Friday, April 1, 2022

पूर्वको सेरोफेरो : पहाडी जनजीवनको छायाचित्र

चैतको दोस्रो साता ताप्लेजुङको पाथीभरा मन्दिर जाने मौका मिल्यो । पाथीभरा जाने भएपछि मन फुरुङ्ग बन्यो ।

काठमाडौंबाट ५ः३० मा हिड्यौं । सिन्धुलीको बाटो हुँदै झापा र बेलुका इलाम पुगेर बास बस्यौं । करिब ५०० किलोमिटर १४ घण्टाको यात्रा नेपालमा यो मेरो जीवनको लामो यात्रा बन्यो ।

भोलिपल्ट इलामबाट ७ बजे ताप्लेजुङ्ग हिड्यौं । पहाडी क्षेत्रको सडक उकालो ओरालो घुम्ती थियो तर कालोपत्रे थियो । सडकको दायाँबायाँ कतै चिया बगान, कतै बाँसका झ्याङ कतै अम्रिसोको बोटहरू । मध्य वसन्त ऋतु भएकोले पहाडी भेगको जङ्गलमा पुरानो पात झरेर नयाँ पाउला पलाएको छ । विभिन्न फूलहरू फूलेको छ । आहा ! कति रमाइलो छ पहाडको वातावरण ।

काला चिल्ला सडक शान्त वातावरण मनै आनन्द आउने । पूर्वी पहाडको पहिलो यात्रा साना तर चिटिक्कर रङ्गिविरङ्गी घरहरू देख्दा नयाँ पनको आभास भयो । खरले छाएको घरहरू पनि देख्न पाएँ । गोरखा भूकम्पको कारणले गोरखातिर खरले छाएको घर देख्न नपाएको धेरै भएको थियो, त्यो ताप्लेजुङ्गमा देख्न पाए । मौसम त्यती नखुलेकोले डाँडाहरू राम्रोसँग हेर्नै पाएनौं ।

१२ बजे तिर फिदिम पुग्यौं । पाँचथर र ताप्लेजुङ्गको सिमाना काबेली पुलमा पुगेर आराम गर्‍यौं । पहाडको बाटो छिचोल्दै २ बजे तिर ताप्लेजुङ्ग पुग्यौं । हाम्रो गाडी सुकेटरबाट माथि नजाने भएपछि स्थानीय बोलेरोमा एक घण्टामा सानो फेदी पुग्यौं । झिस्मिसे साँझ परिसकेको थियो,सानो फेदी पुग्दा । भोलि बाटो छोट्याउनको लागि सानो फेदीबाट ठूलोफेदी हिड्यौं, पानी परेकोले प्लाष्टिकओढेर ठूलो फेदी पुग्यौं, त्यही बास बस्यौं ।

बिहान ५ बजे उकालो लाग्यौं । २ बजेदेखि नै मनिसहरू उकालो लागिसकेको थियो । जुनको प्रकाशमा हिड्यौं, बाटोमा ढुङ्गा बिच्छाएकोले जुनको प्रकाशले सेतोसेतो देखिएकोले हिँड्न सजिलो भयो । माथी चढ्दै जाँदा हिऊँ पनि देखिन थाल्यो, झनै आनन्दको अनुभूति हुन थाल्यो ।

बुढाबुढी आमाबुबाहरू लठ्ठीको सहारामा हिँडिरहनु भएको थियो भने हिँड्न नसक्ने तीर्थयात्री सहयोगीको सहारामा ‘पाथीभरा माताकी जय’ भन्दै उकालो लाग्दै थियो । विभिन्न ठाउँबाट आउनुभएका आमाबुबाहरूसँग कुराकानी गर्दै उकालो लाग्यौं । बाटोभरी स्वच्छ हावामा मकै र सातुको बास्न आइरहेको थियो ।

लेक लाग्ने सम्भावना धेरै भएकोले होला कसैले मकै सातु मुखभरि दलेर हिँडेको थियो त कसैले मकै र सातु खाँदै उकालो लागि रहेको थियो । उकालोमा कुराकानी गर्दैगर्दा कोही भाकल पूरा भएपछि आएको र कोही भाकल माग्न जाँदै गरेको भेटें ।

डेढ घण्टाको यात्रापछि पाथीभरा मन्दिरमा पुग्यौं । मन्दिर पुगेपछि थकान त छँदै थियो तर स्वर्गीय आनन्दको आभास पनि भयो । त्याहाँको मौसम त्यति खुलेन हिमाल थोरै खुलेको होकी जस्तो देखिन्थ्यो । दर्शन गर्नेको भीड नै थियो । हिउँ खेलेर रमाउने पनि थियो । जिन्दगीमा यात्रा जस्तो चरम सुख र आनन्द कुनै पनि वस्तुमा भेटिदैन ।



from Online Khabar https://ift.tt/T6aLBrR

No comments:

Post a Comment