Thursday, December 22, 2022

धोबिखोला करिडोर धमाधम पिच

८ पुस, काठमाडौं । धोबिखोला करिडोरमा धमाधम पिच गरिएको छ । खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउने, पिच नभएका ठाउँमा पिच गर्ने र पिच भएको स्थानमा पनि पुनः कालोपत्रे गर्ने कामलाई अहिले तीव्रता दिइएको छ ।

उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले शहरी विकास मन्त्री मेटमणि चौधरीको निर्देशनमा करिडोरका अवरोध हटाउने र अधुरा काम पूरा गर्ने सिलसिलामा अहिले धमाधम पिच भइरहेको जानकारी दिइन् । यसअघि मन्त्री चौधरीले स्थलगत अनुगमन गरी करिडोरमा बाँकी काम पूरा गरेर पिच गर्न, खोला किनार सौन्दर्यीकरणको काम गर्न र अतिक्रमित स्थान खाली गराउन निर्देशन दिएका थिए ।

उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त जगदिश लामिछानेले बिजुलीबजारको आर्क ब्रिजदेखि १.५ किलोमिटर बाटोमा ओभर लेयिङ् (कालोपत्रे भइसकेको सडकमा पुनः कालोपत्रे थप्ने), रोड मार्क गर्ने, रेलिङ्मा रङ लगाउने, नदी किनारका बिरुवा संरक्षण गर्ने, अवरोधहरु हटाउने र अधुरा कामहरुलाई पूरा गर्ने गरी काम भइरहेको बताए ।

दिउँसोको समयमा सडकमा पिच गरिदिंदा यात्रुहरु लामो समयसम्म जाममा बस्नुपर्ने समस्याबाट पीडित छन् । बिहीबार दिउँसो पनि बिजुलीबजारको आर्क ब्रिजदेखि मदन भण्डारी कलेजसम्मको खण्डमा लामो समय सवारी जाम भएको थियो ।



from Online Khabar https://ift.tt/RbfEsFJ

No comments:

Post a Comment