२५ जेठ, बेइजिङ । चीन सरकारले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ ।
चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न त्यहाँको स्वास्थ्य विभागले अनुमति दिएको हो ।
कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चीनले गरेको यो निर्णयले केही आशाको सञ्चार गराएको छ ।
अहिलेसम्म प्रयोगमा रहेका १५ वटा खोपहरु सबैजसो १८ वर्षभन्दा माथिका वयस्कका लागि लगाइएको थियो । केही मुलुकहरुले १३ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउन अनुमति दिए पनि यति कम उमेरका बालबालिकामा खोप लगाउन अनुमति दिने चीन पहिलो मुलुक हो ।
अहिलेसम्म बालबालिकामा खोपको साइड इफेक्टका बारेमा कम अनुसन्धान भएका छन् । सिनोभ्याकका सीइओ यिन एइदोङले सीसीटीभीसँग भनेका छन्, ‘हामीले ३ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा गरेको दुई चरणको परीक्षणमा यो खोप १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी देखिएको छ ।’
चीन सरकारले कहिलेदेखि बालबालिकालाई खोप लगाउन सुरु गर्छ भन्ने यकिन भइनसकेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । अहिले चीनले देशभरी नै खोप अभियान चलाइरहेको जहाँ १८ वर्षमाथिका नागरिकलाई खोप लगाइँदै छ । हरेक दिन १ करोड ४० लाख नागरिकलाई खोप लगाइरहेको चीनले यो महिनाको अत्यसम्म ५६ करोड मानिसलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
चीनमा बालबालिकालाई लगाउन अनुमति दिइएको सिनोभ्याकको खोपलाई गत हप्तामात्र विश्व स्वास्थ्य संगठनले आपतकालीन अनुमति दिएको थियो । यस्तै नेपालले पनि गत शुक्रबार मात्रै सिनोभ्याकको खोपलाई नेपालमा व्यवसायिक आयात र प्रयोगका लागि अनुमति दिएको छ ।
from Online Khabar https://ift.tt/3pA5sLl
No comments:
Post a Comment