Saturday, March 18, 2023

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा मतदानमा ढिलाइ

५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु निर्वाचन अझै सुरु हुन सकेको छैन ।

तयारी पूरा भए पनि केही प्रतिनिधि आएर हस्ताक्षर गर्न बाँकी भएकाले मतदानमा ढिलाइ भएको हो ।

मतदानको समय बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म निर्धारण गरिएको छ ।

प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा भने मतदान सुरु भइसकेको त्यहाँ रहेका अनलाइनखबरकर्मी चन्द्र आलेले जानकारी दिएका छन् ।

निर्वाचनलाई लक्षित गरी क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीहरुले मुख्य प्रवेशद्वारमा परिचयपत्र हेरेरमात्र प्रवेश गर्न दिएका छन् ।

त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ ।

त्रिविसँगै मध्यपश्चिम विश्वविद्यालयमा पनि आजै स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।

स्ववियुमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

हरेक २/२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालपछि हुन सकेको छैन । २०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि सबै क्याम्पसमा हुन सकेको थिएन ।

विद्यार्थी संख्या र अवस्था हेरेर मतपरिणाम सार्वजनिक छिटो/ढिलो हुनसक्ने त्रिविले जनाएको छ ।

तस्वीर : आर्यन धिमाल



from Online Khabar https://ift.tt/cJBIeFl

No comments:

Post a Comment