Thursday, August 18, 2022

आज श्रीकृष्ण जन्माष्टी पर्व, यस्तो छ धार्मिक महत्व

३ भदौ, काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस दिन व्रतालुहरु रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने र श्रीकृष्णका विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा ललितपुरको प्रसिद्ध कृष्ण मन्दिरलगायत मुलुकभरका कृष्ण मन्दिरहरूमा बिहानैदेखि चहलपहल छ । भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लागेको छ । पाटन कृष्ण मन्दिरमा दर्शनका लागि राष्ट्रपति जाने चलन छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उनीबाट व्यक्त ‘श्रीमदभागवत गीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।



from Online Khabar https://ift.tt/NpIxWiq

No comments:

Post a Comment