Monday, July 4, 2022

पार्टीको विवाद बिसाउन सरकारको दुरुपयोग

२१ असार, काठमाडौं । शहरी विकास मन्त्रालयका पदाधिकारीहरुका अनुसार रामकुमारी झाँक्री दीर्घकालीन सोचसहित शहरी विकासका नीतिगत अप्ठ्याराहरु फुकाउने तत्परतासहित काम गरिरहेकी थिइन् । तर उनको मन्त्रीपद अल्पकालमै सकियो, उनले बुनेका योजनाहरु मन्त्रालयमा असरल्लै छोडेर बाहिरिइन् ।

झाँक्रीसँगै मन्त्री भएका नेकपा एकीकृत समाजवादीका अरु तीन नेता पनि सरकारमा गरेको कामहरुका कारण होइन, पार्टीभित्रको भागबण्डा मिलाउन सरकारबाट बाहिरिए । आम चुनाव आउन ६ महिना पनि बाँकी नरहेको अहिलेको अवस्थामा समाजवादीको अर्काे टिम सरकारमा प्रवेश गर्‍यो । हठात पुराना मन्त्री बोलाएर नयाँ पठाउनुलाई नेकपा एकीकृत समाजवादीले पार्टीको आवश्यकता भनेको छ ।

नेकपा एकीकृत समाजवादीले महिना दिनअघि गरेको आवश्यकताको महसुस सत्ता साझेदार अर्काे दल जनता समाजवादी पार्टी (जसपा)ले सोमबार गर्‍यो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दश दिनको अवधिमा दुई पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीको निर्णय अनुसार, १० असारमा चार मन्त्री र एक राज्य मन्त्री हेरफेर गरेका प्रधानमन्त्री देउवाले सोमबार जसपाको सिफारिसको आधारमा तीन मन्त्री हेरफेर गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार, मृगेन्द्रकुमार सिंह कृषि तथा पशुपंक्षी र प्रदीप यादव वन मन्त्री बनेका छन् ।

जसपा विभाजन नजिक पुग्दा डा.बाबुराम भट्टराईतर्फ उभिएका महिन्द्र राय यादवलाई जसपाले फिर्ता बोलाएको छ । अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट मोहम्मद इस्तियाक राई र प्रदीप यादवलाई मन्त्री बनाएर पार्टीभित्र बलियो बन्ने प्रयत्न गरेका छन् । अध्यक्ष यादवले आफू निकट रेणु यादव र रामसहाय यादवलाई पनि फिर्ता बोलाए । यसअघि २४ चैतमा प्रधानमन्त्री देउवाले गोविन्द बन्दीलाई कानून मन्त्री नियुक्त गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्मा

जसपाले आफ्ना पार्टीका तर्फबाट सरकारमा गएका नेताहरुलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीहरु पठाउने निर्णय गर्नुको पछाडि फुटको संघारमा पुगेको पार्टीलाई बलियो बनाउने उद्देश्य जोडिएको छ । तर तुलनात्मक रुपमा राम्रो काम गरेका भनिएका र कम विवादित मन्त्रीहरु सत्ता साझेदार दलहरुले सरकारबाट फिर्ता बोलाउँदै गर्दा विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माबारे सरकार र उनको पार्टी माओवादी केन्द्र मौन छ । बाहिर जति चर्चा र विरोध भएता पनि मन्त्री बन्ने कुरामा उनको पार्टीभित्र विवाद छैन । अलिअलि देखिएका असन्तुष्टि पार्टी अध्यक्ष पुष्पकमल दााहाल प्रचण्डले नै व्यवस्थापन गर्न सक्ने खालका छन् ।

पार्टीको आन्तरिक समस्या बिसाउने चौतारोका रुपमा सरकारलाई प्रयोग गरेका नेकपा एकीकृत समाजवादी र जसपाले मन्त्री फिर्ता बोलाउँदा र नयाँ पठाउँदा उनीहरुले सरकारमा रहँदा जनताका समस्यालाई कति सम्बोधन गरे भनेर न मूल्यांकन गरे, न त नयाँ मन्त्रीहरुको योजना नै मागे । समाजवादीले बन्दै गरेको पार्टी विभाजित नहोस् भनेर सुरुमै मन्त्रीहरु हेरफेर गरेको प्रष्टीकरण दिइरहँदा जसपाले चाहिँ फुटको संघारमै पुगेको पार्टीलाई जोगाउन मन्त्रीहरु हेरफेर गरेको जनाएको छ । सोमबार जसपाका ३ मन्त्री फेर्ने निर्णय अध्यक्ष उपेन्द्र यादवले एकलौटी रुपमा गर्दा मन्त्री बनेका मोहम्मद इस्तियाक राई र प्रदीप यादव यसअघि डाक्टर बाबुराम भट्टराईको पक्षमा थिए ।

पार्टीमा बलियो उपस्थिति देखाउन शक्तिको दुरुपयोग गरेर सरकारमाथि समेत धावा बोलेका नेताहरुले शासकीय अस्थिरता नै निम्त्याउने गरी जथाभावी निर्णय गर्दा यो सरकार बन्नुको पृष्ठभूमि भने बिर्सिएका छन् । जबकी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहँदा उनले आफ्नो अपमान गरेको महसुस यादवले गरेका छन्, ओलीको नेतृत्वको पार्टीमा अपमानित भएको महसुस गरेरै नेपालले नयाँ पार्टी खोलेका हुन् ।

यति हुँदाहुँदै पनि पार्टीभित्र नेताहरुको स्वेच्छाचारी किन चलिरहेको छ, सरकार अस्थिर हुने गरी मन्त्रीमण्डल किन फेरबदल भइरहेको छ ? नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा यसलाई विशेष परिस्थिति भनेर बुझ्नुपर्ने बताउँछन् ।

जसपाको सिफारिसमा मन्त्री बनेकाहरु मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र कुमार सिंह (वायाँबाट क्रमशः) ।

‘पार्टीभित्रका कार्यकर्ताहरुको व्यवस्थापन गर्नु पार्टी नेतृत्वको प्रमुख तथा निर्धारित मध्ये एउटा दायित्व कार्यकर्ता व्यवस्थापनको कुरा पनि हो । कसैलाई मन्त्रीमात्रै ठूलो कुरा लाग्ला, सरकारको कुरा ठूलो लाग्ला । हामीलाई त पार्टीको कुरा ठूलो लाग्छ नि । त्यसैले गर्दा त्यो ब्यवस्थापन गरिएको पनि हो,’ खतिवडा भन्छन्, ‘बाहिरबाट पर्यवेक्षकले भन्ने कुरा एउटा हुन्छ । अर्को यसले सरकारको कामलाई कामको प्रभावकारितालाई प्रभाव पार्छ पार्दैन भन्ने प्रश्न छ केही न केही प्रभाव पार्छ तर अवषेशमा । मन्त्री हेरफेर हुनेबित्तिकै त्यही पार्टीका मन्त्रीहरु त्यही मन्त्रालयमा मात्रै प्रभाव पर्छ । व्यक्तिको हकमा समस्या पर्ला, निर्णय प्रक्रियामा समस्या पर्दैन भन्ने हामीलाई लाग्छ ।’

खतिवडाले यो जिकिर गरेता पनि मन्त्रालय बुझ्न र कामकारबाहीको लय पकड्न नेताहरु निकै समय लाग्छ । एक जनाले सुरु गरेको काम बुझ्न र त्यही अनुसार थप काम गर्न पहिलो त नेताहरुमा रुचि हुँदैन, दोस्रो रुचि भए पनि सहज हुँदैन । तर राजकीय सुविधाका निमित्त पार्टी बनाउने र भत्काउने पुरानै खेलोमेलो अझै पनि जारी रहेकाले जसपा र समाजवादी पार्टीमा त्यही प्रवृत्तिले निरन्तरता पाएको हो ।

जसपाका बरिष्ठ नेता अशोक राई आफूहरुको निर्णयले नकारात्मक सन्देश जाने भएता पनि कम अवसर आउने साना पार्टीका लागि मन्त्रीहरु फेरिरहनुपर्ने बाध्यता पनि भएको बताउँछन् । ‘साना पार्टीहरुको एउटा बाध्यताजस्तो पनि हुन्छ । साना पार्टीसँग कम अवसर हुन्छन् । कम अवसरलाई धेरै जनामा बाँड्नुपर्दाखेरिको व्यवहारिक समस्या पनि हुन्छ । तर पूर्वमन्त्रीजीहरुले गर्नुभएको कामलाई कतै बाधा अवरोध हुने भन्दा त्यसलाई निरन्तरता दिने नै कुरा हो,’ राईले भने, ‘त्यही भएर एउटा बाध्यताभित्र एउटा आवश्यकताभित्र काम गर्नुपर्ने अवस्था छ । अब यसको सन्देश कुनै किसिमले नकारात्मक गयो भने त्यसको जिम्मेवारी पनि हामीले बोक्नुपर्छ । हामीले जनतासँग क्षमा माग्नुपर्ने हुन्छ । पार्टी सञ्चालन गर्नका लागि कहिलेकाहीँ अप्रिय खालका कदम पनि उठाउनु पर्ने हुन्छ भन्ने यथार्थलाई हामीले जनतासमक्ष राख्नुपर्ने हुन्छ ।’



from Online Khabar https://ift.tt/j2bEpM7

No comments:

Post a Comment