Monday, October 3, 2022

मधेश लोक सेवा आयोग : अधिकृतको नतिजामा १२ जना बढी कसरी थपिए ?

१८ असोज, जनकपुरधाम । मधेश प्रदेशको लोक सेवा आयोगले १८ भदौ २०७९ मा अधिकृत सातौं तहको परीक्षामा रोल नम्बर २ हजार ५६७ सम्मका परीक्षार्थीहरु सहभागी हुने भनेर परीक्षा केन्द्र सार्वजनिक गरेको थियो । तर उक्त लिखित परीक्षाको नतिजा यही असोज १३ गते आउँदा रोलनम्बर २ हजार ५७९ सम्मका परीक्षार्थीहरुको समेत आयो । अर्थात् आयोगले सुरुमा सार्वजनिक गरेको परीक्षार्थीको संख्यामा नतिजा सार्वजनिक हुँदा १२ जना बढी परीक्षार्थी थपिएका थिए र थपिएका सबै लिखित परीक्षामा पास पनि भए ।

यसबारे सामाजिक सञ्जालमा लोक सेवा आयोगको विश्वसनीयतामा प्रश्न उठाउँदै विभिन्न टिकाटिप्पणी भइरहेको छ । कतिपयले अनियमितता भएको भनेरसमेत लेखेका छन् । तर, मधेश प्रदेशको लोक सेवा आयोगका प्रवक्ताले भने यस्तो स्वाभाविक हुने स्पष्टीकरण दिएका छन् ।

भएको के हो ?

मधेश प्रदेश लोक सेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झाका अनुसार प्रशासन सेवाको एकीकृत समूहका लागि खुलाइएको अधिकृत सातौं तहको विज्ञापनमा कूल २ हजार ६१८ जनाले आवेदन दिएका थिए । तीमध्ये ३८ जनाको दरखास्त फाराम विज्ञापनको सूचना अनुसार नभई अस्विकृत भएको थियो । त्यसैले २ हजार ५८० जना परीक्षार्थीका लागि प्रश्नपत्र, हाजिरी र सिट प्लान गरी नामावली सार्वजनिक गरिएको थियो । तर नतिजा सार्वजनिक गर्ने क्रममा भने त्योभन्दा १२ जना बढी परीक्षार्थीहरुको विवरण निकाल्यो ।

प्रवक्ता भन्छन्– स्वाभाविक हो

मधेश प्रदेश लोक सेवा आयोगका प्रवक्ता गंगेश गुञ्जन झाले परीक्षाको बेला केही आवेदक थपिएकाले नतिजा बढी प्रकाशन भएको बताए । ‘परीक्षाको अन्तिम समयमा केही परीक्षार्थीले आवेदनको प्रकृया पूरा गरी परीक्षामा सहभागी गराउन आग्रह गरेका थिए । तिनीहरुले एक वर्ष फेरि परीक्षाको लागि कुर्नु पर्ने दुखेसो सुनाएपछि आयोगले थप १२ जनालाई सहभागी गरायो,’ उनले भने, ‘यो त्रुटी होइन । स्वाभाविक हो । केन्द्रीय लोक सेवा आयोगमा पनि यस्तो व्यवस्था छ ।’

केन्द्रीय लोक सेवा आयोगका एकजना अधिकृतका अनुसार विज्ञापन अवधिमै फारम भर्दा तोकिएको दस्तुरसमेत तिरिसकेको र केही अपुग कागजपत्र लिखित परीक्षा सन्चालन हुनुभन्दा अगाडि बुझाएमा पनि त्यस्ता परीक्षार्थीलाई परीक्षामा सहभागी हुन दिने प्रचलन छ ।

ती अधिकृतले उदाहरण दिंदै भने, ‘यदि तपाईंले आदिवासी जनजाती कोटामा पनि फारम भरेर दस्तुर पनि बुझाउनुभयो । तर आदिवासी जनजाती भएको प्रमाण खुल्ने कागजात बुझाउनु भएन भने त्यो प्रमाण परीक्षा सुरु भन्दा अगाडि नै बुझाउनु भयो भने पनि परीक्षामा सहभागी हुन दिंदै आएका छौं ।’ मधेश प्रदेश लोक सेवा आयोगको परीक्षामा पनि १२ जना परीक्षार्थी थपिनुमा त्यस्तै कुनै कारण हुन सक्ने उनले बताए ।

लोक सेवा आयोगमा अनियमितता हुनै नसक्ने दाबी गर्दै उनले भने, ‘यदि भएको रहेछ भने पनि अनुसन्धान गर्दा सजिलै पत्ता लागिहाल्छ ।’



from Online Khabar https://ift.tt/QqHoIG5

No comments:

Post a Comment