२३ भदौ, धनगढी । कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ ।
आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते भएका छन् । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
गएराति ११ः२० बजेको समयमा धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३९७ नम्बरको बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले चक्कु प्रहार गरेका थिए ।
आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । तर सोही घटनामा संलग्न अन्य दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टका अनुसार ट्याङ्कर पार्किङको विषयमा दुई पक्षबीच विवाद हुँदा आक्रमण र तोडफोड भएको हो । ‘दुई जनालाई राति नियन्त्रणमा लिएका छौं । आज सोधपुछ गर्छौं अनि घटनाको कारण डिटेलमा खुल्ला,’ एसपी विष्टले भने ।
आक्रमणकारीले पार्किङ गरी राखिएका चारवटा ट्याङ्करहरुमा पनि तोडफोड गरेका छन् । ना ८ ख १४२५, ना ४ ख ३९२०, ना ४ ख २९६५ र ना ६ ख ९४०६ नं.को ट्याङ्करहरुको अगाडिको सिसामा क्षति पुगेको छ ।
घटनास्थल त्रिनगर प्रहरी चौकीबाट करिब डेढ किलोमिटर उत्तरमा पर्दछ ।
from Online Khabar https://ift.tt/0pwJqYh
No comments:
Post a Comment