Monday, November 6, 2023

भूकम्प प्रभावित क्षेत्रमा हैजा र स्क्रबटाइफस फैलिनबाट जोगाऔं

प्राकृतिक विपत्तिपछि संक्रामक रोगको जोखिम सधैं उच्च रहन्छ । विशेषत: सुरक्षित पानी/खाना, व्यवस्थित शौचालय र पर्याप्त बासस्थानको अभावमा संक्रामक रोगले प्रकोपको स्वरुप लिने सम्भावना हुन्छ ।

अहिले धेरैको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा गएको देखिन्छ र जानु पनि पर्छ । तर अचानक हुने प्राकृतिक विपत्तिपछि देखिन सक्ने अर्को विपत्ति भनेको महामारीको विपत्ति हुनसक्छ ।

सन् २०१० मा हाइटीमा महाभूकम्पको प्राकृतिक विपत्तिपछि हैजाको ठूलो महामारी देखिएको र त्यसले हजारौंको ज्यानसमेत लिएको थियो । नेपालको इतिहासमा विभिन्न कालखण्डमा भूकम्प/महाभूकम्प गए पनि भूकम्पपछि के कस्ता समस्या देखिए भन्ने आधिकारिक तथ्यांक छैन । तर सुरक्षित पानी र खाना तथा सुरक्षित बासस्थानको अभावले हैजा र स्क्रबटाइफसको जोखिम उच्च देखिन्छ ।

२०७२ सालको महाभूकम्प पछिको चार/पाँच महिनाको अन्तरालमा स्क्रबटाइफसको उदय भएको मानिन्छ । हाल स्क्रबटाइफसले बर्षेनी नेपालमा हजारौंलाई संक्रमित गर्ने र केहीको ढिलो पहिचान तथा समयमा उपचार नहुँदा/नपाउदा मृत्युसमेत भएको देखिन्छ ।

यो संक्रमण तुलनात्मक रुपमा शहरमा भन्दा गाउँघरतिर बढी देखिन्छ । कुनै समय नेपालको अग्रणी रोगको रुपमा लिइने टाइफाइडलाई स्क्रबटाइफसले उछिनिसकेको वा निकट भविष्यमा नै उछिन्ने देखिन्छ । स्क्रबटाइफसको उदयलाई २०७२ सालको महाभूकम्पसंग जोडेर हेर्ने गरिन्छ । यसको मुख्य कारण भनेको भूकम्पपीडितहरु अस्थायी टहरामा रहँदा स्क्रबटाइफस रोग सार्ने किर्ना ‘चिगर माइट’ को टोकाइलाई मानिएको छ ।

भूकम्प प्रभावितहरुको लागि संक्रामक रोगको प्रकोप/महामारी अर्को स्वास्थ चुनौती खडा हुनसक्छ । सरोकारवालाले समयमा नै ध्यान दिंदा सम्भावित प्रकोप/महामारीबाट बच्न वा महामारी देखिए पनि तुरुन्त नियन्त्रणमा लिन सम्भव हुनेछ

चिगर माइट विशेषत घाँस, झाडी आदिमा रहने गर्छ भने यसको मुख्य बाहक मुसालाई मानिन्छ । सन् २०१६ मा नेपाल स्वास्थ अनुसन्धान परिषद्ले गरेको अनुसन्धानमा झन्डै एक तिहाइ मुसामा चिगर माइट किर्ना भेटिएको थियो । सामान्यतय संक्रमण भएको ५ देखि २० दिनमा स्क्रबटाइफसका लक्षणहरु देखा पर्छ । उच्च ज्वरो आउनु, अधिक टाउको दुख्नु, आँखा हल्का रातो देखिनु, श्वास प्रश्वासमा असहजता, लिम्फ ग्रन्थी सुन्निनु, कानमा कृत्रिम आवाज सुनिनु, बिबिरा देखिनु र महत्वपूर्ण कुरा भनेको चिगर माइटले टोकेको ठाउँमा चिलाउने र कालो पाप्रो देखिनु (जसलाई ‘स्कार’ भनिन्छ) स्क्रबटाइफसका प्रारम्भिक र मुख्य लक्षण हुन् । शीघ्र पहिचान गरी उपचार गर्न सके यो रोग पूर्ण रुपमा निको हुन्छ ।

भूकम्पलगत्तै विस्थापित भएकाहरुलाई स्वच्छ पानी र खानेकुरा सुरक्षित रुपमा पुर्‍याउनु अर्को ठूलो चुनौती हो । पानी र खानेकुरा सुरक्षित नभए संक्रमणले भूकम्प प्रभावितहरुमा प्रकोपको स्वरुप सहजै लिन सक्छ । विश्वमा प्राकृतिक विपत्तिपछि फैलिएका विभिन्न संक्रमणमध्ये हैजाको प्रकोपलाई अति गम्भीर रुपमा लिने गरिन्छ । यसको मुख्य कारण भनेको हैजामा अति तीब्र गतिमा फैलन सक्ने क्षमता हुनु र केही घण्टाभित्र उपचार नपाए संक्रमितको मृत्युसमेत हुन सक्ने घातकता हो ।

संक्रमण भएको १२ घण्टादेखि ५ दिनभित्रमा लक्षणहरु देखिने गर्छ । चामल माडेर निकालिएको पानी (अथवा चौलानी पानी) जस्तो तारन्तार पखाला लाग्नु, वान्ता हुनु, विशेषत: पेट वा खुट्टाको मांशपेशीका बाउँडिनु यसका मुख्य लक्षण हुन् ।

कडा हैजा भएको अवस्थामा बिरामीले केही घण्टामा उपचार नपाए मृत्युसमेत हुन सक्छ । पछिल्लो पटक सन् २०१० मा हाइटीमा गएको महाभूकम्प पछि फैलिएको हैजा महामारीका कारण हजारौं मानिसको मृत्यु हुँदा यसले विश्वब्यापी चर्चा पाएको थियो ।

नेपालमा हरेक वर्षजसो हैजा देखिदै आइरहेको अवस्थामा प्राकृतिक विपत्तिसंगै यसको जोखिम बढ्नु स्वाभाविक मान्नुपर्छ । यसअघि जाजरकोटमा सन् २००९ मा हैजाको प्रकोप देखिएको थियो । यसकारणले पनि त्यहाँ हैजाको जोखिम उच्च मान्न सकिन्छ ।

हुन त प्राकृतिक विपत्तिमा माथि उल्लिखित दुईबाहेक अरु विभिन्न संक्रामक रोगहरुको जोखिम पनि उत्तिकै रहन्छ । टाइफाइड, लेप्टोइसपाइरोसिस, भाइरल हेपाटाइटिस (ए र इ), इकोलाई, विभिन्न किटजन्य रोगहरु, हाल फैलिरहेको फ्लु भाइरस आदि रोगको जोखिम उत्तिकै छ ।

हैजा तत्काल  (केही दिनमा देखिन सक्ने), तीब्र गतिमा फैलने सक्ने घातक रोग भएको र स्क्रब टाइफस २०७२ सालको महाभूकम्पसंगै फैलिएको संक्रामक रोग भएकाले  प्रतिनिधि रोगका रुपमा यहाँ उल्लेख गरिएको हो ।

समग्रमा भन्नुपर्दा, आगामी दिनहरु भूकम्प प्रभावितहरुको लागि संक्रामक रोगको प्रकोप/महामारी अर्को स्वास्थ चुनौतीको रुपमा खडा हुन सक्ने देखिन्छ । यद्यपि  सम्बन्धित सरोकारवाला पक्ष वा निकायले समयमा नै सतर्कता अपनाउन वा ध्यान दिन सके सम्भावित प्रकोप वा महामारीबाट बच्न वा महामारी देखिए पनि तुरुन्त नियन्त्रणमा लिन सम्भव हुनेछ ।

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् । 



from Online Khabar https://ift.tt/gsXDh9t

No comments:

Post a Comment