Friday, September 27, 2024

आज पनि निरन्तर झरी, जनजीवन अस्तव्यस्त

१२ असोज, काठमाडौं । आज शनिबारको दिन पनि निरन्तर झरी पर्ने मौसमविदले बताएका छन् । मौसमविदहरुका अनुसार वर्षा गराउने प्रणाली बागमती र गण्डकी प्रदेश आसपास केन्द्रित भएको छ । त्यसैले आज दिनभर नै निरन्तर झरी पर्ने छ ।

केही दिनदेखिको अविरल वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न मौसमविदले सुझाव दिएका छन् ।

नेपालमा मनसुनी वायु कायमै रहेकाबेला बंगालको खाडीबाट पनि थपिएको जलवाष्पयुक्त वायुले गर्दा अहिले मनसुन अत्यधिक सक्रिय भएको छ । देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या छ ।

काठमाडौं उपत्यकाका बस्तीसमेत जलमग्न छन् । नदी किनारका बस्ती झन् बढी प्रभावित भएका छन् । राजमार्गहरु अवरुद्ध भएका छन् । सडकसँगै हवाई सेवा पनि प्रभावित भएको छ ।

नागढुंगामा खसेको पहिरो हटाउन नसक्दा सयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गाडीहरुको लामो लाइन लागेको छ । उर्लिएको त्रिशूली नदी किनारमा रोकिन बाध्य भएकाहरु त्रासमा छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो समाचार तयार पर्दासम्म १७ स्थानका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको लेभलसम्म पुगेको छ ।

अरु त्यति नै संख्याका बाढी मापन केन्द्रमा बाढीको सतह खतराको संकेत पुग्दै छ । त्यसैले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

पाल्पाको अर्चलेमा २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा

यसैगरी यो समाचार तयार पार्दासम्म १०५ वटा वर्षा मापन केन्द्रमा अत्यधिक वर्षाले चेतावनीको तह पार गरेको छ ।

पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ २४ घण्टाको अवधिमा ३६३ मिलिमिटर वर्षा भएको छ ।

त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ ।



from Online Khabar https://ift.tt/BvVAN1Y

No comments:

Post a Comment