‘युवा हो यो संसार तिम्रो हो। हुन त हाम्रो पनि हो तर अन्तिममा तिम्रै हो। किनकि हामी अस्ताउँदा सूर्य हौं, तिमीहरु उदाउँदा सूर्य हौ।’
-माओत्सेतुङ्ग
मुर्दा लोहे को भी औजार बनाने वाले
अपने आँसू को भी हथियार बनाने वाले
हम को बेकार समझते हैं सियासतदां मगर
हम है इस मुल्क़ की सरकार बनाने वाले
-डा. कुमार विश्वास, भारतीय कवि तथा राजनीतिज्ञ
उपरोक्त दुवै वाणीहरूले युवा नेतृत्वलाई आह्वान गरेको छ। व्यापकता बोकेको ऐतिहासिक चेतले मात्र तीव्र रूपमा पुनर्गठन भैरहेको सामाजिक अन्तरसम्बन्धलाई सही ढंगले बुझ्न र विश्लेषण गर्न सक्दछ। व्यक्तिभित्रका इच्छा, चाहना, भावना, आकांक्षा र विचारले मात्र आलोचनात्मक चेत भएको विशिष्टताको समष्टिको रूपमा व्यक्तिको निर्माण निजी तवरमा गर्दछ।
दलतन्त्रको दलदल
समयको हरेक कालखण्डमा नवीन व्यक्तिको निर्माण हुन्छ। व्यक्तिभित्रका चरम महत्वाकांक्षा यदि राजनीतिक र आर्थिक शक्तिको केन्द्रमा पुग्यो भने त्यो फासीवादी बन्दछ। नेपाली जनताले चाहेको समावेशी, समुन्नत तथा समाजवाद उन्मुख लोकतन्त्र थियो, दलतन्त्र थिएन। तर लोकतन्त्र भन्दा दलतन्त्र सशक्त बन्दै गएकोले लोकतन्त्र क्रमशः कमजोर बन्दै गएको छ।
समाजले व्यक्ति बनाउँदछ कि व्यक्तिले समाज बनाउँदछ भन्ने बहसलाई प्रसिद्ध समाजशास्त्री एन्थोनी गिड्डेन्सले ‘स्ट्रक्चरेशन’ शब्दको प्रयोग गरी समाधान गरिदिएका छन्। अर्थात् स्ट्रक्चरेशन भन्नाले समाज र व्यक्ति छुट्टाछुट्टै होइनन्। संरचना र व्यक्ति अलग-अलग निर्माण हुन सक्दैन। समाज नभई व्यक्ति बन्दैन। व्यक्ति नभई समाज बन्दैन।
असफल नेतृत्व
व्यक्ति, समूह तथा संगठनलाई निर्देशित गर्ने, मार्गदर्शन गर्ने, उत्प्रेरित गर्ने कला, क्षमता वा प्रक्रियालाई नेतृत्व भनिन्छ। सदाचारिता, जवाफदेहिता, समानुभूति, दृढता, दुरदृष्टिता, नम्रता, तत्परता, पारदर्शिता र गतिशीलता असल नेतृत्वका प्रमुख विशेषता हुन्। सिक्ने, सेवाभाव, दृढता, जनतालाई उत्प्रेरित गर्ने क्षमता, परिवर्तनको सपना देख्ने, सापेक्षित रूपमा आफूलाई अरुभन्दा अब्बल सावित गर्ने प्रयत्न नेतृत्वका महत्वपूर्ण गुणहरू हुन्। यी मापदण्ड तथा कसीमा नेपालका नेताहरूलाई उभ्याउने हो भने कति जना पास होलान् ? सायद थोरै मात्र होलान्। ती पनि पार्टी र सत्ताको बागडोरमा नरहेकाहरू।
मिठो फलको आश गर्नेहरूले मिठै फलको बिरुवा रोप्नुपर्दछ। रोप्ने धतुरो र काउछोको बिरुवा अनि आश गर्ने आँप र सुन्तलाको फल यो विसंगति मात्र हैन, मूर्खताको पराकाष्ठा पनि हो। अन्य अवस्था यथावत् रहेमा आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। गाउँ, घर, शहर, बजार, चोक तथा पार्टी इकाईहरूमा आगामी निर्वाचन र सम्भावित उम्मेदवारको बारेमा विचार-विमर्श घनीभूत रूपमा हुन थालेको छ।
कमजोर नेतृत्व हस्तान्तरणको संस्कृति
उत्पादक शक्ति र उत्पादन सम्बन्धको अन्तरक्रियाबाट समाजको आधार तयार हुन्छ। यसलाई उपरी संरचना भनिन्छ। उपरी संरचना अनुसार मनोवृत्तिको विकास र संस्थाहरूको गठन र सञ्चालन हुने गर्दछ। समाजवाद उन्मुख लोकतान्त्रिक अर्थव्यवस्थाको विकास गर्ने संविधानको प्रस्तावनामा उल्लेखित प्रावधानलाई आलंकारिक ब्यानर बनाउने, दलको नेतृत्वमा जिन्दगीभर रहने र सरकार प्रमुखको पनि दावी गर्ने घोर सामन्तवादी प्रवृत्ति हावी छ भने नवउदारवादले अर्थतन्त्रलाई क्रमशः घेराबन्दी गर्दै लगेको छ।
पार्टीहरूमा नेतृत्व हस्तान्तरणको संस्कृति ज्यादै कमजोर छ। परिणामस्वरूप आजको आर्टिफिसियल इन्टेलिजेन्स तथा प्रबोधनको युगमा विगतले वर्तमान माथि शासन गरिरहेको छ। अनि सुन्दर भविष्यको सपना कसरी साकार हुन्छ। पुरानो पुस्ताले नयाँ युगको सक्षम नेतृत्व सम्भव छैन। नयाँ युगको नेतृत्व नयाँ युगमा जन्मेको, नयाँ युगलाई बुझेको युवाहरूले गर्नुपर्छ। अन्यथा टाइपराइटर चलाउनेले कम्प्युटर चलाए जस्तो हुन्छ।
आँट नभरिएका युवा पुस्ता
अर्कातर्फ सामन्तवादी संस्कृतिमा हुर्केको युवा पुस्ता पनि आँट र साहस गर्दैनन्। बुढाहरू नेतृत्व हस्तान्तरण गर्न तयार हुँदैनन्। युवाहरू पनि नेतृत्व लिनको लागि धावा बोल्ने आँट गर्दैनन्। अनि टाइपराइटर चलाउनेले कम्प्युटर चलाउने नै भए। अनि परिणाम कस्तो आउला। यसले गर्दा युवाहरूको राजनीतिक भविष्यको साथै देशको भविष्य उज्वल हुने सम्भावना देखिंदैन।
नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई हेर्दा युवा नेतृत्वको आवश्यकताको महसुस हुन्छ। यसले आरोप-प्रत्यारोप, गुटबन्दी विभाजन, भ्रष्ट प्रवृत्ति तथा दृष्टिकोण विहीनताबाट निकास दिन सकोस्।
मुलुकको राजनीति दिनानुदिन अपराधीहरूको क्रीडा र शरणस्थल बन्दै गइरहेको छ। तसर्थ जनताको मनोविज्ञान वैकल्पिक नेतृत्वको खोजीमा छ। तर राजनीतिक बजारमा त्यस्तो नेतृत्व देखिएको छैन। विश्वव्यापी रूपमा हेर्ने हो भने अविकसित मुलुकहरूमा लिङ्ग, धर्म, संस्कृति, जाति, वर्ग, दलतन्त्र वा पार्टी प्रणाली तथा गठबन्धन प्रणालीले निर्वाचनमा मतदातालाई प्रभाव पारेको देखिन्छ भने विकसित मुलुकहरूमा एजेण्डा, भावना, राजनीतिक–सामाजिकीकरण, सदाचारिता, दूरदृष्टिता, सञ्चार जगत, जवाफदेहिता, दृढ इच्छाशक्ति जस्ता विषयहरूले मतदातालाई प्रभाव पारेको हुन्छ।
स्थानीय निर्वाचन र दलीय सिन्डिकेट
हाम्रो देशमा पाँचवर्षे कार्यकाल पूरा गरेर दोस्रो स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको छ। ७५३ वटा स्थानीय तहहरूले आफ्नो पाँचवर्षे कार्यकालमा संविधानमा उल्लेखित समाजवाद उन्मुख लोकतान्त्रिक अर्थव्यवस्थाको विकास गर्ने लक्ष्यलाई मार्ग दर्शन मानेर आ-आफ्नो स्थानीय विशेषतामा आधारित विकासका अवधारणा तथा गुरुयोजनाहरू निर्माण र कार्यान्वयन गर्न सकेनन्। न त बेरुजु, मुद्दा र भ्रष्टचारविहीन स्थानीय तह बनाउन सके। तर विडम्बना धेरै स्थानहरूमा पुनः त्यही नेतृत्व दोहोरिनको लागि लुछाचुँडी गरेको देखिन्छ।
दलीय सिन्डिकेट प्रणाली, सामन्तवादी तथा फासीवादी नेतृत्व र टिकट लिने र दिनेको रसायन मिलेको हुँदा धेरै पुराना पात्रहरूले नै स्थानीय तहको निर्वाचनमा टिकट पाउने सम्भावना देखिन्छ। तर जनस्तरबाट वा मतदाताहरूको माग बमोजिम दलहरूले टिकट दिने प्रणाली हुने हो भने देशभरिमा मुस्किलले २५ जना दोहोरिन गाह्रो छ।
यस्तो कहालीलाग्दो स्थिति स्थानीय तहमा मात्र हैन प्रदेश र संघको निर्वाचनमा पनि उस्तै रहेको छ। जबसम्म २१औं शताब्दीको चुनौतीलाई अवसरमा परिणत गर्न सक्छु भन्ने आँट र विश्वासका साथ युवा शक्तिले विद्रोह गर्दैन, तबसम्म उनीहरूको राजनीतिक भविष्य समाप्तिसँगै देशको भविष्य पनि उज्ज्वल हुँदैन।
अमेरिका जस्तो मुलुकमा विल क्लिन्टन र बाराक ओबामाले नेतृत्व गरे, अधिकांश युरोपेली मुलुकहरूमा युवाहरूले नेतृत्व गरिरहेका छन्। छिमेकी मुलुक भारतमा पनि दुईपटक प्रधानमन्त्री बनेका मोदी भाजपाका पार्टी अध्यक्ष हैनन्। तसर्थ आसन्न स्थानीय तहको नेतृत्वका साथै प्रदेश र संघको निर्वाचन अनि पार्टीहरूको नेतृत्व समेतमा भिजन, मिसन र एक्सनले लेस भएका युवा वर्गले धावा बोल्नुपर्दछ। अन्यथा युवा जोश, जाँगर, दृष्टिकोण, इच्छाशक्ति र सदाचारिताका तर्कहरू फोस्रा गफ सावित हुनेछन्।
from Online Khabar https://ift.tt/9cQEMly
No comments:
Post a Comment