Thursday, October 6, 2022

पहिरोको जोखिममा परेपछि वालिङका ५ घरपरिवार विस्थापित

२१ असोज, स्याङ्जा । अविरल वर्षासँगै पहिरो खस्दा स्याङ्जाको वालिङ–१३ ठूलाखेतका ५ घर जोखिममा परेका छन् ।

प्लटिङ गरिएको जग्गामा लगाइएको अग्लो पर्खाल भत्किएर पहिरो जाँदा ५ घर जोखिममा परेको र त्यहाँका मानिसहरु विस्थापित भएको वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी दिए ।

उनका अनुसार स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, इन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर जोखिममा परेपछि परिवारका सदस्यहरुलाई छिमेकीको घरमा सारिएको हो । मानवीय क्षति नहोस् भनेर उनीहरुलाई छिमेकीको घरमा सारिएको नगर प्रमुख कृष्ण खाँणले बताए ।

पानी परिरहेकाले थप क्षति हुन नदिन पहिरो गएको ठाउँमा त्रिपाल र प्लास्टिकले छोपिएको छ । पानी रोकिएपछि प्राविधिक तथा विपद व्यवस्थापनको टोलीले निरीक्षण गरी बस्न हुने÷नहुने बुझेर सोही अनुसारको प्रक्रिया अगाडि बढाइने नगरप्रमुख खाँणले बताए ।

नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग राहत तथा सहयोगका लागि पहल गर्ने पनि उनले बताए ।



from Online Khabar https://ift.tt/cBGxHtp

No comments:

Post a Comment