Wednesday, February 15, 2023

एआईमा किन उपयुक्त हुनसक्छ संस्कृत ?

विगत केही वर्षदेखि नेपाली तथा भारतीय मिडियामा एउटा समाचार व्यापक बन्यो– अमेरिकाको नासाले संस्कृत भाषामा आधारित कम्प्युटर बनाएको बारे । वास्तवमा नासाले संस्कृतमा कम्प्युटर बनाएको विषय मैले बुझे अनुसार साँचो होइन र धेरैले यसको खण्डन पनि गरेका छन् । नासाको कुनै पनि पब्लिक डोमेनमा यसको पुष्टि छैन ।

मैले नासासँग यसको बारेमा सोधेको थिएँ, तर उनीहरूले उत्तर दिएनन् । मेरो विचारमा उनीहरूलाई दिनका दिन हजारौं प्रश्न आउँछन् र यस्ता प्रश्नको उत्तर दिन उनीहरूले उचित ठानेनन् वा समय भएन ।

नासामै वैज्ञानिकको रूपमा काम गरेका र हाल एक विश्वविद्यालयमा प्राध्यापक रहेका मेरा अग्रज प्रा.डा. नवीन मालाकारले पनि आफू यसबारेमा जानकार नभएको र यो सत्य हुनसक्ने सम्भावना अत्यन्तै कम रहेको बताए । उनी अहिले पनि अन्तरिक्ष विज्ञानमा अनुसन्धानरत छन् ।

बरु सत्य चाहिं के हो, संस्कृत कसरी आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) मा प्रयोग हुन सक्छ र यो कसरी संसारकै सर्वश्रेष्ठ भाषाहरूमा पर्छ भन्नेबारे चर्चा गर्नेछु ।

विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिले म स्पष्ट पार्न चाहन्छु कि यो गुगल गरेकै भरमा तयार पारेको सामग्री होइन । म नासाको प्रवक्ता त होइन, तर अमेरिकाबाटै भौतिक विज्ञानमा विद्यावारिधि सकेर यहीं एक राम्रै संस्थामा कार्यरत वैज्ञानिक हुँ । कमसेकम अहिले विज्ञानको क्षेत्रमा कहाँ के कुराको विकास भइराखेको छ भन्ने कुराको सामान्य हेक्का छ ।

व्यक्तिगत रूपमा पनि म विज्ञान र दर्शनमा गहिरो रुचि राख्छु र अद्यावधिक भइरहन रुचाउँछु । विगत तीन वर्षदेखि म एआई र मेसिन लर्निङमा काम गरिरहेकोले कम्प्युटर र एआई बारेमा राम्रै ज्ञान छ । यसका साथै पछिल्लो एक वर्षदेखि वेदान्त एकेडेमी, न्युयोर्कबाट वेदान्त दर्शन र श्रीराम कृष्ण मिसन क्यालिफोर्नियामा संस्कृत भाषा अध्ययनरत छु । मलाई लाग्छ यी सबै विषयलाई एकै ठाउँमा राखेर कुन सही कुन गलत छुट्याउन सक्छु ।

हामीलाई संस्कृत श्रीराम कृष्ण मिसन अन्तर्गत सित्तैंमा पढाइदिने गुरुमा सुक्रिता क्यालिफोर्नियाकै चर्चित हस्पिटल काइजरमा वरिष्ठ मेडिकल चिकित्सक हुनुहुन्छ । उहाँको संस्कृतको विद्वत्ताबाट म सारै प्रभावित छु । व्यस्त दिनचर्याका बावजुद पनि उहाँले हामीलाई हरेक हप्ता दुई घण्टा समय दिएर झर्को नमानी संस्कृत सिकाउनुहुन्छ ।

यहाँ मैले आफ्नो परिचय र पृष्ठभूमि आफूलाई ठूलो देखाउन होइन कि के लेख्दैछु भन्ने मलाई राम्रोसँग थाहा छ भनेर पाठकलाई विश्वास दिलाउन राखेको हुँ ।

अमेरिकामा दिनभरि लेखेर बस्ने फुर्सद निकाल्न मुश्किलै हुन्छ । बेलुका परिवार सुतिसकेपछि वा बिहान सबेरै उनीहरू नउठ्दै र कहिलेकाहीं बिदाको दिन पारेर लेख्ने गर्छु । ताकि फरक विषयवस्तु पढ्न इच्छुक नेपाली विद्वान् मित्रहरूलाई केही भए पनि काम लागोस् ।

कम्प्युटरलाई सिमान्टिक भाषा बुझ्न गाह्रो पर्छ भने सिन्टेटिक भाषा सजिलै बुझ्छ । प्रोग्रामिङ्ग गर्दा लेख्ने वाक्यलाई सिनट्याक्स भनिन्छ । यसरी संस्कृत सिन्टेटिक भाषा भएकोले यो एआई खासगरी नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी) मा उपयुक्त देखिन्छ ।

सन् २०१९ मा टाइम्स अफ इण्डियाले भाजपा नेता रमेश पोख्रिएललाई उद्धृत गर्दै लेख्यो— ‘नासाले संस्कृत भाषा प्रोग्रामिङको लागि राम्रो हो भनेको छ ।’ मानव संशाधन विकासमन्त्री समेत रहेका भाजपा नेताले आईआईटी बम्बैका विद्यार्थीको दीक्षान्त समारोहमा उक्त कुरा भनेका थिए । त्यस पछाडि त के चाहियो र, भारतीय मिडियाहरूलाई तिललाई पहाड बनाइहाले । त्यसको सिको गर्दै सबैले त्यही समाचार पछ्याए ।

खासमा सही कुरा के हुनसक्छ भने ती भाजपाका नेतालाई कसैले सन् १९८५ मा नासामा कार्यरत वैज्ञानिक रिक ब्रिग्सले आर्टिफिसियल इन्टेलिजेन्स जर्नलमा प्रकाशित लेख बारेमा भनेको हुनुपर्छ । तर, नेता जहाँका पनि नेतै हुन्, सुन्छन् एकथोक, बुझ्छन् अर्को थोक, अनि भन्छन् सबैथोक । समस्या भएको यहीं हो ।

सन् १९८५ मा एआई अहिलेको जस्तो विकास भएको थिएन र विभिन्न चिन्तन हुने गर्थे । यसै क्रममा रिक ब्रिग्सले एक जर्नलमा ‘नलेज रिप्रिजेन्टेसन इन संस्कृत एण्ड आर्टिफिसिएल इन्टेलिजेन्स’ शीर्षकको आलेख सार्वजनिक गरे, जुन अहिले पनि अनलाइनमा पढ्न सकिन्छ ।

उनको भनाइसँग म पनि शतप्रतिशत सहमत छु । अरू भाषाभन्दा संस्कृत ज्यादै नियमबद्ध छ र यसबाट धेरै कुराहरूलाई छोटकरीमा भन्न सकिन्छ । क्वान्टम कम्प्युटर बाहेक हामीले प्रयोग गर्ने कम्प्युटर खासगरी बाइनरी (शून्य वा एक) प्रणालीमा आधारित हुन्छ र यसले लोजिकमा काम गर्छ । जस्तो, कम्प्युटरको एक भाषा जस्तो ‘if A> B and B>C then print A>C, else print False’ भन्नु र संस्कृतमा ‘यदि क>ख, ख>ग छ भने क>ग प्रिन्ट गर’ भन्नमा कम्प्युटरलाई कुनै फरक पर्दैन । यसैले कसैले संस्कृत अपरेटिङ्ग सिस्टम भएको कम्प्युटर बनाउँदैमा केही फाइदा हुन्छ भन्ने मलाई लाग्दैन ।

संस्कृत कसरी एआईमा प्रयोग हुनसक्छ ?
रिक ब्रिग्सले उक्त लेखमा एआईमा संस्कृत भाषा प्रयोगको संभावना औंल्याएका मात्र हुन् । रिकले संस्कृतका फाइदा पनि उठान गरेका छन् । जस्तै; यसको समृद्ध र औपचारिक व्याकरण, जटिल विचार र अमूर्त अवधारणाहरू प्रतिनिधित्व गर्ने क्षमता छ, जसको एआईमा प्रयोग उपयुक्त हुन्छ ।

सन् १९८० को दशकमा एआईको त्यति राम्रो विकास भइसकेको थिएन, तर अहिले यसको धेरै विकास भइसकेको छ । रिकले के भन्न खोजेका हुन् भने संसारका धेरै जस्तो भाषा सिमान्टिक (अर्थमा भर पर्ने) छन् र सिन्टेटिक (व्याकरण वा नियममा भर पर्ने) छैनन् ।

संस्कृत मात्र यस्तो एउटा भाषा हो जुन अत्यधिक रूपमा सिन्टेटिक छ । अंग्रेजी धेरैजसो आगन्तुक शब्दमा निर्भर छ, खासगरी ग्रीक र ल्याटिन । त्यसैले यसका अर्थ एउटै हुँदैनन् । यसलाई गुणले भन्दा अंग्रेजको शक्तिका कारण जबर्जस्ती विश्वभाषा बनाइएको हो ।

कम्प्युटरलाई सिमान्टिक भाषा बुझ्न गाह्रो पर्छ भने सिन्टेटिक भाषा सजिलै बुझ्छ । प्रोग्रामिङ्ग गर्दा लेख्ने वाक्यलाई सिनट्याक्स भनिन्छ । यसरी संस्कृत सिन्टेटिक भाषा भएकोले यो एआई खासगरी नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ (एनएलपी) मा उपयुक्त देखिन्छ । यसका लागि तलको उदाहरण हेरौं ।

जस्तै, ‘केटाहरू स्कुल जान्छन्’ भन्नुपर्‍यो भने अंग्रेजीमा ‘ब्वाइज गो टु स्कुल’ हुन्छ । यो अंग्रेजी वाक्यमा दुई जना केटा हो कि दुईभन्दा धेरै केटा भन्ने छुट्याउन सकिंदैन ।कर्ता नहुने हो भने अंग्रेजीमा प्रथम र द्वितिय (मध्यम) पुरुष पनि छुट्टिन्न । जस्तो, ‘ब्वाइज आर गोइङ टु स्कुल’ र ‘दे आर गोइङ टु स्कुल’ मा क्रिया ‘गोइङ’ एकै हुन्छ । तर, संस्कृतमा प्रथम पुरुष, मध्यम पुरुष र उत्तम पुरुष अनुसार क्रिया गम (अंग्रजीको गो) धातुरुप गच्छति/गच्छसि/गच्छामि हुन्छ। यो नियम द्विवचन र बहुवचनमा पनि लागु हुन्छ। यसले गर्दा संस्कृतको वाक्य पढ्दा झुक्किने ठाउँ नै हुँदैन।

यदि कर्ता नहुने हो भने वाक्यका अरू पद हेरेर कुरा बुझ्न सकिंदैन । तर संस्कृतमा भने कर्ता अनुसार क्रिया पनि फरक हुन्छ जस्तो माथिको वाक्यमा यदि ‘बालकाः विद्यालयम् गच्छतः’ अर्थात् ‘धेरै केटा स्कुल जान्छन्’ हुन्छ भने केटीहरूको हकमा ‘बालिकाः विद्यालयम् गच्छन्तिः’ हुन्छ । यसमा ‘गच्छतः’ र ‘गच्छन्तिः’ फरक छ जसले कर्ता थाहा नभए पनि क्रिया कसबाट भएको छ भन्ने बुझिन्छ ।

अंग्रेजीमा कर्ता र क्रियाको स्थान परिवर्तन गर्दा अर्थको अनर्थ हुन्छ जस्तो ‘हि इट्स फ्रुट्स’लाई ‘फ्रुट्स इट्स हि’ बनायो भने केही अर्थ लाग्दैन तर संस्कृतमा ‘सः फलम् खादति’ वा ‘फलम् खादति सः’ र ‘फलम् सः खादति’ को पनि उही अर्थ हुन्छ । संस्कृतको यो गुण अहिलेको एआई अन्तर्गत एनएलपीको लागि  अत्यन्तै उपयोगी देखिन्छ । मेसिन लर्निङ अन्तर्गत अझै पनि कुनै अनुच्छेदबाट अर्थ निकाल्दा ‘टोकनाइजेसन र भेक्टराइजेसन’ (वाक्यलाई ससाना भागमा बाँढ्ने काम) गरिन्छ जसले वाक्यको अर्थ निकाल्न सकियोस् । यदि संस्कृत भाषाको प्रयोग हुन्थ्यो भने यो झन्झट पर्ने थिएन वा कम झन्झट हुनेथियो ।

अर्को कुरा यदि अंग्रेजी वाक्य ‘Jessie is parant of Ollie’ मा जेसी ओलीको बाउ हो कि आमा कम्प्युटरले छुट्याउन सक्दैन । त्यसैले अहिले प्रोफेसनल साइट लिंकिडमा नामको पछि (He/Him / She/Her) लेख्ने चलन छ । तर संस्कृतमा यो झन्झट छैन ।

संस्कृत वास्तवमै एक समावेशी भाषा हो । यसमा शब्दहरूको लिङ्ग ‘भौतिक लिङ्ग’का आधारमा छुट्याइँदैन । बोल्दा वा सुन्दा कस्तो ध्वनि निस्कन्छ, त्यसको आधारमा हुन्छ । स्त्रीलिंग र पुलिंगको छुट्टाछुट्टै नियम छ ।

संस्कृत एक रचनात्मक भाषा हो । यसमा कर्तामा सात विभक्ति (कर्ता, कर्म, करण, सम्प्रदान, अपदान, सम्बन्ध, अधिकरण र सम्बोधन) ले एक शब्दको अनेक अर्थ बुझ्न सकिन्छ । जस्तो देवः (कर्ता–देव) देवं (कर्म–देवता) देवेन (करण–देवताद्वारा), देवाय (सम्प्रदान–देवतालाई) देवात् (अपदान–देवताबाट), देवस्य (सम्बन्ध–देवताको), देवे (अधिकरण–देवतामा) र हे देव ! (सम्बोधन–बोलाउने) जस्ता शब्द हुन्छन् जसको सेन्टेटिक अर्थ हुन्छ ।

यसरी यी विभक्तिहरू स्त्रीलिंग, पुलिंग र नपुंसकलिङ्ग र त्यसमाथि पनि अकारान्त, इकारान्त के हो, त्यसअनुसार फरक–फरक रूप हुन्छ । यसले गर्दा वाक्यको अर्थ बुझ्न कम्प्युटरलाई सजिलो पर्छ ।

अब उनै वैज्ञानिक रिक ब्रिग्सले दिएको एक उदाहरण हेरौं । लेखमा उनले धेरै यस्ता उदाहरण दिएका छन्, त्योमध्ये मलाई मन परेको ‘Out of friendship, Maitreya cooks rice for Devadatta in a pot, over the fire’  हो । यो वाक्य कम्प्युटरलाई बुझ्न अत्यधिक गाह्रो हुन्छ । शब्द–शब्द छुट्याएर पढ्दा अर्कै अर्थ लाग्छ । यसलाई कन्टेक्स्टमा बुझ्नुपर्छ ।

अहिलेको एआईले सहायक क्रिया जस्तै (of, for, over) लाई छुट्याए अर्थ निकाल्छ किनकि यी शब्दको वाक्यपिच्छे अर्थ फरक हुन्छ । तर संस्कृतमा यो वाक्य ‘मैत्रेयः सर्योदयात् देवदत्तायः ओदेनम् घटे अग्निन पचति ।’ माथिको कठिन अंग्रेजी वाक्यलाई सहज तरिकाले कुनै एक्जुलरी क्रिया प्रयोग नगरी भन्न सक्छ ।

जस्तो देवदत्तमा चतुर्थी विभक्ति लगाउँदा देवदत्तायः हुन्छ अर्थात् देवदत्तलाई भन्ने बुझिन्छ । त्यस्तै अग्नि इकारान्त पुलिंग शब्द हो । यसैले यसमा एकवचन तृतीय विभक्ति (करण) लगाउँदा अग्निन बन्छ जसको अर्थ अग्निद्वारा भन्ने बुझिन्छ । यसरी उनले उदाहरण दिंदै भनेका छन्– ‘यस्तो वाक्य बुझ्न एआईका लागि निकै अनुकूल हुनसक्छ ।’

अर्को कुरा तपाईंले कुनै अंग्रेजी भाषाविज्ञलाई टेबललाई किन टेबल र कुर्सीलाई किन कुर्सी भनेको भनेर सोध्नुभयो भने उल्टो झापड पाउन सकिन्छ तर यसको उत्तर पाउन सकिंदैन । तर संस्कृतमा तपाईंले प्रत्येक संस्कृत शब्दलाई अर्थ सोध्न सक्नुहुन्छ । यसको अर्थ हुन्छ ।

उदाहरण, अग्निलाई अग्नि भनिन्छ । अब कसैले सोध्न सक्छ कि अग्निले के बुझाउँछ ? यसले वास्तवमा आगोको गुणहरूमध्ये एकलाई जनाउँछ । संस्कृतमा आग भनेको माथि जानु हो त्यसैले यदि तपाईंले आगो हेर्नुभयो भने यो सधैं माथि उठ्छ । यसरी संस्कृतमा हरेक शब्दको स्वतन्त्र अर्थ हुन्छ । यसले गर्दा यो कम्प्युटरलाई बुझ्न सजिलो पर्छ ।

संस्कृतमा मेटाभाषा छ जुन एक प्रोग्रामिङ भाषाका लागि चाहिने गुण हो ।

अंग्रेजीमा कर्ता र क्रियाको स्थान परिवर्तन गर्दा अर्थको अनर्थ हुन्छ जस्तो ‘हि इट्स फ्रुट्स’लाई ‘फ्रुट्स इट्स हि’ बनायो भने केही अर्थ लाग्दैन तर संस्कृतमा ‘सः फलम् खादति’ वा ‘फलम् खादति सः’ र ‘फलम् सः खादति’ को पनि उही अर्थ हुन्छ । संस्कृतको यो गुण अहिलेको एआई अन्तर्गत एनएलपीको लागि  अत्यन्तै उपयोगी देखिन्छ ।

 

संस्कृत भाषाका पिता पाणिनि हुन् । उनी सिन्धु नदीको वरिपरि अहिलेको पाकिस्तानको सल्तुला नजिक जन्मेको इतिहासकार बताउँछन् । उनको जन्मबारे किटान गरेर भन्न नसके पनि ईसापूर्व ७ देखि १०औं शताब्दीतिर जन्मेको मानिन्छ ।

पाणिनिले संस्कृत भाषाको तत्कालीन चलनचल्तीको रूपलाई बोलिने भाषामा परिष्कृत गर्न योगदान दिए । यही उद्देश्यले भाषाका विभिन्न घटक जस्तै ध्वन्यात्मक विभाजन- नाम (संज्ञा, सर्वनाम, विशेषण), पद, विशेषण, क्रिया, उपसर्ग, अनन्त, वाक्य, लिङ्ग आदि र तिनीहरूको अन्तरसम्बन्धलाई नियमबद्ध गरी अष्टाध्यायी भन्ने किताबै लेखे । अष्टाध्यायी संस्कृत भाषाको मुख्य किताब हो ।

आठ अध्यायमा विभाजन भएकोले यसको नाम नै अष्टाध्यायी भएको हो । यो किताबमा लगभग ४००० (३९५९–३९९६) श्लोक छन् र हरेक श्लोकले एक नियम बताउँछ । यसको अर्थ संस्कृतमा ४००० नियम छन् । पौराणिक कथा अनुसार, पाणिनिले हाल पाकिस्तानको लाहोर नजिकबाट नेपालको अर्घाखाँची जिल्लामा आएर तपस्या गरी ‘अष्टाध्याय’ लेखे, उनले तपस्या गरेको ठाउँमा अहिले पनि एक मन्दिर छ जसलाई पाणिनि तपोभूमि भनिन्छ । उक्त ठाउँको नाम नै पणेना रहेको छ जहाँ अहिले पनि हरेक वर्ष मेला लाग्ने गर्दछ ।

पाणिनिले अष्टाध्यायीको सुरुवात महेश्वर सूत्रबाट गरेका छन्, जुन अहिलेको आधुनिक कम्प्युटरको प्रोग्रामिङ ल्याङ्ग्वेज जस्तै जाभा, पाइथन, सी र सी प्लसको मेटाल्याङ्ग्वेजसँग ठ्याक्कै मेल खान्छ । मेटाभाषा भनेको थोरै शब्द प्रयोग गरेर धेरै शब्दको निर्माण गर्ने हो । जस्तै, अहिले एआईमा सबैभन्दा धेरै प्रयोग हुने प्रोग्रामिङ ल्याङ्ग्वेज भनेको पाइथन हो ।

यसको मेटाल्याङ्ग्वेजमा जम्मा ३३ वटा शब्द छन् । यिनै ३३ वटा शब्दबाट अहिले संसारभरि तहल्का पिटेको एआईको निर्माण गर्न सकिन्छ । यसअन्तर्गत लिस्ट, डिक्सनरी जस्ता शब्द पर्छन् । लिस्ट र डिक्सनरी बनाउने छुट्टै नियम छ । त्यस्तै पाणिनिको अष्टाध्यायीमा १४ वटा सूत्र छन् जसलाई महेश्वर सूत्र भनिन्छ र यिनै १४ महेश्वर सूत्रबाट संस्कृतका सबै शब्द र वाक्य बन्दछन् ।

१४ महेश्वर सूत्र हुन् : १. अइउण् २. ऋलृक् ३. एओङ् ४. ऐऔच् ५. हयवरट् ६. लण् ७. ञमङणनम् ८. झभञ् ९. घढधष् १०. जबगडदश् ११. खफछठथचटतव् १२. कपय् १३. शषसर् १४. हल् ।

पाणिनिको व्याकरण हामीले जानेको बाह्रखरीको क्रमानुसार भन्दा फरक तरिकाको छ । सबैभन्दा पहिला स्वर १–४ जस्तालाई अजन्त भनिन्छ भने ५–१४ व्यञ्जना । यसमा पनि जस्तै सरल स्वरहरू पहिले दिइन्छ जुन घाँटीको सबैभन्दा तलबाट उत्पन्न हुन्छ । जस्तै ‘अ’; त्यसपछि एउटै अक्षरमा दुई स्वरहरूको संयोजन; त्यसपछि अर्ध स्वरहरू; अन्तिममा ओंठ बाट उत्पन हुने जस्तै ‘औ’ छन् ।

व्यञ्जनहरू उचित– जहाँ अल्प–प्राण र महा–प्राणलाई अलग राखिन्छ र त्यसपछि सम्वर, नाद र घोष दिइन्छ, त्यसपछि विवर, शावष र घोष, यी प्रत्येक वर्गका पहिलो दुई अक्षरहरू र श, सा, ह ।

प्रत्याहार भनेको संक्षिप्त कथन हो । पाणिनिले अष्टाध्यायीको प्रथम अध्यायको सूत्रद्वारा प्रत्याहार गर्ने विधिको निर्देश गरेका छन् । अर्थात् कसरी विभिन्न स्वरहरूको सन्धि गर्ने सूत्र । एउटा उदाहरण हेरौंः

अच् प्रत्याहार पहिलो महेश्वर सूत्र ‘अयुन्’ को पहिलो अक्षर ‘अ’ र चौथो सूत्र ‘ऐऔच्’ को अन्तिम अक्षर ‘च्’ सँग जोडेर बनेको हो । यो अच् प्रत्याहारमा अक्षर ‘अ’ बाट ‘च्’को पूर्व आउने ‘औ’ सम्म सबै अक्षर पर्छन् । जस्तै, अच् = अ इ उ ऋ लृ ए ऐ ओ औ ।

यसरी नै पाँचौं सूत्र ‘ह य व र ट्’ को आदि अक्षर ‘ट्’देखि लिएर १४औं सूत्र हल्को अन्तिम अक्षर ‘ल्’ को साथ मिलाएर सन्धि हुन्छ । जस्तै हल् = ह य व र, ल, ञ म ङ ण न, झ भ, घ ढ ध, ज ब ग ड द, ख फ छ ठ थ च ट त, क प, श ष स, ह । त्यसैले हामी स्वरलाई अ–औ सम्म अजन्त अर्थात् (अच्+अन्त) र अरूलाई हलन्त भनिएको हो । यो नेपाली व्याकरणमा पनि लागू हुन्छ ।

यी १४ महेश्वर सूत्रबाट कुल २८० प्रत्याहार बनाउन सकिन्छ । यो त प्रत्याहारको कुरा भयो । यस्ता अरू धेरै सन्धि छन् जसबाट अरू शब्द कसरी बन्छन् भनेर बुझिन्छ । यसरी यदि संस्कृतमा कुनै ज्ञान नभएको मान्छेले पनि नियम जान्ने हो भने सजिलै बुझ्न सकिन्छ जुन अरू भाषामा सम्भव छैन ।

त्यस्तै, कुनै घटनालाई सबैभन्दा छोटकरीमा कुनै भाषामा व्यक्त गर्न सकिन्छ भने त्यो संस्कृत नै हो । जस्तो, गीता अध्याय–२ श्लोक ४७ हेरौंः कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । यसमा कर्मण्य (कर्ममा), एव (केवल) अधिकार (अधिकार), ते (तिम्रो) को सन्धि गरेर एकै शब्दमा ‘कर्मण्येवाधिकारस्ते’ भएको छ । यसलाई अंग्रेजीमा भन्ने हो भने कम्तीमा एउटा लामो वाक्य बनाउनुपर्छ । यसले गर्दा अंग्रेजी भन्दा संस्कृत कम्प्युटरले छिटो प्रोसेसिङ गर्न सक्छ ।

यसरी रिक ब्रिक्सले आफ्नो लेखमा धेरै यस्ता कुरा बताएका छन् जुन यस लेखमा समावेश गर्न सम्भव छैन कहींकतै मौका पाए विस्तारमा कुरा गरौंला । यसरी ब्रिग्सले संस्कृतलाई प्रयोग गर्न सकिन्छ भनेकोमा यसलाई बंग्याएर नासाले संस्कृतमा नै कम्प्युटर बनाउँदैछ भनी अतिरञ्जित गरी प्रचारित गरिएको छ ।

त्यसो त, संस्कृत भनेको पण्डितहरूको ठगिखाने भाषा हो भनेर बुझ्ने केही जमात छ । यी दुवै थरीका अतिवादबाट जोगिएर हामीले संस्कृतलाई एकदम नियमबद्ध संसारकै उत्तम भाषामध्ये एकका रूपमा बुझ्नुपर्छ । साथै, यो कम्प्युटरसँग मिल्दोजुल्दो भाषा रहेछ भनेर बुझ्दा पनि हुन्छ ।

व्यवहारतः संस्कृत मृतप्रायः भइसकेकोले अब एआईमा प्रयोग हुने संभावना कम छ । तर यदि अहिलेको एआई विकसित हुँदै जाँदा यसमा केही समस्या अंग्रेजी भाषाले गर्दा आयो भने निश्चय पनि संस्कृत दोस्रो रोजाइ हुनसक्छ । नत्र कन्टेन्टमा समावेश नगरी एआई मात्र संस्कृतमा बनाएर त्यसको अर्थ हुँदैन । यो कुरा भनिराख्दा हामीले पुनश्चः संस्कृत संसारकै पुरानो मात्र नभई एकदमै वैज्ञानिक र नियमबद्ध भाषा हो भन्नैपर्छ ।

अर्को कुरा; संस्कृतका अजन्त र हलन्त वर्णमाला यसरी बनेका छन्– जस्तैः ‘अ’देखि ‘अं’सम्म स्वर घाँटीहुँदै ओठसम्म आएर अन्त्य हुन्छ । शुद्ध स्वर जिब्रो नचलाई निस्कन्छन् भने हलन्त शब्दहरू ‘क’देखि ‘ह’सम्म उच्चारण गर्दा जिब्रोले मुखको विभिन्न भाग छुन्छन् ।

जस्तोः ‘क’भन्दा जिब्रोले घाँटीको सबैभन्दा तल छुन्छ अरू शब्दहरू उच्चारण गर्दा जिब्रो क्रमशः माथि माथि आउँछ ‘ण’ भन्दा नाकतिर ‘त’ भन्दा दाँत र ‘फ’ भन्दा ओठ गर्दै ‘ह’ भन्दा कतै पनि नछोई श्वास बाहिर मात्र फालिन्छ । यसरी बनेको यो भाषाको बनोट मनोवैज्ञानिक पनि छ । यो भाषाका शब्द उच्चारणले मस्तिष्कमा समेत राम्रो प्रभाव पार्छ भनेर धेरैले भन्दै आएका छन् ।



from Online Khabar https://ift.tt/PlfhknS

No comments:

Post a Comment