Wednesday, June 23, 2021

निषेधाज्ञा सहज हुँदा तरलताको त्रास, असारे विकासले थुप्रिएला त बैंकमा पैसा ?

१० असार, काठमाडौं । गत वर्ष कडा लकडाउन हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो रकम थुपि्रयो । व्यापार व्यवसाय ठप्प हुँदा निजी क्षेत्रले बैंकबाट धेरै कर्जा लिन सकेनन् । तर लकडाउन खुलिसकेपछि भने कर्जाको माग बढ्दै गयो । गत वर्ष बैंकहरुमा लगानी योग्य रकम -तरलता) नबढे पनि यसपालि भने तरलता बढ्छ कि भन्ने आशंका छ ?

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलतामात्रै ३९ अर्ब रुपैयाँ भन्दा धेरै रहेको नेपाल राष्ट्र बैंक, अनुसनधान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए । उनका अनुसार अन्तर बैंकदर पनि अहिले केही बढेको छ । अल्पकालीन ब्याजदर -अन्तरबैंक) बढेर अहिले ४.८ प्रतिशत पुगेको उनले बताए ।

गत वर्ष यो समयमा डेढ खर्ब रुपैयाँ तरलता थियो । लकडाउन सहज हुँदासम्म पनि ६० अर्ब हाराहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । मंगलबारदेखि काठमाडौं उपत्यकामा व्यापार व्यवसाय खुला भएका छन् । तर सोमबारसम्म नै अधिक तरलता ३९ अर्ब रुपैयाँ रहेकाले वित्त बजारमा समस्या हुन्छ कि भन्ने शंका देखिएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल पछिल्लो समय सरकारले आन्तरिक ऋण उठाएकाले अन्तर बैंक दर बढेको देखिएको बताउँछन् । तर बाहिर हल्ला भएजस्तो लगानीयोग्य रकम अभाव भने नरहेको उनले बताए ।

बैंकहरुमा निक्षेप र कर्जाको अवस्था

कोरोनाको दोस्रो लहरको त्रास पछि सरकारले निषेधाज्ञा जारी गर्यो । १६ वैशाखमा निषेधाज्ञा जारी गरिए पछि ‘क’ बैंकहरुको कर्जा लगानी सुस्तायो । तर कर्जासँगै निक्षेपमा पनि धेरै राम्रो आकर्षण देखिएको छैन ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार निषेधाज्ञा जारी भएयता ४ असारसम्म ५६ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । यस अवधिमा निक्षेप भने ६८ अर्ब रुपैयाँ संकलन भएको बैंकर्स संघले बताएको छ ।

यसले बैंकको कर्जा लगानी तथा निक्षेपत्र संकलन दुबै धेरै राम्रो हुन नसकेको संघको ठहर छ । तर निषेधाज्ञा अवधि भएकाले बैंकहरुले यसलाई सामान्य रुपमै बुझ्नु पर्ने बताएका छन् । ‘क’ वर्गका बैंकहरुमा १७ वैशाखसम्म ३९ खर्ब २३ अर्ब निक्षेप थियो भने ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानीमा रहेको थियो । ४ असारसम्म यो बढेर निक्षेप संकलन ३९ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । कर्जा लगानी भने ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।

‘तत्कालै बढिहाल्ने सम्भावना छैन’

राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख श्रेष्ठ अहिले नै तरलता अभाव हुने सम्भावना नरहेको बताउँछन् । निषेधाज्ञा खुला भएसँगै अब व्यापार व्यवसाय बढ्ने छ । व्यापार व्यवसाय बढ्दा बैंकहरुमा कर्जाको माग पनि बढ्छ । कर्जाको माग बढिहाले पनि अझै तरलता केही समय सामान्य नै रहने उनको अनुमान छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलका सल्लाहकार समेत रहेका श्रेष्ठले अब तरलताको अवस्था कस्तो हुने भन्ने विषयमा सरकारी खर्च र रेमिट्यान्सको भूमिका समेत महत्वपूर्ण हुने बताए । ‘अब बजार खुला भएको छ कर्जाको माग त आउन सक्ला,’ उनले भने, ‘सरकारको खर्च राम्रो बढ्यो, रेमिट्यान्स पनि आयो भने त तरलता अभाव हुँदैन ।’

बैंकर्स संघका अध्यक्ष दाहाल पनि अहिले नै बजारमा तरलता अभाव हुने कुनै सम्भावना नरहेको बताउँछन् । बैंकको ब्याजदर पनि कात्तिक/मंसिर भन्दा अगाडि बढिहाल्ने नदेखिएको उनले बताए । ‘कर्जाको माग त अहिले पनि छ, तर कर्जा लिन आउनेलाई बैंकले ऋण दिन सक्छन्’ अध्यक्ष दाहालले भने, ‘अहिले पनि बैंकहरुसँग डेढ खर्ब रुपैयाँ, आत्तिनु पर्ने कुरै छैन ।’



from Online Khabar https://ift.tt/3xEXgMO

No comments:

Post a Comment