हामी चीनको उहान पुग्यौ २०८० जेठ २२ गते । विमानस्थलबाट बाहिर निस्कदा दिउँसोको त्यस्तै दुई बज्दैथियो । पत्रकार गोकर्ण भण्डारी र आईटी इन्जिनियर किरण दहाल साथमा थिए ।
हामीलाई अलिअलि चिन्ता थियो, एयरपोर्टमा कोही लिन आउँछन् कि आउँदैनन्, आएनन् भने बस्ने होटल कसरी पत्ता लगाउने होला ? तीनै जनाको मनमा यस्तै चिन्ताले खनखन गर्दै थियो । त्यसो त चीन भ्रमण मेरो तेस्रो पटक हो । दुई पटक चीन जाँदा उनीहरुको आतिथ्यता, सद्भाव तथा पाहुनाप्रतिको जिम्मेवारीले म प्रभावित बनेको थिएँ र पूर्ण सुरक्षित पनि ।
हवाईजहाजबाट बाहिर निस्कने क्रममा हामीले चीन भ्रमणको चाँजोपाँजो मिलाउने नेपाल चीन हिमालयन फ्रेण्डसिप सोसाइटीका महासचिव रिनन पोखरेलसँग हाम्रो उहान गन्तव्यको बारेमा मोटामोटी जानकारी लिने कामसमेत गर्दै थियौं ।
हामी एयरपोर्टको एक्जिट प्वाइन्टमा पुगेका थियौं । मेरो नाम इमी हो, हाम्रै शैलीको अंग्रेजीमा एउटा होची-होची कदकी, गोरी, हँसिली युवती नेपाल–चीन हिमालयन फ्रेण्डसिप सोसाइटी लेखिएको प्लेकार्ड देखाउँदै हामी भएतिर बढिन् । हामी तीन जनाले मुखामुख गर्यौं । यिनीले हामीलाई कसरी चिनिनन् होला । आश्चर्य लाग्यो । पछि थाहा भयो उनीसँग हाम्रो पासपोर्टको डिटेल पहिले नै पुगिसकेको रहेछ । यो सबै चीनमा भएको प्रविधिको चमत्कारी विकासको नमुना थियो ।
अब हामी तीनैजनाको मनोभाव ढुक्क र प्रफुल्ल थियो । किनभने अब हामीलाई होटल खोज्ने र कतै अलमल हुन्छ कि भन्ने चिन्ता फिटिक्कै रहेन । हाम्रो लागि सानो ट्याक्सी थियो होटलसम्म पुर्याउने । हामीलाई ट्याक्सीमा चढाएर इमी भने अलप भइन् । ट्याक्सीले हामीलाई हाम्रो गन्तव्यसम्म पुर्यायो । ट्याक्सी चालकको नाम त सोध्न भुलेछौं तर उनको व्यवहार, आत्मीयता र पथप्रदर्शन रहरलाग्दो थियो । उनले होटल नपुग्दासम्मको यात्रामा हाम्रा सबै जिज्ञासा मेटाउने प्रयत्न गरिरहे । अलिकति पनि झर्को र असहज नमानी ।
झण्डै एक घण्टाको ट्याक्सी सफरपछि हामी उहान गन्तव्य युच्याङ डिस्ट्रीकको लुज्यास्यान स्ट्रीटमा रहेको मार्सल प्यालेस (सुईफिउ) होटलमा पुग्यौं । होटलमा हामीलाई स्वागत गर्न अघि एयरपोर्टमा भेटिएकी उनै होचो कदकी, हँसिली युवती इमी हामीभन्दा पहिले पुगेकी थिइन् । र, यो पटक उनको साथमा उनी भन्दा अग्ली तर उनीजस्तै हँसिली अर्को युवती पनि थिइन् । यिनी चाहिं डान–इमीले आफ्नो साथीको परिचय गराइन् ।
अब हामी तपाईंहरुको चीन बसाइको पूरै समय (२१ दिन) तपाईंहरु सँगै रहने छौं, तपाईंहरुको पथप्रदर्शक बनेर । डानले हामीतिर हेरेर मुस्कुराउँदै भनिन् । केही समस्या, केही आवश्यकता र केही जिज्ञासा भए हामीलाई जानकारी गराउनुहोला,’ इमीले थपिन् ।
अब हामी झन् ढुक्क, उत्साहित र प्रफुल्लित बन्यौं । हाम्रो २१ दिनको चीन बसाइ रमाइलो, उत्साहजनक र ज्ञानवर्द्धक हुने कुरामा हामी विश्वस्त बन्यौ । घरको न्यास्रो केही कम भएको महसुस गर्यौं ।
चीनको विकास चमत्कारी छ । चीनको सभ्यता र संस्कृति अनुकरणीय छ । चीनको सांस्कृतिक स्तम्भरु, त्योसँग जोडिएका किंवदन्ती र सयौं वर्षसम्म पनि हुवहु त्यसको संरक्षण चीनको विकास जस्तै चमत्कारी छ । त्योभन्दा विशिष्ठ चिनियाँ नागरिकको आत्मीयता, सभ्यता, संस्कार र सहयोगी मन रहेछन् ।
एउटा पर्यटक, एउटा पाहुना– होटलमा पुग्नुस्, रेस्टुरेन्टमा पुग्नुस्, हियर कटिङ सेन्टर वा समिङ मलमा पुग्नुस्, पार्क र सडकका फुटपाथमा टहलिनुस्, ट्याक्सी, मेट्रो रेल, बसमा चढ्नुस् वा औपचारिक, अनौपचारिक कार्यक्रममा सहभागी बन्नुस्, पलपलमा तपाईंको स्वागत, सम्मान, सहयोग र सहकार्यको लागि पथप्रदर्शक, बटुवा, व्यवसायी, चालक र सरकार तथा कम्युनिष्ट पार्टीको सदस्य तयार रहेको हुन्छन् ।
अलिकति गुनासो गर्ने, अलिकति असहज हुने, अलिकति आपत्ति जनाउनुपर्ने कुनै परिवेश नै तयार हुँदैन ।
उहानमा हामीसँग दुई जना पथप्रर्दशक थिए इमी र डान । एक जना आयोजक संस्थाको प्रतिनिधि थिए ब्रायन (माई फ्रेण्ड) । उनीहरुले पलपलमा हामीलाई साथ दिइरहे । हामी बेइजिङ पुग्दा होस्, लुओयाङ पुग्दा होस्, गोन्जाओ पुग्दा होस् वा छेन्डु पुग्दा थप पथप्रदर्शकले हामीलाई साथ दिए ।
हाम्रा पथप्रदर्शक केवल पथप्रदर्शक मात्र थिएनन् । एउटा फोटो बुक थिए हरेक ठाँउको दृश्य बयान गर्ने, एउटा किंवदन्ती थिए हरेक सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक पृष्ठभूमि सुनाउने र एउटा शब्दकोश थिए हरेक उच्चारणलाई अर्थ्याउने । उनीहरुको निपूर्णताले चीनको नियमिततालाई संकेत गरिरहेको थियो । विकास र समृद्धिको नियमितता, समयानुकूल उच्चतम् प्रविधिको नियमितता र संस्कार, संस्कृति, सभ्यता तथा सरलताको नियमितता ।
बेइजिङको तियानमेन स्क्वायर होस् वा ग्रेटवाल, उहानको चु नदी होस् वा याङ्जी नदी, लुओयाङको लङ्गमेन ग्रोटोज होस् वा पेनी फ्लावर हरेक ठाँउको, हरेक विषयको जानकारी राखेका हुन्थे हाम्रा पथप्रदर्शकहरुले ।
पथप्रदर्शक मात्र होइन, होटलका म्यानेजर, सपिङ मलका सेल्सम्यान, सडक तथा पार्कका बटुवा, ट्याक्सी, मेट्रो रेल र बसका चालक समेत चीनको विकास, प्रविधि र सभ्यतासँग अभ्यस्त थिए । पर्यटक र पाहुनाप्रति उनीहरुको व्यवहार किञ्चित गुनासा लायक थिएन ।
नेपाल–चीन हिमालयन फ्रेण्डसिप सोसाइटीको समन्वय र सहयोगमा हामीजस्तै धेरै नेपाली चीनको विभिन्न प्रान्तमा पुगेका थिए । उनीहरु सबैको अनुभव हाम्रो जस्तै थियो । चिनियाँ सरकार र चिनियाँ नागरिकको आतिथ्यमा कसैले पनि गुनासो गरेको सुनिएन ।
चीनको जियाङ्जी प्रदेशको नाङचाङमा पुगेका नेपाल पत्रकार महासंघ दोलखाका पूर्वअध्यक्ष जीवन लामा भन्दै थिए, ‘चीन भूगोलको हिसाबले मात्र विशाल होइन रहेछ । संस्कार, संस्कृति, सभ्यता र सहकार्यको हिसाबले पनि विशाल रहेछ । उनी पनि चिनियाँ पथप्रदर्शक, व्यवसायी र आम नागरिकसँग म जत्तिकै प्रभावित बनेका रहेछन् ।
नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य लक्ष्मण गुभाजुले पनि चीनको विकास र चिनियाँ नागरिकको सभ्यताले आफूलाई मनैदेखि लोभ्याएको अनुभूति सुनाए ।
उनले एउटा रमाइलो घटना सुनाए । उहानको कुनै सहरमा घुम्दै गर्दा केही पैसा र आवश्यक कागजातसहितको उनको पर्स सडकमा कतै खसेछ । उनले त्यो कुरा होटलमा आएपछि मात्र थाहा पाए । नयाँ ठाँउ, भाषाको समेत समस्या, कहाँ कसरी पर्सको खोजी गर्ने । उनले लगभग त्यो पर्स र त्यसमा भएको पैसा तथा कागजातहरु माया मारिदिए । तर अचम्म पर्स हराएको केही घण्टामै उनी बसेको होटलमै उनको पर्स आइपुग्यो । ‘चिनियाँहरुको यो तहको सुरक्षा र सहयोगले म अत्यन्तै भावनात्मक र खुसी भएँ,’ गुभाजुले भने ।
चीनमा प्राकृतिक सुन्दरताले भरिपूर्ण धेरै ठाँउ छन् । किंवदन्तीका धेरै सांस्कृतिक, धार्मिक र ऐतिहासिक थलोहरु छन् अनि ज्ञान, सभ्यता र सहयोगात्मक भावनाले पूर्ण नागरिक छन् । त्यसैले विकास र समृद्धि पनि छ ।
प्रकृति, संस्कृति र किंवदन्तीमा नेपाल पनि कहाँ कम छ र । नेपालमा पनि मनाङ र मुस्ताङका धेरै भूगोलहरु, सर्वोच्च शिखर सगरमाथा, नेपालको समयमापन गौरीशङ्कर हिमाल, च्छोरोल्पा हिमताल, शैलुङ, बडिमालिका, तिलिचो, रारा ताल, शे–फोक्सुण्डो ताल, जटापोखरी, पाँचपोखरी, बुढासुब्बा, माईपोखरी, कन्याम, श्रीअन्तु, नगरकोट, पोखरा, अन्नपूर्ण बेसक्याम्प, लाङटाङ राष्ट्रिय निकुञ्ज, सौराहा, लुम्बिनी लगायत धेरै प्राकृतिक रुपमा सुन्दर ठाँउहरु छन् । पशुपतिनाथ मन्दिर, जानकी मन्दिर, कालिञ्चोक, भीमेश्वर मन्दिर, गढीमाई, देउलाङ्गेश्वर महादेव, लप्ची गुम्बा, विगु गुम्बा, त्रिपुरा सुन्दरी, गोसाँईकुण्ड, गौरातेश्वर महादेव, हलेसी महादेव, पाथीभरा, मुक्तिनाथ, कालिका मन्दिर, पलाञ्चोक भगवती, दक्षिणकाली लगायत धेरै धार्मिक एवं सांस्कृतिक सम्पदाहरु छन् । विस्केट जात्रा, खड्गे जात्रा, मच्छिन्द्रनाथको रथ तान्ने जात्रा, लाखे नाच जस्ता धेरै जात्रा र पर्वहरु छन् ।
तर किन नेपाल अहिले पनि विकास र समृद्धिमा पछि परेको छ ? नेपालमा प्रकृति, संस्कृति, किंवदन्ती सबै छन् तर किन केही छैन नेपालमा ?
नेपालको विभिन्न ठाँउमा पुग्ने आन्तरिक पर्यटक हुन् वा बाह्रय पर्यटक । उनीहरु सबै पहिलो पटक प्राकृतिक सुन्दरताले, सांस्कृतिक सम्पदाले, किंवदन्तीका चाखलाग्दा कथाहरुले मोहित हुन्छन् । फेरि पनि उनीहरु दोस्रो पटक त्यही ठाँउ पुग्ने कुरामा रुचि राख्दैनन् किन ? उनीहरुको एउटै गुनासो हुने गर्छ– ठाँउहरुको पर्याप्त जानकारी र सभ्य सद्भाव तथा सत्कारको अभाव छ ।
साँच्चै हो जस्तो लाग्छ, हाम्रो देशका धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यटकीय केन्द्रहरुमा पथप्रदर्शक नै छैनन् । भएका केहीले पनि प्रकृति र संस्कृतिको बारेमा जानकारी नै राख्दैनन् । धेरै होटल व्यवसायीले एक पटकको मात्र व्यवसाय हो भन्ने ढंगले पर्यटकसँग व्यवहार गरिरहेका हुन्छन् । यातायात व्यवसायीबाट ठगिएको गुनासो सुनाउँछन् धेरै पर्यटकहरु । सरकारले पर्यटकको सुरक्षामा खासै ध्यान दिन सकेको पाइँदैन ।
नेपालबाट धेरै राजनीतिज्ञ, होटल व्यवसायी, पर्यटन व्यवसायी तथा कर्मचारीहरुले चीनलगायत विश्वका प्रशस्तै मुलुकको भ्रमण गरेका छन् । उनीहरुले त्यहाँ पुगेर प्रकृति, संस्कृति र किंवदन्तीको अध्यन अवलोकन गरेका छन् । सभ्यता र सहकार्यको अनुभव गरेका छन् तर नेपालमा त्यही कुरा व्यावहारिक ढंगले अघि बढाउन सकिएको छैन । किन ? प्रश्न हामी सबैतिर तेर्सिएको छ ।
म र मजस्ता धेरै नेपालीले नेपालभित्रै इमी र डान जस्ता पथप्रदर्शक खोजिरहेका छौं, चीनको संस्कृति, सभ्यता र सहकार्य खोजिरहेका छौं । एकपटक पर्यटन व्यवसायी, होटल व्यवसायी र मोटर व्यवसायीले पनि सभ्यता, संस्कृति र सहकार्यको चीन मोडल पछ्याउने हो कि ?
from Online Khabar https://ift.tt/ZaVNsmx
No comments:
Post a Comment