३ मंसिर, काठमाडौं । नेपालले आगामी नयाँ जनवरीदेखि टनकपुर बाँधबाट महाकाली नदीको पानी पाउने भएको छ । नेपाल र भारतबीच महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले टनकपुर बाँधबाट पानी पाउने भएको हो ।
सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भारतले डिसेम्बरको अन्तिमदेखि टनकपुरबाट नेपालतर्फको भूभागमा पानी छाड्ने जानकारी दिएको छ । ‘पहिलोपटक टनकपुर ब्यारेजबाट हामीले पानी पाउँदैछौं,’ उनले भने, ‘यसले महाकाली सन्धि कार्यान्वयनमा एउटा इँटा थप्छ ।’
भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार भने तयार भइसकेको छैन । महाकाली सन्धिअनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीनसय क्युसेक तथा वषर्ायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ ।
नेपालले टनकपुर ब्यारेजबाट पाउने पानी उपयोगका लागि महाकाली सिँचाइ आयोजना तयार गरिरहेको छ । महाकाली सन्धिले टनकपुर बाँधको बायाँतर्फ हेड रेगुलेटर -पानी नियन्त्रक संयन्त्र) सहित नेपाल-भारत सीमासम्मको नहर भारतले नै निर्माण गर्नुपर्ने उल्लेख छ । सन्धिअनुसार टनकपुर ब्यारेजबाट भीमदत्त नगरपालिका-९ मटिनाको नेपाल-भारत सीमा १२ सय मिटर नहर बनाउनुपर्ने थियो ।
तर, लामो सयमको अन्तरविरोध समाधान गरेर भारतले गत डिसेम्बरदेखि मात्रै सन्धिअनुसार नहर बनाउन थालेको थियो । सीमासम्मको नहर आगामी डिसेम्बर अन्तिमसम्म तयार भएर पानी छोड्ने भारत सरकारले बताएको सिंचाइ विभागका उपमहानिर्देशक कृष्ण खनालले जानकारी दिए ।
नेपालले सन् २०१४ मा नै यो नहर तयार गर्ने गरी आफ्नो प्राविधिक प्रस्ताव पठाएको थियो । तर, भारतीय पक्षले प्राविधिक कारण देखाउँदै निर्माणमा आनाकानी गर्दै आएको थियो ।
पुस २०७७ मा तत्कालीन ऊर्जासचिव दिनेशकुमार घिमिरेको भारत भ्रमणमा सीमासम्म जोड्ने लिंक नहर भारतले तत्कालै निर्माण गर्ने सहमति भएको थियो । त्यसपछि मात्रै भारतले नहर निर्माणको काम तीव्र पारेको उपमहानिर्देशक खनालले बताए ।
आर्थिक वर्ष २०६३/६४ देखि नेपालले यही नहरबाट पानी ल्याएर सिंचाइ गर्ने गरी महाकाली सिंचाइ-तेस्रो आयोजनामा लगानी गरिरहेको छ । आयोजना अन्तरगत कञ्चनपुरको मटिनादेखि कैलालीको मालाखेतसम्म मूल नहर बनाइँदैछ । करिब ५५ किलोमिटरको मूल नहरमध्ये १२ किलोमिटर तयार भइसकेको खनालले जानकारी दिए । करिब २८ किलोमिटरसम्मको मूल खण्डमा निर्माणको काम चलिरहेको विभागले बताएको छ ।
यो आयोजना बनेपछि मूल रुपमा व्रह्मदेव र त्रिभुवननगर क्षेत्रमा बाह्रैमास सिंचाइ सुविधा पुग्नेछ । यो नहर बनेपछि कैलाली र कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने छ । यही नहरबाट आएको पानीलाई सिंचाइका लागि दोधारा चाँदनीसम्म पुर्याउने सरकारी योजना रहेको खनालले बताए ।
भारतले सन् १९२८ मा महाकालीको पानी उपयोग गर्न शारदा ब्यारेज बनाएको थियो । तर, नेपालले शारदा ब्यारेको पानी लिन सन् १९७५बाट मात्रै महाकाली पहिलो आयोजनामार्फत आफ्नो तर्फ पानी ल्याउन नहर खन्न थालेको थियो । पछि शारदा बाँधबाटै पानी ल्याउने गरी महाकाली दोस्रो आयोजना पनि बनाएर सिँचाइ सुविधा विस्तार गरिएको थियो । अहिले शारदा ब्यारेजबाट नेपालले पानी पाइरहेको छ । शारदा ब्यारेज कमजोर भएपछि वि.सं. २०४७ मा टनकपुरमा अर्को बाँध निर्माण गरिएको थियो । तर, टनकपुरबाट पानी दिन भने भारतले आनाकानी गरिरहेको थियो । अब टनकपुरबाट पनि नेपालले पानी पाउने तय भएको छ ।
भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार तयार भने नभइसकेको विभागका उपमहानिर्देशक खनाल बताउँछन् । ‘नहरहरु तयार हुने क्रममा रहेकाले अहिले नै सबै पानी उपयोग गर्न सक्ने अवस्थामा छैनौं,’ उपमहानिर्देशक खनाल भन्छन्, ‘करिब ३ हजार हेक्टरमा तत्कालै सिँचाइ सुविधा पुग्छ, शाखा नहरहरु विस्तार गरेर सकेसम्म अधिकतम् पानीको उपयोग गर्ने योजनामा छौं ।’
महाकाली तेस्रोको सन् २००१ मा विस्तृत सम्भाव्यता अध्ययन भएको थियो । ११ अर्ब १६ करोड रुपैयाँमा बन्ने अनुमान गरिएको आयोजनाको लागत अहिले ३५ अर्ब नाघ्ने देखिएको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ । गुरुयोजनाअनुसार समयमा काम नहुँदा अनुमानित लागत २१४ प्रतिशतले बढेको महालेखाको ठहर छ ।
from Online Khabar https://ift.tt/3HtjRS6
No comments:
Post a Comment