Monday, August 1, 2022

जन्मदिनमा घरभेटीलाई नशालु केक खुवाएर लुटपाट गर्ने २ जना पक्राउ   

१७ साउन, कञ्चनपुर । भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलमा  ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाएर बेहोस बनाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

सन्तोष पाण्डेयको परिवारका पाँच जनालाई केकमा नशालु पदार्थ मिसाइ खुवाएको र बेहोस भएपछि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् ।

विसं २०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए । केक खाएपछि परिवारका सबै जना बेहोस भएपछि उनीहरूले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए ।

‘लुटपाटपछि दुवै फरार रहेका थिए’ प्रहरी नायब उपरीक्षक शाहले भने, ‘दुवै डाँका चोरी मुद्दामा कारागार कार्यालय धनगढी, कैलालीमा थुनामा रहेको जानकारी पाइएपछि जिल्ला अदालत कैलालीको आदेशले कार्यालयमा ल्याई आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

सोमबार लुटपाटमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको उनले बताए ।



from Online Khabar https://ift.tt/db4DiWH

No comments:

Post a Comment