Sunday, December 4, 2022

रवि, दायाँ र बायाँ नलाग, अघि बढ

‘कब तक छुपे रहोगे बैगन तू पत्ते के आड मे, आखिर तू एक दिन बिकना है मेरे बजारमे !’ यो हरफ एउटा बसको ढोकामा लेखेको धेरै अघि मैले पढेको थिएँ । अस्ति चुनावताका उम्मेदवारहरूका घरदैलो कार्यक्रमका झाँकीहरू देख्दा उक्त हरफ मलाई खूब याद आइरह्यो ।

चुनावमा नयाँको खोजी
म झापा जिल्ला क्षेत्र नं. १ को मतदाता हुँ । यहाँबाट २०७४ सालमा सांसदको चुनाव जितेर बेपत्ता भएका कमरेड राम कार्की यसपालि चुनाव बजारमा थिएनन् ।

नेताज्यू, नमस्कार ! मतदाताले भन्न नपाउँदै उल्टै नमस्कार पाइने चुनावको समयमा हो । जहाँ बैगनहरू आफूलाई बिकाउन, मतदाता फकाउन अनेक हर्कत गर्छन् । यस २०७९ सालको चुनावमा एउटा खास फरक देखियो । त्यो हो- नयाँ अनुहारको खोजी ।

आम मानिसलाई सिद्धान्त र विचारसँग खासै सरोकार थिएन । नयाँ अनुहार चाहिएको थियो । नेपाली राजनीतिमा जो स्पेस ओगटेर बसेका थिए, उनीहरू छाड्न तयार थिएनन् । राजनीतिक पार्टीहरूका उपल्ला हर्ताकर्ता आफैं दोहोरिन, तेहरिन लालायित थिए । यस अवस्थामा नयाँ अनुहार, खासगरी युवाले अपेक्षा अनुसार चुनावमा टिकट पाएनन् । यही ग्यापलाई पूरा गर्न स्वतन्त्रको लहर आयो ।

गत वैशाखको स्थानीय निर्वाचनमा यसको प्रष्ट संकेत देखिइसकेको थियो । तर यस तथ्यलाई बेवास्ता गर्दा आम निर्वाचन २०७९ को परिणाम कांग्रेस र एमालेले सोचेभन्दा बेग्लै आएको छ । यस चुनावबाट नेपाली राजनीतिमा नवप्रवेशी राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो स्थान बनाएको छ । उता मधेशमा पुराना शक्तिहरूलाई धक्का दिंदै जनमत पार्टी अगाडि आएको छ ।

दलीय व्यवस्थामा एकादुई स्वतन्त्र उम्मेदवारहरूको विजयले देशको अवस्थामा तात्विक परिवर्तन ल्याउन सक्दैन । तर, राजनीतिक पार्टीहरूबाट निराश नेपाली जनताको मनोविज्ञानमा कुनै चामत्कारिक नायकको आशा थियो । बालेनहरूको जित पश्चात् नयाँ अनुहारको माग झनै बढ्यो ।

युवा उमेर समूहको जनसंख्यामा उल्लेख हिस्सा छ । यसले नेपाली समाजको वस्तुगत परिस्थिति नयाँ अनुहारको पक्षमा थियो । सामाजिक सञ्जालहरूमा त्यसको प्रतिविम्ब छर्लङ्ग देखिएको थियो । निर्वाचनको नजिक–नजिक २०७८ साल मंसिरमा भएको नेपाली कांग्रेस पार्टीको महाधिवेशनमा युवा आवाज घनीभूत रूपमा उठेको थियो । महाधिवेशनबाट गगन थापा, विश्वप्रकाशहरूको उदयले नेपाली समाज केही आशावादी भए पनि, गत चुनावमा नयाँ अनुहारको खोजी जारी थियो ।

घण्टीको जितको तीन आधार

स्थानीय निर्वाचनमा लौरो चिह्नको सफलताले आगामी संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारीलाई हौस्यायो । ४ मंसिर २०७९ मा आम निर्वाचनको घोषणापश्चात् केही स्वतन्त्र उम्मेदवारहरूको चर्चा सुनिन थाल्यो । त्यसैमध्येका एक चर्चित पात्र रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नै दर्ता गरे । वैकल्पिक शक्तिको रूपमा उदाउन प्रयास गरेको विवेकशील साझा पार्टी आफैं छिन्नभिन्न र दिशाहीन बनेको थियो । तथापि, राष्ट्रिय स्वतन्त्र पार्टीलाई नयाँ वैकल्पिक शक्तिको रूपमा भन्दा पनि स्वतन्त्रको लहरलाई भजाउने दाउको रूपमा हेरिएको थियो ।

गैरदलीय उम्मेदवारहरूको कारण आमनिर्वाचन २०७९ को फरक परिदृश्य देखा पर्ने अनुमान गर्दैगर्दा गत साउनमा राष्ट्रिय स्वतन्त्र पार्टी हतारमा जन्मिएको थियो । जुन बेला गैरदलीय उम्मेदवारले जित्ने तीन आधार नेपाली समाजमा बलियोसँग हुर्कंदै थियो । ती आधारहरू थिए— १. नयाँ पुस्ताको उदय २. नेपाल बाहिरका नेपाली ३. वाक्कदिक्क आम सर्वसाधारण ।

३५ वर्ष उमेर मुनिका बालेन पुस्ताका मतदाता नेपालको कुल मतदाताको करिब एक तिहाइ रहेको तथ्यांक छ । रेमिट्यान्स पठाउने नेपाल बाहिरका नेपालीले अर्थतन्त्र धान्ने मात्र होइन, अब राजनीति पनि प्रभावित गर्न थालेको छ । राजनीतिक दलहरूप्रति आम सर्वसाधारणको वितृष्णा जगजाहेर नै छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक लाइन र अस्पष्टता सम्बन्धी जुन कुरा छ, यो त्यति चिन्ताको विषय होइन । देश र जनताप्रति इमानदार भएर काम गर्दै अघि बढ्दै जाँदा त्यसले आकार लिंदै, स्पष्ट हुँदै जान्छ ।

संगठनमा शक्ति हुन्छ । रविले पार्टी नै खोलेपछि सांगठनिक शक्ति पनि हासिल गरे । रवि आफैं कतिको क्षमतावान छन्, आफ्ना एजेण्डा कसरी जनतासामु राख्छन् र मतदातालाई विश्वस्त पार्न सक्छन् भन्ने कुराले चुनावी जित हार तय गर्ने वाला थियो । जुन रविले राम्रैसँग गरे ।

निर्वाचन क्षेत्रमा दलको सांगठनिक आधार र कार्यकर्ताको दलबल विना पनि मिडिया, खासगरी सामाजिक सञ्जालको माध्यमबाट मतदाता समक्ष पुग्ने सुविधा थियो । आफैं सेलिब्रेटी पत्रकार, आम सर्वसाधारणमा चिनिएको अनुहार भएकोले रविले त्यसको पनि राम्रै उपयोग गरे । आखिर, रविले चार महिने शिशु पार्टीलाई पुराना जब्बर पार्टीहरूको बीच चौथो राजनीतिक पार्टीको रूपमा उभाएका छन् ।

कतिपय गैरदलीय उम्मेदवारले स्वतन्त्रको च्याँखे थाप्नु भन्दा बरु रविको स्वतन्त्र पार्टीसँग सहकार्य गरेका भए केही सिट संख्या अझ बढ्न सक्थ्यो । तथापि, नेपाली समाजको निकै ठूलो हिस्साले रविलाई झ्वाट्ट विश्वास गर्न नसकेको देखियो । मतदान गर्न नगई घरमै बस्ने जनतालाई रविले तान्न सक्नुपर्थ्यो ।

अब आगे के होला ?

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी जित अप्रत्याशित होइन । रवि लामिछानेको उदय नभए पनि उनको ठाउँमा कोही न कोही आउँथ्यो । कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर चुनावमा उत्रिएको भए चुनावी परिदृश्य अर्कै हुन सक्थ्यो । कांग्रेस र एमाले पार्टी आगामी दिनहरूमा कसरी चल्छन्, त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीको स्पेसलाई निर्धारण गर्नेछ । रवि लामिछाने र उनको टिमको इमानदार, निरन्तर र सक्रिय प्रयास जारी रह्यो भने त्यो राजनीतिक स्पेस फराकिलो हुँदै जानेछ ।

स्थापित राजनीतिक दलहरूले चुनाव अघि रवि लामिछानेलाई चुनौती मानेका थिएनन् । रविलाई खिसीटिउरी गरेर, उनको पार्टीलाई प्राप्त भोटलाई ‘नानीमैयाँ भोट’ भनेर जनताको मतलाई अपहेलना गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही फरक पर्ने वाला छैन । रविको कद घट्ने वाला छैन ।

अर्कालाई गालीगलौज गर्नु उनीहरूको संस्कार भइसकेको छ । दशकौंको वामपन्थी आन्दोलनबाट उदाएका, प्रधानमन्त्री भइसकेका व्यक्तिहरू नेपाली राजनीतिको घटनाक्रमलाई विश्लेषण गर्न सक्षम नभएका होइनन् । तर, जसरी पनि पदमा बसिराख्नुपर्ने र आफ्नो कमी–कमजोरी नदेख्नेले पार्टी कार्यकर्तालाई थामथुम पार्न नानीमैयाँ भोट भन्नुपर्ने बाध्यता हुनसक्छ । तर, त्यसले रवि र उनको पार्टीलाई केही फरक पर्ने वाला छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक लाइन र अस्पष्टता सम्बन्धी जुन कुरा छ, यो त्यति चिन्ताको विषय होइन । देश र जनताप्रति इमानदार भएर काम गर्दै अघि बढ्दै जाँदा त्यसले आकार लिंदै, स्पष्ट हुँदै जान्छ ।

भारतको आम आदमी पार्टीलाई जनहितकारी काम गर्न कुनै विचार वा सिद्धान्तको अभाव भएको छैन । केजरीवालको नेतृत्वमा भारतीय राजनीतिमा आम आदमी पार्टीको राजनीतिक सफलता र फैलावट हामीले देख्दै–सुन्दै आएका छौं ।

पार्टीको आइडियोलोजीबारे केजरीवाल भन्छन्, ‘हामी समस्याको समाधान लेफ्टमा पाउँछौं भने लेफ्टबाट लिन्छौं, राइटमा पाए राइटबाट ।’ उनको पार्टीले देशभक्ति, इमानदारी र मानवतालाई मुख्य सिद्धान्तको रूपमा लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यसै गरे भइगयो । विचार वा सिद्धान्तको घनचक्करमा फस्नु आवश्यक छैन । आगे रवि र उनको पार्टीको राजनीतिक भविष्य राम्रो छ । आशाको किरण पलाएको छ ।

सरकार बनाउन कसैको बहुमत नपुग्ने भयो । सत्ताको लुँछाचुँडीले बीचमै मध्यावधि चुनाव हुने प्रबल सम्भावना छ । समय गतिशील छ । नेपाली समाज बदलिंदो छ । समयले मानिस र उसको पार्टीलाई कहाँ पुर्‍याउँछ भन्न सकिन्न । देश चाहिं अघि बढोस् भन्ने कामना ।󠄔



from Online Khabar https://ift.tt/NetEYSW

No comments:

Post a Comment