विगत साँच्चीकै अग्र्यानिक थियो । पत्रकारिताको सुरु–सुरुका पाइलाहरू भीमकाय उद्देश्यका सारथि झैं लम्किएका हुन्थे चरिकोटको मुख्य चोक र गाउँका गन्तव्यहरू चहार्दै । भोजराज (साहित्यकार एवं पत्रकार भोजराज न्यौपाने) ले इलेक्ट्रिक कार काठमाडौं शान्तिनगरको ग्यारेजबाट निकाल्दै गर्दा मैले उनलाई नियाल्दै थिएँ र विगतका अग्र्यानिक यादहरूका त्यान्द्रो तन्काउँदै पत्रकारिताको सुरुवाती पदचापको रापिलो ओझले पुलकित हुँदैथिएँ ।
दोलखामा २०४७-४८ तिर पत्रकारिताको तेजिलो डोबका तरङ्ग कम्पायमान हुँदाताकाको दौंतरीहरू अहिले तितर–वितर भएका छन् । दोलखाको पत्रकारिताको आधिकारिक संस्थापक देवदास श्रेष्ठको निधन भइसकेको छ । भोजराज काठमाडौं आधार बनाएर थोरै पत्रकार, धेरै व्यवसायी भएका छन् । राजेन्द्र (एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर) ले लगभग पत्रकारितालाई बिट मारेर राजनीतिको फेरो समाउँदै गाउँ–टोलमा संगठन निर्माण अभियानसँग दौड लगाउँदै छ । शम्भु (दोलखा सदरमुकाम चरिकोटको कालिञ्चोक माविको प्रधानाध्यापक शम्भु गौतम) पत्रकारितालाई पहिचानको विम्ब मानेर अध्यापन पेशामा सक्रिय छ । म चाहिं अझै पनि पछिल्लो पुस्ताका मिहिनेती सञ्चारकर्मीहरूसँग सकी–नसकी पत्रकारिताकै दौडमा लम्किरहेको छु ।
****
ग्यारेजबाट हुत्तिंदै सडक पहिल्याएको कार मेरो अगाडि रोकियो । भोजराजको इशारामा मैले कारको ढोका खोलें र उनीसँगैको अगाडिको सिटमा बसें । हाम्रो गन्तव्य ललितपुरको एकान्तकुना थियो । किनभने हामीले बानेश्वरको भेटमै फुर्सदको गन्तव्य एकान्तकुनाको ज्याकाराण्डा फूलले सजिएको सडकलाई रोजेका थियौं ।
कारलाई सडकको एउटा कुनामा थन्क्याएर हामी ज्याकाराण्डाका वैजयन्ती फूलका लटरम्म रूखहरूलाई मुसार्दै रमायौं । भावनाका हजारौं उच्छवासले हामीलाई वैजयन्ती रङहरूसँग साइनो कस्न प्रेरित गरिरहेको थियो । हामी रमाएका थियौं सडकमा झरेका ज्याकाराण्डाका वैजयन्ती फूलहरूसँग खेल्दै गर्दा ।
जीवनका उत्साहजनक पलहरूलाई वैजयन्ती रङमा यसैगरी समाहित गर्न पाए– मैले मनका उद्वेगहरूलाई ज्याकाराण्डा फूलसँग विसर्जन गर्न चाहे । के थाहा, जीवनका यी उत्साहहरू उमेरको घिर्लिङसँग रोक्किंदै अघि बढ्दा घृणाको रमिता पो बन्ने हो कि !
भोजराजले फुर्सदको ज्याकाराण्डा गन्तव्य निकै रोमाञ्चक र विगत प्रेरित रहेको सुनायो । मैले उनको कुरामा सही थापें र चरिकोटको पत्रकारिताको यात्रामा उमेर समूहको हिसाबले आफू एक्लो यात्री बनेको गुनासो गरें ।
२०४८–५० को पत्रकारिता एकता र सहकार्यको उच्चतम नमूना थियो । स्व. देवदास श्रेष्ठ, ईश्वरी न्यौपाने, भोजराज, राजेन्द्र, शम्भु सबैसँग समाचारको इस्युको विषयमा, रिपोर्टिङ गन्तव्यको विषयमा, लेखन शैलीको विषयमा, कार्यक्रममा उपस्थितिको विषयमा सधैं छलफल हुन्थ्यो, सधैं सहकार्य हुन्थ्यो । २०५३ सालमा पत्रकार महासंघको शाखा बनेपछि थपिएका साथीहरू प्रवीण प्रधान, विष्णु सुवेदी, बालकृष्ण बस्नेत, उद्धव पोखरेल, राजेन्द्र श्रेष्ठ लगायतसँग पनि सहकार्यको संस्कृति कायमै रह्यो ।
त्यसयता दोलखाको पत्रकारितामा अरू धेरै साथीहरूको उदय भयो । सक्रियता र लेखनको हिसाबले उनीहरूको कलमको डोब बेजोडले अघि बढ्यो, बढिरहेको छ । तर सहकार्य संस्कृति भने क्रमशः स्खलित हुँदैछ । हो, यहींनेर मैले पत्रकारितामा ओझेल पर्दै गएका विगतका दरिलो सारथिहरूलाई मिस गरिरहेको हुन्छु । त्यो बेला हाम्रो लेखन थोरै कमजोर थियो । तर इस्यु दरिलो हुन्थ्यो र त्योभन्दा महत्वपूर्ण हामी बीच घनिष्ठ एकता थियो । त्यही एकताले हामीमा निडरता पैदा गरिदिएको थियो ।
त्यसो त युवा पुस्ताका सक्रिय पत्रकारहरूसँग मेरो सहकार्य र एकता अनुपम नै छ । धेरैले युवा पुस्ताका पत्रकारहरूसँग मेरो निकटता र सहकार्यलाई अनौठो मानिरहेको महसुस पनि गरेको छु मैले । तर विडम्बना के भने संस्थागत रूपमा विगतको पत्रकारिता यात्रामा जसरी सहकार्य संस्कृति मजबुत थियो त्यो अहिले कायम रहन सकेन ।
यो रोग दोलखामा मात्र हो भन्ने मलाई लाग्दैन । सहकार्य संस्कृति स्खलित हुने क्रम सबैतिर उही ढङ्गले विकास भइरहेको छ । ब्रेकिङ र एक्सक्लुसिपको भोकले पत्रकारहरूलाई एकाङ्की बनाउँदैछ ।
लेखनको हिसाबले, सक्रियताको हिसाबले हाम्रो पुस्ता भन्दा अहिलेका पत्रकार साथीहरू निकै अब्बल छन् । प्रविधि र पहुँच विगतको भन्दा उच्च स्तरको छ । तर कता–कता, कहाँ–कहाँ कुहिरोको काग झैं अलमलिएको छ दोलखा र सबैतिरको पत्रकारिता । हाम्रो पुस्ताका पत्रकारहरू गलत थिए वा कमजोर ! यात्रा र रिपोर्टिङमा मात्र हैन इस्युमा समेत सहकार्य हुन्थ्यो त्यतिबेला । न कसैको चाकडी, न कसैलाई दबाब, फेरि पनि सबैले राम्रै ठानेका थिए । कुनै विषयमा संस्थापक स्व. देवदास श्रेष्ठले नो भनेपछि जतिसुकै ठूलो इस्यु भए पनि रिपोर्टिङमा त्यो हिडन हुन्थ्यो ।
****
सूर्यको रातो फिलिङ्गो चन्द्रागिरिको कुईनेटो छल्दै तलतल सर्दै थियो । साँझको सङ्केतमा बास खोज्दै चिरविराएका भँगेराका जोडीहरू घरका करेसा र बार्दलीमा पुगिसकेका थिए । हामी पनि ज्याकाराण्डाका धुमिल आकृतिका वैजयन्ती सम्मोहक छोड्दै जावलाखेलतर्फ हुँइकिरहेका थियौं ।
भोजराजले हलुवा–स्वारीको विगत सम्झायो । चरिकोटस्थित पशुपति डाँडामा पशुपति मिठाई भण्डार थियो । लेखमान मामाको हातको चमत्कारी सीपले पशुपति मिठाई भण्डारको हलुवा–स्वारी, रसबरी र तरकारीको स्वाद प्रत्येक चरिकोटेको जिब्रोमा टाँसिए झैं भएको थियो । सँगैको पशुपति कन्या माविबाट हलुवा–स्वारी र तरकारी खाने छात्राहरूको ताँती नै हुन्थ्यो एक बजेको टिफिन टाइममा ।
सदरमुकामभरिका सरकारी अड्डाका कर्मचारी, व्यापारी, पत्रकार, नेता सबैको प्रिय थियो पशुपति मिठाई भण्डार । हाम्रा पुस्ताका सबै पत्रकार दिनको एकपटक हलुवा–स्वारी, रसबरी, तरकारी, निम्की, चिया जस्ता खाजाका स्वादिष्ट परिकार सेवनको लागि समय मिलाएर मिठाई पसल पुग्ने गर्थे । लेखमान मामाको देहावसानसँगै पशुपति मिठाई भण्डारको अस्तित्व पनि करिब–करिब समाप्त भयो ।
भोजराजले जावलाखेलमा पनि लेखमान मामाको पशुपति मिठाई भण्डारकै जस्तो स्वादको हलुवा–स्वारी खान पाइने बताएपछि जू छेउमा कार रोकेर हामी एउटा मिठाई पसलमा पस्यौं । निकै वर्षपछि हलुवा–स्वारी खाएको मैले लेखमान मामालाई सम्झिएँ । लेखमान मामाकै हातको जस्तो चमत्कारी स्वाद त जावलाखेलको हलुवा–स्वारीमा थिएन तर त्यसले विगतका स्वादिला पलहरूसँग लेखमान मामाको सीपलाई सलाम गर्ने तदारुकतालाई जागरुक गरिदियो । विगतमा हलुवा–स्वारीको सीपसँग हाम्रो उरन्ठेउलो उमेरको मिठास पनि जोडिएको हुन्थ्यो । साथीभाइ हूल कसेर मिठाई पसल छिर्दा प्राप्त हुने ऊर्जाले पनि मसलाको काम गथ्र्यो खाजाको स्वादलाई । तर हाम्रो उमेरको उरन्ठेउलो ऊर्जा लेखमान मामाको चमत्कारी हातले मात्र प्राप्त गरेको थियो । त्यसैले पशुपति मिठाई भण्डारको हलुवा–स्वारी, रसबरी, तरकारीहरू स्वादिला थिए ।
साँच्चै सीपको चमत्कार पनि गज्जबकै हुन्छ । त्यही मरमसला, तौरतरिका र प्रविधि प्रयोग गरेर बनाएका कतिपय खान्कीको स्वाद व्यक्तिको हातसँग फरक भइदिन्छ । चरिकोटमा पछि धेरै मिठाई पसलहरू खुले । ती मिठाई पसलहरूले थुप्रै परिकार र प्रविधि भित्र्याए । तर लेखमान मामाको हातको चमत्कारी सीप कसैले पछ्याउनै सकेनन् । ती हलुवा–स्वारी र तरकारीहरू स्वादिला भइकन पनि खल्लो–खल्लो लाग्दथ्यो लेखमान मामाको सम्झनामा ।
मेरो पुस्ताका धेरै साथीहरू पत्रकारिताको उर्वर पललाई अलपत्र बिट मारेर अन्यत्रै खै गर्न सक्रिय छन् । भोजराज, राजेन्द्र, शम्भु, ईश्वरीहरू कुनै समय लेखनका बादशाह थिए । तर उनीहरूले आफ्ना कलमको डोबको मेलोमा दोस्रो पुस्ताका लेखकलाई भित्र्याउन सकेनन् वा चाहेनन् । उनीहरूको लेखन सुन्दरता उनीहरूसँगै गुमनाम बनेको छ ।
ठिक त्यसैगरी लेखमान मामाको हलुवा–स्वारी, तरकारी र रसबरी बनाउने चमत्कारी सीप उहाँको देहावसानसँगै विसर्जन भएको छ । हातको सीपसँग लेखन डोब र खान्की परिकारको स्वाद थोरै फरक होला तर सीप हस्तान्तरण भयो भने परम्परागत निरन्तरतामा हातेमालो पक्कै हुनसक्छ । त्यसैले हामी सबैले सीपलाई हस्तान्तरण गर्ने कुरामा कञ्जुस्याईं भने गर्नुहुन्न । नत्र लेखमान मामाले बनाएको हलुवा–स्वारी र भोजराज, राजेन्द्र, शम्भुहरूले बिट मारेको पत्रकारिता जस्तै किंवदन्ती बन्छ आवश्यकताका औजारहरू । अनौठो र उराठ–उराठ लाग्दछ ज्याकाराण्डाका वैजयन्ती डोबहरू ।
from Online Khabar https://ift.tt/F78xr9T
No comments:
Post a Comment