Thursday, February 9, 2023

चितवनमा एक वर्षमा २२४ फरार प्रतिवादी समातिए

२७ माघ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले पछिल्लो एक वर्षमा प्राप्त उपलब्धिहरूलाई सार्वजनिक गरेको छ ।

प्रहरी प्रमुख नवराज अधिकारीले एक वर्षको अवधिमा स्थानीय, प्रदेश र संघ गरेर तीनै तहको निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गर्नेदेखि राजश्व असुली, अपराध रोकथाम, नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीले सफलता हासिल गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा सरुवा भएर जानुअघि पत्रकार सम्मेलन गर्दै एसपी अधिकारीले कार्यालयले प्राप्त गरेका उपलब्धीसहितको तथ्यगत विवरण सार्वजनिक गरेका हुन् ।

अपराधीहरूले चितवनलाई विभिन्न नाममा ट्रान्जिट पोइन्टका रूपमा प्रयोग गरेर अपराध गर्ने विगतका घटनाहरूको विष्लेषण गरेर अपराध नियन्त्रणमा आशातित सफलता हात पारेको एसपी अधिकारीले बताए ।

उनले जिल्लामा भएका कतिपय जघन्य अपराधका घटनामा तत्काल अनुसन्धान गरेर अपराधी पक्राउ गर्न सफल भएको बताए ।

चितवन प्रहरीले चारवटा ट्रकमा भन्सार छलेर चोरी पैठारी गरेर ल्याएको तीन करोड उन्नपचास लाख बयासी हजार पाँच सय वाह्र रुपैयाबराबरको अवैध कपडा, मालसामान एवम् सवारी साधनसहित ४ जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगञ्ज पठाएको विषयलाई उपलब्धिमा समेटेको छ ।

स्थानीय निर्वाचनकेा दुई दिन अगाडि भरतपुर महानगरपालिका-७ मा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएका २८ बर्षका अनिल परियारको हत्यामा संलग्न भरतपुर-१५ हेमन्त वास्तोला, सोही ठाउँका रोहित सिलवाल, तिलक गैरे, भरतपुर-१२ का राहुल परियारलाई लामो अनुसन्धानपछि पक्राउ गर्न प्रहरीले सफलता प्राप्त गरेको एसपी अधिकारीले बताए ।

यस्तैं गत वैशाख २४ गते खैरहनी-६ का कुमार थापालाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएर फरार भएका मुख्य अभियुक्त राप्ती नगरपालिका-४ खहरेपुलका ३० बर्षका सोचेन्द्र राईलाई पक्राउ गरी पुर्पक्षमा भिमफेदी कारागार पठाइएको, माडीमा आफ्नै साथी जीवन नेपालीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरी भागेका गैंडाकोट नगरपालिका-७ का ३४ बर्ष सुरेशबहादुर कुमाललाई घटना घटेको २४ घण्टा भित्रै पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको प्रहरीले जनाएको छ ।

गत मंसिर ४ गते भरतपुर-२ दुर्गा मन्दिरचोक प्रतीक्षालयमा नाम वतन नखुलेकी महिलालाई सामूहिक वलात्कार गरी हत्या गर्ने गोरखा सिरानचोक घर भई अहिले भरतपुर २ तीन खोले बस्ने २३ बर्षका सन्दिप गुरूङ र सोही ठाउँका विजय परियारलाई पक्राउ गरेर कानूनी दायरामा ल्याइएको एसपी अधिकारीले बताए ।

उनले जाली नोटको कारोवार गर्ने, सुन र मोटरसाइकल चोर्ने गिरोह नै प्रहरीको फन्दामा परेको जानकारी दिए ।

सडक सुरक्षा र दुर्घटनालाई न्यूनिकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै सवारी चेकिङ्गलाईसमेत तीव्रता दिइएको एसपी अधिकारीले जानकारी दिए । प्रहरीले सवारी सम्वन्धी जरीवानाबाट मात्रै विगत एक वर्षमा २ करोड ९३ लाख २९ हजार राजश्व संकलन गरेको छ ।

गत पुस १९ र २० गते राप्ती नगरपालिकाको विभिन्न क्षेत्रमा गरेर २० विगाहा क्षेत्रफल लगाएको गाँजा र ७ कठ्ठामा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

राप्ती नगरपालिका ११ को विभिन्न ठाउँहरु थाकलटार, बराईनटार, डिहीटार र रेवतीखोला, वडा न. १२ को तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा अबैध रुपमा लगाएको लागुऔषध गाँजा र अफिम खेतीलाई प्रहरीले नष्ट गरेको हो ।

२२४ फरार प्रतिवादी समातिए, ६ करोड भन्दा बढिको सामान जफत

जिल्ला प्रहरी कार्यालय चितवनले एक वर्षको अवधिमा दुई सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ । विसं २०७८ फागुन ४ गतेदेखि २०७९ माघ २५ गतेसम्म उनीहरुलाई पक्राउ गरिएको हो ।

लामो समयदेखि फरार रहेका रहेका र अदालतबाट फैसला भएर सम्पर्कमा नआएकाहरुलाई पक्राउ गरिएको हो ।

सो क्रममा उनीहरुबाट ५० वर्ष तीन महिना सात दिन कैद भुक्तान गराइएको उनले बताए ।

यस्तै १ करोड ३३ लाख ८९ हजार तीन सय ६७ जरिवाना असुल उनीहरुबाट गराइएको छ ।

पछिल्लो १ बर्षको अवधिमा ३५ शीर्षकमा एक हजार ४४८ वटा निवेदन दर्ता गरिएका छन् ।

भन्सार चोरी, निकासी, तस्करी र राजस्व छलीतर्फ १३ जना पक्राउ गरिएको छ । उनीहरुबाट ६ करोड ४५ लाख ९९ हजार तीन सय ८४ बराबरको सामान बरामद गरिएको छ ।

एक वर्षको अवधिमा लागूऔषधसम्बन्धी १०६ वटा निवेदन दर्ता गरिएको छ । नदीजन्य पदार्थको दोहन रोक्न प्रहरीले पालिकाहरुलाई सहयोग गरेको एसपी अधिकारीले बताए ।

यो अवधिमा नदी दोहनमा अवैध रुपमा प्रयोग भएका १६१ वटा सवारी साधानलाई नियन्त्रणमा लिएर उनीहरुबाट ४६ लाख ६७ हजार ९ सय मूल्य बरावरको सामान बरामद गरिएको छ ।

यस्तैं, अवैध रुपमा उत्खनन् गरेर डम्पिङ्ग गरिएका नदीजन्य पदार्थ नियन्त्रणमा लिएर १ करोड १३ लाख ६४ हजार बराबरको सामान पालिकाहरुलाई बुझाएको एसपी अधिकारीले जानकारी दिए ।

शान्तिपूर्ण र सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री तयार

चितवनका प्रहरी प्रमुख भएर आएपछि एसपी अधिकारीले गरेको अर्को महत्वपूर्ण कार्यमा गनिन्छ, जिल्लाका सबै विद्यालय र क्याम्पसहरुमा पढाउनका लागि चेतनामूलक पाठ्यसामाग्री तयार ।

प्रहरीले जिल्लाका सातै पालिकासँग पाठ्यक्रम विद्यालय तहमा पढाउने गरी अलग अलग समझादारी गरेको छ । पाठ्यसामग्री पािलका प्रमुखहरूलाई हस्तान्तरणसमेत गरिसकिएको छ ।

पाठ्यसामग्रीमा जिल्लामा भइरहेका अपराधिक गतिविधिको तथ्यांकसहित अपराधको प्रकृति र कानून सम्वन्धी जानकारी समेटिएका थिए ।

स्थानीय तहहरुको सहयोगमा प्रकाशन गरिएको पाठ्यसामग्री सबै सामुदायिक तथा निजी विद्यालय र क्याम्पसहरुले हप्तामा कम्तीमा एक पिरियड पढाउन मिल्ने गरी तयार गरिएको र सोही अनुसारको प्रतिवद्दतासमेत गराइएको एसपी अधिकारीले बताए ।

पाठ्यसामग्रीमा साइबर अपराध, सञ्जालको सुरक्षित प्रयोग, लागुऔषध दुव्र्यसनी, धुम्रपान, मद्यपान, सामाजिक महिला तथा बालबालिका विरुद्ध हुने अपराध,अपराधको प्रकृति, घरेलु हिंसा र उजुरी दिने सम्वन्धी व्यवस्था, आत्म सुरक्षा, बच्ने उपाय, ट्राफिक नियम र दुर्घटनाबाट हुने हानी नोक्सानी, सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी जस्ता विषय समेटिएकाछन् ।

यो अवधिमा ६०६ वटा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएका छन् । आत्महत्या न्यूनिकरण, मानव वेचबिखन, लैगिङ्क र घरेलु हिंसा, साइबर अपराध जस्ता विभिन्न २० बटा विषयमा जनचेतना जगाउने कार्यक्रम विभिन्न तहमा गरिएको एसपी अधिकारीले बताए ।



from Online Khabar https://ift.tt/Bm6shty

No comments:

Post a Comment