Sunday, December 25, 2022

छिमेकी देशमा कोरोना फैलिंदा नेपालमा खोप कार्यक्रम नै रोकियो

९ पुस, काठमाडौं । छिमेकी देशहरुमा कोरोना महामारी तीव्र गतिमा विस्तार हुँदा नेपालमा भने खोप कार्यक्रम नै रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नयाँ भेरियन्ट बीएफ.७ नेपालमा पनि फैलिने जोखिम रहेकाले अनिवार्य रूपमा ‘बुस्टर’ डोज लगाउन आग्रह गरेको छ । तर, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा (केन्द्रीय स्टोर) मा १८ वर्ष माथि उमेर समूहका नागरिकका लागि बुस्टर डोज लगाउने खोप छैन ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुख बसन्त अधिकारी खोप नभएको बताए । ‘हामीले खोपको माग गरेका छौं । तर, व्यवस्थापन महाशाखाले उपलब्ध गराएको छैन,’ अधिकारीले भने, ‘सरकारले बुस्टर डोज लगाउन अपिल गरेपछि विभिन्न अस्पतालले खोपको माग गरेका छन् । तर, दिनसक्ने अवस्था छैन ।’

उनका अनुसार फाइजर, एष्ट्राजेनिका, जोन्सन एण्ड जोन्सन, कोभिसिल्ड खोपको अत्यधिक माग छ । ‘केही मात्रामा भेरोसेल खोप मात्रै छ । तर, बुस्टरको लागि अन्य खोपको बढ्दो माग छ’, अधिकारी भन्छन्, ‘सरकारले बुस्टर दिन आग्रह गर्यो । तर, खोप नहुँदा काठमाडौंका खोप केन्द्र अहिले बन्द अवस्थामा छन् ।’

केही दिनदेखि खोप उपलब्ध नहुँदा कार्यक्रम नै रोकिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । ‘चीनमा संक्रमण बढेसँगै खोप लगाउन आउनेको संख्या पनि बढेको छ । खोपको माग गरेका छौं । केही दिनमा उपलब्ध होला कि !,’ उनले आशा व्यक्त गरे ।

सरकारसँग केन्द्रीय भण्डारण केन्ऽ, प्रदेश, जिल्ला स्थानीय खोप केन्ऽसम्म ४७ लाख ६८ हजार खोप भण्डारणमा रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको तथ्यांक छ । जसमध्ये ४० लाख सिनोफार्म, २ लाख ८० हजार भेरोसेल, फाइजर ४ लाख ८० हजार -बालबालिका लागि) छ ।

‘बालबालिका लागि बुस्टर डोज केही मात्रामा छ । तर, युवालाई लगाउने बुस्टर डोज अहिले भण्डारणमा छैन । भएका खोप जति प्रदेश तथा जिल्लामा पठाइसकेका छौं’, आपूर्ति शाखाका प्रमुख डा.सुरेन्ऽ चौरसिया भन्छन् ।सरकारसँग सबभन्दा धेरै मौज्दात भएको सिनोफार्म खोप प्रयोग गर्न नसक्ने अवस्थामा छ ।

नेपालमा खोप लगाउने योग्य सबैजसो नागरिकले पहिलो डोज लगाइसकेका छन् । पहिलो-दोस्रो डोज सिनोफार्मकै खोप लगाएकाहरुलाई बुस्टर डोजको रुपमा प्रयोग गर्न सकिने विभागका अधिकारी बताउँछन् । सिनोफार्म प्रयोगमा नआएका कारण बुस्टर डोजका रूपमा प्रयोग गर्न नसकिएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल बताउँछन् ।

उनका अनुसार चिनियाँ खोपको अवधि अझै एक वर्ष भन्दा बढी छ । ‘विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिले पनि सिनोफार्म बुस्टरका लगाउनका लागि अनुमति दिएको छैन । खोपको अवधि भएपनि लगाउनका लागि केही प्राविधिक कठिनाइका कारण प्रयोगमा ल्याउन सकिएन’, डा. लाल भन्छन् ।

सरकारले कोभ्याक्स सुविधाअन्तर्गत ९० लाख डोज खोप सुनिश्चित भएको थियो । त्यसमध्ये नेपालले ३० लाख प्राप्त गरिसकेको छ । किन सरकारले सुनिश्चित भएको खोप ल्याउन नसकेको भन्ने प्रश्नमा डा. लाल भन्छन्, ‘थप ६० लाख डोज असोजसम्मको लागि म्याद भएको खोप दिने घोषणा गरेको थियो । तर, बुस्टरका लागि हामीलाई लामो अवधिको चाहिने भएकाले लिएनौं ।’

अब खोप कहिले आउँछ भन्ने ठोस जवाफ नभएको डा. लालको भनाइ छ ।

‘ओमिक्रोनमा बढी प्रभावकारी मानिएको खोप ल्याउने तयारी’

सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) समेत काम गर्ने गरी फाइजरको नयाँ खोप (बाइभलेन्ट) ल्याउने प्रक्रिया अघि बढाएको छ ।

अहिले कोभ्याक्सको काम गरिरहेको गाभी मार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको डा. लालले जानकारी दिए । विश्व स्वास्थ्य संगठनले समेत सिफारिस गरेको यो खोप ल्याउन तथा प्रयोग गर्नका लागि परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसँग अनुमति मागेको छ ।

महाशाखाका निर्देशक डा. लालले विभागबाट आकस्मिक प्रयोगका लागि अनुमति पाउनासाथ कोभ्याक्समा पठाउने र त्यसलगत्तै १५ लाख डोज खोप आउने बताए । तर, त्यसका लागि विभागले औषधि सल्लाहकार समितिको बैठकबाट निर्णय गरेपछि खोप ल्याउने प्रक्रिया अगाडि बढ्छ ।

‘पहिले अध्यादेशमार्फत आकस्मिक प्रयोगका लागि खोपको अनुमति दिइन्थ्यो । अहिले त्यो नभएकोले औषधि ऐन अनुसार औषधि सल्लाहकार समितिबाट अनुमति लिएर मात्रै खोप ल्याउने प्रक्रिया अगाडि बढाउन सकिन्छ’, डा. लालले भने,’हामीले बाइभलेन्ट खोपका लागि अनुमति पत्र मगाएका छौं ।’

कोभ्याक्सले नेपाललाई आवश्यक पर्ने थप खोप अनुदानको रुपमा उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए ।

एन्टीबडी घट्दै, संक्रमणको जोखिम बढ्दै

खोपको पूर्ण मात्रा पूरा गरिसकेका व्यक्तिमा ६ महिनाभन्दा बढी समय बित्दै जाँदा खोपको रोग प्रतिरोधात्मक क्षमतामा पनि क्रमशः ह्रास हुँदै जान्छ ।

नेपालमा पनि तेस्रो डोज लगाएका एक बर्षभन्दा बढी भइसकेकाले पुनः खोप दिनुपर्ने आवश्यकता भएको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

उसो त, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जेष्ठ नागरिक, दीर्घरोगी र जोखिममा भएका व्यक्तिलाई चौथो डोज दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले १७ कात्तिकमै दोस्रो बुस्टर डोज दिने मन्त्रीस्तरीय निर्णय गरेको थियो । त्यसअनुसार परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरुलाई परिपत्र गरेको छ ।

तर, दोस्रो बुस्टर लगाउने निर्णय गरेको सरकारसँग नागरिकलाई दिने खोप छैन । जनस्वास्थ्यविद्हरु अहिले एक मात्रा पनि बुस्टर डोज नपाएका र तेस्रो डोज लगाएका तर, बढी जोखिममा भएका नागरिकलाई तत्काल नै खोप दिनुपर्ने बताउँछन् ।

स्वास्थ्य अनुसन्धान परिषद्ले २२ असोज २०७८ मा नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाएका तथा नलगाएका व्यक्तिमा एन्टिबडीको अध्ययन गरेको थियो । सो अध्ययनले दुवै मात्रा खोप लगाएका ८२ प्रतिशत र एक मात्रा लगाएका ५५ प्रतिशत व्यक्तिमा एन्टिबडी रहेको देखाएको थियो । खोप लगाइसकेको व्यक्तिमा ६ महिनापछि एन्टिबडी क्रमशः घट्दै गएको निष्कर्ष निकालेको थियो ।

‘खोपको ६ देखि एन्टिबडी क्रमशः घट्न थाल्छ । त्यही बीचमा नयाँ भेरियन्ट पनि आएको छ,’ संक्रामक रोग विशेषज्ञ डा. अधिकारी भन्छन्, ‘एन्टिबडी घट्नु र नयाँ भेरियन्ट पनि फैलिँदा पुनः संक्रमण हुने जोखिम उच्च हुन्छ ।’

डा. अधिकारीका अनुसार पुरानो लगाएका खोप प्रभाशवकारी नहुँदा नयाँ-नयाँ फैलिएको छ । ‘डेल्टा भन्दा चाँडो ओमिक्रोन फैलियो । अहिले ओमिक्रोनका सबभेरियन्ट बढी संक्रामक देखिएको छन् । त्यसकारण पनि बढी प्रभावकारी मानिएको खोप ल्याउन सरकारले पहल गर्नुपर्छ,’ संक्रामक रोग विशेषज्ञ डा. अधिकारी थप्छन् ।

सरकारले ‘बुस्टर डोज’ खोप ल्याउँदा ओमिक्रोन भेरियन्टमा प्रभावकारी देखिएकोे भ्याक्सिन छान्नुपर्ने उनको भनाइ छ । ‘बुस्टर डोज दिने भनेर भेरोसेल भ्याक्सिन छानियो भने त्यो प्रभावकारी हुन्न, त्यसैले फैलिरहेको ओमिक्रोन लागि भनेर बनाइएको फाइजरको (बाइभलेन्ट) ‘बुस्टर डोज’ का प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ,’ उनी भन्छन् ।

पुरानो भेरियन्ट हराएर नयाँ भेरियन्ट धेरै देखिनु भनेको सामान्यतया भाइरस धेरै संक्रामक र पुरानो एन्टीबडीले काम नगर्ने अवस्थामा पुगेको संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन् । ओमिक्रोनका सबभेरियन्टले पुनः संक्रमण गराउने सम्भावना रहेको उनको भनाइ छ ।

‘अहिले प्रयोगमा भएका खोपलाई बीएफ.७ मा रोग प्रतिरोधात्मक क्षमतालाई छल्ने क्षमता पनि देखिएको छ । केही अध्ययनले बीएफ.७ को प्रजनन दर -आर) पनि उच्च देखाएको छ, अर्थात यसको संक्रमण धेरै उच्च हुने अनुमान गर्न सकिन्छ’, डा. सुवेदी भन्छन् ।

उनका अनुसार, खोप लगाएको मानिस पनि उच्च जोखिम समूहमा छ भने त्यस्ता मानिसलाई ‘बुस्टर डोज’ दिनुपर्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६९ लाख ७२ हजार ७९१ जनाले मात्रै कोरोना भाइरसको बुस्टर डोज अर्थात तेस्रो मात्रा लगाएका छन् । तर, उक्त खोप लगाएको पनि एक बर्ष नाघिसकेको छ ।

‘केही मानिसले बुस्टर डोज खोप लगाएको एक बर्षभन्दा बढी भइसकेको छ । अधिकांशले लगाएका छैइनन् । महामारी नियन्त्रणका लागि बुस्टर खोप लगाएका भन्दा नलगाएका मानिसलाई खोप दिनु प्रभावकारी हुन्छ,’ उनी भन्छन् ।

लामो समयसम्म राज्यले पर्याप्त खोप उपलब्ध गराउन सक्दैन भने जोखिम समूहमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक र फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ दिनुपर्ने उनको भनाइ छ । ‘यसभन्दा अगाडिका भेरियन्टमा पनि  फ्न्टरइनर जोखिममै थिए, किनकि पहिले लगाएको खोपको एन्टिबडी घट्दै गएको थियो । फ्रन्टलाइनरको मनोबल बढाउन पनि ‘बुस्टर डोज’ दिनु आवश्यक छ’, उनी थप्छन् ।

भविष्यमा बन्दाबन्दी गर्ने अवस्था आउन नदिने हो भने अहिले मुख्यगरी हवाइ नाकाबाट आउनेका लागि क्वारेन्टिन, परीक्षण र आइसोलसशनको काम गर्न अब ढिलो गर्नु नहुने उनको भनाइ छ ।



from Online Khabar https://ift.tt/r1cMyKG

No comments:

Post a Comment