Tuesday, October 5, 2021

एनआरएनए महासचिवको प्रश्न : परराष्ट्रमा दैनिक सयौं उजुरी पर्छन्,कति दिन निर्वाचन रोक्ने ?

बार्सिलोना। गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव डा. हेमराज शर्माले अझै पनि चुनाव हुने वा नहुनेबारे परराष्ट्र मन्त्रालयले अन्योलतामा राखेको बताएका छन्। आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुने दशौं अन्तर्राष्ट्रिय महाधिवेशन नजिकिंदै गर्दा चुनावी अन्यौलताबारे स्वयं महासचिव डा.शर्माले बोलेका हुन्।

अध्यक्षका प्रत्यासी डा. बद्री केसीको उम्मेदवारी घोषणा सभालाई मंगलबार भर्चुअल रुपमा सम्बोधन गर्दै उनले परराष्ट्र मन्त्रालयको भूमिकाप्रति असन्तुष्ट व्यक्त गरेका छन्। ‘कसैले उजुरी दिएको भरमा यहाँहरुले निर्वाचन रोक्ने हो भने म तपाईंहरुलाई प्रस्टसँग भन्छु , एक लाख ६ हजार गैरआवासीय नेपाली सदस्य हुनुहुन्छ । प्रत्येक दिन सयौं उजुरी त्यहाँ आउँछन् ।अनि कति दिन निर्वाचन रोक्न सक्नुहुन्छ ?’ महासचिव शर्माले प्रश्न गरे ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले परराष्ट्रमा उजुरी दिएको थियो । मन्त्रालयमा उजुरी परेपछि एक अनुगमन समिति गठन गर्दै बाँकी निर्वाचन प्रक्रिया स्थगन गर्न संघलाई निर्देशन दिएको थियो । तर झन्डै एक महिना समय पुग्नै लाग्दा पनि परराष्ट्रले संघको निर्वाचन प्रक्रियाबारे थप निर्देशन वा जानकारी दिएको छैन।

महासचिव शर्माले परराष्ट्रको पत्रका कारण संघको चुनाव रोकिएको भन्दै छिटोभन्दा छिटो चुनावी वातावरण बनाउन मन्त्रालयलाई अनुरोध गरेका छन्। ‘सारा गैरआवासीय नेपालीहरु नेपाल जान भनेर टिकट काटेर बसेका छन् । चुनाव हुन्छ वा हुँदैन अझै तपाईंहरुले हामीलाई पत्र लेख्नुभएको छैन,’ महासचिव शर्माले भने, ‘यस्तै हो भने यो टिकटको क्षतिपूर्ति दिनपनि तपाईंहरु तयार हुनुपर्छ ।होइनभने छिटोभन्दा छिटो चुनावी वातावरण बनाउन अनुरोध गर्दछु।’

उनले परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि संघसँग मन्त्रालयले छलफल नै नगरी सिधै निर्वाचन रोक्न पत्र लेखेको बताए। ‘कमसेकम आएका उजुरीप्रति हामीलाई स्पष्ट गर्ने मौका दिनुपर्थ्यो। हाम्रा कानूनविद्हरू, विधान मस्यौदामा दक्षता राख्ने साथीहरुमाझ छलफल गराउन पाउनुपर्थ्यो । त्यो मौका दिनुभएन । कस्तो खालको सर्कुलेसन आउँछन् हामीलाई थाहा छैन,’ डा. शर्माले गुनासो पोखे।

नेपाली कांग्रेस निकट ठानिने डा. शर्मा दशौं अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षका उम्मेदवारसमेत रहेका छन्। तर उनी डा. बद्री केसीको प्यानलबाट चुनाव लड्दैछन्ने । नेपाली कांग्रेसले भने कुल आचार्य समूहलाई समर्थन गर्न सर्कुलेसन जारी गरिसकेको छ।

एनआरएनए निर्वाचनको राजनीतिक दबाबबारे इंकित गर्दै डा.शर्माले भने, ‘अहिले यस कार्यक्रममा आउँदाखेरी पनि डेमोक्रेटिक साथीहरु, नेताहरू सबलाई फोन गरेर यो कार्यक्रममा नजानु भन्ने खालको ह्विप जारी गरियो । यस्तो खालको ह्विपबाट तपाईंहरू नडराउनुहोला । नेपालमा त सांसदहरुलाई ह्विप लाग्दैन भने तपाईं हामीलाई ह्विप लाग्नुपर्ने जरुरी छैन।’

एनसीसीका अध्यक्षदेखि आईसीसी अध्यक्षसम्म नियुक्त गर्दै एनआरएनलाई दलको भातृ संगठन बनाउन शर्माले चुनौती दिए। ‘अहिलेकै खालको हस्तक्षेप हो भने यो एनआरएनएलाई यहीँनिर बन्द गरिदिउँ ।’ महासचिव शर्माले भने, ‘विदेशमा जसरी पर्यटन राजदूतहरू नियुक्ति गर्नुहुन्छ त्यसरी नै एनसीसीका अध्यक्ष नियुक्त गरिदिनुस् । आईसीसी अध्यक्ष पनि नियुक्त गरिदिनुस् । त्यसपछि सबै कुराको खेल खत्तम हुन्छ ।’



from Online Khabar https://ift.tt/3AimVM2

No comments:

Post a Comment