कतारका राजा शेख तमिम बिन हमाद अल थानी केही साताअघि दुईदिने भ्रमणका लागि काठमाडौं ओर्लंदा म भने संयोगवश फिडेल देवकोटाको फिल्म ‘द रेड सुटकेस’ हेरिरहेकी थिएँ । काठमाडौंस्थित अस्कर फिल्म कलेजको पहिलो ब्याचका विद्यार्थी फिडेलले जर्मनीबाट भिज्युअल एन्थ्रोपोलोजीमा विद्यावारिधि गरेका छन् । निर्देशकको यस्तो पृष्ठभूमि, फिल्मले पाएको अन्तर्राष्ट्रिय चर्चा र यसले समेटेको कथावस्तुले मलाई हलसम्म तानेको थियो ।
एक वाक्यमा ‘द रेड सुटकेस’ को कथालाई समेट्ने हो भने यसरी भन्न सकिन्छ-कतारमा मृत्यु भएका एक श्रमिकको शवलाई उनको घर फिर्ता गरिंदाको यात्रा-कथा । असुरक्षित श्रम निर्यात नेपालको नियति बनेको थुप्रै वर्ष भयो । यसरी बाकसमा फर्कनेहरूको कथा नेपाली समाजका लागि आम भइसके ।
बाकसमा फर्कने मध्ये धेरैजसोको मृत्यु प्राकृतिक भनिए पनि, त्यो अप्राकृतिक कारणले हुने गरेको अध्ययनहरूले इंगित गरेका छन् । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको सुरक्षाका लागि अपरिहार्य पूर्वाधार र प्रक्रियामा ध्यान नपुर्याउँदा, कैयौं परिवार आफ्नो प्रियजनको बाकस पर्खिएर बस्न विवश छन् । नेपालमा यो मुद्दामा विविध कोणबाट पर्याप्त बहस भए पनि सिनेमामा भने यो विषयले भर्खर-भर्खर प्रवेश पाएको छ ।
कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने पक्कापक्की भएपछि त्यसको तयारीमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा ठूलो संख्यामा श्रमिकको माग हुनगयो । यो मागको ठूलो हिस्सा पूर्ति गर्नेमा नेपाली श्रमिक थिए । तीमध्ये केहीको अकाल मृत्यु भएका रिपोर्टिङहरू बेलायतको द गार्डियन लगायत अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित पनि थिए ।
वैदेशिक रोजगारीमा वर्षेनि ठूलो संख्यामा नेपाली युवाहरूको मृत्यु हुने गरेको छ । यसमा कतार पनि प्रमुख देश रहने गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो दश वर्षमा कतारमा मात्रै १७०० नेपाली श्रमिकको मृत्यु भएको छ । ‘द रेड सुटकेस’ का मुख्य पात्र धनबहादुर विक पनि यसरी कतारमा अन्तिम सास फेर्ने युवा हुन् । यो सिनेमा खासमा उनकै कथा हो ।
शव बोकेर यात्रा गरिरहेको यो कथा नीरस र उराठलाग्दो भए पनि त्यो यात्रालाई रहस्यमयी तवरले भनेका छन्, निर्देशक देवकोटाले । विश्वकप आयोजक सँगसँगै श्रमशोषक राष्ट्रका रूपमा पनि कतारले आफ्नो परिचय बनाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कतारले विश्वकपका लागि बनाएका पूर्वाधारमा श्रम अधिकारका विषयलाई बेवास्ता गरेकाले श्रमिकको अप्राकृतिक मृत्यु भइरहेको विषय त्यो बेला विश्वका प्रतिष्ठित मिडियामा जोडतोडले उठेको थियो ।
अन्तर्राष्ट्रिय समुदायको चासो भएकाले यो सिनेमाले बाहिरका दर्शक पाएको थियो । गत सेप्टेम्बरमा ‘द रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलको ८०औं संस्करणमा प्रदर्शन भयो । दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’पछि यो महोत्सवमा जाने र प्रतिस्पर्धा गर्नेे दोस्रो फिल्म बन्यो यो ।
यो सिनेमा हेरिसकेपछि निकै दिन मेरो दिमाग घुमिरह्यो । यसको कथा भन्ने शैली र पात्रहरूको अभिनय प्रभावशाली छन् । तर, पात्रको समाजसँगको अन्तरक्रिया र नेपाली समाजमा भइरहेको बदलावबाट भने यो सिनेमा टाढा रहेको पाएँ । ढिलै भए पनि यो लेखमा यसको चर्चा गर्ने कोसिस गरेकी छु ।
सिनेमाको मुख्य पात्र धनबहादुर विक बेयुल गाउँका हुन् । सौगात मल्लको पात्र पिकअप भ्यानको चालकले विकको लासको बाकस म हुर्किएको कमलाखोचकै कुनै गाउँतिरै लगिरहे जस्तो देखिन्थ्यो । तर, त्यस क्षेत्र आसपास बेयुल भन्ने ठाउँ छ भन्ने मलाई थाहा थिएन ।
पछि थाहा भयो यो शब्द बुद्ध धर्मसँग जोडिएको रहेछ, विपत्मा आफ्नो ज्यान र आस्था जोगाउन पुग्ने बिम्वात्मक ठाउँ । कथामा बेयुलको प्रयोग कलात्मक तरिकाले गरिएको रहेछ ! ज्यान जोगाउन नसके पनि, मृत्युपछि आफ्नै सुटकेस घिसार्दै आत्माको शान्तिका लागि भर्खरै जन्मेकी छोरी हेर्न पुग्छ, धनबहादुर विक । आफ्नो प्रेयसीबाट पानी पिउँछ र चिर आराम गर्छ ।
फेरि यता बाकसमा शरीरको धनबहादुर छ, उस्तै चिरनिद्रामा । आत्मा र शरीरले एकसाथ यात्रा गरेको देखेर ट्वाँ पर्छन् दर्शक । सौगात मल्लको चरित्रले बास बस्नका लागि पिकअप भ्यान राजमार्ग छेउको भूतपूर्व सौनिक (विपिन कार्की)को सानो होटल छेउ रोक्छ । तर, कतारका श्रमिकले लगाउने लुगा लगाएको धनबहादुर (प्रवीण खतिवडा)को आत्माले भने बाक्लो हुस्सुमा यात्रा जारी राख्छ ।
हुस्सु अर्थात् रहस्य । रहस्यमय कथा भन्नकै लागि निर्देशकले धनबहादुरको पाइलालाई हुस्सुले ढाकिदिए जस्तो लाग्ने ! म भने त्यो सुटकेस गुडाइरहेको मान्छेले अब के गर्ला भन्ने ठानिरहेको थिएँ, आफ्नो घरको दैलोमा पुगेपछि उसले श्रीमतीलाई बोलाउँछ । बोल्छ, छोरीलाई नियाल्छ, सुम्सुम्याउँछ र प्रेयसीलाई ढाडस दिन्छ । मानौं, उसलाई केही भएकै छैन ।
धनबहादुरको यो यात्रालाई सिनेमेटोग्राफर सुशन प्रजापतिले प्रायशः लङ सटमा खिचिरहेका हुन्छन्, अरू पात्रहरूलाई पनि उनले यही शैलीमा खिचेका छन् । यात्रासँगै कथा विस्तारै बगिरहेको छ । ब्याकग्राउण्ड स्कोरलाई पनि फारु गरेर चलाइएको छ । यात्रामा चलचित्रको आफ्नै ध्वनि हुन्छ । गाडीमा बज्ने रेडियो, बाटोमा यात्रारत अन्य सवारी साधनको आवाज र यात्रीका मनभित्र र बाहिरका आवाज, यी सब यात्रामा जोडिएर सँगै आउँछन् । यस्तोमा पछाडिबाट अर्को ध्वनि मिसाए कर्कश सुनिन्छ । सिनेमेटोग्राफी र ब्याकग्राउण्ड स्कोरमा निर्देशकले सजग भएर काम गरेका छन् ।
अब पात्रहरूको समाजप्रतिको अन्तरक्रियाको कुरा गरौं । यात्राको दौरान राजमार्गमा विपिन कार्की र सौगात मल्लबीच अन्तरक्रिया हुन्छ । यी दुई पात्रले गरेका मौनताका संवाद कति सुन्दर छन् । तर, मुख खोल्न थालेपछि भने दिक्क लाग्दोरहेछ । कति एकोहोरो संवाद, बाकसमा लास ल्याइरहेको यात्री र राजमार्गको होटल साहुले नेताहरूलाई यस्तो हुनुमा जिम्मेवार देखाउँदै हरेक चियापसलमा सुनिने जस्तो गाली गरिरहेका छन् । यो आक्रोश अस्वाभाविक होइन तर भन्ने तरिका उही पुरानो र सुनिरहेको जस्तो लाग्ने । दृश्य र कथा शैलीमा खेले जसरी नै नेपाली राजनीतिको चरित्र र यो मुद्दालाई अलि बलियो तरिकाले संवाद मार्फत पनि स्थापित गर्न सकिने ठाउँ थियो ।
फेरि पात्रहरूको पृष्ठभूमिलाई उति खुलाइएको छैन । यस्तोमा अचानक मुक्ति सरले पढाउने विद्यालयको विद्यार्थी सौगात मल्लको पात्र द्वन्द्वकालमा माओवादी पक्षबाट निर्मम तरिकाले मारिएपछि गाउँ कहिल्यै फर्केर नगएको कुरा उजागर हुन्छ । होला पनि । तर, शिक्षा र राम्रो रोजगारीको अवसर नपाएर यो दुःखी काम गर्नुको पछाडिको कारण त्यो सशस्त्र द्वन्द्व थियो भन्ने एकपक्षीय धारणालाई संवाद मार्फत पुनः सम्प्रेषण गर्न खोजिए जस्तो लाग्छ । द्वन्द्वको प्रकृति बहुआयामिक छ । यसको कारण, प्रयोग र प्रतिफललाई हेर्ने नजर समाजमा एकैखालको छैन । फिल्ममा भने समाजलाई २० वर्ष अगाडिको माओवादी द्वन्द्वले बिगार्यो मात्रै भन्ने र नेताहरूलाई गाली मात्रै गर्ने संवाद दिक्कलाग्दो थियो ।
नेपाली समाजको विशेषता र यसको बहुआयामलाई एकपक्षीय बुझाइले मात्र हेर्ने, अनि नेताहरूलाई गाली मात्र गर्ने, यिनकै कारण देश बर्बाद भयो, खाडीमा गएर मर्नुपर्ने बाध्यता आइलाग्यो भन्ने संवाद किन राखिएको भन्ने अन्तर्य खुल्दैन । देशमै रोगजारी नपाउनु वा सुरक्षित श्रमको मुद्दालाई यही एउटा कोणले मात्र देखाउँदा संवाद शक्तिशाली भएको छैन ।
यस्तो आमधारणाबाट अलिक माथि उठेर विषयवस्तुको अन्य पक्षमा पनि प्रकाश पार्न सकिन्थ्यो । पात्रहरूको आफ्नै भावना, संवेदना र भोगाइलाई राख्न सकिन्थ्यो । पात्रको पृष्ठभूमि र अनुभव जान्ने उत्सुकता हुँदाहुँदै संवाद त्यसै टुङ्गिंदा यी संवाद पात्रले नभई निर्देशक/लेखकले नै जबर्जस्ती बोले जस्तो प्रतीत हुन्छ ।
फिल्ममा आगोको बिम्वलाई पनि पुरातन तरिकाले चित्रण गरिएको छ । मम तताउनलाई आगो चाहिन्छ तर तताइँदैन । चालकलाई चुरोट पिउनु परे पनि विपिनको पात्रबाट छलिएर पिउँछ । उता, अर्को दृष्टिमा धनबहादुरकी श्रीमती (सृष्टि श्रेष्ठ) ले श्रीमान् भोकाएर आएका होलान्, खाना बनाउँछु भन्दा धनबहादुरले ‘भोक छैन, खाना नबनाऊ’ भन्छन् । यसरी हेर्दा आगो बलेमा भूत भाग्छ भन्ने अन्धविश्वासी भाष्यलाई यो सिनेमाले अघि बढाउन खोजेको हो कि जस्तो पनि देखिन्छ । सिनेकर्मीले कताकता पुरातन र अन्धविश्वासलाई नै निरन्तरता दिएका छन् ।
फिल्मको सुरुमै धनबहादुरकी श्रीमतीले छोरी जन्माएको स्थापित गरिन्छ । घर पुगेर उसले छोरीलाई तन्मयका साथ हेर्छ । सुुत्केरीले तल-माथि गर्दा भर्याङ चढ्नुपर्ने, आगो बालेर बच्चालाई सेकाउनुपर्ने भएर घरको भुईं तलामा आगोको छेउछाउ राख्नु, म हुर्किएको भित्रीमधेशको चलन हो । सिनेमामा यो मिलाइएको छ । तर, श्रीमान्–श्रीमतीको फोटो एउटै फ्रेममा अटाउनका लागि भनेर अँगेनोमाथि फोटो झुन्ड्याइनु चाहिं अस्वाभाविक देखिन्छ । फ्रेम मिलाउन यसो गरिए पनि यो सुहाउँदो भएन ।
कथामा मौलिकता देखिए पनि त्यसको ‘प्रडक्सन डिजाइन’ र कला निर्देशनको पक्ष फितलो हुनु नेपाली सिनेमाका लागि नौलो कुरा भने होइन । गत वर्ष अत्यधिक मन पराइएको उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ पनि यो मामिलामा कमजोर नै देखिएको थियो । पचासको दशकको सुरुवाती समयको पूर्वी पहाडको एक लिम्बू गाउँको कथा हो ‘जारी’ । त्यस गाउँका सामान्यजनले दैनिक मेलापातमा पनि आजकल पार्टीमा जान ठिक्क परेको जस्तो गरी चिटिक्क परेको दौरा–सुरुवाल लगाएको देखिन्छ । गाउँका मान्छेले राम्रा र नयाँ लुगा लगाउँदैनन् भन्ने होइन तर मेलापात जाँदा र हाटबजार वा कतै आफन्तकोमा जाँदा लगाउने लुगा फरक हुन्छन् । सामान्य देखिने यस्ता मसिना कुराको हेक्का नराख्दा सिनेमा खल्लो हुने रहेछ । ‘द रेड सुटकेस’मा पनि सृष्टिको पात्रको भेषभुषा सन् २०२१ को मध्यपहाडी भेगकी युवतीले गर्ने जस्तो किन छैन ? घर बस्दा पनि झपक्क गहना लगाएर बस्नुको कारण खुल्दैन ।
विदेशी भूमिमा प्रायः नेपाली कामदारको मृत्यु अस्वाभाविक र अकस्मात् नै हुने गरेको छ । तर, मृत्युको खबर र त्यसपछिको प्रक्रिया भने अप्रत्याशित हुन्न । ‘द रेड सुटकेस’मा भने धनबहादुरको श्रीमतीलाई यो खबर अप्रत्यासित जस्तो गरी देखाउन खोजिएको छ । सञ्चारको यो समयमा कामदारको कम्पनी वा तिनका साथीभाइ वा शव हस्तान्तरण गरिदिने सम्बन्धित निकायले पहिल्यै सिनेमामा जस्तो मृत्युको खबर परिवारसामु पुर्याएनन् होला भन्न गाह्रो छ । फेरि मृत्यु भइसकेपछि, पोस्टमार्टम, बीमा, क्षतिपूर्ति लगायत अनेकन् प्रक्रिया हुने गर्छन् । धेरै श्रमिकका आफन्तजनले यी प्रक्रियाले गर्दा शव गाउँसम्म पुर्याउन हैरानी भोग्ने गरेको समेत पाइन्छ । यस्तोमा श्रीमतीले थाहै नपाई धनबहादुरको शव गाउँ कसरी पुगेको मान्ने ?
वैदेशिक रोजगार वा अध्ययनका लागि विदेशिने युवाको संख्या बढ्दै गइरहेकाले नेपालका गाउँ खाली भए भन्ने भाष्य स्थापित छ । यो फिल्ममा भने शव आँगनमा पुगेपछि छरछिमेकबाट भेला हुने सबै महिला मात्र देखिइन्छ । वैदेशिक श्रमले ल्याएको विकराल अवस्था देखाउन निर्देशकले यसो गरेका होलान् । तर, यो दृश्य संयोजन ‘कठैबरा गाउँ’ भन्नलाई गरिए जस्तो लाग्ने ।
एउटा कुरा के हो भने, नेपाली समाजमा लाहुर जाने चलन पहिल्यैदेखि थियो, संख्यामा तल-माथि भए पनि । लाहुरे संस्कृति बोकेको नेपाली समाजमा पुरुष त जहिल्यै अनुपस्थित नै थिए । मानौं, यस चलचित्रमा पनि निर्देशकले देखाए जस्तो गाउँमा पुरुष नै थिएनन् रे † के पुरुष अनुपस्थिति भएको र महिला मात्र बस्ने गाउँलाई कठैबरा जसरी देखाउन मिल्छ ? के महिला मात्र हुनु भनेको कठैबरा कमजोर गाउँ भनेर भन्न सकिन्छ ? अर्थको जोहो पुरुषले गरे पनि परिवारमा पुरुषको अनुपस्थितिमा आफ्नो संसार चलाउने महिलालाई कसरी कमजोर मान्न सकिन्छ ? यो दृश्यले प्रश्नको खात लगाइदिन्छ ।
‘द रेड सुटकेस’ले अन्तर्राष्ट्रिय ख्याति कमाए पनि नेपाली समाजको विभिन्न अवयव र परिवर्तित समाजको चित्र र विचार भने यसले बोक्न सकेजस्तो लाग्दैन । ‘द रेड सुटकेस’ले कथा, कथा भन्ने शैली, विषयवस्तु र प्राविधिक पक्षमा फरकपन ल्याउन खोजे पनि जानेर वा नजानेर पुरानै मान्यता र कुरालाई नै जोडले समाउन खोजे जस्तो देखिन्छ । समाजका पेचिला मुद्दा सिनेमाको पर्दामा आउनु खुसीको कुरा हो, तर त्यसको प्रस्तुति र विचार एकपक्षीय भयो भने त्यो मुद्दाले पाउनुपर्ने भावनात्मक स्पर्श पाउन सक्दैन ।
‘द रेड सुटकेस’ खोलेर हेर्दा यसको पूर्ण आकृतिमा दुःखेसो रहे पनि अभिनय, सिनेमेटोग्राफी र कथाशैली जस्ता यो सिनेमाका अब्बल पाटाहरू भने मेरो मानसपटलमा रहिरहने छन् ।
from Online Khabar https://ift.tt/4FIk1Dm
No comments:
Post a Comment