Sunday, August 14, 2022

वैकल्पिक राजनीतिको असफल बैठानपछि बाबुराम पुरानै छातामा

२९ साउन, काठमाडौं । ‘नयाँ युगका लागि पुरानो पार्टीले पुग्दैन’ भन्दै ७ वर्षअघि डा.बाबुराम तत्कालीन नेकपा एकीकृत माओवादी परित्याग गरेका थिए ।

संविधान निर्माण लगत्तै राजीनामाबारे जानकारी दिन ९ असोज २०७२ मा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ‘नयाँ पार्टी निर्माण गरेर नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्व र नयाँ शैलीसहितको नयाँ ढंगको पार्टी’ निर्माण गरेर जाने उद्‌घोषसमेत गरेका थिए ।

नभन्दै भट्टराईले करिब एक वर्षपछि नयाँ शक्ति पार्टी गठन नै गरे । लगत्तै सामना गर्नु परेको संघ र प्रदेशसभाको पहिलो चुनावमा अपेक्षाकृत सफलता हात पार्न असफल भएका उनी ‘नयाँ प्रयोग’का अनेकन यात्रा पार गर्दै पुनः माओवादीको छातामुनि आइपुगेका छन् ।

चरण–चरणका छलफलपछि आइतबार बिहान पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि भट्टराई माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हसियाँ हतौडामै चुनवा लड्न तयार भएका छन् ।

माओवादीबाट प्रचण्डसहित वर्षमान पुन र जनार्दन शर्मा र भट्टराईसित अर्का अध्यक्ष महिन्द्र राय यादवबीच प्रचण्ड निवास खुमलटारमा भएको छलफलपछि बनेको सहमतिलाई भोलि औपचारिकता दिइने दुवै पक्षका नेताहरुले बताएका छन् । उक्त अनौपचारिक सहमतिलाई दुवै पार्टीमा छलफल गरेर निर्णयमा पुग्नसमेत बाँकी छ ।

‘माओवादी ब्रान्ड’ नै काम नलाग्ने उद्‌घोषण गरेर हिँडेका बाबुराम आफ्नै पार्टीको चुनाव चिह्नमुनि आउन तयार हुनुलाई माओवादी नेताहरुले आफूहरुको राजनीतिक जितका रुपमा अथ्र्याएका छन् ।

प्रचण्डले जितेको सन्देश

यसले विशेष गरि माओवादीका विभिन्न धारहरुमध्य मुख्य धारको नेतृत्वका गरिरहेका प्रचण्डले नै जितेको सन्देश दिने बुझाइ माओवादी नेताहरुको छ । माओवादी नेता हरिबोल गजुरले यसले माओवादीको मूलधार प्रचण्ड नेतृत्वकै माओवादी केन्द्र रहेको पुष्टि हुने बताउँछन् ।

‘प्रचण्डकै वरपरी माओवादीको मूलधार छ भन्ने यसले स्पष्ट हुन्छ,’ उनले अनलाइनखबरसँग भने, ‘सापेक्षित रुपमा प्रचण्ड नै सही रहेछन् भन्ने पुष्टि हुन्छ । किनभने हिजो पनि धेरै साथीहरु फर्किनुभयो ।’

यसले माओवादी छाडेका अन्य नेता र समूहहरुलाई पनि मूलघर फर्किन दवाव पुग्ने गजुरेलको भनाइ छ । अहिले माओवादीबाट विभाजित भएर विभिन्न पार्टी बनेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी मुख्य हुन् ।

पार्टी छाडेर गएका नेताहरुलाई प्रचण्डले बेला–बेला मूल घरमै फर्किन आह्वान गर्ने गरेका छन् । वैद्य, विप्लवहरुले माओवादी केन्द्रमै फर्किन लाज मानेको भन्दै प्रचण्डले भन्ने गरेका छन्, ‘म के भन्छु भने क्रान्तिकारीहरुले लाज मान्नु हुँदैन। क्रान्तिकारी ध्रुवीकरण हुने कुरा हो, खुसीकै कुरा हुन्छ । त्यसैले आशा छ मूल नेतृत्वले सोचेर आउनुहुनेछ ।’

उसमाथि आफ्नै पार्टीभित्रका विभिन्न गुट-उपगुटको व्यवस्थापन गर्न बाबुराम आइदिँदा सहज हुन्छ भन्ने प्रचण्डको बुझाइ पनि रहेको पाइन्छ । प्रचण्ड पार्टीभित्रका विभिन्न गुटहरुभित्र खेलेर नेतृत्वमा बलियो गरी स्थापित हुने गरेका छन् ।

दिवंगत नेता पोष्टबहादुर बोगटी सम्बन्धी शनिबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीका नेताहरु मिलाउनु आफ्नो चुनाती भएको बताएका थिए । ‘नेताहरुलाई के गरि मिलाउने भन्ने आजको सबैभन्दा ठूलो चुनौती भएको मैले देख्छु,’ उनको भनाइ थियो, ‘नेताहरुलाई मात्रै मिलाउन सक्ने हो भने हामीलाई जनतामा जान दुःख छैन ।’

पार्टी एकतासम्मै पुग्लान ?

कम्युनिष्ट विचार र माओवादी ब्रान्ड नै त्यागिसकेका बाबुराम के पुनः माओवादी केन्द्रसँगै एकता गर्न तयार होलान् ? भट्टराई अहिले नै माओवादी केन्द्रसँगै एकता गर्न तयार देखिएका छैनन् । समाजवादी केन्द्र बनाउनुपर्नेमा उनको जोड छ ।

भट्टराईसँगै वार्तामा सहभागी नेता महिन्द्रराय यादवले पार्टीको नाम लगायतका विषयपछि टुंग्याउने गरी चुनावपछि पार्टी एकता नै गर्ने सहमति भएको बताए ।

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवमा ‘जातीय र क्षेत्रीय संर्किणता’ रहेको आरोप लगाउँदै नयाँ पार्टी गठन गरेका भट्टराई आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा निकै कठिन अवस्थामा छन् । उनको आफ्नै निर्वाच क्षेत्र गोरखामा पनि कुनै न कुनै राजनीतिक शक्तिसँग नमिल्दा जित्न सहज छैनन् ।

अर्कोतिर आफ्नो पछि लागेका गंगानाराण श्रेष्ठ, विश्वदिप पाण्डे, मानुषी यमी भट्टराईलगायत अझैं राजनीतिक भविष्य भएका नेताहरुको चिन्ताले पनि भट्टराईलाई च्यापेको छ । आफूपछिका नेताहरुको राजनीतिक भविष्य सुनिश्चित गर्न पनि कुनै राजनीतिक शक्तिसँग हात मिलाउनु भट्टराईको बाध्यता हो, जसका लागि माओवादी नै अनुकुल हुने उनी नेतृत्वको दलका अधिकांश नेता, कार्यकर्ताको मनोविज्ञान पनि कारक हो ।

माओवादीमा लामो समय बाबुरामलाई नै साथ दिएका नेता बामदेव क्षेत्री बाबुराम अब पार्टी एकताको कुरा नगरी माओवादी केन्द्रमा प्रवेश गर्नुपर्ने बताउँछन् । ‘पार्टी एकतातिर किन लाग्ने ? अब उहाँ त पार्टीमा प्रवेश गरे हुन्छ,’ अनलाइनखबरसँगको कुराकानीमा क्षेत्रीले भने, ‘उहाँको पार्टी नै कहाँ छ र अब ?’

भट्टराईलाई पार्टीमा स्वागत गर्न पाउँदा खुसी हुने ठूलो नेता कार्यकर्ताको हिस्सा छ । क्षेत्री पनि यसबारे भन्छन्, ‘हामी उहाँलाई माओवादी पार्टीका स्वागत गर्न चाहन्छौं । उहाँलाई हामी टिकट पनि दिन्छौं । गोरखा–२ बाटै दिन्छौं र चुनाव पनि जिताउँछौं ।’ तर, वैकल्पिक वा अर्कै मोर्चाको कुरा गर्न नहुने उनको भनाइ छ । ‘उहाँले वैकल्पिक हुँ भनेर देखाउने, समाजवादी केन्द्र भनेर देखाउने र आफूले जित्न मात्रै बार्गेनिङ गर्न त राम्रो हुन्न,’ क्षेत्रीले भने ।

नेता गजुरेल भने पार्टी नै छाडेर जानु भट्टराईको मुख्य गल्ती भए पनि वैचारिक विकास नहुँदा पार्टी विभाजनसम्म जानु स्वभाविक भएको बताउँछन् । ‘मुख्य त फुटेर जाने साथीहरुको त्रुटि हो, तर, हाम्रो पनि त्यहाँ कमजोरीको कुरा आउँछ,’ उनको भनाइ छ, ‘ हामीले पनि वैचारिक विकास गर्न नसक्दा यस्तो भएको हो। वैचारिक विकास नहुँदा पार्टी गोलचक्करमा फस्छ, अनि टुटफुट र विभाजन हुन्छ ।’

विगतको तितो टिप्पणी

माओवादीबाट निस्कँदै गर्दा आफूले करिब तीन दशक बिताएको पार्टी तत्कालीन एकीकृत नेकपा माओवादीलाई खतराउन्मुख ‘रातो स्टिकर टाँसेको घर’को संज्ञा दिएका थिए ।

तितो टिप्पणी गरेर गएका भट्टराईंको बर्हिगमनलाई तत्कालीन एकीकृत माओवादीले ‘सकारात्मक क्षति’ पुगेको निष्कर्ष निकालेको थियो । ‘पार्टीभित्र झन्झट खडा गर्ने व्यक्ति बाहिरिएको’ भन्दै कतिपयले खुसी समेत व्यक्त गरेका थिए । प्रचण्ड आफैंले पनि ‘आफूले बाबुरामलाई २५ बर्ष झेलेको भन्दै एक÷दुई वर्ष अरुले लगेर झेलिदिए हुने’ टिप्पणी गरेका थिए ।

भट्टराईले पनि कम्युनिष्टप्रति तिखो टिप्पणी गर्न भने छाडेका छैनन् । पार्टी पुर्नगठनका लागि भन्दै पछिल्लो पटक गरेको भेलामा भट्टराईले चुनावमा भोट नपाउँने डरले आफूहरुलाई कम्युनिष्ट भन्न नछाडेको आरोप लगाएका थिए ।

‘आफूलाई कम्युनिष्ट भन्छन, कम्युनिष्ट शब्दप्रतिको जनताको मोहको शोषण पनि गर्दछन तर कम्युनिष्ट बाँकी छैनन तर, छोड्न पनि सक्दैनन,’ भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका थिए, ‘शास्त्रीय साम्यवादको सिद्धान्तले अब कुनै काम गर्दैन भन्ने यिनलाई थाहा छ, तर पुरानो ब्राण्ड नामबिना चुनावमा भोट नपाउँने डरले भन्न डराउँछन् । व्यवहारमा भने यी कुनै पनि समूह कांग्रेसभन्दा फरक छैनन ।’

आफ्ना तमाम यस्ता टिप्पणी र अडानका बीच भट्टराई पुनः कम्युनिष्ट हुन तयार होलान् या नहोलान् त्यसका लागि भने केही समय पर्खिनु पर्नेछ ।



from Online Khabar https://ift.tt/oUTXmY1

No comments:

Post a Comment