Wednesday, August 17, 2022

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

२ भदौ, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दै छ ।

बिहान १० बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल हुने छ ।

सिट बाँडफाँटको प्रस्ताव ल्याउन शीर्ष नेताहरुले कार्यदल गठन गरे पनि कार्यदलले खाका तयार पार्न सकेको छैन । सिट बाँडफाँटको खाका तयार पार्न नसकेपछि कार्यदलको मंगलबारको बैठकमा शीर्ष नेताहरुसँग छलफल गर्ने सहमति भएको थियो । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउने छन् ।

कार्यदलका एक जना सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले आफूहरुले सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेको भन्दै त्यसलाई केन्द्रमा राखेर निष्कर्षको चरणमा अगाडि बढेको बताए ।

गत २० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई साउन मसान्तभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा दिइएको थियो ।

कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

 



from Online Khabar https://ift.tt/QswZSeq

No comments:

Post a Comment