Tuesday, October 18, 2022

सत्यमोहन जोशीको गीत ‘माया रानीलाई’ सार्वजनिक

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको ‘माया रानीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गोल्डेन क्रियशनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा सन्तोष श्रेष्ठको संगीत र स्वर छ ।

सत्यमोहन जोशीको गीतको यो पहिलो भिडियो हो । यसअघि जोशीले नै लेखेको गीत ‘तेरो मेरो जे भन्छौं हामी, आखिर यहाँ न तेरो न मेरो’ बोलको गीतमा पनि सन्तोषले नै संगीत दिएका थिए । संगीतकार सन्तोष श्रेष्ठ जोशीद्वारा लिखित गीतलाई औपचारिक रुपमा रेकर्ड गर्ने पहिलो र अन्तिम संगीतकार हुन् ।

सत्यमोहनको ‘माया रानीलाई’ गीत पनि तयार पार्न पाउनु आफ्नो सांगीतिक जीवनमा सुखद क्षण ठान्छन् सन्तोष । तर म्युजिक भिडियो तयार पारेर सत्यमोहनलाई देखाउन नपाउँदा भने अत्यन्त दुःख लागेको उनी बताउँछन् ।

‘सांगीतिक सहकार्यको क्रममा सत्यमोहनले वि.सं. २००१ मा लेख्नुभएको गीत माया रानीलाई ७८ वर्षपछि रेकर्ड गरी हामी भिडियो निर्माणको क्रममा थियौं । उहाँ अस्वस्थ हुनुभएकाले हामी शीघ्र स्वास्थ्यलाभको कामना गरेर बसेका थियौं,’ सन्तोष भन्छन्, ‘तर, दुर्भाग्य ! गीत रिलिज हुन नपाउँदै उहाँको निधन भयो । हामी स्तब्ध भयौं ।’ सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

माया रानीलाई गीतको श्रव्यदृष्य तयार गरेर सत्यमोहनलाई देखाएपछि सार्वजनिक गर्ने इच्छा हुँदाहुँदै एउटा सपना अधुरै रहेको सन्तोष श्रेष्ठको भनाइ छ ।

माया रानीलाई बोलको गीतमा सन्तोष श्रेष्ठको स्वर र संगीत छ भने राज पोखरेल र प्रकाश अर्यालले छायांकन गरेका छन् । उक्त छायांकनलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । म्युजिक भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका छन् ।



from Online Khabar https://ift.tt/EPIzLOp

No comments:

Post a Comment