घनाजंगलको बीचबाट बग्ने नदी छेउमा आधा भत्किएको छाप्रोमा बस्छन् उनी । पानी पर्दा चुहिने त्यो घरमा उनीसँगै उनका बाआमा पनि बस्छन् । ज्याला मजदूरी गर्न उनका बाआमा खोलो तरेर अर्को गाउँमा जान्छन् । छाप्रोका झ्यालका काठ पनि कुहिएर भत्किने अवस्थामा छन् । स्कुल जाने समय बाहेक उनी घरबाट विरलै बाहिर निस्कन्छन् । स्कुल नगएको दिन बाआमा घर नहुँदा उनी दिनभरि त्यही छाप्रो कुरेर बस्छन् । भत्किन लागेका भित्तामा प्वालबाट बाहिरको संसारलाई नियाल्छन् भने कति बेला दैलामा बसेर खोलापारिको जंगलमा के होला भनेर मस्तिष्क मन्थन गर्छन् ।
उनी भर्खर १३ वर्षमा टेकेका छन् । शरीरमा भइरहेको परिवर्तनसँगै उनको मन पनि चञ्चल र जिज्ञासु हुँदै गइरहेको छ । स्कुलका साथीहरूसँग उसलाई पनि खेल्न मन छ । तर स्कुल सकिने वित्तिकै उनी घर फर्किन्छन् । साथीहरूले कर गर्दा पनि खेल्दैनन् । त्यसैले साथीहरू उसलाई केटी जस्तो भनेर जिस्काउने गर्छन् । आफू केटा हुँ भन्ने कुरा बुझ्दै गएको भए पनि साथीहरूसँग खेल्न नगएकै कारण केटी भन्दा उनलाई निकै रिस उठ्छ । उनलाई साथीहरूसँग खेल्न जाने मन नभएको पनि होइन । तर साथीसँग खेल्न गए घरको काम छुट्ने र बाआमाले पिट्ने डरले गर्दा उनी घर फर्किन्छन् ।
उनका बाआमालाई केटाकेटीले खेल्नु भनेको बिगि्रनु हो भन्ने लाग्छ । गाउँमा डुलेर खेल्नुभन्दा घरको काम गरेको उनीहरूलाई राम्रो लाग्छ । त्यसैले उनीहरूले स्कुल सकिएपछि घर पुगेर पानीपँधेरो, भान्साको काम गर्न भनेका हुन्छन् । बाआमाको कुरा नमानेर उनले धेरै पटक नराम्रोसँग कुटाइ खाएका छन् । एकपटक साथीहरूसँग खेल्न गएको थाहा पाएपछि उनका बाले डण्डाले उसलाई पिटेको कुरा उनको दिमागबाट हट्न सकेको छैन । हुन पनि त्यो दिन उनले बाको कुटाइबाट जोगिन धेरै कोशिश गरेका थिए । तर बाले उनलाई लखेटी-लखेटी डण्डाले कुटेका थिए । घरको काम नगरेकोले खान पनि नदिने भनेर आमाले पनि उनलाई तर्साएकोले उनी स्कुल सकिएपछि घर फर्किएर पानी बोक्ने, खाना पकाउने तयारी गर्न थाल्छन् । उनका बाआमा ज्याला मजदूरी गरी फर्केपछि पकाउने काम मात्र गर्छन् । बिहान पनि उनीहरू छिटै काममा जाने गर्छन् । कतिपटक त उनले बिहान बाआमा गएको समेत थाहा पाउँदैनन् । बाआमाले पकाएर छोडेको खाना आफैं हालेर खान्छन् । अनि स्कुल जान्छन् ।
उनले घरको काम गरेर ठिक्क पारेको दिन भने उनका बाआमाले उनलाई निकै माया गर्छन् । एकदिन स्कुलबाट फर्किएपछि घरको काम गर्दा बाआमा खुशी हुने तर साथीभाइले भने केटी भनेर जिस्काउने कुरा सम्झिए । साँझको लागि तरकारी काट्दै गर्दा उनी साथीभाइको प्रतिक्रिया र आमाबाको व्यवहारबारे सोच्दैथिए । सोच्दासोच्दै उनले हातको हँसियाले घरको भित्तालाई खोप्न थालेको पत्तै पाएनन् । खोप्दाखोप्दै उनले भित्तामा केही बुट्टा भरे झैं महसुस गरे । घर सिंगार्ने काम त महिलाहरूले गर्छन् । के साँच्चै म केटी जस्तै पो छु क्या हो भन्दै सोचे । फेरि उनले स्कुलमा सरले इन्जिनियरहरूले घरको डिजाइन बनाउँछन् भनेर पठाएको कुरा पनि सम्भिmए । फेरि सम्झिए इन्जिनियर त महिला पनि हुन सक्छन् पुरुष पनि । अनि घर सिंगार्ने काम त महिला वा पुरुष जसले पनि गर्न सक्छन् । आफूले घरको भित्तामा कोरेको आकृतिलाई हेर्दै उनले सोच्ो म पनि ठूलो भएर इन्जिनियर बन्छु । उनले यो सोच्दै गर्दा उनका बाआमा घरमा आइपुगे । बाआमालाई आफ्नो इन्जिनियरिङको बारेमा भन्छु भनेर सोचिरहेका उनलाई देख्ने वित्तिकै बाले भने लौ यो बौलाहाले घरको भित्ता भत्काउन पो लाग्यो भने । त्यति मात्र कहाँ हो र माटोको घरको भित्ता भत्किन्छ भन्ने कुरा थाहा पाउँदापाउँदै भित्ता खोपेको भन्दै उनका बाले डण्डाले उनलाई पिटे । उनीभित्रको इन्जिनियर खुट्टा र ढाडमा डण्डा पाएर तेर्सियो । आमाले पनि उनलाई खूबै हप्काइन् ।
भोलिपल्ट बिहान उनी उठ्दा उनको शरीर निकै दुखेको थियो । बाआमा काममा गइसकेका थिए । उनी स्कुल जान तयार भए । हिंड्नै लाग्दा उनले सम्झिए । उनको त कापी सकिएकोले हिजो पनि स्कुलमा मुर्गा बन्नु परेको थियो । कापी नभएकोले मुर्गा बनेकोले साथीहरूले उनलाई हिजो पोथी कुखुरा भनेर जिस्क्याएका थिए । कापी नभएर आज फेरि स्कुल जान उनलाई मन लागेन । उनी घरमै बसे । खाना खाएर उनी फेरि सुते । उनले सपनामा के देखे कुन्नि ! एक बजेतिर उठेर आँगनमा उभिए । आँगनमा उभिएर पिसाबको धार बनाएर दुई वटा गोलो घेरा बनाए । त्यो घेराको चिसो नसुकुन्जेल उनले एउटा घेराबाट अर्को घेरमा उफ्रिएर पुग्ने खेल खेले । घेरा मेटिएपछि उनले अर्को पटक पिसाब लाग्ने प्रतीक्षा गरे । यसरी पिसाबको धारले घेरा बनाएर उनले साँझसम्मै खेले । त्यो दिन उसका बाआमा अरू दिनभन्दा अलि छिटो घर पुगेका थिए । घर पुग्ने वित्तिकै छोराले बनाएको पिसाबको गोलो घेरा उनीहरूले देखिहाले । अनि आँगनमा पिसाब फेरेको भन्दै उनले फेरि कुटाइ खाए । बाको कुटाइबाट जोगिन उनी खाटमुनि गएर लुके तर बाले डण्डाले घोचेर भए पनि उनलाई कुटेरै छोडे । उनले त्यो दिन खाना पनि खाएनन् । भोकै खाटमुनि निदाए । अर्को दिन उनी बिउँझिंदा बाआमा काममा गइसकेका थिए ।
आज पनि कापी विना स्कुल जान उनलाई मन लागेन । कापी नभएर उनले गृहकार्य पनि गरेका थिएनन् । यसरी स्कुल जाँदा उनले फेरि मुर्गा बन्नुपर्छ । उनी त्यो दिन पनि दिनभरि घरमै बसे । आज भने उनले केही पनि नगरी सोचेरै दिन काट्यो । साँझ स्कुलबाट फर्किंदै गरेका उनका साथीहरूले उनलाई फेरि केटी भनेर जिस्काए । आज भने उनलाई आफ्ना बाआमा देखी निकै रिस उठ्यो । बाआमाले आफूलाई घरको काममा लगाएकोले आफूले केटी जस्तो भनेर प्रतिक्रिया सुन्नु परेकोमा उनी निकै आक्रोसित थिए । उनको आक्रोस यति बढ्यो कि साँझ बाआमालाई हँसियाले हानेर आफूलाई कुटेको बदला लिने उनले सोचे । हँसिया खोजेर हेन्डपम्पको छेउमै आफ्नो हात पुग्ने ठाउँमा राखे । बाआम आएपछि सबै भन्दा पहिले त्यहीं हात खुट्टा धुने भएकोले त्यही मौकामा हँसियाले हान्ने योजना बनाएका थिए ।
आफ्नो योजनाको सबै तयारी गरेर उनले घरको काम पनि गरे । पानी भर्ने तरकारी केलाउने देखी दाउरासमेत ठिक्क पारे । अनि आँगनमा बसेर बाआमा आउने प्रतीक्षा गरे । झमक्क रातपर्दा पनि उनका बाआमा आइपुगेनन् । अब भने उनलाई के भयो होला भनेर सोच्न थाले । बाआमा किन आएनन् भनेर खोज्ने उपाय केही थिएन । रात छिप्पिंदै गयो । तर उनका बाआमा आएनन् । रात परिसकेकोले बाआमाको खोजी गर्न जान पनि उनले सकेनन् । नजिकै जंगल थियो अनि उनीहरूको घर एकान्तमा भएकोले छिमेकीहरूको घरसम्म जान पनि उनलाई डर लाग्यो । सोच्दा सोच्दै उनी निदाए । उनले खाना पनि खाएनन् ।
बिहान उनको निद्रा खुल्दा धेरै अबेर भइसकेको थियो । बिउँझिने वित्तिकै उनले बाआमालाई खोजे । अनि बाआमा राति नआएको कुरा बुझ्न छिमेकीको घरमा पुगे । त्यहाँ पुगेपछि मात्र छिमेकीले उनलाई हिजोको घटना बताए । त्यहाँ गाउँका मजदुर सबैले सहरमा काम पाएका रहेछन् । उनका बाआमा हिजो नै सहर गएका रहेछन् । उनीहरूले छिमेकीलाई आफ्नो छोरालाई जानकारी गराइदिन भनेका रहेछन् । तर छिमेकीले राति बिर्सेका रहेछन् ।
उनी निराश भए । अनि सोचे बाआमा हिजो आएको भए उनले हँसियाले प्रहार गर्ने थिएँ । त्यसैले नआएको पनि राम्रै भयो भन्दै उनी घर फर्किए । स्कुलको ड्रेस लगाए अनि स्कुल गए । ढिलो भइसकेको थाहा हुँदाहुँदै पनि उनी स्कुल गएका थिए । स्कुल पुगेर उनी सिधै हेडसरको कोठामा गएर आफूलाई केटी भनेर जिस्काएको कम्प्लेन गरे । अनि सरले उनलाई कक्षामा लगेर सबै विद्यार्थीको अगाडि, कामको बारेमा बुझाउनुभयो । सरले कुनै पनि काम केटा वा केटीले गर्ने भन्ने नहुने सिकाउनुभयो । घरको काम केटीले मात्र गर्छन् भन्ने बुझाइ नै गलत भएको भन्दै घरको काममा पुरुषले पनि महिलालाई अर्थात् केटाहरूले पनि सघाउनुपर्ने भने । सरको कुरा सुनेपछि उनलाई केटी भन्दै जिस्काउने साथीहरूको अनुहार रातोरातो भयो । हेडसरले उनलाई केटी भन्दै जिस्काउनेलाई अबदेखि कारबाही हुने पनि भन्नुभयो ।
त्यही बेला घन्टी लाग्यो । सबै कक्षाबाट विद्यार्थी बाहिर निस्किन लागे । शुुक्रबार भएकोले आज ‘हाफ डे’ थियो । त्यसैले उनी साथीहरूसँग खेल्न चाहन्थे । तर उनका साथीहरू सबै घर जान लागेका थिए । सबैले सरले सिकाएको कुरा मनन गर्न घर गएर बाआमालाई घरको काममा सघाउने भन्दै घरतिर लागे ।
from Online Khabar https://ift.tt/kZYOUIg
No comments:
Post a Comment