, कसले के भन्न सक्छ र !

उहाँ किन आफूलाई ‘गुरू’ नभनेर ‘सर’ भन्न रुचाउनुहुन्थ्यो ? त्यसको बलियो कारण पनि उहाँसित थियो । उहाँँले नेपाली भाषामा एमए गर्नुभएको थियो । तर, सायद उहाँसित संस्कृतको परम्परागत ‘गुरूकुलीय शिक्षा पद्धति’, वा ‘ऋषिकुल शिक्षा’ अथवा ‘देवकुल शिक्षा’ पद्धतिहरूको सैद्धान्तिक भए पनि यथेष्ट अनुभवजन्य ज्ञान भने थिएन । त्यसैले सायद, उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘अचेल ‘गुरू’ भन्ने शब्द एकदमै सस्तो भएको छ, जसले जसलाई पनि गुरू भनेर बोलाउन सक्छ । अरू त अरू, बस र ट्रकका चालकहरू पनि गुरू र गुरूजी भइसकेका छन् । बस वा ट्रक चलाउने पनि गुरू, हामी आजीवन खटेर विद्यादान गर्ने पनि गुरू ! अनि कसरी यो कुरा एउटै हुन सक्छ ? यो बाहेक पनि, अरूअरू विषय पढाउने चाहिं ‘सर र म्याम’, अनि हामी नेपाली विषय पढाउने मात्र चाहिं ‘गुरू र गुरूमा’ ?’

उहाँ शरीरको अन्तरकुन्तरबाटै आजित भएर बोले झैं भान हुन्थ्यो । यसो भनिरहँदा उहाँ आक्रोशको मुद्रामा देखिनुहुन्थ्यो, कहिलेकाहीं वादविवादमै ओर्लन भ्याउनुहुन्थ्यो, तर धन्य कहिल्यै रौद्र मुद्रामा भने प्रकट हुनुभएन !

उहाँले भने जस्तै, के ‘गुरू’ शब्द यति दीन हीन र मूल्यवत्ताहीन भइसकेको हो त ? मेरो मनमष्तिष्कमा चेतनाको घण्टी निरन्तर बजिरहन्थ्यो, र मलाई लागिरहन्थ्यो– के समयको प्रवाहसँगै ‘गुरू’ शब्दको अर्थ पनि पृथ्वी घुमें झैं घुम्न थालेको हो त !

एआई सिर्जित तस्विर

सामाजिक जीवनका पाटाहरू नियाल्दा स्पष्ट देखिने तथ्य हो– शिक्षक, चालक र माझी एकसमान हुन्छन् । शिक्षकले सयौं र हजारौं शिक्षार्थीलाई विद्याको बाटो हुँदै जीवन–डुङ्गा तारीदिने बलियो सहाराको रूपमा काम गर्छन्, चालक र माझीले चिनारू–अनचिनारू अनगन्ती यात्रुलाई मानव–जीवनभन्दा पनि लामा–लामा बाटा र अथाह जलप्रवाहहरूले भरिएका नदी तारी दिन्छन् । जीवनको नदी तर्नेहरू वा प्राकृतिक नदी तर्नेहरू कहाँबाट कहाँ पुगिसक्छन्, तर शिक्षक, चालक र माझीहरू अक्सर उही आ–आफ्नै डुङ्गामा हुन्छन्– एकजना आफ्नो विद्यालयरूपी डुङ्गामा, त अर्का चाहिं वाहनरूपी फलामे डुङ्गामा वा नदीको तटीय क्षेत्रमा खडा गरिराखिएको काठको डुङ्गामा ।

माझीलाई, बोट चलाउने हुँदा, बोटे पनि भन्छन् । चालकलाई कोही ड्राइभर भनी बोलाउँछन, त कोही ‘पाइलट’ र धेरैजसो त गुरू वा गुरूजी । शिक्षकलाई एक नामले होइन, अनेक नामहरूले बोलाइन्छ, अनेक सम्बोधनहरूले पुकारिन्छ ।

अंग्रेजीमा टीचर, प्रोफेसर, मिस, सर, म्याडम वा म्याम भने पुग्यो । हिन्दीमा पनि बहुधा टीचरजी वा मास्टरजी भने पुग्ने गरेको छ । चिनियाँ, फ्रेन्च, स्पेनिश, जर्मन र अरूअरू भाषामा पनि यस्तै अनेक नाम हुँदा हुन् शिक्षकलाई सम्बोधन गर्ने । नेपालमा सर, मिस र म्याम भनेको त सुनिन्छ तर टीचर, टीचरजी या मास्टरजी भन्ने प्रचलन उस्तो देखिंदैन । शिक्षकजी भनेको त झनै कहीं कतै सुनिंदैन । अ“, गुरू वा गुरूमा वा गुरूजी भन्ने त चलन चल्ती नै छ ।

त्यसो त, समय आफैमा महान शिक्षक हो, असल गुरू हो । उसलाई हामी कुनै पृथक नामले सम्बोधन गर्दैनौं । सायद सिक्ने र सिकाउनेहरूको उस्तो नाम विशेष हुँदैन– फगत एउटा साइनो हुन्छ, गाँस्न सकेमा । गुरू शब्द आफैमा ओजपूर्ण र गम्भीर पनि छ । त्यसैले कुनै पनि खास महत्वको वा संवेदनशील प्रसङ्ग उठ्दा त्यसलाई ‘गुरु–गम्भीर’ भन्ने गरिन्छ । यसको अर्थ ‘गुरु जस्तो गम्भीर’ भन्ने पनि हुन्छ, जसको अर्थ हुन्छ– गुरु भन्ने पद आफैमा गम्भीर  छ, दायित्वले भरिपूर्ण छ, जिम्मेवारीले भरिएको छ र कत्र्तव्यभावले सराबोर छ । मात्र दुई अक्षर ‘गु’ र ‘रू’ले बनेको भए पनि यसको सर्वव्यापकता, सर्वमान्यता र सर्वस्वीकार्यता अतुलनीय छ, संस्तुत्य छ ।

अतीतमा, शिक्षा–दीक्षाको थालनीका दिनहरूमा र त्यसपछि पनि धेरै समयसम्म ‘गुरू’ वा ‘आचार्य’ भन्ने शब्दमा कति ओज थियो ! कति महिमामण्डित थियो यो शब्द ! कति चमक थियो ! कति मान र सम्मान थियो ! खास–खास व्यक्तित्वका लागि आरक्षित गरिएर राखेको जस्तो ! तर समयक्रममा जसैजसै शिक्षाको विस्तार हुँदै गयो र शिक्षाको स्वरूप सेवा भन्दा पनि व्यवसायिक र संस्थागत बन्दै गयो, त्यससँगै ‘गुरू’ वा ‘आचार्य’ शब्दहरूमा विगतको त्यो महिमा र त्यो गरिमा रहेन ! ती सबैलाई अङ्ग्रेजीको एउटै शब्द ‘सर’ वा ‘मिस’ (अथवा म्याडम’) ले कति सहजै विस्थापित गरीदियो ! (अझ विस्थापित गर्दै जाने क्रम तीव्रतर हुँदै जाँदो छ) ।

शिक्षा मानिसको जन्मसिद्ध, मौलिक अधिकार हो । यथोचित् शिक्षाले नै उसमा बुद्धिको समुचित विकास हुन्छ, स्वतन्त्र चिन्तन–मनन गर्ने शक्ति विकसित हुन्छ । त्यस्तो शिक्षाको ज्योति फैलाउनेहरू शिक्षक हुन् । शिक्षाकै अर्को नाम विद्या हो । शिक्षाको ज्योति फैलाएर गाउ“, समाज र राष्ट्रलाई आलोकित गर्ने उनै शिक्षक–शिक्षिकाहरू हुन् । शिक्षकहरू अक्सर सौम्य, सरल र विद्यानिष्ठ हुन्छन् (यस्तो आमधारणा हो, सबै सहमत हुन पनि सक्छन् र नहुन पनि) । उनीहरुमा शिष्य–शिष्या वात्सल्य हुन्छ र हजारौं शिष्य–शिष्यालाई विद्यामृत पिलाएर पनि उनीहरू विद्या–परम्परालाई अगाडि बढाइरहनुपर्ने कुरामा कहिल्यै थाक्दैनन्, विद्यादान –जुन आफैमा एउटा कर्मयोग हो– मा सधै लागिरहन्छन् । बरू जीवन अनित्य छ, तर शिक्षा (र, शिक्षादान पनि) नित्य छ, शाश्वत छ, र सार्वभौम पनि ।

ती मानिसहरू, जो विद्यादान गर्छन्, उनीहरूको जहिले जति प्रशंसा गरे पनि कम्ती नै हुन्छ । यद्यपि, असल विद्यार्थी नै पछि गएर पनि असल शिक्षक–शिक्षिका नै बन्छ भन्ने केही छैन –धेरै दृष्टान्तहरू छन् जसले असल विद्यार्थी नै कालान्तरमा असल शिक्षक बनेको भन्ने सकारात्मक सन्देश दिँदैनन्– तर सम्भवतः धेरैजसो शिक्षक चाहिँ निश्चय पनि असल विद्यार्थी रहेकै हुन्छन्, हुनुपर्छ । आखिर त्यसै त भनिएको छैन नि– सिक्ने र सिकाउने (यस मानेमा पढ्ने र पढाउने) प्रक्रिया जीवनमा कहिल्यै टुङ्गिदैन ।

त्यसकारण विद्यादान गर्नेहरू असल हुन्, र महान पनि हुन् । उनीहरू विद्या सिक्न आउनेहरूलाई रुचाउँछन्, सकेको सिकाउँछन् र असल नागरिक बन्न एवं सफल जीवन यापन गर्न केही भए पनि सिकायौं भनेर सन्तुष्टि लिन्छन् । यिनै शिक्षक–शिक्षिकाहरू नै त हुन् जसले एक पुस्ताले प्राप्त गरेको ज्ञान अर्को पुस्तालाई हस्तान्तरण गरीदिन्छन, एक पुस्ताबाट अर्को पुस्तामा ‘पास’ गर्छन् । के हुँदो हो यदि यस्ता शिक्षक–शिक्षिका वा गुरू–गुरूमा नभएको भए ! मानिसहरूले, जसले जे जसरी सक्छ, आ–आफै सिक्नुपर्ने हुन्थ्यो ! यदाकदा दुर्लभ प्रतिभाहरूले त धेरै सिक्न सक्थे होलान्, तर संसार त अर्कै हुन्थ्यो होला ! परिवर्तित हुन्थ्यो होला ! किनभने अगिल्लो पुस्ताले हासिल गरेका ज्ञान, सीप, दक्षता, आदर्श, विचार आदि सबै कुराहरूबाट मानवता वञ्चित हुन पुग्थ्यो होला ! सम्भवतः त्यसैले, दुनियाँमा अहिले जति शिक्षण पेसामा मानिसहरू संलग्न छन्, अन्य कुनै एउटै पेसामा यति व्यक्तिहरू छैनन् ।

शिक्षा र अशिक्षा अनि ज्ञान र अज्ञान एक–अर्काका बैरी हुन्, जसरी घाम र छायाँ अनि अँध्यारो र उज्यालो । अँध्यारो भनेकै अज्ञानता हो जुन डरलाग्दो हुन्छ, खतरनाक हुन्छ तर ज्ञानको वृद्धिसँगै यो हराउँदै जान्छ– उज्यालो देखेपछि अँध्यारो भागे जस्तै । त्यसैले त भनिएको होला नि – अँध्यारोबाट उज्यालोतिर लैजाऊ … तमसोर्गमा ज्योतिर्गमय…।

नोबेल पुरस्कार विजेता भारतीय बंगाली साहित्यकार रवीन्द्रनाथ टैगोरले लेखेका छन्– ताराहरूले भने, हामी प्रकाश दिन्छौँ । अन्धकार हट्छ वा हट्दैन, त्यो भने हामीलाई थाहा छैन । हाम्रा गुरू–गुरूमाहरू अथवा मिस–म्याम–सरहरू पनि यस्तै हुन् । उनीहरूले हामीलाई शिक्षा दिँदा कसैलाई काखा र कसैलाई पाखा नगरी समान तवरले शिक्षा दिन्छन, दीक्षित गर्छन् । आफूभन्दा धेरै असल, आफूूभन्दा धेरै ज्ञानी र आफूभन्दा धेरै प्रभावशाली बनाउन प्रयास गर्छन् । कुन शिष्य र शिष्याले के कसरी त्यो शिक्षा ग्रहण गर्छन् भन्ने त स्वयं उनीहरूमाथि नै भर पर्छ, उनीहरूकै उत्सुकता, क्षमता र परिश्रममा भर पर्छ । गुरू÷गुरूमाहरूले प्रकाश छर्छन्, त्यस आधारमा जीवन–अ“ध्यारो हटाउन दीप प्रज्वलित गर्ने त स्वयं शिष्य–शिष्याहरू नै हो ।

सायद त्यसैले भनिएको होला– ईश्वर र भक्तपछिको दोस्रो सर्वाधिक पवित्र सम्बन्ध गुरू÷गुरूमा र शिष्य÷शिष्याको हुन्छ । यथा ः

गुरुर ब्रह्मा, गुरुर विष्णु, गुरुदेव महेश्वरः ।

गुरु साक्षात् परंब्रह्म, तस्मै श्री गुरुवे नमः ।।

‘गुरू’ भन्ने शब्द कति ओजपूर्ण छ भन्ने त ‘गुरू–गम्भीर’, ‘गुरूत्तर दायित्व’ वा ‘गुरूत्वाकर्षण’ पनि भन्ने गरिएबाटै थाहा पाउन सकिन्छ । आखिर चालकहरू पनि यस्तै गम्भीर प्रकृतिको उत्तरदायित्व वहन गरिरहेका हुन्छन्– कतै बहुमूल्य मालसामानको ढुवानी गरिरहेका हुन्छन् त कतै सयौँ मानिसलाई यता र उता गराइरहेका हुन्छन् ! तपाईं यात्रामा हुनुहन्छ भने अरू दर्जनौं यात्रुसँगै तपाईंको आयु–रेखा चालकले कुनै पनि क्षण केर–मेट गरीदिन सक्छ ! (चालकको दायित्व त्यति गम्भीर हुन्छ !) । हतार भइरहेको बेला अथवा कुनै अत्यावश्यक काम परेको बेला चालकले ठीक समयमा सकुशल ठीक ठाउँमा ल्याइपु¥याइदियो भने तपाइँ स्वतः भन्नुहुन्छ– ‘गुरूजी, धेरैधेरै धन्यवाद !’ (यसरी भन्दा त्यो अनादर वा हेय भएर होइन, पूर्ण कृतज्ञ भावले भरिएको उद्गार हुन्छ) ।

तसर्थ पनि, मलाई लाग्छ, ‘गुरू’ भन्ने शब्द हेय होइन, हुन पनि सक्दैन । ‘गुरू’को मान–मर्दन पनि हुन सक्दैन । गुरू भनेको सबैलाई स्नेह गर्ने, समानताको महान पाठ पढाउने र सद्भावको सन्देश प्रवाहित गर्ने व्यक्तिहरू हुन् ।

‘गुरू’– अर्थात्, जो बढी जान्ने छ र जसले अरूलाई केही सिकाउन वा डो¥याउन वा सहयोग पु¥याउन सक्छ । सिक्न र जान्न सक्ने हो भने जीवनमा जो पनि यस्तो गुरू हुन सक्छ– समाजमा, शिक्षामा, खेलकूदमा, मनोरंजनमा, अर्थात् हरेक क्षेत्रमा । मन मिल्ने सँगी–साथी पनि गुरू हुन सक्छन् । प्रकृति, वनस्पति वा जनावर, आफैँ पनि गुरू बनेर उपस्थित हुन सक्छन् ! सकारात्मक वा नकारात्मक कसरी के कति ग्रहण गर्ने हो भन्ने चाहिँ हामी आ–आफैँमा निर्भर रहन्छ ।

‘सर’ अङग्रेजी भयो, त्यसमा सम्मानसूचकता बढी झल्किन्छ । ‘गुरू’ वा ‘गुरूमा’ स्नेहिल छ र अपनत्वपूर्ण छ । ‘गुरूजी’ आदरार्थी छ, सम्मानार्थी छ । त्यसो त अब ‘गुरू’ शब्द अङ्ग्रेजी भाषाले पनि अपनाइसकेको छ, जहाँ धेरै जान्ने र बुझ्ने मानिसलाई ‘गुरू’ (र, पण्डित पनि) भन्न थालिसकिएको छ । त्यसकारण समान काम गर्ने मानिसलाई जे भनेर बोलाए पनि केही फरक पर्दैन, अर्थात्, उही पुरानै उक्तिमा, शेक्सपियरको उद्गार– गुलाफलाई अन्य कुनै नामले बोलाउँदा के त्यसको सुन्दरतामा कुनै कमी आउँछ र ! त्यसैले, ‘सर’लाई ‘गुरू’ भनेर बोलाए पनि, अथवा ‘गुरू’लाई ‘सर’ भनेर बोलाए पनि उनीहरूको व्यक्तित्व वा मान–सम्मानमा कुनै कमी आउँछ होला र ? तर्कनाहरूको जालो बुन्ने हो भने भन्न सकिन्छ– विगत अज्ञात समयदेखि ‘गुरू पूर्णिमा’ मनाइँदै आएको अनुभव छ, तर ‘सर पूर्णिमा’ मनाएको त, कुन्नि !

बिर्सन हुँदैन पनि– गुलाफमा काँढा पनि हुन्छन् ! सबै ‘सर’ ‘म्याम’ वा ‘गुरू’ वा ‘गुरूजी’हरू एकसमान हुँदैनन् । लोकभाकामा गुञ्जिने स्वरलहरी … ‘लान्छ क्यारे घुमाउन झिल्के डाइभरले…’ भनिए जस्तै उनीहरूमध्ये कतिले गैर–पेसागत, अमर्यादित र भत्र्सनायोग्य कार्य गरेका उदाहरण पनि बग्रेल्ती नै पाइन्छन् । सायद उहाँ हीरामणि ‘सर’ लाई यी सब कुराको राम्रो हेक्का थियो, उहाँ त्यस्ता विशिष्ट ‘झिल्के गुरूहरू’को कोटिमा पर्नु हुन्नथियो । त्यसैले उहाँ हामीसित आफूलाई ‘गुरू’ नभन्न जोडदार आग्रह गर्नुहुन्थ्यो ! यस्तोमा ‘सर’ नभएर ‘गुरू’ वा ‘गुरूजी’ नै निरन्तर सुनिरहनु पर्दा र त्यसरी नै सम्बोधित भइरहनु पर्दा के हुन्थ्यो होला ? उहाँ हीरामणि ‘सर’मा पर्याप्त सहनशीलता र धैर्यता पनि थियो, किनभने उहाँ अक्सर हामीसितको बहसमा दार्शनिक कार्ल माक्र्सको यो उक्ति दोहो¥याउने गर्नुहुन्थ्यो– तिमी आफ्नो बाटो लाग्दै गर, जसले जे भन्छ भन्न देऊ ।

समयको बित्दो प्रवाहममा जति–जति बेला ती नेपाली विषय पढाउने ‘सर’ को सम्झना आउँछ, मलाई लाग्छ, उहाँको जीवनानुभवले हामीलाई भनिरहेछ, सबैभन्दा महत्वपूर्ण हो– एकाग्रता, लक्ष्यमा पुग्ने दत्तचित्तता, र, लक्ष्यको प्राप्तिप्रतिको तन्मयता । अन्यथा, हावा–हुण्डरीहरू त जीवनमा सधैँ आइरहन्छन्, र गइरहन्छन् पनि । कतिपय आग्रहहरू पूरा नहुन सक्छन्, कति आग्रहहरू कालान्तरमा पूर्वाग्रहमा फेरिन सक्छन्, तर एक्लै भए पनि हिँड्नु त छँदैछ नि ।

त्यसैले मलाई भन्न मन लागिरहन्छ– जाम् जाम् गुरूजी जीवनको त्यो चौतारीमा, जहाँ आग्रह र पूर्वाग्रहहरू शेष रहँदैनन्, अनि जहाँ मानव र मानवताले सहज मुस्कान छर्न पाउने स्वतन्त्र एवं निर्बन्ध परिवेश हुन्छ ।

मलाई गुरूहरूको शाश्वत उपस्थिति मन पर्छ ।

०००                         ०००                      ०००

(जयदेव गौतमको नयाँ निबन्धसंग्रह ‘ती निला आँखा’ बाट । यही शुक्रबार माघ १९ गते विमोचन हुन गइरहेको यो निबन्धसंग्रह साझा प्रकाशनले छापेको हो । ‘लक्ष्मणरेखाका दासहरू’ पछि लेखक गौतमको यो दोस्रो निबन्धसंग्रह हो । व्यक्ति, जीवन, समाज र प्रकृतिका विविध आयाम समेटेर रोचक शैलीमा रचिएका एक्काइस ओटा मूलतः आत्मपरक निबन्ध यस पुस्तकमा संग्रहित छन् ।) 



from Online Khabar https://ift.tt/0WQfnKX

Saturday, January 27, 2024

फोन है कि लोहा! पानी में डुबाने पर नहीं कोई असर, आईफोन फेल कर देगा इसका कैमरा

मार्केट में एक से बढ़ कर एक फोन है, लेकिन क्या आपको एक ऐसे फोन के बारे में मालूम है जो बहुत रफ एंड टफ है. फोन अगर पानी में डूब जाए तो इसे कुछ नहीं होगा. जानिए इस फोन की खासियत के बारे में.

from News in Hindi, Latest News, News https://ift.tt/O1UCLRt

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने, पानी पर्ने सम्भावना कम

१४ माघ, काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज पनि मौसममा आंशिक बदली भएको छ ।

आज बिहान तराईका अधिकांश जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भू-भागमा आंशिक बदली भएको छ भने अन्य भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कर्णालीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार र मंगलबारसमेत उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात हुने महाशाखाक पूर्वानुमान छ । यो अवधिमा पानी पर्ने सम्भावना भने देखिएको छैन ।

 



from Online Khabar https://ift.tt/EoPABdJ

वडा कार्यालयमा स्तनपानकक्ष     

१४ माघ, तुलसीपुर (दाङ) । कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को कार्यालयमा स्तनपानकक्ष स्थापना गरिएको छ ।

वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले बताए । जिल्लाका एक सय वडामध्ये तुलसीपुर–१३ ले पहिलोपटक उक्त स्तनपानकक्ष स्थापना गरेको अध्यक्ष पौडेल बताए ।

‘कर्मचारी र सेवाग्राहीका बच्चाबच्चीलाई स्तनपान गराउन निकै समस्या हुने गरेको छ, त्यसैले सेवाग्राहीमैत्री कार्यालयले यसरी स्तनपान कक्ष स्थापना गर्नुपर्छ’, उनले भने, ‘त्यसैले हामीले वडामा पनि यो कक्ष स्थापना गरेका हौं ।’

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी सङ्घसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि पनि स्तनपानकक्षको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ ।

४३ लाखको लागतमा उक्त भवन निर्माण भएको हो । नयाँ वडाको चारकोठे भवन निर्माण भएको हो । सोही वडामा छ हजार जनसङ्ख्या रहेको छ ।



from Online Khabar https://ift.tt/ORMszEc

Friday, January 26, 2024

उपकुलपति छनोटमा प्रधानमन्त्री स्वयं परीक्षामा हुनुहुन्छ

त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र पढाएर अवकाशप्राप्त प्राध्यापक कृष्ण खनाल पछिल्ला दिनमा पुस्तक लेखन र घुमफिरमा छन् । नेपालका ठूला परिवर्तनहरूमा नागरिक आन्दोलनको तर्फबाट सक्रिय रहने गरेका खनालले राज्य पुनर्संरचना र संघीयताबारे लामो समय बहस चलाए ।

बुधबार प्रधानमन्त्री प्रचण्डले त्रिवि सुधारको छलफलमा निमन्त्रणा दिएपछि खनाल सहित पूर्वउपकुलपति केदारभक्त माथेमा, प्राध्यापकहरू चैतन्य मिश्र, पीताम्बर शर्मा, विद्यानाथ कोइराला बालुवाटार पुगेका थिए ।

खनालसँग यिनै प्रसंगहरूमा आधारित हुँदै अनलाइनखबरका सुदर्शन खतिवडाबसन्त बस्नेतले गरेको अन्तर्वार्ता :

विश्वविद्यालयलाई दलीयकरणबाट मुक्त राख्ने बहस यतिबेला भावी त्रिवि उपकुलपति कस्ता आउँछन् भन्नेमा पुगेको छ । यसै सन्दर्भमा तपाईं लगायत केही प्राज्ञहरूले क्रमशः राष्ट्रपति र प्रधानमन्त्री भेटिसक्नुभयो । विश्वविद्यालय सुधारका लागि उहाँहरूको आश्वासन र वास्तविक अवस्थालाई कसरी हेर्नुभएको छ ?

विश्वविद्यालयहरू यति बिग्रेर गए कि योभन्दा तल झर्ने ठाउँ नै बाँकी छैन । कि यो कोल्याप्स (पतन) भएर सिद्धिनुपर्यो । होइन भने बिग्रने अन्तिम हदमा हामी पुग्यौं । त्यसैले यो त अति भयो भनेर सबैले महसुस गरेका हुन् । ज्यादा भए पनि फाइदा हुँदोरहेछ । नत्र सामान्यतया विश्वविद्यालयहरू बिग्रिरहेका छन् है भन्दा कसैले सुन्दैनथे । खासगरी राजनीतिक तहमा यसबारे कुनै सुनुवाइ नभएकोमा यसपालि त्यो तहसम्म यो समस्याको सुनुवाइ भएको छ । ढिलै भए पनि मैले यसलाई एक प्रकारको सकारात्मक विषय नै मानेको छु ।

त्रिविको उपकुलपति लगायत पदाधिकारी नियुक्तिको सन्दर्भमा अहिले केही सकारात्मक सन्देश देखापरेका छन् । यसभन्दा अघि गगन थापा, योगेश भट्टराई, देवेन्द्र पौडेल लगायतको छलफलमा उहाँहरूको पनि छटपटाहट देखिन्थ्यो ।

विश्वविद्यालयमा यस्तो भागबन्डा बन्द गरौं भन्नेमा प्रधानमन्त्री पनि सहमत हुनुहुन्छ । मुलुकको कार्यकारी नेतृत्वमा बसेको प्रधानमन्त्रीले नचाहेसम्म यो सुधार सम्भव हुँदैन र उहाँको यो प्रतिबद्धतालाई हामीले सकारात्मक रूपमा हेर्नुपर्छ । केदारभक्त माथेमा, चैतन्य मिश्र, पीताम्बर शर्मा, विद्यानाथ कोइराला लगायत हामी एक घण्टाभन्दा बढी छलफलमा थियौं ।

उहाँले यही कोठामा मैले अरू पार्टीका सांसदहरूसँग पनि परामर्श गरें भन्नुभयो । विश्वविद्यालयमा भइरहेको यो भागबन्डा बन्द गर्नुपर्छ भन्नुभयो । उहाँले सांसदहरूसँग हामीले गरेको कुराकानीको औचित्य पुष्टि पनि गर्नुभयो । यसमा प्रधानमन्त्रीको स्पष्ट प्रतिबद्धता देखियो ।

यो राजनीति हो, त्यसैले प्रधानमन्त्रीको प्रतिबद्धताले मात्रै पुग्दैन । कम्तीमा पनि अहिले प्रारम्भ गर्नका लागि कांग्रेस, एमाले, माओवादी लगायत दलहरूको स्पष्ट प्रतिबद्धता चाहिन्छ । प्रधानमन्त्रीले जहिले पनि विश्वविद्यालयको बारेमा ताली पिटेर बस्ने कुरा हुँदैन, तर समझदारी भने राम्रो हुनुुपर्छ ।

केदारभक्त माथेमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुँदा मैले उहाँसँगै बसेर काम गर्ने अवसर पनि पाएको थिएँ । त्यतिबेला विद्यार्थीले स्वीकार्न कठिन हुने शुल्क बढाउने, क्याफ्टेरिया बन्द गर्ने लगायत निर्णयहरू गर्नुपरेको थियो ।  त्यसमा कुनै पनि संगठनले समर्थन गरेनन् । तर पार्टी नेतृत्व र विद्यार्थीसँग कुरा गरेर समाधान खोजियो । फलतः विश्वविद्यालयको पठनपाठन अवरोध नहोस् भन्ने हाम्रो चाहनालाई उहाँहरूले साथ दिनुभयो ।

भोलि जो उपकुलपति भए पनि सुधारका लागि दलहरूको प्रतिबद्धता चाहिन्छ । तर ‘उपकुलपतिको काम ठीक छ है’ भनेर दलहरूले सधैं गुणगान गाएर बस्दैनन् । पार्टी र विद्यार्थीहरू उसको कामकारबाहीमा आलोचनात्मक हुनसक्छन्, तर पठनपाठनमा अवरोध सिर्जना हुनुभएन ।

विश्वविद्यालय ठीक ढंगले गएको छ भने त्यसमा अवरोध नहुने गरी दलका नेतृत्वहरूले काम गर्ने अवसर दिनुपर्‍यो । सरकारले मात्रै होइन, यसमा सबै दलको साझा प्रतिबद्धता आवश्यक छ । पार्टीहरूसँग एउटा तहको समझदारीमा काम गर्नु विश्वविद्यालयको उपकुलपतिको पनि जिम्मेवारी हुन्छ ।

प्रधानमन्त्रीको मनसाय के देखियो ? सरकारको पहिलो वर्षगाँठमा उहाँले विश्वविद्यालयमा राम्रो नेतृत्व ल्याउँछु भन्नुभएको थियो । दरखास्त हाल्नेको सूची बाहिर आएको छ । यसबारे के भन्नुभयो उहाँले ?

मलाई आश्चर्य लाग्छ कि अहिले विश्वविद्यालय सुधार सम्बन्धी सोच नै देखिंदैन । दरखास्त र अरू काम जसरी भइरहेको छ, त्यसले विश्वविद्यालय सुधारको सोच देखाउँदैन । यो केवल ब्यूरोक्रेटिक सोच मात्रै छ । शिक्षामन्त्री समेत रहेको त्रिविको सहकुलपतिको नेतृत्वमा समिति बन्छ, उसको सिफारिसमा कुलपतिले नियुक्त गर्ने हो । कानुनी पाटो यत्ति हो ।

तर उनीहरूले सजिलोका लागि यो यो योग्यता चाहिन्छ भनेर दरखास्त मागिदिए । यो एउटा प्रक्रिया प्रशासनिक तालमा गयो । विश्वविद्यालय स्वायत्त संस्था हो । नेपालको उच्च शिक्षाको इतिहासमा त्रिभुवन विश्वविद्यालय त यस्तो संस्था हो कि त्यसलाई अलग गरेर हेर्ने हो भने नेपालको शैक्षिक क्षेत्र नै बन्दैन ।

त्यस्तो संस्थाको नेतृत्व गर्ने मानिस सामान्य जागिर खान गएको जस्तो हुँदै होइन । दरखास्त हालेर म यो गर्छु, म त्यो गर्छु भनेर आउने होइन । कम्तीमा पनि मुलुकले चिनेको, पत्याएको व्यक्ति आउँदा सहज रूपमा सुधारको बाटो खोजी गर्न सकिन्थ्यो ।

किन यस्तो भइरहेको होला ? 

प्रधानमन्त्री एक किसिमले अघि बढ्न खोजेको देखिन्छ भने समिति आफ्नै ढर्रामा गइरहेको छ । त्यहाँ विरोधाभास देखिन्छ । समिति बनेपछि मान्छे कसरी ल्याउने भन्यो, विज्ञापन गर्‍यो । ४३ जनाको दरखास्त परेको छ, तिनैका बारेमा हेर्ने भन्ने बाहेक केही पनि भएन । कतिपय मानिसहरूको नाम आएको छ, जसबाट विश्वविद्यालय सुधार हुन सक्दैन भन्ने धारणा बनिसकेको छ ।

यो प्रक्रियामा कानुनी अड्चन छ कि छैन, कानुनले नै रोक्यो भने भिन्न, नत्र त म सुधारको पक्षमा छु भन्नुभएको थियो । मलाई लाग्छ, केही नियम बनाएको भए त्यो समितिको विषयवस्तु हो । कानुनको सुधार आवश्यक पर्दा संसद्ले अगाडि बढाउने भएकोले तत्काल सम्भव हुँदैन । कानुनी अड्चन छ जस्तो लाग्दैन । खुला तरिकाले सर्च कमिटीले सूचीमा राखेर सिफारिस गर्न सक्छ । साँच्चै प्रधानमन्त्रीले आफ्नो बाचा अनुसार सीमाबाट बाहिर निस्कन खोजेको हो भने सम्भव छ ।

त्यसो भए को हो त उपकुलपति भनेर खोज्दै जाँदा हिजो प्रधानमन्त्रीले बालुवाटार गएका प्राज्ञहरूभित्रैबाट खोज्नुपर्छ भन्न थालिएको छ नि ?

हामी पाँच जना थियौं । प्रधानमन्त्री आफैंले ‘केदारभक्त माथेमा जस्तो मान्छे चाहियो’ भन्नुभयो । उहाँले मानिदिने हो भने त राम्रो भइहाल्यो भन्ने कुरा आयो । पछि फेरि ‘होइन, अब उहाँलाई उमेर लगायत विभिन्न कारणले धेरैपटक दुःख दिनुहुँदैन’ भन्ने कुरा भयो । तर प्रधानमन्त्रीले सोझै ‘तपाईंहरूमध्येमै कोही हुनसक्छ’ भन्नुभएन । त्यो हाम्रो लागि एउटा असहज कुरा पनि भयो कि मानौं हामी आफैं बन्न हिंडेको जस्तो, त्यस्तो होइन । त्यो बाहिर समाजले हेर्ने कुरा हो ।

मलाई लाग्छ त्यहाँ भएका कतिपय मान्छेहरू विश्वविद्यालयको लागि सोचेभन्दा उपयुक्त छन्। जस्तो पीताम्बर शर्मा, चैतन्य मिश्र, विद्यानाथ कोइरालाहरू कुनै पनि हिसाबले विश्वविद्यालयको नेतृत्वको लागि अनुपयुक्त र कमजोर मान्छे होइनन् । अहिले देखिएका मानिसहरूमध्ये सबैभन्दा उपयुक्त नै मान्न सकिन्छ ।

हामीले त भनिरहेका छौं कि अहिले बेलायतमा भएको म्याग्नाकार्टा जस्तै सबै पार्टीको प्रतिबद्धता चाहिन्छ । तर यो पहलकदमी कसले लिइदिने ? लिनुपर्ने त प्रधानमन्त्रीले हो तर मुलुकको राजनीति त्यसको लागि कति अनुकूल छ ?

तर हाम्रो त मिसन त्यो होइन । हामी त यतिखेर विश्वविद्यालय कसरी बनाउन सकिन्छ भनेर एउटा साझा चिन्ता बोकेर त्यहाँ कुरा गरेको हो । बाँकी अरू कुरा कसरी जान्छ, त्यो छुट्टै विषय हुनसक्छ । कतै यहींभित्रबाट कोही मानिसलाई बनाउन यो खेल भइरहेको त होइन भन्ने पनि कसैलाई पर्न सक्छ । तर मलाई लाग्छ, खेल त्यो होइन । त्यहाँभित्रका कोही उपयुक्त मान्छे पर्‍यो भने आश्चर्य मान्न पनि नपर्ला । कोही त्यसमा इच्छुक छन् कि छैनन्, त्यो खालको स्थिति निर्माण भएको छ कि छैन, त्यो बेग्लै हो । व्यक्ति जो पनि हुनसक्छ ।

हामीलाई व्यक्ति होइन, वातावरणको अभाव हो । केवल पार्टीको झण्डा बोकेर भन्दा आफ्नो क्षमतामा उभिनसक्ने, समाजले पनि पत्याएको व्यक्ति हुनुपर्‍यो । त्यस्तो व्यक्ति त्रिभुवन विश्वविद्यालय भित्रै पनि छन् । अहिले बिग्रिएको त योग्य व्यक्तिलाई पनि काम गर्न वातावरण भएन । एउटा पार्टी र समूहको पक्ष नलिइकन ऊ त्यहाँ टिक्न नसक्ने भयो । योग्यता नै हामीले गलत रूपमा निर्धारण गर्‍यौं ।

तपाईंले भने जस्तो वातावरण बन्ला त अब ?

यत्तिले बन्दैन । यसको लागि दुवै किसिमको प्रयत्न जरूरी छ । भोलि उपकुलपति बन्ने व्यक्तिले पनि अडान लिन सक्नुपर्छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘मलाई नै बोझ भइसक्यो । मलाई अरू कुराले फुर्सद छैन । प्रधानमन्त्रीकै जिम्मेवारीबाट विश्वविद्यालयको कुरामा म सधैं अलमलिन सक्दिनँ ।’ मैले हाँसेर सोधें पनि, ‘तपाईंले कति समय दिनुपर्छ विश्वविद्यालयलाई ? कुलपति उपस्थित हुने वर्षमा जम्मा दुईपटक बस्ने सिनेटको बैठकमा हो ।’

तर यसको अर्थ प्रधानमन्त्री कुलपति हुनुपर्छ भन्ने होइन । प्रधानमन्त्री कुलपतिबाट हट्नुपर्छ र यसमा प्राज्ञिक समुदायबाटै नेतृत्व आउनुपर्छ भन्ने हाम्रो साझा धारणा हो । अहिले के गर्छन् म भन्न सक्दिनँ । तर विश्वविद्यालय शिक्षा मन्त्रालय मातहतको अड्डा जस्तो छ । फाइल बोकेर जतिबेला पनि जी–हजुरी गर्दै कहिले कुलपति रहेका प्रधानमन्त्री कहिले शिक्षामन्त्री र सचिवको कार्यालयमा धाउनुपर्ने अवस्था ठीक होइन ।

बालुवाटार बैठकमै केदारभक्त माथेमालाई सोध्यौं, ‘सर तपाईं कतिपटक फाइल बोकेर प्रधानमन्त्रीको कार्यालयमा जानुभयो ?’ उहाँले आफू त्यसरी कहिल्यै जानु नपरेको बताउनुभयो ।

निकास कसरी निस्किएला ?

अब अहिलेको अवस्था कसरी अगाडि जान्छ मलाई थाहा छैन । उपकुलपतिको काम बालुवाटार धाउने पनि हो भन्ने मानिसको बीचमा बसिसकेको छ, त्यसबाट मुक्त हुनुपर्‍यो । अब आउने नेतृत्व बालुवाटार, प्रधानमन्त्री तथा पार्टीसँग आश्रित नभएको व्यक्ति भयो भने त्यसले वातावरण दिन्छ ।

दोस्रो, यहाँभित्र पार्टीमा आधारित विद्यार्थी, कर्मचारी, प्राध्यापक लगायतको संघ–संगठनहरू छन् । त्यसैले सरकारसँग चित्त नबुझेको कुराहरू विद्यार्थी, कर्मचारी अथवा प्राध्यापकहरूको माध्यमबाट अभिव्यक्त गर्ने चलन पनि बाँकी छ । २०४६ सालपछि म आफैं प्राध्यापक संघमा चुनाव लडेको, प्यानल बनाएको मानिस हुँ ।

तर २०४६ सालको परिवर्तनपछि अब यो बाटो होइन, यसलाई आफ्ना व्यावसायिक मागहरू र हकहितका कुराहरू राख्ने पेशामा मात्र सीमित गरौं तर, अरू किसिमको राजनीति होइन । किनभने पञ्चायती व्यवस्थामा हामीले त्यसलाई एउटा फराकिलो प्रजातान्त्रिक आन्दोलनको प्लेटफर्मको रूपमा पनि उपयोग गरेका थियौं । अब त्यो त आवश्यक भएन । राजनीति गर्न चाहनेहरूका लागि पार्टीको बाटो खुल्ला छ । विश्वविद्यालयमा चाहिं राजनीति गर्नुपर्दैन भनेर म र अरु पनि धेरै मानिसहरू २०४८ सालबाटै अलग भएँ । अहिले अवस्था फरक छ । यी सबै संघ-संस्थाहरू विश्वविद्यालयको उपकुलपति, रजिस्ट्रार, रेक्टर सबैका राजनीतिक नियुक्तिका भर्‍याङ बने । प्राध्यापकको दलीय भ्रातृ संगठनमा काम गरेको पनि एउटा थप योग्यता स्थापित भयो । यसलाई तोड्नु अहिलेको खाँचो हो ।

यसलाई तोड्ने चाहिं कसरी होला ? राजनीतिक दलहरू विश्वविद्यालयमा दलीय हस्तक्षेप नगर्ने साझा प्रतिबद्धता व्यक्त गर्न तयार होलान् ?

सोझै त दलहरू आउँदैनन् होला । सरकारमा बसेर प्रधानमन्त्रीले भन्नु एउटा कुरा हो । प्रधानमन्त्रीले नभने अरू कसले भन्ने ? प्रधानमन्त्रीले नेतृत्व लिएको हुनाले अहिले कम्तीमा पनि सत्ता गठबन्धनमा सामेल दलहरूबाट यो अलि सहज छ ।

त्यसो त, मुलुकको अवस्थाप्रति विपक्षी दलहरू पनि अनभिज्ञ छैनन् । बाहिर जे भने पनि अहिले विश्वविद्यालय राम्रो छ भन्ने एमालेको पनि आकलन छैन होला । यसको महसुस विपक्षी दललाई पनि छ भन्ने मलाई लाग्छ । सोझै सरकारले गरेको काम ठीक छ भनेर विपक्षीले ताली पिट्छ भनेर अपेक्षा गरिहाल्नु पनि हुँदैन । काम गर्ने वातावरण दिन्छन् कि दिंदैनन् त्यो महत्वपूर्ण कुरा हो । यस्तो वातावरण बनाउने केही जिम्मेवारी भोलिको उपकुलपतिसँग पनि हुन्छ ।

अहिलेको छलफल एउटा गज्जबका उपकुलपतिलाई ल्याइदिऊँ, त्यसपछि सबै कुरा सुध्रिन थाल्छ भने जस्तो छ । दलीयकरण र अन्य समस्या उस्तै राखेर एकजना व्यक्ति बदल्दैमा कसरी सुधार्न सकिएला विश्वविद्यालय ?

उपकुलपति आउनासाथ सबै जादु हुने होइन । अहिले विश्वविद्यालयको ऐन, नियमदेखि नै सुधार्नु जरूरी छ । त्रिभुवन विश्वविद्यालयभित्र व्यापक पुनर्संरचनाको खाँचो छ । कैयौं विभाग काम नलाग्ने भइसकेका छन् । कैयौं यसका संस्थाहरू लथालिङ्ग छन् । तिनैलाई मात्रै स्याहारेर हुँदैन, काम नलाग्ने त बन्द गर्न सक्नुपर्छ । यो सबै गर्न उपकुलपतिले आदेश दिएर होइन, कतिपय कानुनमा परिवर्तन आवश्यकता छ ।

यहाँ कानुनी समस्या पनि छन् ?

अहिले विश्वविद्यालयको स्वायत्तता समाप्त हुने कानुन बनेको छ । विश्वविद्यालय भन्दा संसारभरि एउटा स्वायत्त संस्था भनेर बुझिन्छ । यो ‘फ्री फर नलेज’को एउटा केन्द्र हो । त्यो अवधारणा अहिले हराएको छ । कानुनी रूपमै विश्वविद्यालयलाई कता कता शिक्षा मन्त्रालय मातहतको एउटा अड्डा जस्तो बनाइएको छ ।

त्यसैले त केही अघि प्रधानमन्त्रीको मातहतमा विश्वविद्यालय हेर्ने एउटा इकाइ पनि बनिरहेको छ भन्ने सुनिन्थ्यो । त्यसैगरी बालुवाटारमा विश्वविद्यालयको सिनेटको बैठक हुन्थ्यो । सरकारसँग विश्वविद्यालयलाई यसरी आश्रित बनाएको छ । त्यसकारण कानुनमा पनि परिवर्तन जरूरी छ । त्यो कानुनी परिवर्तनको पहलकदमी हुनेवाला उपकुलपतिले लिनुपर्छ । सुधारको प्याकेज उसैले बनाउने हो ।

विश्वविद्यालय सुधारको मुद्दामा राष्ट्रपति, प्रधानमन्त्रीलाई भेटिरहनुभएको तपाइँ अगुवाहरूले विश्वविद्यालयहरू बिग्रिएको भनेको यो यो हो, यो यो सुधार्नुपर्छ, यस्तो नेतृत्व र यस्तो एजेन्डा वा दृष्टिकोण हुनुपर्छ भनेर सार्वजनिक गर्नुपर्दैन ?

हामीले त्यसरी संयुक्त रूपमा त सोचेका छैनौं । यसको पछाडि सायद के भयो भने हाम्रा कुरालाई पनि ‘टेकन फर ग्रान्टेड’ गरिएको होला । जस्तो, केदारभक्त माथेमा त त्यो एजेन्डा बोकेर काम गरिसकेको परीक्षित मान्छे हुनुभयो । त्यो परीक्षा पार गरेर समाजले अहिलेसम्म भएका उपकुलपतिहरू मध्येमा उदाहरणको रूपमा नाम त उहाँकै लिन्छ नि ! उहाँ त एउटा सक्सेस स्टोरीको उदाहरण बनिसक्नुभएको छ । उहाँको बारेमा केही भन्नुपरेन ।

अरू बाँकी जो छन् उहाँहरू पनि विश्वविद्यालयसँग कुनै न कुनै किसिमबाट जोडिएका र आफ्नो एउटा दृष्टिकोण भएका मानिसहरू हुन् । जस्तो, मेरो आफ्नो अनुभवले पनि विश्वविद्यालयमा यस्तो गर्न सकिन्छ भन्ने लाग्छ । त्यस्तै अरू साथीहरूलाई पनि लागिरहेको छ । तर हामीले बसेर यसको कुनै तयारी गरेको अवस्था होइन ।

तपाईंले उठाएको प्रश्नको उत्तर के हुनसक्छ भने समाजलाई हामीले भन्न सक्ने तीन चारवटा कुरा छन् । पहिलो, सबैले स्वीकारेको कुरा, विश्वविद्यालयमा साह्रै दलीयकरण र भागबण्डा भयो, यसलाई बन्द गर । आफ्नो विषयमा दक्खल राख्ने र समाजले पनि पत्याएको मानिस उपकुलपतिलाई उपयुक्त व्यक्ति हो भन्ने मान्छे हुनुपर्‍यो । र, त्यो पार्टीको कोटाबाट होइन । यसअघि कांग्रेस सम्बद्ध मानिस उपकुलपति भयो भने एमाले वा माओवादीको मान्छे रेक्टर वा रजिस्ट्रार हुनुपर्ने । अनि तलका अरू दलहरूलाई कहीं डाइरेक्टर, कहीं डीन बनाउनुपर्ने । विभागीय प्रमुख समेत भागबन्डामा गएको छ । यस्तो अभ्यासको अन्त्य हुनुपर्यो र उपकुलपतिलाई आफ्नो टिम आफैं छान्न सक्छौं भनेर स्वतन्त्रता दिनुपर्छ । रेक्टर, रजिस्ट्रार, डीनहरू को हुने भन्ने कुरा अब प्रधानमन्त्री र पार्टीले हस्तक्षेप गर्नुभएन । यो पहिलो आधार हो ।

विश्वविद्यालयको नेतृत्व गर्ने मानिस सामान्य जागिर खान गएको जस्तो हुँदै होइन । दरखास्त हालेर म यो गर्छु, म त्यो गर्छु भनेर आउने होइन । कम्तीमा पनि मुलुकले चिनेको, पत्याएको व्यक्ति आउँदा सहज रूपमा सुधारको बाटो खोजी गर्न सकिन्थ्यो ।

दोस्रो, व्यक्ति पनि महत्वपूर्ण हुन्छ । व्यक्तिले कम्तीमा पनि फेरि पार्टीकै झण्डा बोकेर आयो भन्ने पर्‍यो भने गाह्रो हुन्छ । तर यहाँनेर विचार गर्नुपर्छ कि राजनीतिक सोच शून्य मान्छे त हामी कल्पना गर्न सक्दैनौं । जो आउँछ उसको राजनीतिक सोच त हुन्छ नै । कुनै ट्याग बोकेर एउटा पार्टीको कार्यकर्ता जस्तो भएर आउनुभएन । मुलुकमा गणतन्त्र छ, एउटा राजनीतिक प्रणाली छ, यी सबै वाहियात् हुन्, यसको मलाई मतलब छैन भन्ने उपकुलपति भएर हुन्न ।

राजनीतिक दृष्टिकोण शून्य उपकुलपति हुन सक्दैन । उसको सोच मुलुकका राजनीतिक यात्रासँग मेल खाने नै हुनुपर्छ । त्यसैले पार्टी होइन, सरकारको राजनीतिक विश्वास र राजनीतिक आत्मविश्वास नभएको मानिस उपकुलपति बनेर अर्थ छैन । अन्ततः भोलि उसले सरकारसँग मिलेर काम त गर्नुपर्छ । आफ्नो पार्टीको मान्छे भनेर होइन कि उसले कम्तीमा विश्वविद्यालय, राजनीति र मुलुक बुझेको हुनुपर्छ भन्नेमा हाम्रो जोड छ ।

तेस्रो, विश्वविद्यालयभित्र पनि धेरै कुरा सुधार्न खाँचो छ । उदाहरणको लागि, कैयौं विभागमा विद्यार्थी छैनन् । अनुसन्धान केन्द्रहरू मरुभूमि जस्ता छन् । अनुसन्धान गर्न नसक्ने अनुसन्धान केन्द्र चाहिन्छ कि चाहिंदैन ? केही बोल्ड डिसिजनको आवश्यकता छ । कतिपय विभागहरू बन्द गर्नुपर्ने पनि हुनसक्छ । कि त त्यसलाई पुनर्जीवित बनाउन सक्नुपर्‍यो । होइन भने पुनः व्यवस्थित गर्न सक्नुपर्छ । यो सोचसहित विश्वविद्यालय पुनर्संरचनाको एजेन्डा सहित नेतृत्व गर्ने काम उपकुलपतिको हो । उसलाई त्यसअनुरूप काम गर्न सक्ने टीम पनि चाहिन्छ ।

चौथो, सबैभन्दा ठूलो चुनौती स्रोत व्यवस्थापन हो । सरकारको मात्रै बजेट पनि नपुग्ला । २०६२/६३ को आन्दोलन अगाडि तत्कालीन उपकुलपतिले मलाई एकपटक प्रधानमन्त्री गिरिजाप्रसाद हुनुहुन्थ्यो, उहाँलाई भेट्न जाऊँ भन्नुभयो । उहाँलाई बजेटको केही कुरा मिलाउनुपर्ने रहेछ । गएर कुरा गर्दा प्रधानमन्त्रीले हुन्छ भन्नुभयो । मैले भनें, ‘प्रधानमन्त्रीजी तपाईंले त हुन्छ भन्नुभयो, यो कुरा त अर्थमन्त्रीलाई भन्नुपर्‍यो । तपाईंको सचिवालयले यो कुरा नोट गर्नुपर्यो । हामी गइसकेपछि अर्को मान्छै भेट्न आउँछ । तपाईंले फेरि बिर्सन सक्नुपर्छ ।’

उहाँले तत्काल आफ्नो सचिवालयको मान्छे बोलाएर अर्थमन्त्रीलाई फोन लगाएर कुरा गरिहाल्नुभयो र विश्वविद्यालयको समस्या समाधान भयो । तत्कालीन अर्थमन्त्री रामशरण महतले सोध्नुभयो, ‘काठमाडौं विश्वविद्यालयले कमाउन सक्छ, त्रिभुवन विश्वविद्यालयले किन सक्दैन ?’

मैले भनें, ‘त्रिवि यस्तो संस्था हो जसको केही राज्यसँगै यसको दायित्व जोडिएको छ । केयूले आफ्नो विद्यार्थी रोज्न पाउँछ । यति पैसा तिर्ने विद्यार्थी मात्रै लिन्छु भन्न पाउँछ । तर त्रिविलाई त्यो अधिकार छैन । यो त एउटा सार्वजनिक संस्था हो । यसले एकदमै गरिब, ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि पढाउने जिम्मेवारी लिनुपर्छ । यसका दायित्वहरू धेरै छन् । राज्य त्यो दायित्वबाट मुक्त हुन सक्दैन ।’

पाँचौं, विश्वविद्यालयभित्रको आन्तरिक वातावरण । हिजोआज विश्वविद्यालयको पढाइ–लेखाइमा नै असर पुग्ने गरी हड्ताल त छैन । उपकुलपति कार्यालय वा रेक्टर, रजिस्ट्रार अनि प्रशासनतिर तालाबन्दी भए पनि कक्षाकोठाको गतिविधि नरोकिनु केही सकारात्मक हो । तर कक्षा नै नरोकिए पनि त्यसमा जीवन्तता अझै छैन । विद्यार्थीहरू आफैं पढाइमा मिहिनेत गरेर अन्यत्र अवसर खोज्छन् । राम्रो प्राज्ञले पनि तत्काल त्रिवि छाडेर अन्यत्र जाने क्रम छ । यो केवल विश्वविद्यालयको चुनौती मात्रै नभई सिंगै देशकै चुनौतीसँग जोडिएको छ । किनभने आज त्रिविसँग अभिभावकहरूको आस्थाको चुनौती जोडिएको छ ।

तपाईंले प्रधानमन्त्री विश्वविद्यालय बदल्न प्रतिबद्ध देखिनुहुन्छ भन्नुभयो तर मानिसहरू भनिरहेका छन् कि कम्युनिस्टहरूले भन्ने गरेजस्तै उहाँ रूपमा प्रतिस्पर्धा देखाएर सारमा आफ्नै झण्डा समाउने मानिस ल्याउन चाहनुहुन्छ भनेर ?

तपाईंले भन्नुभए जस्तै यो कुरा प्रधानमन्त्रीले भेट्न बोलाउनुभएका हामी पाँचजनामा पनि कतिपयलाई नलागेको होइन । म स्पष्ट रूपमा भन्छु, हामी पनि आपसमा कुरा गर्‍यौं, हामीले पनि आस्था राखेको प्रणालीको प्रधानमन्त्रीले ‘तपाईंहरूसँग कुरा गर्नुपर्‍यो आउनुस् भन्दा नजाने कसरी ? अझै भर चाहिं लागिरहेको छैन है । आशंका छ ।’

यद्यपि यो एउटा अवसर हो र यसलाई उपयोग गरौं भन्ने भयो । मैले प्रधानमन्त्रीलाई पनि भनें, ‘तपाईं पनि परीक्षामा हुनुहुन्छ । तपाईंको बोली अब परीक्षामा छ ।’ त्यो परीक्षाबाट उहाँ आफैं पछाडि हट्नुहुन्छ भने त हाम्रो के लाग्छ र ?

विश्वविद्यालय सुधार्ने यो मौका हामी कसैले पनि छाड्नुहुँदैन । आफ्ना कुरा राख्न छाड्नुहुँदैन । अब गर्नुभएन भने देशको नेतृत्व प्रधानमन्त्रीमाथिको विश्वास समाप्त हुन्छ । त्यसैले अहिले नै हामीले शंकाको फाइदा लिऔं, तर यो नछोडौं भन्ने कुरा हो ।

सबै दलहरूबाट विश्वविद्यालयमा दलीय हस्तक्षेप बन्द गर्ने साझा प्रतिबद्धता खोज्ने कसले पहलकदमी लिइदिने ? अहिले ‘फलाम तातेकै बेला’ सर्वपक्षीय प्रकारको बैठक बोलाएर त्यस्तो प्रतिबद्धता खोज्ने तपाईं अगुवाहरूकै केही योजना छ ?

हामीले त भनिरहेका छौं कि अहिले बेलायतमा भएको म्याग्नाकार्टा जस्तै सबै पार्टीको प्रतिबद्धता चाहिन्छ । तर यो पहलकदमी कसले लिइदिने ? लिनुपर्ने त प्रधानमन्त्रीले हो तर मुलुकको राजनीति त्यसको लागि कति अनुकूल छ ?

यो भित्रको दैनन्दिनको राजनीतिमा मलाई सरोकार छैन । यस्तो राजनीतिमा विपक्षी दलले सत्तापक्षीय गठबन्धन भत्काउँछु भन्छ, जुन स्वाभाविक हो । तर साँच्चै विश्वविद्यालय पनि भत्काउने हो त ? सरकार बदल्ने आफू सरकारमा जाने राजनीतिक खेल बारे हामीलाई केही भन्नु छैन । तर त्यसको असरले विश्वविद्यालय नभत्कियोस् । यो चेतनाको कुरा हामीले सबै दलसँग भन्न छोड्नुहुँदैन ।

प्रधानमन्त्रीले यो काम गर्न सक्नुहोला ?

यो काम प्रधानमन्त्रीले गर्न सक्दा सबैभन्दा राम्रो । सक्नुहुन्न भने पनि सार्वजनिक दबाब चाहिन्छ र भोलि पनि विश्वविद्यालयमा आउने नेतृत्वले भनिरहनुपर्छ । सबै पार्टीको साँच्चै सही गरेकै कागज नै चाहिन्छ भन्ने होइन । एउटा सार्वजनिक प्रतिबद्धता भए पुगिहाल्यो । तर यहाँ राजनीतिप्रतिको अविश्वास यति तल झरेको छ कि राजनीतिमा भनिएको कुरा कसैले पत्याउँदैन । त्यसैले हामीलाई पनि यो शंका छ ।

दलहरूले अहिले मुखले त भन्छन् भोलि फेरि आ-आफ्नो संगठनलाई त्यही अनुसार लगाइदिन्छन् कि भन्ने चिन्ता छ । तर प्रधानमन्त्रीले भनेको कुरालाई एउटा आशा र अवसरको रूपमा सदुपयोग गरौं भन्ने हो । भएन भने त के लाग्छ र ? यो बाटोमा हिंड्न सरकार र नेतृत्व नै तयार छैन भने त हामीले मात्रै भनेर हुँदैन ।

हामीसँग यस्ता संस्था बनाउँदाको लामो विरासत छ । त्यसैले सीमाबद्ध गर्न जीवन्त छलफल चाहिन्छ । भोलि उपकुलपति हुने मान्छेले उनीहरूलाई बोलाएर खुला वार्ता गर्नुपर्छ । यो-यो कुरा चाहिं मलाई स्वीकार्य छैन भनेर पहिल्यै स्पष्ट गर्नुपर्छ । मान्दैनन् भने अलिक दह्रो कदम चाल्न पनि तयार हुनुपर्छ । चुनौती धेरै छ । तर प्रतिबद्धता खोज्नुपर्छ ।

पहिला सरकार फेरिंदा विश्वविद्यालयमा भिसी पनि फेरिने चलन जस्तै थियो । अहिले जुनसुकै सरकार आए पनि भिसीले चार वर्ष चलाएरै जान्छ । कम्तीमा यो पनि बदलाव भएको छ । समर्थन भनेको सबै कुरामा ताली पिट्नु होइन, काममै सघाउनु हो । क्षमता नै भएर आएकाहरूले पनि नेताकै संरक्षकत्व खोज्न थाले पनि फेरि समस्या रहिरहन्छ । क्षमता भएकाहरूले पनि क्षमता देखाउनुपर्छ ।

बलियो स्वायत्तता खोजिरहँदा दलहरू र सरकारको बलियो साथ पनि पाइराख्ने वातावरण बनाइरहनुपर्ने होला नि ?

स्वायत्तता भनेर मात्रै हुँदैन, आर्थिक स्वायत्तता पनि दिनुपर्छ । संसारमा विश्वविद्यालयहरू ठूला कोषहरू राखेर चलाइन्छ । कतै चर्च, धार्मिक संस्थाहरूले पनि चलाएका छन् । त्रिविका धेरै कार्यक्रममा विद्यार्थीकै योगदान बढ्ता छ । ग्रामीण विकास लगायत विषयका पढाइ, एमफिल लगायतका कार्यक्रममा विद्यार्थीको योगदान उल्लेख्य छ ।

तस्बिर र भिडियो : आर्यन धिमाल



from Online Khabar https://ift.tt/BHt0SfR

मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड कालोपत्रको तयारी   

१३ माघ, तनहुँ । मुग्लिन–पोखरा सडक आयोजनाले पश्चिम खण्डमा पहिलोपटक कालोपत्रका लागि परीक्षण सुरु भएको छ ।

पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित हलेदीमा कालोपत्रका लागि परीक्षण गरिएको हो ।

कालोपत्रमा प्रयोग गरिएका साधन तथा कच्चा पदार्थ ठीक छ कि छैन भनेर परीक्षण गरिएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इन्जिनियर नारायण पौड्यालले जानकारी दिए ।

जामनुेबाट कोत्रेसम्मको पाँच किलोमिटर दूरी फागुन १५ भित्र कालोपत्र गर्ने गरी प्रक्रिया अघि बढाइएको हो ।

पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका कार्य भइरहेको छ ।

पश्चिम खण्डमा हालसम्म १५ प्रतिशत भौतिक प्रगति भएको उनले बताए ।

राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एण्ड ब्रिज कम्पनीले ठेक्का पाएको छ ।

पश्चिम खण्डका लागि रु सात अरब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

त्यसैगरी मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ ।

डुम्रेबाट छिर्कनसम्म दुईतर्फी सात किमीका दरले १४ किमी र एकतर्फी पाँच किमी गरी उक्त दूरीमा कालोपत्र सम्पन्न भएको छ ।

पूर्वी सडकखण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।

उनका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करिब तीन किमी दूरीमा कालोपत्रको काम भइरहेको छ । उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेनको सडक कालोपत्र गर्न बेस हाल्ने काम भइरहेको छ ।

पूर्वी खण्ड ४१ दशमलव ४५ किलोमिटर लामो छ । पूर्वी खण्डका लागि  छ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता भएको छ ।

पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । उक्त खण्ड २०८१ वौशाखसम्म सम्पन्न गर्नुपर्ने छ ।



from Online Khabar https://ift.tt/mpy2Znb

पाथीभरामा हिमपात

१३ माघ, फुङलिङ (ताप्लेजुङ) । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ ।

शुक्रबारदेखि वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।

वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो ।

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताए ।

शेर्पाका अनुसार हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो ।

यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ ।

जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् ।

यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ ।

हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैंची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।

जिल्लाको उच्च स्थानीयमा हिमपात भएसँगै अध्यधिक चिसो बढ्को छ ।



from Online Khabar https://ift.tt/e2cd3Vu

Thursday, January 25, 2024

अफगानिस्तानलाई हराउँदै नेपाललाई सुपर सिक्समा पुग्ने अवसर

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।

अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दुबै टोली समूह ‘डी’ मा अंक विहीन छन् । सुपर सिक्समा पुग्न आजको खेलको नतिजा निर्णायक हुनेछ । विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

दक्षिण एसियाका दुई चर्चित यू-१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू-१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ ।

पछिल्लो पटक नेपाल र अफगानिस्तान गत डिसेम्बरमा युएईको आइसीसी ओभल एकेडेमीमा भिडेका थिए । त्यो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । नेपालका अर्जुन कुमालले ९१ रन बनाए पनि जिताउन सकेका थिएनन् । अर्जुनले विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग ९० रनको इनिङ खेलेका थिए ।

अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उनलाई अर्को एन्डबाट साथ दिन आवश्यक देखिन्छ ।

गुलशन झा नेपालका अनुभवी खेलाडी हुन् । तर एसिया कप र विश्वकपमा चल्न सकेका छैनन् । विश्वकपमा न्युजिल्यान्डसँग २ र पाकिस्तानसँग १८ रनमा आउट भएका थिए । गुलशनले जिम्मेवारी इनिङ खेल्नुपर्ने हुन्छ ।

कप्तान देव खनालले पनि राम्रो गर्न सकेका छैनन् । सुरुवात पाए पनि ठूलो इनिङबाट चुक्दै आएका छन् उनी । देव र गुलशनले आजको खेलमा अतिरिक्त जिम्मेवारी लिनुपर्ने देखिन्छ ।

नेपालका ब्याटरले पछिल्लो खेलमा पाकिस्तानका स्पिनरसँग संघर्ष गरेका थिए । अफगानिस्तानको मुख्य हतियार नै स्पिन आक्रामण हुनेछ । नेपाली ब्याटर सम्हालिएर खेल्नुपर्ने हुन्छ । न्युजिल्यान्डले ९२ रन पूरा गर्न अफगानिस्तानसँग ९ विकेट गुमाएको थियो । गजान्फर, खलिल अहमद र अर्ब गुल प्रमुख स्पिनर हुन् । यी तीन स्पिनरले आज पनि निरन्तरता पाउनेछन् । यी तीन स्पिनरको सामना गर्न सहज हुने छैन ।

एसिया कपमा अफगानिस्तानका जाश्मिद जद्रानले नेपालविरुद्ध शतक हानेका थिए । उनी अफगानिस्तानका प्रमुख ब्याटर हुन् । नेपालले दुबै खेलमा पावर प्लेमा विकेट लिन सकेको थिएन । पावर प्लेमा गुलशन झा, आकाश चन्द र दुर्गेश गुप्ताले राम्रो बलिङ गर्न आवश्यक देखिन्छ । स्पिनरमा दीपेश कँडेल र सुवास भण्डारीले निरन्तरता पाउनेछन् ।



from Online Khabar https://ift.tt/FQqgrZE

आपका भी डेटा हो गया है चोरी? ठगों ने की दुनिया की सबसे बड़ी सेंधमारी

Mother Of All Breaches: रिसर्चर्स ने लीक्ड डेटा का एक बड़ा डेटाबेस डिस्कवर किया है. इसमें 26 अरब डेटा शामिल हैं.

from News in Hindi, Latest News, News https://ift.tt/SkLVxWa

पुलिस छाडेर मिलेको स्वतन्त्रताले खुलेको अनिलको ब्याटिङ

१२ माघ, काठमाडौं । नेपालमा राम्रो प्रदर्शन गर्ने खेलाडी प्रदेशमा टिकाउनै मुश्किल छ । धेरै खेलाडीको सपना विभागीय टोलीबाट खेल्ने हुन्छ । विभागले पनि प्रदेशबाट राम्रो गर्ने खलाडी टपक्क टिपेर लैजान्छन् । विभागमा पाउने सानोतिनो केही आर्थिक सुविधाको कारण खेलाडीहरु प्रदेश बस्न चाहँदैनन् । बसुन् पनि किन ? जब प्रदेशले जति राम्रो गर्दा पनि केही दिन नै सक्दैन ।

तर विभागमा जाँदा स्टार खेलाडीको छायाँमा वा पर्याप्त खेल्ने मौका नपाएर आफ्नो करिअर नै धरापमा पार्ने जोखिम पनि हुन्छ । प्रदेशमा सेवा सुविधा शून्य हुँदा त्यो जोखिम लिन कहरमा फस्छन् ।

नेपालका युवा विकेट किपर अनिलकुमार साहले २०२१ मा नेपाल पुलिस क्लब छाडेर मधेश फर्किने निर्णय लिए । धेरैका लागि त्यो आश्चर्यजनक भए पनि अनिल आफ्नो निर्णय सही हुनेमा पूर्ण विश्वस्त थिए । त्यसको मुख्य कारण स्वतन्त्र भएर खेल्ने उनको चाहना थियो ।

गत वर्षदेखि पवन सरार्फले पनि पुलिस छाडेर मधेश गए । यी दुबै खेलाडीले यस पटकको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा शानदार प्रदर्शन गरेका छन् ।

नेपालको पहिलो रोजाइका खेलाडी कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, कुशल मल्ल लगायत अधिकांश विभागमा भएका खेलाडी रन बनाउन संघर्ष गरेका छन् । तर अनिल यस प्रतियोगितामा बिहीबारसम्म सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा छन् ।

बिहीबार टियु मैदानमा अनिलले गण्डकीविरुद्ध १२५ बलमा ११ चौका र ६ छक्कासहित १२७ रनको एक शानदार शतकीय इनिङ खेले । यो शतकका साथ अनिल ८ खेलमा १ शतक र २ अर्धशतकका साथ ३७० रनका साथ शीर्ष स्थानमा छन् ।

‘मैले आफूलाई जुन हिसाबले तयार परेको छु त्यसले शतक नबनेको खण्डमा पनि म सकारात्मक हुन्थें । शतक आएर केही फाइदा होला । यो शतक नआएको भए पनि म मेरो माइन्ड सेट परिवर्तन गर्ने थिएन । शतक त कुनै न कुनै बेला लाग्ने नै थियो’, अनिलले भने ।

‘रन अरु दिन पनि लागेको थियो । सुरुवात पाएर पनि ठूलो इनिङ खेल्न सकेको थिएन । आज ठूलो इनिङमा परिणत हुँदा खुसी छु । भित्रबाट खुसी नै थिएँ । तर त्यहाँ धेरै ओभर बाँकी हुँदा छोडर आउन मन थिएन । त्यो भन्दा ठूलो स्कोर खेल्ने सोच र ध्यान बनाएको थिएँ’, शतकको समयबारे उनले भने ।

२०१८ मा एपीएफले जित्दा अनिल टोलीका सदस्य थिए । त्यसपछि उनी पुलिस गएका थिए । तर पुलिसमा सिनियर टोलीका खेलाडी धेरै हुँदा माथिल्लो क्रममा आएर खेल्न पाएनन् । मध्यक्रम वा तल्लोक्रममा खेल्नुपर्यो । जसको कारण अनिलको ब्याट अपेक्षाअनुसार चल्न सकेन ।

त्यसैले २०२१ को पीएम कपपछि उनी पुलिस छाड्ने निर्णयमा पुगे । पीएम कप मधेशबाट खेल्दै २०२२ मा पहिलो पटक सेमिफाइनलमा पुर्याउन होस् वा दुई महिनाअघि भएको केपी ओली कप टि-२० प्रतियोगिता जित्न, अनिलको प्रदर्शन महत्वपूर्ण रह्यो । यस पटक पीएम कपमा पनि खुलेर रन बनाएका छन् उनले । त्यसको मुख्य कारण पुलिस छाडेर प्रदेश गएपछि स्वतन्त्र भएर खेल्न पाएको अनिल बताउँछन् ।

‘राष्ट्रिय प्रतियोगितामा पहिला त्यस्तो स्वतन्त्रतामा खेलिने थिएन । सिनियर टोलीबाट बाहिर भएपछि दिमागमा नकारात्मक सोच आउँथ्यो । प्रदेशबाट स्वतन्त्र भएर खेल्न पाएको छु’, उनले भने ।

दशैं–तिहारमा मानिसहरु घर फर्किन्छन् । तर अनिलले यस पटक भारतको दिल्लीमा पुगेर अभ्यास गरेका थिए ।

त्यसमा उनले थपे, ‘विभागबाट खेल्दा सिधैं राष्ट्रिय प्रतियोगिता खेल्नुपर्छ । प्रदेशबाट क्लबदेखि नै छनोटको दबाब हुन्छ । त्यहिँदेखि नै दबाब हुँदा प्रदर्शन गरेर टोलीमा पर्नुपर्छ भन्ने सोच आउँछ । जिल्ला र प्रदेशका छनोटका खेलहरु हामी सिनियरहरुलाई अभ्यास खेल जस्तो हुन्छ । धेरैभन्दा धेरै खेल खेल्न पाइन्छ । त्यसैले गर्दा नै अहिले प्रदर्शन देखिएको छ ।’

‘पुलिसमा हुँदा काठमाडौं बसेर धेरै खेल खेल्न पाइएन । अभ्यासको लागि स्वतन्त्रता होस् र धेरैभन्दा धेरै खेल्न पाइयोस् भनेर पुलिस छाड्ने निर्णय लिएको हुँ । मेरो घर कलैयामा हाम्रो आफ्नै क्लब छ । आफ्नै मैदान हुँदा धेरै खेलहरु खेल्न पाउँछौं । त्यसले गर्दा यो प्रदर्शन देखिएको हो’, आफ्नो प्रदर्शनबारे उनले भने ।

खेलाडीमा स्वतन्त्रता नभए पैसाको कुनै अर्थ नहुने उनी बताउँछन् । ‘घरमा बसेर आफ्नै तरिकाले अभ्यास गर्न पाइन्छ । जुन स्वतन्त्रता विभागमा अलि हुँदैन । विभागमा रहँदा आर्थिक रुपमा मान्छे केही बलियो होला । खेलाडीको जीवनमा स्वतन्त्रता भएन भने त्यो पैसाको काम छैन । त्यसैले मैले पुलिस छाड्ने निर्णय लिएँ । म आफ्नो तरिकाले खेल्न पाउँदा रन बनेको छ,’ अनिलले भने ।

दशैं–तिहारमा मानिसहरु घर फर्किन्छन् । तर अनिलले यस पटक भारतको दिल्लीमा पुगेर अभ्यास गरेका थिए । त्यो मिहिनेत र त्याग अहिले पीएम कपमा उनको ब्याटबाट देखिएको छ । ‘मैले स्वतन्त्रताको जुन कुरा गरेँ नी हो त्यहिँ नै हो दिल्लीमा अभ्यास । मैले आफ्नो हिसाबले अभ्यास गर्न पाएँ । विभागमा हुँदा बढीमा १५ दिनको बिदा हुन्छ । १५ दिनको बिदामा गएर त्यो पैसा र समयको मात्रै खर्च हो । कुनै अर्थ हुँदैन’, उनले भने ।

दिल्लीमा उनले गत वर्ष स्पोर्ट्स क्यू एकेडेमी र यो पटक एमबी (मनविन्दर बिस्ला क्रिकेट एकेडेमी) मा आफ्नै खर्चमा प्रशिक्षण गरेर फर्किएका थिए ।

‘दिल्लीको क्रिकेटिङ कल्चर (संस्कार) पनि डिफ्रेन्स (फरक) छ । जे गर्दा पनि दिमागमा क्रिकेट हुन्छ । दिल्लीमा सिनियर खेलाडी भेटिन्छन् । म कसरी प्रदर्शन गर्न सक्छु भन्ने कुरा पाइन्छ । त्यसले गर्दा भारत गएको एकदमै राम्रो प्रशिक्षण भयो । बिस्ला सर किपर पनि हुँदा धेरै फाइदा भयो । म यो पटक ब्याटिङ मात्रै नभएर किपिङको लागि पनि गएको थिएँ’, उनले भने ।

नेपालको पहिलो किपरको रुपमा आसिफ शेख छन् । दोस्रो विकेट किपरको स्थान भने खाली छ । यो प्रदर्शनले अनिल नेपाल ए मात्रै होइन सिनियर टोलीमै पर्ने सम्भावना मजबुत बनेको छ । तर अनिल यो छनोटकर्ताको निर्णय हुने बताउँछन् ।

‘मैले आफ्नो खेल्ने तरिकालाई ब्याक गरेको छु । प्रदर्शन भएपछि नेपाल ए वा सिनियर भिन्दै कुरा हो । म नेपाली टोलीमा फर्किने वा नफर्किने मेरो हातमा हुँदैन । मैले गर्न सक्ने प्रदर्शन मात्रै हो’, उनले भने ।

यू–१९ र घरेलु क्रिकेटमा शानदार प्रदर्शनपछि अनिलले २०१८ फेब्रुअरीमा डिभिजन टु मा केन्याविरुद्ध नेपालको लागि डेब्यू गर्ने अवसर पाएका थिए । नेपालले त्यसै वर्ष अगष्ट १ मा ओडिआईमा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गर्दा उनी नेपालको प्लेइङ–११ मा थिए ।

नेदरल्यान्ड्ससँग दुई खेलपछि उनले पुनः मौका पाउन २०२२ मा पपुवा न्यु गिनीसँगको सिरिज घरेलु मैदानमा फर्किनु परेको थियो । २०१८ मा राम्रो खेल्दै गर्दा पनि उनी टोलीबाट बाहिर भएका थिए । २०२२ मा दुई खेल उनलाई प्रमाणित गर्न पर्याप्त हुन सकेन ।

२०१८ देखि २०२३ सम्म नेपाली क्रिकेट निकै अस्थिर रह्यो । लगातार खेलाडी परिवर्तन हुँदा र टोलीबाट बाहिर भएपछि प्रदर्शन देखाउने आधार नहुँदा ठूलो मर्कामा परेका क्रिकेटर मध्यका एक अनिल पनि हुन् । तर यस पटक पाएको अवसरमा चुकेका छैनन् । सिनियर टोलीमा फर्किने यात्रा सहज बनाउँदै लगेका छन् ।



from Online Khabar https://ift.tt/4IgJjh0

Wednesday, January 24, 2024

चीनमा भएको आगलागीमा परी ३९ जनाको मृत्यु

११ माघ,  काठमाडौं ।  मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।

मुलुकको सरकारी प्रसारक सिसिटिभीका अनुसार बुधबार (जनवरी २४ मा) स्थानीय समयअनुसार दिउँसो ३ः२४ बजे शिन्यु, जियाङ्सीमा एउटा स्टोरमा जमिनको तल्लो तलामा आगो लागेको थियो । त्यसमा परी अहिलेसम्म ३९ जनाको मृत्यु भएको र नौ जना घाइते भएका छन् ।

आगो लाग्नुको कारण खुलेको छैन । आगलागी भएपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले एक विज्ञप्ति जारी गरी मुलुकमा घातक दुर्घटनाहरूमा ‘दृढ नियन्त्रण’ को आह्वान गरे । सिसिटिभी रिपोर्टका अनुसार सिले भनेका छन्, ‘मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बारको दुर्घटनाहरूलाई रोकथाम गर्न आवश्यक छ ।’

राज्य समर्थित आउटलेट ग्लोबल टाइम्सले पोस्ट गरेको ‘आपत्कालीन कमान्ड’ को विज्ञप्तिमा लेखिएको छ, ‘अहिले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ र दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।’



from Online Khabar https://ift.tt/g1Z2sXI

आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै

११ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ ।

मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६/६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।

कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

राष्ट्रिय सभाबाट कोको हुँदैछन् विदा ?

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो ।

६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।

तिमिल्सिना सहित नेकपा एमालेका ९ सदस्य राष्ट्रिय सभाबाट बिदा हुनेछन् । एमालेकै दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दील कुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपती लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल पनि राष्ट्रिय सभाबाट बिदा हुँदैछन् ।

यसैगरी नेपाली कांग्रेसबाट अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी)को कार्यकाल पनि फागुन २० गते सकिँदै छ ।

नेकपा माओवादी केन्द्रका महेश कुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) तथा एकीकृत समाजवादीबाट नन्दा चपाईं  (कर्णाली), सिंगबहादुर विश्वकर्मा (बागमती)को कार्यकाल सकिँदै छ ।

यसैगरी जसपाकी प्रमिला कुमारी (मधेश प्रदेश) को कार्यकाल पनि सकिँदै छ ।

बागमती प्रदेशबाट स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटा पनि आगामी फागुन २० मै बिदा हुँदैछन्।

राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ ।



from Online Khabar https://ift.tt/3yumF8k

Tuesday, January 23, 2024

शक्ति गौचन भन्छन् – नेपालले पाकिस्तानलाई हराउनु त्यो विश्वकपकै सबैभन्दा ठूलो उथलपुथल थियो

१० माघ, काठमाडौं । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल स्पिन अलराउन्डर शक्ति गौचनले आईसीसी यू–१९ विश्वकप २००२ मा न्युजिल्यान्डामा नेपालले पाकिस्तानलाई हराउनु प्रतियोगिताकै सबैभन्दा ठूलो अपसेट (उथलपुथल) भएको बताएका छन् ।

अनलाइनखबरसँग शक्तिले उक्त ऐतिहासिक विश्वकप जितको क्षण बताएका छन् । ‘त्यो यू-१९ विश्वकपको सबैभन्दा ठूलो अपसेट थियो । त्यो अहिले सम्झदा एकदमै ऐतिहासिक क्षण लाग्छ । हाम्रो लागि एकदमै अविश्वसनीय दिन थियो’, शक्तिले उक्त जित सम्झदै भने ।

ब्याटिङमा नेपाल १५१ रनमै अल आउट भएको थियो । नेपालका बरदान चालिसले सर्वाधिक ४२ रन बनाएका थिए । पाकिस्तानलाई नेपालले १२१ रनमा अल आउट गर्दै ३० रनको जित हात पारेको थियो ।

विश्वकपमा र अन्य प्रतियोगितामा नेपालले पाकिस्तानलाई हराएको त्यो नै एकमात्रै खेल हो ।

नेपाललाई जिताउन शक्ति गौचनले १० ओभरमा ३ मेडनसहित १९ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका थिए ।

त्यस्तै अर्का स्पिनर सन्जम रेग्मीले ३, विनोद दास, बरदान चालिसे र लाक्पा लामाले १-१ विकेट लिएका थिए ।

 ‘त्यो अनएक्सपेट विन थियो । त्यो समय सलमान बट, उमर गुल, अजर अली, खालिद मकसुद जतिपनि थिए ती सबै टप लेभलका खेलाडी थिएँ । आगामी दिनमा पाकिस्तानका सुपरस्टार पनि भनेर चर्चा भएको थियो । हामी उनीहरु नजिक नजिक थियौं । त्यो समय उनको पेश बलिङ खेल्ने क्षमता हामीमा एकदमै गाह्रो थियो’, शक्तिले भने ।

न्युजिल्यान्डको विकेटमा झनै गाह्रो भएको उनी बताउँछन् । ‘उनीहरुको पेश खेल्ने क्षमता हाम्रो ब्याटरमा एकदमै गाह्रो थियो । त्यसमा पनि न्युजिल्यान्डको कन्डिसन र हरियो विकेटमा खेल्न मलाई पनि धेरै गाह्रो भएको थियो । बरदानले एकदमै राम्रो इनिङ खेलेको थियो । हामीले कसोकसो गरेर १५० माथिको स्कोर बनायौं’, शक्तिले भने ।

त्यसैमा शक्तिले थपे, ‘त्यो समय रोय डायस सर हुनुन्थ्यो । उहाँले हामीलाई बेस्ट क्रिकेट खेल्न भन्नु भएको थियो । हामीले राम्रो सुरुवात गयौं र फिल्डिङ बलियो पक्ष हुँदा केहि गर्न सक्छौं भनेर त्यो कन्फिडेन्स दिनु भयो । त्यसपछि हामीले सुरुवात गयौं । सुरुवातमै हामीले दुई विकेट लियौं । त्यसपछि स्पिन आक्रामण आयो ।’

शक्तिले आफूले एक उत्कृष्ट क्रिकेट त्यो समय खेलेको बताउँछन् ।

‘त्यो मलाई लाग्छ मेरो वन अफ द बेस्ट फममा बलिङ स्पेल गरे । १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । त्यसले गर्दा प्रमुख ब्याटरलाई आउट गरे । त्यसपछि सन्जम, लाक्पा र बरदानले पनि विकेट निकाले’, उनले भने ।

उक्त खेल जित्नुमा फिल्डिङमा मिराकल गर्दा सफल भएको उनी बताउँछन् । ‘त्यो खेलमा हामीले तीनवटा एक्स्ट्रानोरी क्याच लियौं । एउटा सञ्जम, अर्को लाक्पा र प्रेम चौधरीले लिएका थिए । त्यो तीन क्याचले एउटा मिराकल थियो’, उनले भने ।



from Online Khabar https://ift.tt/E5Admhg

ललितपुरको नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

१० माघ, काठमाडौं । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् ।

नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

 

 



from Online Khabar https://ift.tt/HwGKq7k

Monday, January 22, 2024

चन्द्रमामै निदायो जापानी यान, सूर्यको प्रकाश पाउँदा जाग्नेआशा

जापानले चन्द्रमामा सफल अवतरण गराएको अन्तरिक्षयानसँगको सम्पर्क विच्छेद भएको छ । ‘The Smart Lander for Investigating Moon’ अर्थात् स्लिम नामक उक्त यान सौर्यऊर्जामा आएको समस्याका कारण बन्द भएको हो ।

चन्द्रमाको सतहमा शनिबार ऐतिहासिक अवतरण भएको तीन घण्टापछि नै उक्त यान बन्द भएको थियो ।

यानमा रहेको सोलार प्यानलमा देखिएको खराबीका कारण यसको ब्याट्री चार्ज हुन पाएको छैन । शनिबार राति ब्याट्री सकिने बताइएको थियो । तर, जापानी अन्तरिक्ष एजेन्सी जाक्सालाई भने यो निदाएको ल्याण्डरलाई जगाउन सकिने आशा छ । यदि सूर्यको प्रकाश सही ठाउँमा पर्‍यो भने यसको ब्याट्री चार्ज भएर स्वीच अन हुनसक्ने अपेक्षा जाक्साले गरेको छ ।

इन्जिनियरहरुका अनुसार यो यानमा जडित सोलार प्यानलहरु पश्चिमतर्फ फर्किएका थिए, जुन सूर्यको प्रकाश आएको दिशाबाट विपरीत हो । त्यसैले सौर्यऊर्जा उत्पादन हुन सकेन र ब्याट्रीको चार्ज सकिएपछि यान बन्द भयो ।

तथापि प्रकाशको अवस्था परिवर्तन हुँदा अवस्थामा सुधार आउने आशा मिसन टोलीको छ ।

जाक्साले एक विज्ञप्तिमा भनेको छ- यदि सूर्यको प्रकाश भविष्यमा चन्द्रमामा पश्चिमतर्फबाट लाग्यो भने ऊर्जा उत्पादन हुने सम्भावना हुन्छ भन्ने हामीलाई विश्वास छ । अहिले हामी यसको पुनर्स्थापनाका लागि तयारी गरिरहेका छौं ।

स्लिम मिसन, अर्थात् मून स्नाइपरको चन्द्रमामा सटिक अवतरणपछि जापानले चन्द्रमामा आफ्नो अन्तरिक्षयान सफ्ट ल्यांडिंग गराउने पाँचौँ देशको कीर्तिमान बनाएको थियो ।

तर अवतरणपछि भने यसको ऊर्जा रित्तिंदा यसले थप काम गर्न नसक्ने अवस्था भएको छ ।

तथापि जापनी अन्तरिक्ष एजेन्सी जाक्साले ब्याट्रीको चार्ज पूरै नरित्तिंदै यसलाई बन्द गर्ने निर्णय गरेको थियो ताकि भविष्यमा यसलाई पुनः जगाउन सकियोस् ।

जाक्साले भनेको छ- भविष्यमा रिस्टार्ट गर्न नसकिने अवस्था नआओस् भन्नका लागि हामीले १२ प्रतिशत ब्याट्री चार्ज छँदै ब्याट्रीलाई डिस्कनेक्ट गरी यानलाई बन्द गरेका थियौं । जसका कारण जापानी समय अनुसार शनिबार करिब ३ बजे उक्त यान स्वीच अफ भएको थियो ।

बन्द हुनुअघि मिसन कन्ट्रोलले यानको अवतरणका डाटा तथा तस्वीरहरु लगायतका विवरणहरु सफलतापूर्वक संकलन गरेको थियो ।

जापानी अन्तरिक्ष एजेन्सीका प्रमुख हितोशी कुनिनकाका अनुसार चन्द्रमामा सौर्यकोण परिवर्तन हुन ३० दिन लाग्दछ । अर्थात् जब सौर्यकोण परिवर्तन हुन्छ तब प्रकाश विपरीत दिशाबाट आउँछ । यस्तो अवस्थामा पश्चिम दिशामा फर्किएका यानका सोलार प्यानलहरुले प्रकाश प्राप्त गर्नेछन् र यानको ब्याट्री रिचार्ज हुनेछ । यसबाट ल्यान्डरले पुनर्जिवन पाउने आशा जाक्साको छ ।



from Online Khabar https://ift.tt/Ljbw5ou

सित्तैमा प्राविधिक शिक्षा पढाउँदा पनि आउँदैनन् विद्यार्थी

९ माघ, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पालिकामै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले इच्छुक युवालाई सित्तैमा पढाउने योजना ल्यायो । उक्त योजनाअनुसार पहिलो चरणमा १८ जनालाई पढाउने निर्णय भयो ।

पालिकाका ९ वटा वडाबाट २ जनाका दरले १८ जनालाई प्राविधिक शिक्षा पढ्न मासिक २० हजार रुपैयाँ खर्च दिने पालिकाको योजना थियो । अध्यक्ष मीनबहादुर गुरुङलाई लागेको थियो, ‘हाम्रो योजनामा युवाहरुको हानाथाप हुनेछ । छनोट गर्नै मुस्किल हुनेछ ।’

तर, यथार्थमा भने गुरुङले सोचेभन्दा फरक भयो । ‘पालिकाले त राम्रै सोचेर योजना ल्याएको थियो । तर, कोही पढ्नै खोजेनन्, अभिभावकलाई पनि बुझाउन सकेनौं’, गुरुङले भने, ‘प्राविधिक शिक्षा पढेर पनि जागिरको सुनिश्चितता नभएपछि किन पढ्ने भन्ने बुझाइ पाइयो ।’

पोखरा महानगरपालिकाको आफ्नै प्राविधिक स्कुल ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ले अहिले अटोमाबाइलतर्फ २० जना विद्यार्थीलाई पढाइरहेको छ । जबकि भर्नाको समयमा २४ जना विद्यार्थी माग गरिएको थियो । शिक्षालयले सिभिल इन्जिनियरिङतर्फ ४८ जना विद्यार्थी माग गर्दा जम्मा ३६ जनाले मात्रै आवेदन दिए ।

दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित पोखरा महानगरले ०७७ भदौमा शिक्षालय स्थापना गरेको थियो । तर, प्राविधिक शिक्षातर्फ युवाको धेरै रुचि नदेखिएको शिक्षालय निर्देशक लक्ष्मण तिमिल्सिना बताउँछन् । ‘कोटाभन्दा धेरै आवेदन परेको भए त्यसबाट छनोट गरेर पढाउन सकिन्थ्यो । त्यस्तो भएन’, उनले भने, ‘हामीले सेलेक्टेड होइन, कलेक्टेड तरिकाले पढाइरहेका छौं ।’

प्राविधिक शिक्षामा युवाको आकर्षण नभएको उदाहरण पोखरामा खुलेका प्राविधिक शिक्षा पढाउने स्कुलहरुलाई हेरे पुग्छ । केही समयअघिसम्म पोखरामा ५ वटा स्कुलले सिभिल इन्जिनियरिङ पढाउँथे ।

तर, विद्यार्थीका अभावका कारण यो वर्षदेखि ३ वटा स्कुलले उक्त कार्यक्रम नै बन्द गरेका छन् । जेनतेन प्राविधिक शिक्षा पढाइरहेका बाँकी २ वटा स्कुलमा पनि कोटा अनुसार विद्यार्थी छैनन् ।

पोखरामा रहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, गण्डकी (सीटीईभीटी) मा पनि पछिल्लो समय विद्यार्थी उल्लेख्य घटेका छन् । सीटीईभीटीका गण्डकी प्रदेश प्रमुख दामोदर देवकोटाका अनुसार ४० जनाका लागि भर्ना खुलाउँदा ३२ जनामात्रै भर्ना भएका छन् ।

प्राविधिक शिक्षामा किन अरुचि ?

गण्डकी प्रदेशसहित प्रदेशका अधिकांश स्थानीय तहले प्राविधिक शिक्षालाई वार्षिक रुपमा उल्लेख्य बजेट विनियोजन गरिरहेका छन् । तर, उक्त लगानी परिणाममुखी हुन नसकेको सम्बन्धित निकाय नै स्वीकार्छन् ।

प्राविधिक शिक्षामा पढ्न धेरै विद्यार्थी नपाएकामा स्थानीय सरकार र शिक्षालयहरुले एक अर्कामा दोषारोपण गरिरहेका छन् । सीटीईभीटीले स्थानीय तह र प्रदेश सरकारले असहयोग गरेको बताउँछ भने प्रदेश सरकार भने केन्द्रले कानुन नबनाइदिंदा काम गर्न नसकेको बताउँछन् ।

गण्डकी प्रदेशले खोलेको गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (जीटीईभीटी)ले संघीय सरकार अर्थात् सीटीईभीटीकै मनोमानीका कारण प्राविधिक शिक्षामा युवाको आकर्षण नभएको आरोप लगाउँछ ।

‘संसार एआईमा गइसक्यो । तर, हाम्रो प्राविधिक शिक्षा भने ४५ सालको कानुन देखाएर चलिरहेको छ । संघीयता आइसक्दा पनि संघले अधिकार दिन मानेन’, जीटीईभीटी प्रमुख सोमनाथ सापकोटा भन्छन्, ‘बेलैमा परीक्षा नभएपछि पढेका विद्यार्थीहरु पनि पलायन हुन बाध्य हुन्छन् ।’

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ स्थानीय तहले पनि युवाहरुलाई प्राविधिक शिक्षाको महत्व बुझाउन नसकेको स्वीकार गर्छन् ।

‘भविष्य बन्छ, जागिर पाइन्छ भनेर पढाउँछौं । तर, हामीले नै त्यसको ग्यारेन्टी गर्न सकेनौं भने को पढ्छ ?’ गुरुङ भन्छन्, ‘यसमा तेरो-मेरो भन्दा पनि तीनवटै सरकारले ध्यान दिन जरुरी छ ।’

गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक तिमिल्सिना प्राविधिक शिक्षालाई सरकारले नै शैक्षिक योग्यताको मान्यता दिन कञ्जुस्याइँ गर्दा आकर्षण घटेको बताउँछन् । भन्छन्, ‘टेक्निकल पढेकाले पनि उच्च शिक्षा प्रमाणपत्रका लागि फेरि पढ्नुपर्ने भएपछि यसमा रुचि नदेखाएका हुन सक्छन् ।’

सीटीईभीटी, गण्डकी प्रदेश प्रमुख दामोदर देवकोटा प्राविधिक शिक्षाबारे ‘काउन्सिलिङ’कै अभाव रहेको धारणा राख्छन् । ‘हामीकहाँ तालिम के हो, के गर्न सकिन्छ भन्ने करियर काउन्सिलिङकै अभाव छ’, उनी भन्छन्, ‘भविष्यमा के गर्ने, के बन्ने भनेर बेलैमा काउन्सिलिङ गर्न सकियो भने ड्रपआउटको समस्या कम हुन्थ्यो ।’

‘प्राविधिक शिक्षाको महत्व बुझाउन सकेनौं’

सीटीईभीटीले गत वर्ष अनौपचारिक शिक्षा लिएकालाई प्राविधिक दक्षताको प्रमाणपत्र दिने भन्दै सूचना निकालेको थियो । त्यसमा गण्डकी प्रदेशबाट ४२५ जनाले फर्म भरेका थिए ।

तर, एक वर्षभन्दा बढी समयसम्म सीटीईभीटीले परीक्षा सञ्चालन गरेन । ‘एक वर्षपछि भएको परीक्षामा जम्मा २५० जना विद्यार्थी सहभागी भएका थिए । समयमै परीक्षा नहुँदा हराएका परीक्षार्थीको जिम्मा कसले लिन्छ ?’ सामाजिक विकास मन्त्रालय, गण्डकीका उपसचिव तोयानाथ लम्साल प्रश्न गर्छन् ।

लम्सालले संघीय सरकारले तीनै तहको अधिकारका विषयमा प्रष्ट उल्लेख गर्नुपर्ने बताए । उनले प्राविधिक शिक्षाको महत्व स्थानीय स्तरदेखि नै बुझाउन आवश्यक भएको बताए ।

‘हामीले तल्लो तहसम्म प्राविधिक शिक्षाको महत्व बुझाउन नसकेकै हो । चाहे त्यो स्थानीय तह होस्, प्रदेश होस्, या संघीय सरकार । कसैले सकेनौं’, उपसचिव लम्सालले ।



from Online Khabar https://ift.tt/aP91hYI

२३औं आहा रारा पोखरा गोल्डकप आजदेखि, आयुष घलान सहारा वर्षोत्कृष्ट खेलाडी

९ माघ, पोखरा । मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करण आजदेखि सुरु हुँदैछ । पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो २ बजे हुने उद्घाटन खेलमा आयोजक सहारा र थ्रीस्टार क्लब भिड्दैछन् ।

२०५८ सालदेखि निरन्तर हुँदै आएको आहारारा पोखरा गोल्डकपमा हालसम्म थ्रीस्टारले ५ पटक र सहाराले एकपटक उपाधि जितेका छन् । जसमा आयोजक सहारा ३ पटकमात्रै फाइनल पुगेको छ भने थ्रीस्टार ६ पटक फाइनल पुगेको छ ।

आयोजक सहारा र थ्रीस्टार दुवै टिम २०६९ को ११औं आहारारा पोखरा गोल्डकपको फाइनलमा पुगेका थिए । त्यसबेला थ्रीस्टारले सहारालाई १-० ले हराएको थियो । त्यसअघि २०६३ को पाँचौं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पनि दुवै टिम प्रतिस्पर्धा गरेका थिए । जसमा आयोजक सहारालाई थ्रीस्टारले ३–० ले पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेको थियो ।

नकआउट आधारमा हुने प्रतियोगिताको समूह चरणमा दुवै टिम पहिलो पटक आमनेसामने हुँन लागेका हुन् ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाउँदैछन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

यसअघि आहारारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौं स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइएको थियो । तर, दिल्लीले अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

आयुष घलानलाई  सहारा वर्षोत्कृष्ट खेलाडी सम्मान

यस वर्षको सहारा वर्षोत्कृष्ट खेलाडी सम्मान राष्ट्रिय फुटबल खेलाडी आयुष घलानले पाउने भएका छन् । २०७४ देखि बर्सेनि एकजना फुटबलरलाई सम्मानसहित राशि ५० हजार रुपैयाँ आयोजकले प्रदान गर्दै आएको छ ।

राष्ट्रिय टिमका मिडफिल्डर घलानलाई नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक अल्दुल्लाह अल्मुताइरीले आयुषलाई नेपाली राष्ट्रिय टिममा प्रवेश गराएका हुन् । उनी हेटौंडाका हुन् ।

उनले कुवेत सिटीमा भएको अस्ट्रेलियाविरुद्धको विश्वकप छनोटबाट राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । उनले सन् २०२१ मा भएको साफ च्याम्पियनसिपमा राष्ट्रिय टिमका लागि पहिलो गोल गरेका थिए ।

आयुषले भारतको भुवनेश्वरमा भएको साफ यू–२० च्याम्पियनसिपमा नेपालको कप्तानी भूमिका निभाइसकेका छन् । उनले पोखरा थन्डर्स, थ्रीस्टार, संकटा र मच्छिन्द्र क्लबका लागि खेलिसकेका छन् ।

यसअघि फुटबलर भरत खवास, किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन बिष्ट र अनन्त तामाङ सहारा वर्षोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भइसकेका छन् ।



from Online Khabar https://ift.tt/DvV2CXS