Thursday, October 13, 2022

‘हिजो आजका कुरा’सहित पाँच फिल्म आजदेखि हलमा

काठमाडौं । आजदेखि नेपालमा पाँच फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ रिलिज भएका छन् ।

साकार पन्त निर्देशित फिल्म ‘हिजो आजका कुरा” यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको सिरिजकै फिचर स्वरुप हो । सन्तोष पन्त, दिव्यदेव, ऋचा शर्मा, रिमा विश्वकर्मा, रमा थपलियाको प्रमुख भूमिका रहेको फिल्मको लम्बाइ २ घण्टा ३० मिनेट छ ।

काठमाडौंको आधुनिक परिवारको कथा फिल्मले पेश गर्छ । खासगरि, अघिल्लो दशकका दर्शक जसले हिजो आजका कुरा हेरेर हुर्किए, उनीहरुलाई फिल्मलाई रुचिकर हुनसक्छ ।

समीक्षकबाट सकारात्मक समीक्षा प्राप्त गरेको दक्षिण भारतीय फिल्म ‘कन्तारा’ पनि आजदेखि प्रदर्शनमा आएको छ । ‘केजीएफ २’ का निर्माताले निर्माण गरेको यो फिल्म विश्वभर प्रदर्शनमा आएको हो ।

रिशव सेट्ठी निर्देशित फिल्ममा रिशवसहित सप्तमी गोदवा र किशोर कुमार जीको मुख्य भूमिका छ । फिल्मको लम्बाइ २ घण्टा २८ मिनेट छ ।

सलमान खान र चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’ भारतमा गत साता नै रिलिज भएपनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने आजदेखि रिलिज गरेको हो । ग्याङस्टरको कथावस्तु यसमा छ ।

आयुष्मान खुराना स्टारर कमेडी ड्रामा ‘डाक्टर जी’ पनि आजै रिलिज भएको छ । विषयगत फिल्म हेर्न रुचाउने गम्भीर दर्शकदेखि कमेडी रुचाउने दुवैथरी दर्शकलाई यसले आकर्षित गर्न सक्छ । यसले पुरुष गाइनोक्लोजिस्टको कथा भन्छ ।

‘वान पिस रेड’ सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्म हो । एनिमे सिरिजका फ्यान र दर्शकलाई लक्षित गर्दै नेपाल रिलिज गरिएको यो फिल्म सीमित मल्टिप्लेक्समा लागेको हो ।



from Online Khabar https://ift.tt/w6d4KM7

No comments:

Post a Comment