विभिन्न रमणीय स्थलहरूको स्वप्निल बहार लुटी बिहान ६ बजे उठ्यौं। सनातनी नित्यकर्म स्वरूप हातमुख धोई चियापान पछि प्रेम कार्की, होम दाइ र म लक्षित कार्यारम्भतर्फ लागियो, काम थियो – सीमा प्रहरी चौकीको आन्तरिक लेखा परीक्षण ! १० बजेतिर खाना खाई पुनः त्यही काममा जुटेर ४ बजाइयो। आलुको झारा खाई असई घिमिरेजी, प्रेमजी र म छ्याङ खान भनी साविकका सइ बालकुमार शाक्यका मीतज्यूको घरमा गयौं। त्यहाँबाट पुनः स्थानीय रूपमा साथीहरूले नामकरण गरिएका ह्वाइट हाउस, डाँफे क्लब लगायतका ठाउँमा गई अन्ततः ८:३० बजे कोठामा आई खाना खाएर आराम गरियो।
१८ गते बिहान उठ्दा रातभरको अन्तरालमा वरिपरिका डाँडाहरूले सेतो ओढ्ने ओढेर सूर्यको प्रकाशमा चम्किरहेका थिए। हामीहरू उठेर हातमुख धुन गइयो। हात काठिएको सम्झिंदा यो वैशाख महिना नभई कुनै ठण्डी महिना हो जस्तो लाग्दथ्यो। प्रेम, फत्त, होम र म भई चौरमा घाम ताप्दै गफगाफ गर्यौं। पातलो परेको हिउँ विलाउँदै गयो। हामी हातमुख धोई चिया पिएर हिजोको कार्यसम्पादनतर्फ लाग्यौं। मङ्सीर÷पुसको हिउँ शिला, माघको हिउँ बिला, त्यसपछिको हिउँ छिलाफिला भन्ने मुगाली उखान जस्तै १० बजेतिर खाना खाई एकक्षण बिसाउँदाको अवलोकनमा राति परेको सबै हिउँ पग्लिसकेको देखियो। जेहोस्, हामी पुनः कार्य अन्त्यतर्फ लाग्यौं। दुई जना जवानहरू गमगढीतिर गए। कार्यालयगत आन्तरिक लेखा परीक्षण (आलेप) सकिएपछि राशनतर्फको आलेप गरी कार्य समापन गरियो।
त्यसपछि हामी तीन जना त्यही गाउँमा रहेको भूजी गुम्बा हेर्नका लागि उकालो लाग्यौं – वरिपरिको दृश्यावलोकन गर्ने मनसायले। भूतपूर्व सई र हाल कार्यरत सईको विषय, दुर्गमबासको प्रसङ्गका गफले उकालो कटायो। करिब सवा घण्टा हिंडेपछि हामी भूजी गुम्बामा पुग्यौं, तर त्यतिबेला त्यहाँका लामा रहेनछन्। उनकी यौवनावस्थामा पन्पेकी एउटी छोरी – टोमा लामा त्यहीं रहिछन्। होम दाइ र म त त्यहाँका लागि पाहुना नै भयौं। प्रेम भने दुई÷तीन वर्षसम्म त्यहीं खाइखेलेका, हाम्रो तुलनामा भोटे भाषाका ज्ञाता, भोटेनीहरूसँगको खेलव्यवहारका सूक्ष्मानुभवी हुँदा तिनी केटीसँग ठट्टालु कुरा गर्दथे। म भने भोटेनीहरूको आतिथ्य मूल्याङ्कन गर्नमा नै आफूलाई व्यस्त राख्ने चेष्टा गर्दै थिएँ।
वास्तवमा यो नै मेरो पहिलो अवसर हो, जसमा एउटी भोटेनी युवतीको सच्चा हृदयबाट प्रस्फुटित कुनै छलकपटतिर ढल्कने सूक्ष्माभाससम्म नपाएको अगाध स्नेह र मायाको यथार्थता हेर्न पाएको। हामी दुईलाई अतिथिका रूपमा चिनाएकाले हो वा उनको बेहोरा नै त्यस्तै हो, उनीलाई जिस्काउने प्रेमप्रति पनि उनका रिसाइका भावहरू पढ्न गहन अध्ययन पनि असफलै हुन्थ्यो। बरु बीचमा “रिसायौ कि क्या हो ? टोमा” भन्दा “किन रिसाउनु नि दाइ !” भनी हर्षालु उत्तर दिन्थिन्। हातमा ताखु (ऊनीको धागो कात्ने कत्तुवा) लिएकी टोमाले हामीतिर मुखारित हुँदै “दाइहरूलाई भोक लागेको होला, के खान्छ ? आलि- आलि आलु छन्, खान्छ दाइ ?” भन्दा “हुन्छ” भन्ने उत्तरसँगै उनको पछि-पछि लाग्यौं- उनको नजिकैको घरतिर। सायद बिहान बनाएको उनीहरूको खाना होला ! हाम्रो अगाडि राखी नुन, खुर्सानी, लसुन पिसिदिन्छिन्। खाने समयमा बल्ल सम्पूर्ण बेलीविस्तार हुन्छ। म प्रश्न गर्छु –
तिम्रो बुवा खोइ त ?
कारमान्नु गया छ दाइ ! एक महिना भयो।
अनि दाइ–भाइ कोही छैनन् त ?
दाइ पनि बासित गयो, भाइ बुन गया छ, आब आउला नि ! मैले आघि बोलायो।
अनि यो गुम्बा कसले रेखदेख गर्दछ त ?
भाइ चुम्मा हो नि दाइ ! धुप बाल्ने, सफा गर्ने उही गार्छ।
चुम्मा भनेको के हो दाइ ? म प्रेमतिर मुखारित हुँदै प्रश्न गर्दछु।
एक वर्षसम्म जङ्गलमा बसेर भोटे भाषाका ज्ञान सिकेर आउँछन् र पछि बल्ल लामा हुन्छन्। लामाको पूर्वाधार यही चुम्मा हो क्यारे ! हैन त टोमा ? प्रेमले टोमासँग समर्थन÷जिज्ञासा राख्छन्।
हो दाइ, एक वर्षसम्मा मान्छीको मुखै नाहेरी खोपा बसेर ज्ञान सिक्छा र आनी चुम्बा भयो।
त्यो समयमा के खान्छन् त ? म प्रश्न गर्दछु।
फलानो ठाउँमा यति दिनको लागि खाना राखिदिन्छौं भन्ने घरको सल्लाह अनुसार बिहानपल्टी यिनीहरूले लगेर राखी दिन्छन् र उनीहरू आएर लगी खानाको रूपमा प्रयोग गर्दछन्। जसमा जौ वा फापर आदिको सातु बढी प्रचलित छ। यस्तै प्रश्नोत्तर हुँदाहुँदै आलु खाने काम सिद्धिन्छ।
चिया बुनाऊँ कि दाइ ? टोमाले सोध्छिन्।
भो ! भयो अब। म उत्तर दिंदै थिएँ, प्रेमले “खै त गुम्बा कतिबेला देखाइदिने ?” भनी प्रश्न गर्दछन्।
आब भाइ आइपुग्छान्। साँचो उनीसँग छा, मोसांग भाएको भोए त आघि देखाइदिन्थो नि दाइ ! टोमाले उत्तर दिन्छिन्। अनि हामी सबै बाहिरिन्छौं।
संयोग भाइ पनि आइपुग्छन्। गुम्बा खोलिइन्छ र हाम्रो दृश्यावलोकनारम्भ हुन्छ। अन्य गुम्बाको जस्तै बुद्धका विभिन्नावस्थाका चित्रहरू÷मूर्तिहरूका पङ्तिहरू हुन्छन्। हेरिसक्ने बेलामा एक कपडामा विभिन्न रङ्गका बुद्धमूर्ति÷चित्रमा अर्कै रङ्गका केटीका चित्रहरू एकापसमा चुम्बन गरिएको दृश्य अङ्कित चित्र अगाडि पर्छ। प्रेमले बुझपचाएर भाइको मुखिञ्जेल टोमालाई “यो के गरेको ?” भनेर प्रश्न गर्दछन्।
उनी मुस्काउँदै थिइन्, भाइ आएर “देउताले चुम्बन गर्याको” भनी छोटो उत्तर दिई, दिदीसँग खाम कुराहरू गरेर दुवै जना हाँस्छन्। अनि मैले “यो कहाँबाट ल्याएको त ?” भनी सोध्दछु।
मेरो भाइ बुनाउँछन्, बावा बुनाउँछन्, यी सबै यहीं बनायो – यो उत्तर थियो टोमाको।
यहाँ यी सबै रङ्गहरू छ ?
आँ, आइले पनि माथि बुनाउँदै गारेको छा एउटा !
खै हेर्न पाइन्छ ? ऐले ल्याएर देखाउनुहोस् त।
माथि नै हिंडन, सबै हेरौंला ! भनी भाइ अघि-अघि लाग्छन् र हामी त्यस १४ वर्षे चुम्बा भइसकेको टोमाको कलाकार भाइको पछि-पछि लागेर उपल्तिर जान्छौं। स्केच गरिसकेर पेन्टिङ्ग आरम्भ गरिएको एउटा चित्र फ्रेममै जडिएको अवस्थामै देखियो। अलि-अलि भए पनि कलातर्फ आकर्षितसम्म बन्न पुगेको मलाई ती केटाको कलाकारिताप्रति जिज्ञासा उत्पन्न हुनु स्वाभाविकै थियो।
यो लेख्ने ब्रसहरू खै कस्ता छन् ? भन्ने मेरो प्रश्नपछि कोही झोपा, कोही बाख्राका, कोही भेडाका रौंहरू काठका कलमाकारमा बाँधिएका ब्रसहरू र काठमाडौंबाट झिकाइएका पेन्टिङ कलर हाम्रो अगाडि देखाउँछन्।
ती आँखाका परेलाहरू लेख्ने बिरालुका रुआँका बुरस खै त ? टोमाले भाइलाई प्रश्न गर्दै हामीलाई मसिना रेखाहरू कोर्न अर्काथरी बिरालोका रौंहरूबाट बनाइएका ब्रसहरू भएको बताउँदै थिइन्, भाइले पनि तुरुन्त ल्याएर देखाइदिए।
यो लेख्ने कपडा कहाँबाट ल्याएको नि ! मैले ती ब्रसहरूको गहन अवलोकनपछि भाइसँग प्रश्न गर्दछु।
यो याहीं बुनाएको हो, हामी नै बुनाउँछौँ।
कसरी ? छोटो प्रश्नको उत्तरमा मलमल जस्तो कपडामा भोटे भाषामा के के लेखेर (छापेजस्तै-मलमल जस्तो कपडामा छापेजस्तै देखिन्छ, तर काठको ब्लकमा छाप बनाई के-के रङ्गमा चोपी छापाको रूपमा साना हस्तलिपि उतार गरेको देख्दा पनि तिनीहरूको उत्कृष्टता सराहनायोग्य हुन्छ) झण्डाको रूपमा प्रत्येक घरमा टाँगेको देखाउँदै – त्यस्तै कपडामा झोपाको छालाको रसमा गहुँको मसिनो पीठो रयालेर भिजाउँछ र यो फ्रेम (चौकोस) मा तन्काई सुकाएर बुनाउँछ दाइ ! भनी उत्तर दिंदा भए।
यस्तो एउटा आधुनिकीकरणको अस्पष्ट आवाजसम्म सुन्न नपाइने स्थानमा जन्म लिएर “जननी जन्मभूमिश्च स्वर्गाद्वपि गरियसी” उक्ति शिरोधार्य गरी अनकण्टार्यतालाई पूर्णाङ्कमाल गरेर पनि यस्ता उपायको कल्पना गरी साकार पार्ने हे नेपाली युवक ! तिम्रो यो कलाको सराहना म कुन शब्दले गरुँ ? जस्ता विचार मनाङ्कुरण भएको हृदयभित्र आलै जस्तो छ। कला त्यो आत्म प्रस्फुटन हो, जसलाई बाह्य विकासको सजावटबाट कलात्मक बनाउन सकिंदैन, अर्थात् कला त्यो विकसित ठाउँको मात्र पेवा हैन बरु यो त त्यही विकसित अन्तरात्माको उद्गार हो जुन त्यस्तो अनकण्टार ठाउँमा जन्मी–हुर्की बढेको (कम्ती पढेको) टोमाको भाइमा पनि पूर्णरूपमा विद्यमान हुन सक्छ जस्तो मलाई अद्यापि लाग्दछ। यस्तै तर्कनाहरू गर्दै म “यी चित्रहरू एकाएक कसरी बनाउँछौ त ?” आफूमा पनि बनाउने रहर उब्जँदा उत्सुक बनेर प्रश्न गर्दछु।
पेन्सिलको नामसम्म नजानेका तिनी काठमाडौंमा बहुमूल्यमा बिक्री हुने थाङ्का आर्टका आर्टिष्ट – भोटे केटा, पेन्सिलले पहिले स्केच गरी तिनै ब्रुसहरूका सहायताले पुस्तक वा मनको यथोचित रङ्गानुसारको रङ्गले पोती तयार पार्ने व्यहोरा बताउँछन्।
भाइको नाउँ के हो ? मलाई त्यो नाउँ जान्ने मात्र हैन, कलाप्रतिको जिज्ञासाले त राम शब्दमा स्थानापन्न गराउँ जस्तो भएकाले अन्त्यमा प्रश्न गर्दो भएँ।
“कुनक्याप चुम्वा” उनीले छोटो उत्तर दिएपछि “स्यावास भाइ ! तिमी यस्ता अझै राम्रा चित्रहरू लेख्न सिक र दाइ बुवासँग काठमाडौं गएर यो उत्कृष्ट प्रतिभा सबैमा परिचित गराऊ, ईश्वर पनि सदा तिमीलाई यस्तै प्रेरण दिउन् …” भन्दै होम र प्रेमतिर “अब हामी धुपी गुम्बा हेर्न जाऊँ त” भनी अनुरोध गर्दछु। सबैबाट समर्थन पाएपछि उनीहरूलाई (कुनक्याप र टोमालाई) बस्ने अनुरोधमा बिदा भई तल्लो धुपीगुम्वातिर लाग्दछौं।
अरू दाइहरू के सोच्दथे थाहा नपाए पनि म भने ती कलाहरू आँखा वरिपरि नचाई दिदी भाइतिर हेर्दै-हेर्दै हिँड्दै थिएँ – देखिउञ्ज्याल अगाध स्नेह र प्रेमले। उनीहरू पनि सोही समयतक डेग नचली, दुवै दिदीभाइले, म उनीहरूतिर फर्केको बेलामा मेरा आँखासँग ६ वटा बनाइदिन्थे। उनीहरूबाट ओझेलिंदापछिको पहिलो फर्काइमा मेरा दुई नयन ४ सँग जुध्नुको बदला पहाड र भीरसँग ठक्कराए तापनि मनले ती केटीको स्वच्छ मायालु प्रेम र केटाको कलाको सराहना गर्दै धुपी गुम्बा पुगियो।
लामा नभएको त्यो गुम्बा पनि ल्होङ्जु नामकी केटीका सहयताले अवलोकन गरियो – छोटो समयमा। किनकी साँझ पर्न थालेकोले भित्र त्यत्ति उज्यालो नहुनु अस्वाभाविक थिएन। झरोसम्म नभएको तथ्य सुनेपछि र गुम्बाभित्र प्रायश: एउटै कला हुने भएकोले लामो समयको फुर्सद पनि ननिकाली पुनः ओह्रालो लाग्यौँ। पोष्टमा आई प्रेम र म छ्याङ खान गाउँतिर लाग्यौं। अस्थानीय नाउँको रूप दिंदा सेतो कमेरो छ्यापेको घर हुनाले “ह्वाइट हाउस” नामकरण हुन पुगेको घरमा जान्छौं। काठमाडौं (बानेश्वर र बौद्ध) मा समेत बेला-बेलामा आई व्यापार गरेकी भोटे नाउँ याङ्जु भएकी सुनादेवीकहाँ गई छ्याङ खाइयो। फर्किंदा असइ घिमिरेजी भेट भई त्यही जाने भन्नु भए मुताविक पुनः त्यहीं गइयो। प्रेमले आफ्नो ड्यूटीको रूपमा रोलकल गर्न गए। सो सकेर त्यहींका तारा नाम गरेका प्रहरी जवानले बुनेको स्वीटर मेरा लागि किन्ने हिसाबले उनीले लगाएर आई तलबाट (हामी माथि तलामा बसेका थियौँ) याङ्जुलाई बोलाउँदा “नाईं दाइ ! आजु नआइजा, आव रात परिसक्यो, फेरि भोलि खाला …” भनी उत्तर दिइथिन्। तर प्रेमले “घिमिरे साहेवलाई अलिकति ख्वाउनै पर्यो नि !” भनी जिद्दी गरेपछि “चाँडै फर्की है त !” भन्दै ढोका खोलिन् र एक बोत्तल छ्याङ छानी “आजा तिमीहारू यत्ति खाऊ है, अरु भोलि खालाऊ, रातपरेपछि एक्ली केटी भएको ठाउँमा आउँदा गाउँलेहरूले मालाई टोक्छ, त्यसैले विनति छ दाइ ! आजालाई यत्ति …” भनी सोही वाक्य दुई÷तीन चोटि दोहोर्याएको पाउँदा उनको आफ्नो संस्कारप्रतिको त्रास र हामी अस्थानीयप्रतिको पवित्र प्रेम पाउँदा पुनः भुजी गुम्बाको याद गर्दछु, मैले। खाइसकेर “आजालाई यत्ति” वाक्यलाई ठट्टाको रूपमा प्रयोग गर्दै हामीहरू बिदा हुन्छौं। बाटोमा साना असईकहाँ प्रेम, घिमिरे र म पसी उनीहरू आफैंले राखेको छ्याङ चाखी केहीबेर गफसफ गरी चेकपोष्टमा आउँछौं र खानाखाई भोलिको प्रतीक्षामा होमदाइको साथमा आराम गर्दछु – निद्रादेवीको शरणमा पर्दै।
OOO OOO
१९ गते बिहान सकुशल उठी मनमनै पहिलो कल्पना “शायद अब आज अन्तिम होला ! यो मुगु जिल्लाको अनि यो मुगु गाउँको सहकर्मीहरूसँगको रोमाञ्चित भ्रमण”। जेहोस्, उठी हातमुख धुन गइयो। फर्कंदा पोष्टका स्टाफहरू बुद्धिचाल खेल्दै थिए। भान्सेले खाना पाकेको व्यहोरा जनाएपछि खाना खाई हामी पनि एक गेम चेस खेल्यौं। त्यसपछि त्यही कार्यालयको दूरवीन लिई सिकारीको रूपमा घिमिरे, प्रेम, होम, राना र म कर्णालीको तीरतीरै पुरानो मुगुतिर लाग्यौं – बाटोमा पर्ने स्वाँखरी लेकको दृश्यावलोकन गर्दै। त्यो लेकको डाँडामा एउटा प्वाल परेको रहेछ। किंवदन्ती अनुसार पहिले एकजना पहलमानले धनु हान्दा पहरो छेडिएर प्वाल परेको भन्ने भनाइ रहेछ। त्यहाँबाट फुटेर अर्थात् प्वाल परेर उछुट्टिएको ढुङ्गा हुम्लाको सिमकोटमा छ रे ! र त्यसबाट तेल जस्तो पदार्थ चुहिरहन्छ रे ! भन्ने जनसाधारणको भनाइ रहेछ। पहाड, पर्वत, जङ्गल, हिउँ, चरा-चुरुङ्गी, छाँगा, छहरा, झरनाहरूको प्रत्यक्षदर्शी बनी अनुपम प्राकृतिक सौन्दर्यको बहार लुट्दै सवा दुई घण्टाको अन्तरालपछि पुरानो मुगु पुग्यौं। चारैतिरबाट पानी आउने लक्षण देखिंदा चौरमा केहीक्षण गफसफ गरी फिर्ता हुने तरखर गर्न बाध्य भइयो। भोजपत्रका लठ्ठी टेकेर दूरवीन भिरेर कर्णालीको तीरतीरै मुगु प्रहरी चेक पोष्टको बाटो लाग्दा बीचमा हिउँ परी रुझेको यो पहिलो अवसर हो – जीवनको र सायद अन्तिम पनि यही हुन्छ होला।
जेहोस्, गाउँमा फर्केपछि उही ह्वाइट हाउसकी याङ्जुकहाँ गइयो। घिमिरेजी र म छ्याङ खाँदै थियौं प्रेम र फत्त पनि आइपुगे। एक बोत्तल रक्सी मगाएर उनीहरू पनि पिउन थाले – आज्जसोका ठट्टा निकाल्दै। मदिराका रूपमा छ्याङ र कोदाको घरपाला थिए, स्न्याक्सको रूपमा भटमास भुटेर बोक्रा फाली निकालिएका दिउलामा नुन, खुर्सानी, लसुन मिसाएर दालमोटको रूप धारण गर्न बाध्य थियो। कुनै पनि किसिमको धुनले हैन, सबै आ-आफ्नै अन्तरमनका तर्कनामा व्यस्त देखिन्थे। घडीले सवा ६ बजाएपछि साढे ६ बज्दाको रोलकल गराउने प्रेमको ड्युटीको अभिभारा फत्तलाई सुम्पी पठाए। त्यसपछि हामी ३ जना मात्र बाँकी भयौं। घिमिरे र म छ्याङ अनि प्रेमले रक्सी पिउदैथियौं। दुवै सकिएपछि मैले जान अनुरोध गरें। तर घिमिरेजीले समेत रक्सी खाने मनिषा प्रकट गरेपछि प्रेमबाट सहर्ष स्वीकार भयो। मचाहिं भने छाडी टोपलेको हुनाले केही बोलिनँ। “मौनं स्वीकार लक्षणम्, …” भने झैं उनीहरू द्वयलाई मेरो पनि सहमतिको आभास भएछ क्यारे ! मेरो कपमा पनि हाल्न थालेका थिए, मबाट नखाने प्रण गरेको व्यहोरा उल्लेख भयो। तब, प्रेमदाइले नजान्ने विद्यार्थीलाई पाठ घोकाए झैं याङ्जुलाई तिमीले यसो भनेर खान देऊ, केही हुँदैन भन्न थाले।
प्रेम : तिलकदाइले कुनै देवताको भक्कल गरेको भए पनि म कन्याकेटीले दिएर खाँदा पनि केही पाप लाग्ने भए मलाई नै लागोस्।
याङ्जु : तिलकदाइले कुनै देवताको भक्कल गरेको भए पनि म कन्याकेटीले दिएर खाँदा पनि केही पाप लाग्ने भए मलाई नै लागोस्।
ल अब केही हुन्न खाऊ – प्रेम, ल दाइ खानुस्, पाप लागे पनि मलाई नै पो लाग्ने भयो त ! बरु अब कारमान्नुमा बानेश्वर, बौद्धतिर पनि भेट हुँला र यस्तै सत्कार गर्न पाऊँ है दाइ ! भनी याङ्जुले कप हातमा लिएर मतिर दिंदै थिइन्। दुईजना दाइहरू मलाई पनि खान विवश बनाउँदै थिए र याङ्जुको पनि समर्थनाभाष हुन्थ्यो। अन्ततः मैले पनि खाएँ “लौ त पाप लाग्ने भए प्रेम र याङ्जुलाई नै लागोस् है भगवान् !” भनेर।
खाइसकेर बिदा हुने बेलामा मलाई पाश्चात्य मुलुकको झल्को हुन्छ। साँझको समय छ, यौवनावस्थाकी एक्ली केटीका घरमा तीनजना मदिरापान गरेका – मदहोशी, नौजवानहरू बिदा हुँदैछन्। उनी द्वयलाई भोलि पनि आइजा है दाइ ! भन्दै र मलाई कारमान्नुमा भेट हुँला है दाइ ! भन्दै हात मिलाउन अग्रसर हुन्छिन्, जुन मलाई अनौठो लाग्दछ। तापनि आजको पाप तिमीलाई नै लागोस् है याङ्जु भन्दै हात मिलाउँदा हुन्छ दाइ भन्दै हाम्रो बिदाइ गर्दछिन्।
बिदा भएर चेकपोष्टमा आई खाना खाई मुगु गाउँका लागि अन्तिम रातका रूपमा होमबहादुर दाइसँग निद्रादेवीको शरणमा पर्छु – २० गतेको प्रतीक्षामा। निद्रा नआउञ्जेल भोलिपल्ट हिंड्नुपर्ने बाटो र बासको परिकल्पना गर्दैथिएँ।
२० गते पनि उठेर दिसापिसाब गर्ने, हातमुख धुने, चिया पिउने कार्यहरूलाई नित्यकर्मको रूप दिएँ। अनि प्रेमदाइसँग आज्जसोको गुम्बा अवलोकनको सिलसिलामा बाँकी रहेको एक वचन बोल्ने गुम्बातिर जान अनुरोध गरें। होमदाइले तारासँग गई स्वीटरका लागि चाहिने एक धार्नी ऊन ल्याइसक्नुभएको थियो। हामी तीनैजना एक वचन बोल्ने गुम्बातिर लाग्यौं। किंवदन्ती अनुसार यस गुम्बामा एउटा सुनको मूर्ति थियो। जसलाई तीनजना मिलेर चोरेर लगेछन् र दाउरा (ठाउँको नाम) भन्दा यता पर्ने भत्केको ओडारमा पुगेछन्, जुन ओडार तिनताकासम्म ठीक थियो रे ! त्यहाँ पुगेर तीन बण्डा लगाउन खुकुरीले हान्दा ऐयाऽऽऽ भनेछ – त्यस मूर्तिले र ओडार माथि गएर लात्ती हानी ओडार भत्काई ती तीनै जनालाई त्यहीं मारिदिएछ। आफू मुगु पारिको ढुङ्गामा आएछ, जसमा अहिले पनि मूर्तिको दाग देख्न सकिन्छ। पछि गाउँलेहरूले त्यहीं एकवचन बोल्ने गुम्बा निर्माण गरी त्यो मूर्ति स्थापना गरेका रहेछन्। पछि पनि चोरेर बेच्न लग्दा चोरलाई पूर्ववत् दोष दिई पुनः फिर्ता भएको भनिन्छ। त्यो मूर्तिलाई महाङ्काल पनि भनिंदोरहेछ। अहिले पनि त्यो मूर्तिको काँधमा खुकुरीको दाग देख्न सकिन्छ। यतिखेर गुम्बाको जीर्णोद्धार कार्यले समापनको रूप लिन नसकेको हुँदा भवन मात्र हेरी तीनै जनाले शाक्य सई साहेवको मीतकहाँ आई बैनीले बनाएको भोटे चिया खाइयो। नौबजेतिर पोष्टमा आई खाना खाइयो। दिउँसोका लागि झारा (अर्नी) का रूपमा उसिनेका आलु झोलामा राखी सबैसँग बिदावादी भई फिर्ताको बाटो लाग्यौं। सम्झनाको रूपमा १८ गते पहिलो पटक पहिरेको स्वीटर किनेर साथमा लिएर आएको छु।
११:४५ बजेतिर पिप्लेरीमा आई पुग्दा मुगु जाँदाका दिन भेट भएका उही मुगु प्रहरी चेक पोष्टका प्रहरी जवानहरू भेट भएका थिए। केही पर गएर नास्ता खाइयो र करिब सवा एक बजेतिर त्यहाँबाट हिंड्यौं। दाउरा गाउँभन्दा तल खोलाको तीरमा एकजना भोटे दाइले दही खान्छ ? भनी सोध्दा दुवैजना मुखामुख भयौं। अन्ततः चाखी हेर्ने विचारले ओडारतिर लाग्यौं। धातुकै भाँडामा जमाउन राखिएको काँचो दूध देख्दावित्तिकै मनमन नखाने निर्णय भए पनि भोटेदाइले डाडुले निकाली आफूले चाखेर ठीक छ भन्दै हामीतिर ल्याए। होमदाइले अलि बढी घिन मान्ने भएकाले म मात्रैले के जिब्रोमा राखेथेँ, सारा मुख गन्हाएर थुक्थुक्याहट मात्र हैन, जीवनमा कहिल्यै बिरामी हुँदा पनि नभएको बान्तासमेत होला जस्तो भएको स्थिति अहिल्यै जस्तो लाग्छ। आखिर नखाई वल्तिर पानीको धारोमा आई जिब्रीले जिब्रो कोरी मुख खोकलेर ल्वाङ मुखमा हाल्दा पनि कस्तो-कस्तो असजिलो भइरहेको थियो।
जेहोस्, पाँच बजेतिर सेरोग पुग्यौं। मेघराज, मरासिनी र विष्णुसँग गफसफ गरी खाना पाकेपछि खाना खाई सुत्यौं। थकाइको कारणले होला, निद्रादेवीले चाँडै नै प्यार प्रदान गरिहालिथिन्।
सायद थकाइकै कारणले होला बिहान पनि अबेलासम्म सुतिएछ। उठेर हात मुख धोई खाना खाई अरू साथीहरू पढाउन/घोकाउन स्कुलमा जानुभयो। मैले बसाईं उपन्यास भेट्टाएँ र त्यसैको पुनरावलोकन गरी दिन बिताएँ। स्कुल बिदा भएपछि मेघराजजीले मेरो डायरीमा लेखिएको ढाँचामा आफ्नो डायरीमा पनि नाम लेख्न अनुरोध गर्नुभए मुताविक लेख्नैमा व्यस्त भएँ। साँझखेरि त्यहाँको गुम्बा निरीक्षण गर्न भनी सबै त्यतै लाग्यौं। अन्यान्य गुम्बाहरूमा जस्तै बुद्धका मूर्ति र चित्र सजिनुका अलावा त्यहाँ एउटा धर्मकोठा पनि रहेछ। जसमा एउटा अन्दाजी ढाइ-तीन मिटरसम्म अग्लो र एक-दुई मिटरसम्म व्यास भएको सिलिण्डर आकारको वस्तु बनाएर घुम्न सक्ने तरिकाले जडान गरिएको रहेछ। जसका बारेमा सोध्दा माङे, प्याङे, हुम्सा (ब्रह्मा, विष्णु, महेश्वर भने जस्तै) र तिनका बारेमा लेखिएका कागजका टुक्राहरूले भरेर बाहिर कपडाले ढाकिएको रहेछ। त्यसमा कलाकारले विभिन्न चित्रहरू बनाएका रहेछन्। त्यसलाई धर्म भनिंदो रहेछ र घुमाएपछि धर्म मिल्ने मान्यता/विश्वास त्यहाँका बासिन्दाहरूमा अटल रहेछ। घुमाउन सजिलो होस् भनेर आसनतिर मुन्द्राहरू पनि जडिएका थिए।
गुम्बा निरीक्षणपश्चात् गाउँबाट छ्याङ खोजी कोठामा आइयो।छ्याङ खाएर गाउने नाच्ने कार्यक्रम सञ्चालन हुँदा सबैजना नर्तक बनेको दृश्य अहिलेसम्म ताजै छ। सो कार्यक्रम पछि मैले निकट भविष्यमा मुगुमा पुनः नआउने (यही सिलसिलामा) गरी जान थालेकाले साथीहरूले मेरो बिदाइको सूक्ष्म कार्यक्रमको रूप दिए। सबैजनाले दुईचार शब्दहरू राख्नुभयो र मैले पनि साथीहरूमा स्मृति अटल राख्न अनुरोध गरें। त्यसपछि खाना खाई २२ गतेको प्रतीक्षामा आराम गरियो।
बिहान उठेर हात मुख धोई सकेर मरासिनीजीको अनुरोध अनुसार उहाँको डायरीमा पानी रङ्गले नाउँ लेख्ने कार्य गर्दो भएँ। सोही समयमा विष्णुलाई पनि मसँगै घरतिर जाने तारतम्य मिलाउनेबारे कुराकानी गरियो। जसमा मरासिनीजीले आउँदो मसान्तका दिन हामी दुवै (आफू र विष्णु) गमगढी आउनेछौं, म यहीं बस्छु क्यारे मिलाइहालौंला नि ! यदि केही खचपच गरेछन् भने पछि आएर सामूहिक राजीनामा दिउँला र अन्तै लागौंला नि के यही मात्र स्कुल हैन क्यारे ! कि कसो ? जस्ता व्यहोरा व्यक्त गर्नुभएको थियो। मैले फेरि मुगुतिर लाग्नुभन्दा पहिले यस्तै होला कि भनेर जुम्लामा दीपेन्द्रलाई आवा गरी दुईवटा हवाई टिकट लिन खबर गरेको थिएँ। जसमा अहिले मरासिनीजीका कुराले विष्णु र म सँगै घरतिर गइने भइयो, टिकट लिन लगाएको पनि ठीकै भएछ जस्तै लाग्यो। त्यतिबेला घरको ताजा कल्पना मस्तिष्कमा भएको अझैसम्म आलै छ। जेहोस्, खाना तयार भएपछि खाई रोटीलाई झाराको रूपमा झोलामा राखी १२ बजेतिर बिदावारी भई माङ्ग्रीतर्फ हिँड्यौं।
४:३० बजेतिर ढुङ्गेधारामा आइपुगेर नास्ता खाइयो र ५:१५ बजेतिर माङ्ग्री गाउँमा पुग्यौं। हामी मुगुतिर जाँदा सुरु मात्र गरिएको माध्यमिक विद्यालयको भवन त्यो दिनभन्दा दुईदिन अगावै सम्पन्न भएको पाउँदा ताजुब लाग्यो – जुन स्वाभाविकै पनि थियो। स्वास्थ्य चौकीका इञ्चार्ज कणेलजी पारिको मह भन्ने गाउँमा जानुभएको सहयोगीबाट थाहा लागेपछि पोखराका त्यही माङ्ग्री स्कुलका हेडमास्टर टेकनाथ पौडेलको कोठाको सोधनी गर्यौं। अन्ततः हाम्रै उखुवारीका टेकनाथ काकाको कोठामा पुगेछौं। स्वास्थ्य चौकीका सहयोगीलाई फुल खोजी उसिन्न लगाइयो। त्यत्तिकैमा कणेलजी पनि आइपुग्नुभयो र गहुँका रोटी र फुलको नास्ता गरियो।
खाना पाकिसकेको खबर प्राप्त भएपछि खाना खाने काम भयो। थाकेकाले होला होमदाइ र म शयनकक्षतर्फ लाग्यौं। मेरा लागि मुगु गाउँबाट आफ्ना पाइलाहरू फर्किंदै गरेका मात्र नभई यस जिल्लामा बस्ने रातहरूको सङ्ख्या पनि घट्दै गैरहेका थिए।
२३ गते आइतबार घामको पहिलो झुल्कोसँगै उठेर सनातनी नित्यकर्महरूमा संलग्न भयौं। त्यसपछि कणेलजी बजेट सीट मिलाउन थाल्नुभयो र मैले सहयोग गर्न थालें। होमदाइले आलेप (आन्तरिक लेखा परीक्षण) को कार्यारम्भ गर्नुभयो। बीचमा खाना पाकेको रैवार (खबर) ले सबैजनाले खाना खायौं। पुनः थाडामा (छतमा) गई आलेपको कार्यलाई निरन्तरता दिइयो। नियमित गर्नुपर्ने बेरुजुलाई टिपोट गर्नुको सट्टा कणेलजीका अनुसार भएका प्रमाणहरू एकठ्ठा गरी ठीकठाक पार्ने कार्य भयो। ४ बजेतिर सो कार्य सम्पन्न भएपछि नास्ता खायौं। त्यही समयमा कणेलजीले साइनबोर्ड बनाउनुपर्ने व्यहोरा जनाउनु हुँदा टीनको अभाव खड्कियो। नास्ता खाई विद्यालयको बाटो शाहजीहरूको कोठातिर लाग्दै थियौं, विद्यालयको पुरानो साइनबोर्ड देखियो र सरहरूसँग अनुरोध गर्ने निधो गरियो। झवरलाल शाहजीको कोठामा गई पुनः नास्ता गरियो। संयोग शाहजीले कोकशास्त्र ल्याउनुभएको रहेछ, त्यही स्कुलका नेपाली पढाउने जुम्ला घरभएका गुरुले आफ्नो अनभिज्ञता प्रकट गर्दा सबैले उहाँलाई उपहासको पात्र बनाई १०÷१५ मिनेटको समय बिताइयो। त्यसपछि सबै जनाको गुम्बा हेर्ने राय भए मुताविक त्यतै लागियो।
गुम्बा गाउँबाट करिब आधा घण्टाको उकालोमा पर्दो रहेछ। बुद्धको मूल मूर्तिको जीर्णोद्धार हुँदै रहेछ। रङ्ग्याउने काम बाँकी देखिन्थ्यो। केवल माटोको लिउनले मोरिएको थियो। त्यो भित्र के छ ? भन्दा धुपी सल्लाका पातहरू भन्ने उत्तर प्राप्त भएथ्यो। बुद्ध लगायत भगवानहरूका माटाका साना-साना मूर्तिहरू यत्रतत्र छरिएका रहेछन्। मैले घर ल्याउने सुरले २÷४ वटा सम्हाल्ने कार्य गरें, एयरपोर्टमा शङ्का छ, नत्र घरै पुगे सरह छ। गुम्वाको अवलोकन पछि फर्किने क्रममा कणेलजीले तपाईंहरूको साइनबोर्डको टीन मलाई दिनु पर्यो बरु म श्यामपाटीहरू बनाइदिउँला। पौडेलजीसँगै साइनबोर्ड बनाउन पाए नेपालगञ्जदेखि बोक्ने÷बोकाउने झन्झटबाट बँचिने थियो …. जस्ता थोत्रो साइनबोर्डको बारे सरहरूसँग कुराकानी गर्नुभयो। हामीबाट त हुन्छ नै, हेडसर गम जानुभएको छ, उहाँले के भन्नुहुन्छ ? उहाँसँगै राय गरे वेश होला भन्ने उत्तर दिनुभयो। यिनै लगायतका कुराकानी गर्दै गाउँमा निस्कियो। कणेलजी, होमदाइ र म अरू सबै साथीहरूसँग बिदावारी भई हेल्थपोष्टतिर लाग्यौं। खाना खाई भोलि कणेलजी समेत गम जाने सल्लाह गरी निद्रादेवीको शरण परियो।
२४ गते सोमबार बिहान अलि ढिलैसम्म सुतियो। उठेर नित्यकर्ममा संलग्न भई खाना खाई ११:०० बजेतिर गमगढीका लागि रमाना भयौं। एक घण्टा जति हिंडेपछि गढीतर्फबाट माङ्ग्रीका हेडसर टेकनाथ आउँदै हुनुहुँदोरहेछ र भेटघाट भयो। कणेलजीले ठाडठाडै साइनबोर्डका लागि टिनको कुरा उठाउनु हुँदा हेडसरबाट स्वीकार भयो। भोलिपल्ट हेल्थपोष्टको सहयोगी छुल्डिमलाई लिन पठाउने निर्णयमा हेडसरसँग मुगुको अन्तिम अभिवादन गरी अघि बढियो। ४:०० बजे ल्याएको मह र रोटीको नास्ता गरी ५:०० बजे गमगढीमा पुग्यौं र मुगु जिल्लाको खास मुगु – जसको आधारमा जिल्लाको नामकरण गरिएको रहेछ, गाउँको भ्रमण समापन गरियो।
कार्यालयमा पुग्दा कोष तथा लेखा नियन्त्रण कार्यालय, जुम्लाका हाकिम साहेव र सह-लेखापाल स्याङ्जा, बाङ्सिङ्, लौसिबोटका शिरपतिसमेत रारा ताल हेर्नका लागि आउनुभएको रहेछ। परिचय गरी भ्रमण लगायतका विषयमा विचार आदान-प्रदान भयो। खाना खाई सकेर सम्झनाका लागि यो दैनिकीको सफ गरी ११ दिनपछि आफ्नै विस्तारामा निद्रादेवीको शरणमा परें – अब एक हप्तापछि घरतर्फ जाने आशामा ढुक्क हुँदै घरको र काठमाडौँको परिकल्पनामा डुबुल्की मार्दै।
OOO OOO
२०४२ जेठ ३ गते बिहीबारका दिन स्नातक तहको व्यक्तिगत परीक्षामा सामेल हुने मनिषाले ३ वर्ष ३ महिना बिताएको मुगु जिल्लालाई बाई–बाई गरी काठमाडौं रमाना भएँ। सो परीक्षा सकेर त्रिचन्द्र क्याम्पसमा बीएस्सीको जलवायु विज्ञान विषय लिएर अध्ययन गर्न थालें।
(चार दशक पहिलेको मुगु डायरी यो १०औं भागसँगै समाप्त भएको छ ।)
मुगु डायरी-१ : ओहो ! यिनलाई स्कूल पठाएर म भेडा हेर्न जाऊँ कि तिमी जाउला मास्टर ?
मुगु डायरी-२ : एक्काइसौं सदीको विडम्बना !
मुगु डायरी-३ : छोट्टी खेलको नूतन अनुभव !
मुगु डायरी-४ : आतिथ्य भरे भर्सेलै परोस् !
मुगु डायरी–५ : बर्दीको पहिचान सर्वसाधारणका लागि सहज र सरल !
मुगु डायरी -६ : परदेशको ठाउँ, नाक जोगाउने काम !
मुगु डायरी–७ : भाषिकाको अन्तर, आपसी कलहको बीउ !
मुगु डायरी – ८ : कविमनको बीजाङ्कुरण !
मुगु डायरी-९ : प्रथम भएको प्रमाणपत्र घाँडो !
from Online Khabar https://ift.tt/QHt1SLh
No comments:
Post a Comment