Monday, March 27, 2023

मलेसियामा नेवानिले किन मागेको हो प्रतिदिन चार्टर्ड उडानको अनुमति ?

१४ चैत, काठमाडौं । नेपाल वायुसेवा निगमले नियमित तालिका स्वीकृत गराई नियमित उडान गरिरहेको मलेसियाको क्वालालाम्पुरमा मंगलबारबाट भने नियमित उडान नगरी चार्टर्ड उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष अनुमति मागेको छ ।

यसबारे प्राधिकरणले सोमबार किन यसो गरिएको हो भनी निगमसँग स्पष्टीकरण सोधेको छ । प्राधिकरणले सोमबार निगमलाई पत्र लेख्दै सोधेको छ, ‘प्रतिसाता ७ वटा सेड्यूल उडान गर्न सक्ने प्रावधान बाँकी रहँदारहँदै यात्रु चार्टर्ड उडान गर्नु परेको हो ?’

उता, नेपाल वायुसेवा निगमका अनुसार यसरी नियमित उडानको स्थानमा चार्टर्ड उडान गर्नुको कारण भने मलेसियामा प्राप्त नियमित उडानको अनुमति नवीकरण नहुनु हो । निगमका सहायक प्रवक्ता गणेश कुमार घिमिरेका अनुसार नेपाल एयरलाइन्सले मलेसियामा पाएको नियमित उडानको अनुमतिको अवधि कोरोनाकालमा सकिएको थियो । यसलाई कोभिडका समयमा सुविधाका रुपमा बढाइएको थियो । त्यसपछि नवीकरण गर्नुपर्ने मिति छुट्न जाँदा नियमित उडान रोकिन पुगेको हो । ‘यसमा केही टेक्निकल इरर देखिएको छ, मिति पनि फरक–फरक देखिएको छ, त्यही प्रक्रिया मिलाउने काम सुरु भएको छ,’ उनले भने ।

मलेसियामा नियमित उडानका लागि आवश्यक अनुमति पत्र नवीकरणको प्रक्रिया जारी रहेका कारण त्यो अनुमति नपाएसम्म निगमले चार्टर्ड उडानमार्फत यात्रुलाई सेवा दिनु पर्ने अवस्था रहेको उनले बताए ।

नेपाल सरकार र मलेसिया सरकारबीच ३ अप्रिल २०१५ मा भएको द्विपक्षीय हवाई सेवा सम्झौता अनुसार नेपाली वायुसेवा कम्पनीले सातामा २८ वटा उडान मलेसियामा गर्न सक्छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको गृष्मकालिन उडान तालिका अनुसार निगमले काठमाडौं–क्वालालाम्पुर–काठमाडौं रुटमा साताको ५ र काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा साताको २ उडान स्वीकृत भएको छ ।

हिमालय एयरलाइन्सले भने काठमाडौं–क्लावालाम्पुर–काठमाडौं रुटमा साताको १४ उडानको स्वीकृति पाएको छ । निगमसँग प्रतिसाता अझै ७ वटा नियमित उडानको अनुमति लिने सुविधा बाँकी छ ।

तर, निगमले २८, २९, ३० मार्च र १ अप्रिलमा काठमाडौं–क्लावालाम्पुर–काठमाडौं रुटमा यात्रु चार्टर्ड उडानको अनुमति मागेपछि प्राधिकरणले प्राविधिक, व्यापारिक वा सञ्चालक कुन कारणले यस्तो चार्टर्ड उडानको माग भएको हो ? भनी निगमसँग स्पष्टीकरण सोधेको हो । यसबाट स्पष्ट पारी यथाशीघ्र प्राधिकरणमा पठाउन समेत पत्रमा भनिएको छ ।



from Online Khabar https://ift.tt/LQHf8VW

No comments:

Post a Comment