Sunday, February 13, 2022

एमाले संसदीय दलको बैठक बस्दै

२ फागुन, काठमाडौं । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ ।

आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।

एमालेले महाअभियोग असफल पार्ने बताइसकेको छ । त्यसका लागि संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई आवश्यक निर्देशन दिने र अन्य महत्वपूर्ण निर्णय गर्ने महासचिव शंकर पोखरेलले बताएका छन् ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट निलम्बित भएका छन् ।

त्यसलगत्तै आइतबार आकस्मिक रुपमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको थियो ।

आगामी स्थानीय तहको चुनावलाई चुनावलाई पर धकेल्ने प्रयासका साथ महाअभियोग प्रस्ताव आएको भन्दै एमालेले त्यसको प्रतिवाद गर्ने निर्णय पनि गरेको थियो ।



from Online Khabar https://ift.tt/QfsNVEr

No comments:

Post a Comment