Wednesday, January 10, 2024

यी मालाहरुले सुनाउँछन् रुसको दर्दनाक कथा

२६, पुस, चितवन । नेपालीमा उखान छ- सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला । तर फूलले सधैं मिठो कथा भन्दैनन् । फोटो छेलिने गरी चितवन भरतपुर-७ प्रेमवस्तीमा लगाइएका सयपत्रीका यी फूलमालाहरुले एउटा परिवारको असह्य दुःखको कथा सुनाउँछन् ।

धुम्म परेको हिउँदे दिनमा राजकुमार गिरीको घरको आँगन त्रिपालले टाँगिएको छ । घरमात्रै उनको हो । घर छ, उनी छैनन् ।

पछिल्लो पटक दुई बर्ष अगाडि परिवारको सुखको खोजीमा दुवई गएका थिए राजकुमार । दुवईबाट रुसी सेनामा गत भदौ १६ गते भर्ती हुन उनी उतैबाट उडेका थिए । मंसिर १६ गते युक्रेनसँगको भिडन्तमा गिरीको मृत्यु भए पनि परिवारले आधिकारिक खबर ढिलोगरी पायो । अहिले घरमा उनैको किरिया चलिरहेको छ ।

१० वर्षका एक छोरा, दुई छोरीलाई टुहुरा बनाएर, श्रीमती शर्मिलालाई विधवा बनाएर, अनि आमा बेसहारा बनाएर राजकुमार रुस-युक्रेन सीमातिरको हिउँमा बिलाएका छन् ।

पहिलो लडाइँमै राजकुमारको मृत्यु भयो । शर्मिलाका अनुसार राजकुमारसहित उनका १५ जना नेपालीहरु लडाइँमा गएका थिए । ती साथीहरूमध्ये युक्रेनसँगको लडाइँमा गिरी मारिए भने दुई जना घाइते भए

शर्मिताले बताए अनुसार रुसमा घटना भएको भोलिपल्ट नै उनका सैनिक साथीहरुले गिरी युक्रेनसँगको भिडन्तमा मारिएको खबर परिवारलाई दिएका थिए । १० वर्षका छोरा अग्रिम गिरी सानै भएकोले राजकुमारका भाइ क्रियामा बसेका हुन् । वुवाको मृत्युमा कपाल मुण्डन गरेका अग्रिम सडकमा साथीभाइसँग खेल्ने मै रमाइरहेका थिए । उनीहरु सबै जना विकासचोक नजिकै रहेको अर्विट विद्यालयमा पढ्ने गर्दछन् । राजकुमार कै कमाइमा धानिएको परिवार उनको निधन पछि अब के हुने हो भन्ने अन्यौलमा छ । शर्मिलाले श्रीमानको शव नेपाल ल्याउन सक्ने अवस्था नै नरहेको बताइन् ।

राजकुमारले नेपाली सेनाबाट भर्ती भएर बीचमै जागिर छाडेका थिए । सेनाको तालिममा निकै कठिन भएका कारण उनले जागिर छाडेको पत्नी शर्मिलाले बताइन् ।

धादिङ्गको खानीखोलाबाट विगत १२ वर्ष अगाडि चितवन आएर प्रेमवस्तीको टाउन प्लानिङ्गमा साढे ७ धुर जग्गा किनेर एक तले घर बनाएर गिरीको परिवार बसेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा उनी दुवईमा सेक्यूरीटी कम्पनीबाट गार्डको रुपमा काम गर्थे । सुरुमा दुवई बसेर फर्किएका उनी कुवेत पुगे । कोरोनाको बेलामा नेपाल फर्किएर केही समय नेपाल आएर बसे ।

नेपाल आएका बेला उनले तरकारी खेती पनि लगाए । पछि उनी पुनः दुबई फर्किए । दुबईमा कमाई पनि राम्रै थियो । तर दुबईमा भन्दा धेरै पैसा र रुसको नागरिकतासमेत हुने लालसा उनी रूसी सेनामा भर्ती हुन पुगे । उनीसँगै दुवईबाट करिब ५०० नेपाली रुस गएको कुरा त्यसबेला भिनाजुले आफूलाई सुनाएको सालो मनोज गिरीले बताए ।

‘परिवारको सल्लाहमा जानुभएको त हैन, म यतैंबाट राम्रो ठाँउ जान्छु भन्नुहुन्थ्यो,’ श्रीमती शर्मिलाले भनिन्, ‘पछि रुस पुगेपछि मात्रै हामीलाई थाहा भयो ।’ राजकुमारले ८ लाख रुपैयाँ दलाललाई बुझाएर दुवईबाट सीधै रुस पुगेका थिए । ‘४ लाख रुपैयाँ त मैंले नै यहाँबाट पठाइदिएको हो,’ राजकुमारका सालो गिरीले भने, ‘४ लाखको जोहो दुबईतिरै गरेर जानुभएको हो ।’

उनलाई दलालहरुले सेनामा भर्ती भएपछि मासिक तीन लाख कमाइ र रुसको नागरिकता पनि पाउने परिवार पनि लैजान सकिने आश देखाएका थिए ।

राजकुमारको परिवार ।

आफूले नजान भन्दाभन्दै भिनाजु रुस पुगेको मनोजले बताए । ‘हैन राम्रो हुन्छ सबै जना गएकै छन्, पछि भाउजूलाई पनि लैजान सकिन्छ, बाबुनानीहरुको भविष्य पनि राम्रो हुन्छ, कमाई पनि हुन्छ भन्नुभयो’ राजकुमारका कुरा सम्झदैं मनोज भन्छन्, ‘सुरुमा त तालिम दिएर खुबै माया गरेर मेजमानी खुवाएर पालेजस्तो गरेको राखेको छ भन्नुहुन्थ्यो, खुसी नै हुनुहुन्थ्यो ।’

तालिम पछि लडाइँमा जानुपर्ने कुरा राजकुमारले सालो मनोज र परिवारलाई भन्ने गर्दथे । पहिलो लडाइँका लागि गएको बेलामा नै उनको मृत्यु भयो । शर्मिलाका अनुसार राजकुमारसहित उनका १५ जना नेपालीहरु लडाइँमा गएका थिए । ती साथीहरूमध्ये युक्रेनसँगको लडाइँमा गिरी मारिए भने दुई जना घाइते भए । राजकुमार परिवारमा साइलो छोरा हुन् । उनका दुई दाजुहरु मध्ये एक जना अमेरिकामा र अर्को अष्ट्रेलियामा छन् । उनकी आमा भने कान्छा छोराको परिवारसँग नै बस्दै आएकी छिन् । शर्मिलाले आफूहरु पीडामा नै रहेकोले थप कुरा अहिले गर्न नचाहेको बताइन् ।

राजकुमारको सालो मनोजले काजक्रियाको काम सकिएपछि परराष्ट्र मन्त्रालयमा गएर क्षतिपूर्तिको लागि निवेदन दिने बताए । क्षतिपूर्ति कसले कहाँबाट कसरी दिने हो भन्ने पनि अन्योल रहेको उनले बताए ।



from Online Khabar https://ift.tt/boVNG93

No comments:

Post a Comment