११ चैत, काठमाडौं । करिब एक दशकपछि क्रिकेटको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो तयारीलाई तीव्रता दिएको छ ।
एसियाका १० टिमको सहभागितामा ५ वैशाखदेखि एसीसी प्रिमियर कप सुरु हुँदैछ । नेपालले दुईवटा मैदानमा प्रतियोगिताका खेलहरु सन्चालन गर्न एसियन क्रिकेट काउन्सिलबाट अनुमति पाएको छ ।
नियमित अन्तर्राष्ट्रिय खेल सञ्चालन भइरहेको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा धेरै सुधार गर्नुपर्ने छैन । तर, मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेलका लागि योग्य बनाउन क्यानले विशेष ध्यान दिएको छ ।
मुलपानीमा मैदान विस्तार, पार्किङ, ड्रेसिङ रुम, ब्रोडकास्टर हल, खेलाडीको लागि लन्च हल, मैदानको दक्षिण भागमा रहेको पर्खाल मर्मत, पर्खाल माथिको जाली मर्मत भएको कोषाध्यक्ष सिंहले बताए ।
मुलपानी मैदानमा यतिबेला पर्खाल मर्मत, पीच र आउटफिल्ड (घाँसे मैदान) सुधारदेखि ड्रेसिङ रुम निर्माणको कार्य भइरहेको छ ।
मैदानमा खानेपानी, बुजुली आपूर्ति तथा सरसरफाइ र बाटो मर्मतको काममा कागेश्वरी मनोहरा नगरपालिकासँग समन्वय गरिरहेको क्यानले जानकारी दिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले आफ्नो स्थानीय तहभित्र हुन लागेको अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा आवश्यक सहयोगका लागि शुक्रबार शुक्रबार बिहान क्यान पदाधिकारीसँग छलफल गरेका थिए ।
‘हाम्रो नगरमा पहिलोपल्ट कागेश्वरी मनोहरा नगरपालिकामा पहिलो पटक हुँदैछ । यसलाई सफल पार्ने हाम्रो पनि दायित्य हो । क्यानलाई सहयोग गर्नेछौं,’ नगरप्रमुख कार्कीले अनलाइनखबरसँग भने ।
चाबहिलबाट मुलपानी मैदान जाने बाटो धुलाम्य छ । त्यति मात्रै होइन मुख्य सडक छोडेर क्रिकेट मैदान तर्फ उकालो लाग्ने सुरुकै मोडको बाटो मर्मतको पर्खाईमा छ । क्रिकेट मैदानमा पानी र विजुली उपलब्ध छैन ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा डेढ दशकअघि निर्माण भएको यो मैदानको विकेटमा प्रश्न उठ्ने गरेको छ । क्यानले बंगलादेशबाट क्युरेटर बोलाएर पीच स्तरीय बनाउने तयारी थालेको छ ।
यो मैदानमा ७ वटा पीचहरु छन् । यो प्रतियोगितामा तीनवटा पीच प्रयोग गरिनेछ । मैदानमा अहिले स्तरीय घाँस रोप्ने र मैदान फराकिलो बनाउने काम भइरहेको छ । ७० मिटरको बाउन्ड्री लाइन ३ तिरबाट बढाएर ७५ मिटरको बनाइएको छ । अन्तर्राष्ट्रिय मापदण्ड मिलाउन त्यसो गरिएको क्यानले जनाएको छ ।
मैदानको पश्चिमतर्फ रहेको दुईतल्ले पेविलियन भवलको सरसफाईसहित ड्रेसिङ रुमको फर्निसिङ, शौचालय मर्मतको कार्य भइरहेको छ । धुलाम्य रहेको ड्रेसिङ रुममा दुवैतर्फ १२/१२ वटा गरी दराज र सिटिङ डेस्कहरु बनाइँदै छ । फर्निसिङको काम एक हप्तादेखि १० दिनमा सकिने क्यानको भनाई छ ।
प्रतियोगिता आउन तीन साताको समय बाँकी रहँदा क्यानले मैदान प्रवेशद्धारमा रहेको नाली व्वस्थित गर्नु पर्नेछ, दर्शकका लागि भनेर छुट्याइएको भिरालो चौर सम्माएर केही व्यवस्थित बनाउनु पर्नेछ । दर्शकका शौचालय निर्माण गर्नुपर्नेछ ।
त्रिवि मैदानमा १५ हजारबढी दर्शक अट्ने चौर भए पनि मुलपानी मैदानमा भने दर्शकका लागि दक्षिण पूर्वको क्षेत्रमा एकदमै सीमित ठाउँ छ । यो मैदानमा नेपालले पनि समूह चरणको एक खेल खेल्नेछ । वैशाख ११ गते साउदी अरेबियासँगको खेल हेर्न जाने घरेलु दर्शकका लागि मूलपानीको सीमित दर्शकदिर्घा पर्याप्त नहुनसक्छ ।
‘हामीले पाएको यो अवसरलाई हामीले गम्भीर रुपमा लिएका छौं । हामीले मैदानमा चौतर्फी सुधार गरिरहेका छौं,’ निर्माण क्षेत्रको रेखदेखमा रहेका क्यान कोषाध्यक्ष रोशनकुमार सिंहले भने, ‘म आफैंले पनि श्रीलंका गएर अन्तर्राष्ट्रिय ड्रेसिङ रुम हेरें, त्यसपछि हाम्रो स्तर थाहा भयो । अहिले सक्दो स्तरीय बनाउने कोसिस गरेका छौं ।’
सन् १९९८ मा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा एसीसी ट्रफीको आयोजना गरेको थियो । त्यतिबेला किर्तिपुर मैदान भर्खर निर्माण गरिएको थियो । त्यसबाहेक पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दुईवटा मैदान र जावलाखेलस्थित सेन्ट जेभियर्स मैदानमासमेत अन्तर्राष्ट्रिय खेल आयोजना गरिएका थिए ।
पछिल्लोपल्ट सन् २०१३ मा एसीसी टी-२० कप आयोजना गर्दा किर्तिपुर मैदान र पुल्चोक इन्जिनियरिङ मैदानलाई प्रयोग गरिएको थियो । त्यतिबेला मूलपानी मैदान तयार भइसके पनि सुरक्षा र पीचकै समस्याले प्रयोग गरिएको थिएन ।
पीचको समस्या समाधान होला ?
मूलपानी मैदानको पीचमा डवल बाउन्स र टर्निङ विकेटको परम्परागत समस्या हो । राष्ट्रिय प्रतियोगितामै अनुभवी घरेलु क्रिकेटरहरु भुक्तभोगी भइसकेका छन् । समस्या समाधानका लागि क्यानले बंगलादेशका क्युरेटर अब्दुल मलमामुमले काम गरिरहेका छन् ।
विशेषज्ञ क्युरेटरले आसन्न प्रतियोगितासम्म पीचको समस्या समाधान गर्ने विश्वास कोषाध्यक्ष सिंहको छ । ‘खेलाडीहरुबाट आएको गुनासो समाधानकै लागि हामीले उहाँलाई जिम्मेबारी दिएका छौं । उहाँसँग पीच राम्रो बनाउन पर्याप्त समय छ,’ क्यान कोषाध्यक्ष सिंहले अनलाइनखबरसँग भने ।
विगत २ वर्षयता मूलपानी मैदानको पीचमा काम गरिरहेका प्रफुल्लसागर प्रधान, सिनियर क्युरेटर अजय पाण्डेलगायत पीच सुधारका लागि काम गरिरहेका छन् । ‘पीचको अवस्थाबारे खेलाडीहरुको गुनासो जायज थियो । यहाँको अवस्था राम्रो थिएन,’ प्रधानले अनलाइनखबरसँग धनेका छन्, ‘पहिला हामीसँग त्रिविको जत्तिको पनि उपकरण थिएन । अहिले उपकरण ल्याउने तयारी भइरहेको छ । प्रतियोगिता अघिसम्म मापदण्डअनुसार गर्नेछौं ।’
उनले पीचका लागि आवश्यक स्तरीय माटो नभेट्दा समस्या भएको स्वीकारे । यसपाली राम्रो हुने उनको विश्वास छ । मूलपानी मैदानको भौगोलिक अवस्थिति र खुल्ला स्थान हुनुका कारण पनि विहानको विकेटमा बल टर्निङ हुने गरेको क्युरेटर प्रधानको दावी छ ।
‘काठमाडौंमा अन्यभन्दा चिसो मौसम छ । त्यसमध्ये मुलपानी अझै उचाईमा छ र टाकुरोजस्तो छ । त्यसैले बिहानको इनिङ्समा बल टर्न धेरै नै हुन्छ,’ उनले थपे ।
‘ड्रप-इन पिच’को सम्भावना छ ?
अन्तर्राष्ट्रिय क्रिकेटमा सदावहार विकेट कण्डिसन बनाइराख्न आवश्यकता अनुसार राख्ने र निकाल्न सकिने प्रविधिको पीच प्रयोगमा आउन थालेको छ । यसले जस्तोसुकै परिस्थितिमा पनि विकेटमा उठ्नसक्ने प्रश्नलाई कम गर्ने अपेक्षा छ ।
नेपालमा अहिलेसम्म यसको प्रयोग भएको छैन । क्यान कोषाध्यक्ष सिंहले पनि तत्कालका लागि ड्रप इन पीचको सम्भावना नरहेको तर्क गरे । ‘बंगलादेशी क्युरेटरसँग कुरा भइसकेको छ । उनी अहिले सबैकुरा परीक्षण गरिरहेका छन् । उनकै सल्लाहमा यही पीच खेल्न योग्य बन्छ भन्ने विश्वास छ,’ उनले थपे, ‘ड्रप-डन पीच’का ल्याउन हाम्रो आर्थिक क्षमताले पुग्दैन ।’
स्तरीय पीच निर्माणका लागि क्यानसँग स्तरीय र पर्याप्त उपकरणसमेत छैन । यतिसम्म कि क्यानसँग भएको एउटा रोलर किर्तिपुर र मूलपानीमा पालैपालो प्रयोग गर्ने गरिएको छ । क्यानले १५ दिनभित्र पीचसहित अन्य तयारी सम्पन्न गर्ने लक्ष्य लिएको छ । ‘हामीसँग रोलर, सुपर सपर, पीच कटर, पीच कभर चाहिन्छ । चार किसिमको रोलर मात्रै चाहिन्छ । यो सबै प्रतियोगिता अघि नै आउँछ भन्ने आशा छ,’ क्युरेटर प्रधानले भनेका छन् ।
कम्पाउन्ड बाहिरको व्यवस्थापनका नगरपालिकाले गर्ने
मुलपानी मैदानलाई अन्तर्राष्ट्रियकरण गर्न लागिए पनि मैदान बाहिरको समस्या पनि कम छैनन् । सडक समस्या, विद्युत आपूर्ति, पानी, सुरक्षा चुनौती, सरसफाइ र मैदान नै भूस्खलनको जोखिममा छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कार्कीले २० वर्ष अघि यहाँका जनताले देखेको सपना पूरा गर्न क्यानसँग हातेमालो गर्न लागिएको बताए । ‘केही व्यवस्थापकीय पक्षमा सहयोग समिति बनाएर क्यानलेसक्नेमा क्यानले र स्थानीय सरकारले सक्ने स्थानमा स्थानीय सरकारबाट सहयोग हुनेछ,’ प्रमुख कार्कीले भने ।
क्यान कोषाध्यक्ष सिंहले बाहिरी व्यवस्थापनको पक्षमा स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको बताए, ‘विजुलीको लागि हामीसँग भएको मात्रा पर्याप्त छैन । त्यसैले यहाँ अगाडी नै एउटा ट्रान्समिटरको आवश्यकता छ । खानेपानी हामीले भित्रका लागि ल्याइसकेका छौं । बाहिर दर्शकका लागि नगरप्रमुखसँग कुरा भइसकेको छ । उहाँले मलाई विश्वास्तता दिलाउनु भएको छ ।’ उनले थपे ।
नगरपालिकाले दर्शकका लागि चौर, सडक, खानेपानी, विद्युत, सरसफाई र सुरक्षा तथा पार्किङमा समन्वय र सहयोगको आश्वासन पाएको सिंहले बताए ।
यसरी बनेको थियो मूलपानी (माथिल्लो) मैदान
मूलपानीको माथिल्लो मैदान २०६३ सालमा निर्माण सुरु भएको हो । नेपाल क्रिकेट संघका तत्कालीन अध्यक्ष विनयराज पाण्डेको पहलमा एसियाली क्रिकेट काउन्सिल -एसीसी)ले १ करोड रुपैयाँ दिएपछि यो क्रिकेट मैदान निर्माणको काम सुरु भएको हो ।
राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको जग्गा लिजमा लिएर क्यानले मैदान निर्माण प्रक्रिया थालेको हो । माथिल्लो मैदान बनाउँदा बालुवाको ठूलो थुप्रो हटाएर जमिन सम्याउने काम भएको तत्कालीत अध्यक्ष पाण्डे स्मरण गर्छन् ।
२०६४ सालमा मूलपानीमा त्यो मैदानका लागि सरकारले ४ करोड रुपैयाँ बजेट विनियोजन गर्यो । त्यतिबेला क्रिकेटका लागि ठूलो रकम विनियोजन हुनुका पछाडि पनि रोचक कारण छ ।
‘हामीले नियमित सोल्टी सुपर सिक्स प्रतियोगिता गर्दैआएका थियौं । त्यो संस्करणमा अर्थ, खेलकुदसहित नेपाल सरकारका ८ जना सचिवलाई हामीले सुपर सिक्स खेलाएर क्रिकेट खेलको पहिचान र महत्वबारे बुझाउन सक्यौं,’ पाण्डे स्मरण गर्छन्, ‘त्यही वर्ष सरकारले हामीलाई यो मैदान स्तरोन्नत्तिका लागि बजेटको व्यवस्था गरेको हो ।’
सरकारी बजेट आएपछि क्यान आफैंले मैदानको स्तरोन्नत्ति, विकेट निर्माण र पश्चिमतर्फ दुईतल्ले सुविधासम्पन्न पेविलियन भवलको निर्णण गरेको हो । सरकारले दिएको ४ करोडमध्ये मूलपानीका लागि ३ करोड खर्च भएको र १ करोड रुपैयाँ रुपन्देहीको भैरहवामा सिद्धार्थ क्रिकेट रंगशाला निर्माणको थालनी गरिएको तत्कालीन क्यान अध्यक्ष पाण्डेले बताए ।
मैदान स्तरोन्नत्ति सकिएपछि पाकिस्तान क्रिकेट बोर्डसँगको समन्वयमा क्युरेटर बोलाएर स्तरीय पीच निर्माण गरिएको हो । पाकिस्तानी क्युरेटरको सम्पूर्ण खर्च पाकिस्तान क्रिकेट बोर्डले नै ब्यहोरेको थियो । त्यसयता घरेलुस्तरमा राष्ट्रिय र स्थानीय क्रिकेट प्रतियोगिताहरु नियमित आयोजना हुँदै आएका छन् ।
एक दिवशीय राष्ट्रिय प्रतियोगिता गर्दा क्यानले हरेकपल्ट मूलपानी मैदानलाई त्रिवि मैदानपछिको बैकल्पिक मैदानका रुपमा प्रयोग गर्दै आएको छ । तर, त्यहाँ अहिलेसम्म अन्तर्राष्ट्रिय खेल भने आयोजना भएको छैन ।
फोटो/ भिडियोः विकास श्रेष्ठ
from Online Khabar https://ift.tt/QfVOCgm
No comments:
Post a Comment