Thursday, May 18, 2023

सेभिया र रोमा युरोपा लिगको फाइनलमा

५ जेठ, काठमाडौं । स्पानिस क्लब सेभिया र इटालियन क्लब रोमा युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् । सेभियाले इटलीकै अर्को क्लब युभेन्ट्सलाई तथा रोमाले जर्मन क्लब बायर लेभरकुजनलाई सेमिफाइनलमा हराएर उपाधि भेट पक्का गरेका हुन् ।

गएराति भएको दोस्रो लेगको खेलमा सेभियाले युभेन्ट्सलाई २-१ ले हराउँदै समग्रमा ३-२ को जित हात पारेको हो । पहिलो लेगमा यी दुईबीचको खेल १-१ मा सकिएको थियो ।

दोस्रो लेगमा डुसान भ्लाहालोभिचले गोल गर्दै युभेन्ट्सलाई पहिले अग्रता दिलाएका थिए । सुसोले सेभियाका लागि बराबरी गोल फर्काएपछि निर्धारित समयमा स्कोर समग्रमा २-२ भयो ।

त्यसपछि अतिरिक्त समयमा पुगेको खेलमा सेभियाका लागि एरिक लामेलाले निर्णायक गोल गरे ।

रोमाले पहिलो लेगमा प्राप्त १-० को जितलाई नै रक्षा गर्न लेभरकुजनलाई पछि पार्दै फाइनल पुगेको हो । दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि रोमा समग्रमा १-० ले विजयी भयो ।

अब सेभिया र रोमाबीच फाइनल खेल यही ३१ मे मा हंगेरीको बुढापेस्टस्थित पुस्कास स्टेडियममा हुनेछ ।



from Online Khabar https://ift.tt/Wkdz4BT

No comments:

Post a Comment