Saturday, March 11, 2023

दुनियाँकै एकमात्र कलाकार, जो आफ्नै रगतले चित्र बनाउँछन्

विश्वमा धेरैजना यस्ता कलाकारहरु छन् जसको कलाकारिता देखेर मानिसहरू चकित हुन्छन् । कलाकारहरू पनि अनौठो तरिकाबाट आफ्नो कला प्रदर्शन गर्दछन् । तर एकजना यस्ता कलाकार पनि छन् जसले रङबाट होइन केवल आफ्नो रगतले पेन्टिङ तयार गर्दछन् । सायद उनी विश्वका एकमात्र यस्ता कलाकार हुन् जसले आफ्नो रगतले क्यानभास रंगाउँछन् । उनका रक्तकलाहरू संसारभर चर्चित छन् ।

उनको नाम एलिटो सर्का हो । उनी फिलिपिन्सका कलाकार हुन् । रोयटर्सले उनका पछिल्ला केही चित्रकलाहरू सार्वजनिक गरिएको थियो ।

केही वर्षअघि उनले पेन्टिङ गरिरहेको बेलामा अचानक जिउमा चोट लागेर रगत निस्किएपछि उनलाई रगतका पेन्टिङ बनाउने आइडिया फुरेको थियो ।

त्यसपछि उनले आफ्नै रगतले पेन्टिङ बनाउन सुरु गरे । विस्तारै उनी चर्चित बन्दै गए । यद्यपि उनको समय समयमा आलोचना पनि हुने गरेको छ ।

सर्काले हरेक ३ महिनामा नजिकको अस्पतालमा गएर आफ्नो शरीरबाट रगत निकाल्दछन् । एकपटकमा उनी शरीरबाट पाँच सय मिलिलिटर रगत निकाल्छन् र त्यसलाई प्लास्टिकको पोकामा हालेर आफ्नो स्टुडियोमा रहेको कोल्ड स्टोरमा राख्दछन् । स्टुडियोमा उनले आफ्ना विभिन्न पेन्टिङहरु राखेका छन् ।

आफ्नो कला आफ्नै रगत तथा डिएनएबाट आउने भएकाले आफूलाई विशेष महत्वको लाग्ने उनी बताउँछन् । कला एक खालको दर्शन रहेको र त्यसले आफू कहाँबाट आएको हुँ भन्ने कुराको स्मरण गराउने उनको तर्क छ ।

उनी एक निश्चित अवधिमा आफ्नो रगत निकाल्छन् र त्यसरी जम्मा गरेको रगतलाई आफ्नो पेन्टिंगहरुमा प्रयोग गर्दछन् ।

उनका आलोचकहरू उनका पेन्टिंगहरुमा मृत्यु तथा निरासाको भाव देख्दछन् । तर सर्काले भने एकदिन गिनिज बुकमा नाम लेखाउने सपना देखेका छन् ।

एजेन्सी



from Online Khabar https://ift.tt/v1gj6m0

No comments:

Post a Comment